नेपालीलार्ई ईश्वरको एक पत्र

नेपालीलार्ई ईश्वरको एक पत्र

कल्की अवतारका रूपमा म पृथ्वीमा आउने दिन अझै टाढा छ । तर, तिमीहरूले धर्मको बाटो बिर्सिसक्यौ । त्यति लामो समय कुर्न सकिनँ र पत्र लेख्न बाध्य भएँ । धेरै तरिकाले तिमीहरूलार्ई धर्मको बाटो देखाउन प्रयास गरेँ तर सुनेनौ । त्यसैले चेतावनी दिँदै यो पत्र लेख्दैछु ।

मैले पाँच हजार वर्षपहिले गीतामार्फत सत्य र धर्मको बाटोको बारेमा बताएँ । गीतामा उल्लिखित ज्ञानयोग, भक्तियोग, राजयोग र कर्मयोगको अभ्यास गरी मलार्ई प्राप्त गर्न सक्छौ भनी सिकाएँ । अझै पनि सत्य र धर्मको त्यो ज्ञान गीतामा जस्ताको त्यस्तै छ । तिमीहरूले त्यसलार्ई थन्क्याएर राख्यौ । फलस्वरूप धर्मको बाटो बिरायौ ।

आत्माको स्वरूपलार्ई बुझ र मसम्म आऊ भनी मैले सांख्ययोग वा ज्ञानयोगका बारेमा गीतामा बताएँ । मसम्म आउने बाटो देखाएँ । जीवन निर्वाह गर्न सहयोग होस् र मेरो ध्यान गर्न सहज होस् भनी तिमीहरूलार्ई बुद्धि दिएको थिएँ । तिमीहरूले बुद्धिको प्रयोग भौतिक सुखसुविधा बढाउन मात्र गर्‍यौ । विज्ञानलार्ई नै ज्ञान ठान्यौ । गन्तव्य आत्मा थियो तर बाटोलार्ई नै गन्तव्य ठान्यौ र बाटोमै रुमल्लिइरह्यौ । तिम्रो शरीर मन र बुद्धि तिम्रा सहयोगीहरू मात्र हुन् । तिमी तिनीबाट अलग रहेको आत्मा हौ भन्ने सत्यलार्ई मनन गर्न सकेनौ ।

मन, बुद्धि र शरीरलार्ई नियन्त्रण गर्न सक, तिमी भित्रको मेरो स्वरूपलार्ई चिन्न सक भनी मैले राजयोग वा क्रियायोगको बारेमा गीतामा बताएँ । योग प्राणायाम र ध्यान गरेर पनि मेरो स्वरूपलार्ई जान्न सकिन्छ भन्ने सिकाएँ । तिमीहरूले योगलार्ई शारीरिक व्यायाममै सीमित गरायौ । अझै बिग्रेको छैन । मेरो अर्को नाम करुणा हो । धर्मको बाटोमा तिमीले एउटा मात्र पाइला राख्यौ भने पनि म तिम्रा हजार पापको नष्ट गरिदिन्छु । नियमित योग र ध्यानको अभ्यास गर्ने गर र मलाई चिन्ने प्रयास गर । जब मेरो दैविक ऊर्जा तिम्रो शरीरमा बहन थाल्नेछ तब तिमीले अपार आनन्द र शान्ति महसुस गर्नेछौ ।

तिमीहरू जे कुरालाई विकास ठान्छौ, त्यो होइन । वास्तविक विकास आध्यात्मिक विकास हो । भौतिक विकास गरेर मानिस कहिल्यै सुखी हुन सक्दैन । चन्द्रमामा पुग्यौं भनेर मानिसले घमण्ड गर्नु व्यर्थ छ किनकि चन्द्रलोकका प्राणीलाई मानिसका भौतिक आँखाले देख्न सक्दैनन् । रकेट चढेर मानिस त्यहाँ जानुको कुनै अर्थ छैन । त्यहाँका प्राणी र वातावरण तिम्रा इन्द्रियले जान्न नसक्ने अभौतिक आयाममा छन् । तिम्रा पुर्खा धेरैपहिले त्यहाँ पुगिसकेका छन् । शास्त्रहरूको अध्ययन गर । शास्त्रमा लेखिएको विधि प्रयोग गरी अझै पनि तिमीहरू चन्द्रलोक लगायतका मेरा अन्य अभौतिक लोकको यात्रा गर्न सक्छौ । तर, यसका लागि तिम्रो दिमाग र इन्द्रिय प्रयोग गरेर हुँदैन, तेस्रो आँखा प्रयोग गर्नुपर्छ । फेरि भन्छु, योग र ध्यान गर ।

