थबाङमा सपनाका भग्नावशेषहरू

थबाङमा सपनाका भग्नावशेषहरू

पूरै घरपरिवार छाडेर बन्दुक बोक्नुअघिसम्म र नबिसाउन्जेलसम्म पनि उनीसँग धेरै सपना थिए- असमानता र विभेदविरुद्ध लड्दालड्दै एक दिन यो समाज समान बन्नेछ र अभाव र विभेदका खण्डहरहरू पुरिएर समानताको लदाबदी आउनेछ। समाजमा हुने र नहुनेबीचको खाडल मेटिनेछ। सम्पत्ति धेरै र थोरै भएका मानिसबीचको अन्तर मेटिएर सबै समान हुनेछन्। कसैले जातका आधारमा, लिंगका आधारमा, रङ र क्षेत्रका आधारमा कसैलाई हेलाहोचो गर्न पाउनेछैन...।


यतिबेला उनी सोचिरहिछन्- यी रंगीन सपनाहरूको हत्या कसले गर्‍यो ? कसले बनायो हाम्रो सपनालाई भग्नावशेष र कसले उभ्यायो हामीलाई सपनाका भग्नावशेषहरूमाथि ? सोच्छिन्- उही हो, त्यही हो, ऊ पनि हो स्वप्नहन्ता जसले हाम्रो परिवार मात्र होइन, धेरैधेरै, सयौं, हजारौं, लाखौं घरपरिवारलाई समानताका सुन्दर सपनाहरूको महल खडा गरिदियो। हाम्रो हातमा बन्दुक थमाइदियो। हामीलाई मुक्तिको भोक जगाइदियो। आफ्ना स्वार्थहरू पूर्ति भएपछि हतियार खोस्यो र ऊ भाग्यो हेर्दाहेर्दै। आज हामीसँग न हतियार छ, न त छन् हिजोजस्तो उमेर र रंगीन सपना। तर पनि एकपटक सपना देखिसकेपछि मर्दो रहेनछ त्यो। मुक्तिको भोक जागिसकेपछि हराउँदो रहेनछ। त्यसले नयाँनयाँ बाटाहरू खोजिरहँदो रहेछ...।

उनी अर्थात् रोल्पा, थबाङ राचीबाङकी ३७ वर्षीया पूर्णकुमारी रोकामगरलाई १५ वर्षअघि सँगै लडेका सहयोद्धा श्रीमान् लालमणि रोका 'एटम' जनयुद्धमा सहिद हुँदा थबाङमा सामूहिक जनवादी विवाह गर्ने ७ वटै लालजोडीका आँखामा झल्मलाइरहेका सपना एक दिन साकार भएरै छोड्छ भन्ने विश्वास थियो। २२ बर्षे यौवनमा सहयोद्धा गुमाउँदा पनि गर्भमा हुर्किरहेको आठ महिने भ्रुणको जन्म र आफूहरू लामबद्ध युद्धबाट देश र जनताको मुक्ति एकैसाथ सम्पन्न होला भन्ने दृढ आशा र विश्वास थियो। तर आजसम्म आइपुग्दा पूर्णकुमारीलाई ती सबै सपना, मात्र सपना हुन् कि भन्ने लागिरहेको छ।

२०५६ सालमा थबाङमा एकैसाथ सात लालजोडीको जनवादी विवाह भएको थियो युद्धकै मैदानमा- बन्दुक साटेर। सहयोद्धाको बलिदानपछि सरकारी सेना घरमा आयो, आगो लगायो र खरानी पार्‍यो अनि भग्नावशेष भित्तामा पक्राउ पुर्जी टाँसेर आतंकित पार्न थाल्यो। पुर्जी टाँसिएका सयौं थबाङी महिला-पुरुषको बास जलजला पहाड र त्यस आसपासको घना जंगलमा हुन थाल्यो।

घामपानी, हिउँतुसारो, भोकप्यास सबै सहे थबाङीले। पूर्णकुमारीले जङ्गलमै शिशुलाई जन्म दिइन् र नाम राखिन्- 'अजयक्रान्ति'। युद्धकालमा युद्धमा लागेका प्रायः सबैले आफ्नो सन्तानको नाम क्रान्ति, युद्ध र लडाइँसँग सम्बन्धित राख्ने चलन नै चलिसकेको थियो। नवजात छोरीको अनुहारमा उनले सहिदका सपनाको पनि प्रतिबिम्ब देखिन्।

पूर्णकुमारीको जीवनमा लगातार पहिरो जान रोकिएन। सोही वर्षको माघमा सहयोद्धा बेपत्ता हुनु, चैतमा सरकारले घरमा आगो लगाएर ध्वस्त पार्नु, त्यसको लगत्तै ससुरा दुते रोकालाई अर्घाखाँचीमा र उनका दाजु आशबहादुर तथा कान्छा ससुरा ताराप्रसाद रोकालाई पनि मुखभित्रै राइफल छिराएर चालाबाङमा निर्ममतापूर्वक हत्या गरियो। माओवादी जनयुद्धमा ३४ जना थबाङीले वर्गका नाममा बलिदान गरे। लली रोका र दिलमान रोकाले २०५३ साल माघ ४ गते बलिदानको शृंखला आरम्भ गरेका थिए पछिल्लोपटक थबाङमा।