 जसले काम, क्रोध र लोभलाई त्याग्न सक्दैन; त्यो असुर हो । आसुरी मानिस हिंसा गर्न रुचाउँछन्, भ्रष्टाचार गर्छन् र सधैं मदिरा र कामवासनामा लिप्त रहन्छन् ।

स्वभाव अनुसारको कर्म गर भनेर मैले गीतामा कर्मयोगबारे पनि बताएँ । तर तिमीहरूले स्वाभाविक कर्मलाई छोडेर विदेशी संस्कृतिलाई अँगाल्यौ । संस्कृत भाषा त छोड्यौ छोड्यौ अब नेपाली भाषा पनि छोड्ने छाँट ल्यायौ । संस्कृत भाषा म स्वयंले रचना गरेको हुँ, यसका शब्दहरू उच्चारण गर्दा मेरो स्वतः पूजा हुन्छ । संस्कृतका शब्द उच्चारण गर्दा निस्किने हरेक ध्वनिले तिमीभित्र रहेको कुण्डलिनी शक्तिलाई जगाउँछ । नेपाली भाषा राम्रोसँग बोल्यौ भने मात्र पनि तिमीहरूको कल्याण हुन्छ । नेपाली भाषा संस्कृत भाषाकै सन्तती हो । सन्तानको नाममा ईश्वरको नाम राख्ने गर । अज्ञानतामै भए पनि मेरो नाम लिँदा तिमीहरूले पुण्य कमाउनेछौ । मन लगाई आनन्दपूर्वक आफ्नो स्वभाव अनुसारको कर्म गर, त्यसैबाट तिमीलाई मुक्ति मिल्नेछ ।

मसम्म आउन सहज होस् भनी मैले गीतामा भक्तियोगको बारेमा पनि बताएँ । मनको शक्तिलाई प्रयोग गरी मेरो पुकार गर्‍यौ भने पनि तिमीले मलाई पाउनेछौ भनी बताएँ । भजन, कीर्तन, प्रार्थना, पूजा, पाठ आदि क्रियाकलाप गरी मेरो भक्ति गर भनेँ । तर, भावनाको शक्तिलाई तिमीहरूले बुझ्न सकेनौ । तिम्रा भावनाहरूलाई नियन्त्रण गर्न सिकाएँ तर मेरो कुरा नसुन्दा तिम्रा भावनाहरूले नै तिमीलाई नियन्त्रण गरे । फलस्वरूप तिमीहरूले मानसिक सन्तुलन गुमायौ र डिप्रेसनको सिकार भयौ ।

पच्चीस सय वर्षअगाडि म बुद्धको रूपमा फेरि आएँ । तिनै सत्यहरू फेरि बताएँ । मैले सिकाएको सत्य र अहिंसाको मार्ग बुद्ध धर्मको रूपमा पृथ्वीको कुनाकाप्चामा पुग्यो तर तिमीहरूले नै यो मार्गलाई अँगाल्न सकेनौ । बुद्ध नेपालमा जन्मेका हुन् भनेर सधैं फलाक्यौ, सिकाएको ज्ञानलाई आत्मसात् गरेनौ । जिब्रोको स्वादका लागि पशुबलि दिइरह्यौ । सांसारिक कुराहरूमा रुमल्लिरह्यौ । मैले दुःख छ र दुःखको कारण अज्ञानता हो भन्ने सिकाएँ । तिमीहरूले यसतर्फ ध्यान दिएनौ । मेरो जस्ताको त्यस्तै स्वरूप तिमीहरूभित्रै छ, तिमीहरू स्वयं पनि बुद्ध बन्न सक्छौ, त्यसका लागि चाहिने आठ मार्ग पनि सिकाएँ । तर, तिमीहरूले मेरो कुरा सुन्दै सुनेनौ । परमानन्द कसरी प्राप्त गर्ने भनेर पनि सिकाएँ तर तिमीहरू क्षणिक आनन्दका पछि लागिरह्यौ ।

विज्ञानलाई तिमीहरूले यति विश्वास गर्न थाल्यौ कि अब मेरो अस्तित्वको पनि प्रमाण खोज्न थाल्यौ । मेरो स्वरूप अभौतिक छ । मलाई देख्न र बुझ्नका लागि इन्द्रियको प्रयोग गरेर हुँदैन । विज्ञानको प्रयोग गरेर मलाई बुझ्न असम्भव छ । मलाई बुझ्नका लागि योगको मार्ग अपनाउनु पर्छ । म स्वरूप र मेरो शक्तिको रूपमा जहाँतहीँ व्याप्त छु । भौतिक संसार आधारभूत रूपमा मेरै ऊर्जा हो । जसरी एउटै धागोबाट फरकफरक स्वरूपका कपडा बनाउन सकिन्छ त्यसैगरी मैले मेरै ऊर्जा प्रयोग गरी फरकफरक भौतिक स्वरूपहरू बनाउने गर्छु । पाटनको कृष्ण मन्दिरमा पनि म नै छु । पशुपतिमा पनि म नै छु ।

दक्षिणकाली, भद्रकाली र मनकामनामा जहीँतहीँ छु । मेरो सच्चा भक्त बनेर मेरो दर्शन गर्न आऊ, मेरो शक्तिलाई महसुस गर्न सक्नेछौ । अर्जुनले मेरो जुन स्वरूप देखे त्यो स्वरूप देख्ने मेरा भक्तहरू तिम्रा माझमै छन् । प्रत्यक्ष दर्शन गरेका योगीहरू पनि तिम्रै माझमा छन् । उनीहरूको संगत गर, मसम्म आउने मार्ग देखाउनेछन् ।

तिमीहरूले धार्मिक पुराण र ग्रन्थहरूमा सुनेका देवीदेवताहरू पनि तिमीहरूकै माझमा छन् । धर्मको बाटो जसले अँगालेका छन्, हिंसालाई त्यागेका छन्, भौतिक सुख त्यागी आत्मिक सुखको बाटो रोजेका छन्, तिनीहरू नै देवी देवताहरू हुन् । तिनलाई जान र तिनको कुरा सुन । तिमीहरूको कल्याण हुनेछ । असुरहरू पनि तिम्रै माझमा छन् जसले काम, क्रोध र लोभलाई त्याग्न सक्दैन, त्यो असुर हो । आसुरी मानिस हिंसा गर्न रुचाउँछन्, भ्रष्टाचार गर्छन् र सधैं मदिरा र कामवासनामा लिप्त रहन्छन् । आसुरी प्रवृत्ति भएको मानिस निरन्तर पतन भइरहेको हुन्छ । उसले जन्मौंजन्म तल्लोस्तरको आसुरी योनी प्राप्त गर्छ ।

भ्रष्टाचार भनेको भ्रष्ट आचार हुनु हो, पैसाको दुरुपयोगमात्र होइन । सबैभन्दा ठूलो भ्रष्टाचार त आफ्नो धर्म र संस्कृतिको उपेक्षा गर्नु हो जुन तिमीहरू सबैले गरिरहेका छौ । नेताहरूलाई मात्र दोष दिन बन्द गर । आफूभित्र रहेको आसुरी स्वभावलाई बहिष्कार गर । तिमी र तिम्रा सन्ततीको कल्याण हुनेछ । तिमीहरूलाई सत्य बोध होस् भनी मैले तिमीहरूलाई बेलाबेलामा दुःख पनि दिने गर्छु ।

म हावा चलाउँछु किनकि म मेरा रूखबिरुवाहरूका जरा बलिया हुन् भन्ने चाहन्छु । विचलित नभई दुःखलाई सामना गर र सत्यको खोजी गर त्यसैमा कल्याण छ । भौतिकवादीहरूले तिमीहरूलाई गरिब भने पनि ज्ञानका आधारमा तिमीहरू गरिब छैनौ । सम्पत्ति नाशवान् छ, ज्ञान नाश हुँदैन । गरिब भयौँ भनेर बिलौना नगर, त्यो तिमीहरूको अज्ञानतामात्र हो । ठूलो भूकम्प आउँदा पनि तिमीहरूका आँखा अझै खुलेका छैनन् । अझ ठूला र अस्थिर महल ठड्याउँदैछौ ।