त्यसैक्रममा तेजमान घर्तीमगर, ताराप्रसाद रोकामगर, लालमणि रोकामगर, मूलधन घर्तीमगर, जुतीबहादुर घर्तीमगर, हितबहादुर घर्तीमगर, दर्शन घर्तीमगर, सूर्यबहादुर रोकामगर, रामचन्द्र रोकामगर, मनभक्त बुढामगर, लोचन रोकामगर, टंक रोकामगर, बालकुमार नेपाली, धन रोकामगर, हितमाया बुढामगर, चामसरी बुढामगर, जोवनसरी रोकामगर, बिन रोकामगर, कुमार रोकामगर, रसु विक, बलमान बुढामगर, सिर्जन रोकामगर, भक्तबहादुर विक, कटकरी रोकामगर, भक्त रोकामगर, धनरूपी गुरुङ, निमु रोकामगर, मूलजिता रोकामगर र लाटा बुढामगर थबाङ र देशका विभिन्न भागमा राज्यबाट मारिए। माओवादीले उनीहरूलाई सहिद घोषणा गरिदियो।


थबाका प्रायः घरमा आगो लागेको छ। कोही न कोही जेलमा नथुनिएको, यातना नपाएको, जंगलमा बस्नु नपरेको घर छैन।


पूर्णकुमारी पनि यति धेरै सहिद जन्माउने थबाङी भूमिकी एक योद्धा हुन्। युद्धकालभर उनी आफ्नो परिवारको सहादतले कहिल्यै यतिविघ्न थकित, गलित र निराश भइनन्। आफूलाई रंगीन सपना देखाएर लड्नका लागि हातमा बन्दुक थमाइदिने पार्टीको मूल नेतृत्वले २०६२ सालमा दिल्ली सम्झौता गर्‍यो। जनआन्दोलनपछि पार्टी अन्तरिम सरकारमा गयो। त्यतिबेलासम्म उनी मात्र होइन, सिङ्गै थबाङी जनता पार्टी नेतृत्वले सहिद र बेपत्ता योद्धाका सपना साकार पारेरै छाड्नेछ भन्नेमा विश्वस्त थिए। तर युद्ध कमान्डर जब सत्तामा पुगे, हिजोका बाचाकसम पूरा गर्नेतिर ध्यान नदिई आफ्नो परिवार र समूहको मात्र भविष्य हेर्दै हिँड्न थाले।

हिजो मदिराका घ्याम्पा फोर्ने कार्यकर्ता र नेताका घरमा मदिराका बोराहरू भेटिएको सुनिन् उनले। हिजो बहुविवाह गर्नेलाई कारबाही गर्ने नेताकै घरमा वैध÷अवैध तीन-तीन बुहारी भित्रिएको र विवाहित बुहारीहरू निकालिएको पनि सुने थबाङीहरूले। त्यसपछि थबाङी जनताको मनमा चस्का पस्न थाल्यो।
पूर्णकुमारी भन्छिन्, 'युद्धकालमा अब जनवाद आउँछ, समाजवाद आउँछ। सबै दुःखी, गरिब, शोषितपीडित, सहिद, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग योद्धा सबै मुक्त हुन्छन्। कुनै विभेद हुँदैन भन्ने प्रचण्ड-बाबुरामलगायत नेताहरू नै आफ्नै पार्टीका नेता र कार्यकर्तालाई विभेद गर्न थाले। त्यसपछि हामीलाई हाम्रा सपनाका महलहरू भत्किएको र सपनैसपनाका खण्डहर बनेको भान पर्न थाल्यो।'

हिजो युद्धकालमा जनताको घरमा आएर विभेदहरूबाट मुक्ति दिलाउने वाचा गर्ने नेताहरू आफैंले विभेद आरम्भ गर्न थालेपछि हेर्दाहेर्दै हिजो आफ्नै सहयोद्धाहरूले रगतसँग साटेका हतियार सेना, सत्ता, सरकार सबै बुझाउँदै गएपछि पूर्णकुमारी रोकामगरहरूको हृदय छियाछिया हुँदै गयो। नेकपा (माओवादी) को आठौं महाधिवेशनका क्रममा थबाङ ठूलोगाउँमा प्रताप- श्रम रोकामगरको घरमा सेल्टर लिएको अवस्थामा भेटिएका सहिद एटमकी जीवनसंगिनी पूर्णकुमारी र सहिद लोचन रोकामगर 'नवीन' की जीवनसंगिनी बिनु रोकामगरले एकैसाथ भने, 'प्रचण्ड-बाबुराम पटकपटक सरकारमा जाँदा पनि सहिद, बेपत्ता योद्धा, घाइते योद्धा र श्रमिक जनताको सपना साकार पार्नु त कता हो कता, झन्झन् कुठाराघात गर्दै गए। राष्ट्रियता झन् कमजोर भयो। नेताहरूले वर्ग फेरे। अब विप्लव नेतृत्वको पार्टीले भने उनीहरूले जस्तो धोका दिनु हुँदैन। नेताहरूले बलिदान दिएर भए पनि सहिदहरूको सपना साकार पार्नुपर्छ। जनताका सपनालाई भग्नावशेष बनाउने अधिकार कसैलाई छैन।'

बिनु रोकामगरका सहयोद्धा नवीन २०५९ वैशाखमा फुन्टिबाङमा घेरा तोड्नेक्रममा सहिद भएका थिए। नवीन सहिद हुँदै गर्दा बिनु पनि पूर्णकुमारीजस्तै ६ महिनाकी गर्भवती थिइन्। छोरा एकान्त २ वर्षका थिए। बिनुले पनि जंगलमै छोरी चेतनालाई जन्माइन्। उनका ससुरा सूर्यबहादुर रोकामगर जुम्लामा सहिद भएका थिए। थबाङी सहिद परिवारहरूको व्यथा उस्तैउस्तै छ। प्रायः सबैका घरमा आगो लागेको छ। कोही न कोही जेलमा नथुनिएको, यातना नपाएको, जंगलमा बस्नु नपरेको घर छैन। त्यसैले यो गाउँ प्रायः सत्ताका विरुद्ध छ।

२०१२ सालदेखि नै सत्ताका विरुद्ध रहेको यो गाउँमा सत्ताका पक्षमा कहिल्यै मत पर्दैन, सधैं शून्य मत पठाइदिन्छ यो गाउँले- २०३८ साल र २०७० सालको चुनावमा जस्तै। यसको कुनै रहस्य छैन, भौतिक विकासले पछि पारिएका थबाङीको चेतना प्रतिरोधी छ। राज्यसत्ताले रोमियो, किलो सेरा टु, कर्डन एन्ड सर्चलगायत अपरेसन चलाएर सोझासीधा थबाङीलाई दमन गर्‍यो। कयौँ थबाङीहरू चाहेरै र कयौं त नचाहेरै पनि विद्रोही बने। उनीहरू यसको बदला लिन चाहन्छन् सत्तासँग। पूर्णकुमारी र बिनुहरू यही परम्परा र संस्कारका उपज हुन्।
अजयक्रान्तिले पूर्णकुमारीलाई जम्मा एकपटक सोधेकी थिइन् रे, 'म कत्री हुँदा बुबा सहिद हुनुभएको हो आमा ? '

छोरीलाई सम्झाउँदै पूर्णकुमारीले भनेकी रहिछन्, 'तिमीलाई नदेख्दै हो नानु।' पूर्णकुमारीले गम्छाले आँसु पुछ्दै भनिन्, 'त्यसपछि आमाछोरी दुवै सँगसँगै रोयौं धेरैबेरसम्म। छोरीले एकपटक मावल गए भनिछिन्, अब म आमालाई कहिल्यै पनि बाबाका बारेमा सोध्दिनँ। म आमाको मन दुखाउन चाहन्नँ।' बिनुका छोराछोरी कहिल्यै सहिद बुबाका बारेमा सोध्दैनन् रे हिजोआज पनि- आमाको मन दुख्छ भनेर। तर दुवै सहिद परिवारलाई सहिदको बलिदानले भन्दा सत्ताको क्रूरता आफैँ लागेको पार्टीले सहिदको सपना भुलेकोमा चिन्ता छ।

पूर्णकुमारी र बिनु दुवैलाई एउटै चिन्ताले बारम्बार सताइरहन्छ- युद्धकालसम्म त पार्टीका केही कमरेडहरू भेट्न, सोध्न र बुझ्न आइरहन्थे तर शान्तिप्रक्रियापछि सत्तासीन पार्टीका नेता एकपटक पनि आएनन् सहिद परिवारको अवस्था बुझ्न। सहिद परिवारलाई सत्ताको प्रभावमा रहेका केही पार्टीका स्थानीय कार्यकर्ताहरूले अब विद्रोही पार्टीमा नलाग्न धम्की दिएको पूर्णकुमारी र बिनु दुवैजनाको तीतो अनुभव छ।

सहिद परिवारलाई सेल्टर दिने थबाङ ठूलागाउँकी श्रम रोकामगर भन्छिन्, 'मेरो घरमा पनि सरकारले आगो लगाएको थियो तर म सहिद भइनँ र सहिद परिवार पनि हुन सकिनँ। त्यतिबेला सहिद बन्नु र सहिद परिवार बन्न पाउनु गर्वको विषय थियो तर आज सहिदमाथि भएको अवहेलना र सहिद परिवारको बेहाल देख्दा कहिले लाग्छ, यस्तो बेहाल देख्न र भोग्न किन बाँचिएछ होला ? फेरि अर्को मनले भन्छ सहिद भएको भए मेरा परिवारको पनि यस्तै हालत हुन्थ्यो होला ! सहिद परिवार खुकुरीको धारमा छन्। अब उनीहरूले यस्तो अवस्था भोग्नु नपरोस्।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.