तिमीहरूको धर्म र संस्कृति नै तिमीहरूको ठूलो सम्पत्ति हो । यसको प्रचार गर र धार्मिक पर्यटनको प्रवद्र्धन गर । धर्मग्रन्थहरूको अध्ययन गर । सत्य ज्ञानको प्रचार गर । विश्वलाई योग र ध्यान सिकाऊ । यसलाई ज्ञानभूमि बनाऊ । मठमन्दिरको संरक्षण गर । आफ्नो भूमिमा उत्पादित उत्पादनहरू प्रयोग गर । कर्मयोगी बन र कृषिलाई आधुनिकीकरण गर । विश्वलाई सत्य, अहिंसा र शान्तिको मार्ग देखाउन सक । नेपाल देश आफैंमा एउटा विशाल मन्दिर हो । ऋषिमुनिहरूले तपस्या गरेको पवित्र भूमि हो । यहाँका धेरै धार्मिक स्थलमा दैविक ऊर्जा छ । जसले यो भूमिमा पाइला राख्छ उसले तुरुन्तै शान्ति महसुस गर्छ । तिम्रा पितापुर्खाले गरेको धर्मकर्मले तिमीहरूलाई मेरो आशीर्वाद सधैं प्राप्त छ ।

देशका नीतिनियमहरू शास्त्रहरूमा निर्देशित सिद्धान्तका आधारमा बनाऊ । भुटानमा जस्तै आध्यात्मिक विकासको नयाँ सिद्धान्त बनाऊ र लागू गर । विकसित देशले अनुसरण गर्नेछन् । नक्कल नगर । नक्कल पतनको मार्ग हो । भौतिक विकासमा हैन, आध्यात्मिक विकासमा जोड देऊ । जातीयताको राजनीति बन्द गर । गीतामा कर्मको आधारमा जात छुट्याएको हुँ, जन्मका आधारमा हैन । आज ब्राह्मण छौ तर निर्दिष्ट कर्म गर्दैनौ भने भोलि शुद्र हुन सक्छौ । आज शुद्र छौ भने सत्कर्मका आधारमा भोलि तिमी ब्राह्मण हुनेछौ ।

इच्छाअनुसार कर्म गर्न तिमीहरू स्वतन्त्र छौ तर तिमीहरूले गरेका हरेक क्रियाकलापको परिणाम तिमीहरू स्वयंले नै भोग्नुपर्छ । गलत मार्ग अपनाउँछौ भने कानुनले तिमीलाई छोड्ला तर मेरो कर्मसम्बन्धी नियमले छोड्दैन । म स्वयं पनि त्यही नियममा बाँधिएको छु । मैले तिमीले गरेका हरेक कर्मको सूचना सुरक्षित राखेको हुन्छु । यो सूचना तिमीहरूकै मनमस्तिष्कमा सुरक्षित रहेको हुन्छ । तिम्रा शरीरका कोषकोषमा पनि तिमी स्वयंका र तिम्रा पुर्खाहरूका क्रियाकलाप सुरक्षित छन् । तिमीलाई बोध नभएको मात्र हो । जब तिमीहरूले आत्मज्ञान प्राप्त गर्नेछौ, यी कुरालाई जस्ताको तस्तै देख्न र बुझ्न सक्नेछौ ।

मृत्युको समयमा तिम्रो आत्माले शरीरको त्याग गर्नेछ अनि त्यस बेला सबै विवरण एकपटकका लागि देख्न पाउनेछौ । म चाहन्छु, त्यस दिन तिमीलाई कुनै पछुतो र ग्लानि नहोस् । फेरि भन्छु, अरूलाई दोष दिन वा अरूमा भर पर्न बन्द गर । तिमीले संसारलाई दुःख दिन्छौ भने कालान्तरमा तिमीले नै त्यो प्राप्त गर्नेछौ ।

मेरो कुरा सुन्दैनौ र अधर्म गरिरहन्छौ भने तिमीहरूको नाश गर्न म आउने नै छु । कल्की अवतार आउन धेरै समय छ, हामीलाई केही हुँदैन भन्ने ठानेका छौ भने त्यस्तो भ्रममा नपर । अधर्म गर्‍यौ भने तिमीहरूले मर्नेबित्तिकै फेरि मनुष्य वा अन्य प्राणीका रूपमा जन्म लिनैपर्छ । म कल्कीका रूपमा आउने दिनसम्म तिमीहरू यसै पृथ्वीमा हुनेछौ । जब म कल्की बनेर आउनेछु, पापको नाश र धर्मको रक्षा गर्नेछु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.