खोक्रो राष्ट्रवाद र लम्पसारवाद

 खोक्रो राष्ट्रवाद र लम्पसारवाद

यो आलेखमा त्यस्तो दुर्दमनीय घटनाको चर्चा गर्नेछु, जुन घटनाले हाम्रो आन्तरिक राजनीतिमा दूरगामी प्रभाव पारेको थियो । अहिले पनि हामी त्यसैको वरिपरि घुमिराखेका छौं । त्यो घटनाबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अहिलेका धेरैजना नेताहरू प्रथम श्रोता अनि कर्ता र घटनाबाट आहत भएका थिए । अहिलेका कम्युनिस्ट र अन्य नेताहरू त्यो काण्डमा साक्षी होइनन् । उनीहरूलाई थाहा नहुन सक्छ वा घटनापछिको प्रतिक्रियाबाट तिनले थाहा पाएका थिए ।

२०३७ सालको जनमत संग्रहपछि बीपी कोइरालाको स्वास्थ्य पुनः खराब भयो । घाँटीको क्यान्सरबाट पीडित बीपीको ०७ सालअघि पनि रेडिएसन (सुकाउने काम) मुम्बईस्थित टाटा क्यान्सर अस्पतालमा भएको थियो । अहिलेजस्तो प्रविधिको विकास भइनसकेको त्यो जमानामा चिकित्सकले राम्रो उपचार गरेका रहेछन् । त्यसपछिको राजनीतिक उथलपुथलमा पनि करिब ३२-३३ वर्षसम्म बीपीले अग्रपंक्तिमा रहेर संघर्ष गर्नुभयो ।

०१७ साल पुस १ गतेबाट आठ वर्ष सुन्दरीजल जेलमा रहँदा र त्यसपछि आठ वर्ष भारतमा रहँदा पनि क्यान्सरले खासै दुःख दिएन । २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि पुनः सुन्दरीजल जेलमा बस्दा क्यान्सर फैलिएकोले अमेरिकामा उपचार गराउनुपरेको थियो । उमेर र राजनीतिक घटनाक्रमको दबाबले पनि हुन सक्छ, २०३५ सालमा अमेरिकामा गराएको उपचार २०३७ सालमा फैलिएर पुनः उपचार गर्नुपर्ने भयो ।

सुप्रसिद्ध चिकित्सक डा. सुन्दरमणि दीक्षितले बीपीको स्वास्थ्य परीक्षणपछि भने ‘बीपी अब तपाईंको रोग (क्यान्सर) धेरै फैलिइसकेको छ, तपाईंले गर्नुपर्ने जेजे काम छन् गर्नुहोला ।' डा. दीक्षितको यो सल्लाहपछि बीपी पहिले उपचार गरेको टाटा क्यान्सर अस्पतालमा जचाउन जानुभयो । त्यहाँका डाक्टरले पनि डा. दीक्षितको भनाइलाई नै समर्थन गरे र यो पनि भने कि अमेरिकामा गएर उपचार गर्नुभयो भने बढीमा तीन वर्ष बाँच्न सक्नु हुन्छ, यहीं उपचार गर्ने हो भने ३/४ महिनाभन्दा बढी बाँच्न सक्नु हुन्न ।

मुलुकको राजनीतिक समस्या समाधान गर्न गरिएको जनमत संग्रहले पनि समस्या समाधान भएन । धाँधलीका अनेक प्रपञ्च रचेर गराएको चुनावमा पञ्चायतको पक्षमा २४ लाख र बहुदलको पक्षमा २० लाख मत पर्‍यो । चार लाखको अन्तरले बहुदल हारेको देखाइयो । निःसर्त जनमत संग्रहमा भाग लिनु हुँदैन, कम्तीमा पनि राष्ट्रिय सरकार भएपछि मात्र जनमत संग्रहमा भाग लिनुपर्छ भन्ने अडान गणेशमान र किसुनजीको थियो ।

बीपीले भन्नुभयो, ‘हामीले पनि सर्त राख्यौं भने जनमत संग्रह नै हुँदैन, मुलुक पुनः द्वन्द्वको चक्रव्युहमा फस्छ, बाह्य शक्तिले त्यही चाहेको छ ।' बीपीको यो तर्क मन नपर्दा पर्दै पनि नेताहरू चुनावमा सहभागी हुन सहमत भए, अनि जनमत संग्रह भयो । निर्वाचन परिणामले गणेशमान र किसुनजीको आशंका सही भयो । धाँधलीका अनेक कुकर्म गरेर बहुदल हराइयो र अन्तर्राष्ट्रिय जगत्लाई यो देखाइयो कि बीसौं शताब्दीमा पनि नेपाली जनता प्रजातन्त्रको पक्षमा छैनन् । निरंकुश निर्दलीयताको पक्षमा छन् ।

जतिसुकै धाँधली गरेर पञ्चायत जिताइए पनि जनमत संग्रहले धेरै कुरा खुला गरेको थियो । युवामा आक्रोश थियो, पुनः मुलुक द्वन्द्वमा जाने प्रबल सम्भावना पनि त्यति नै थियो । यस कुरालाई ध्यानमा राखेर बीपीले जति दिन बाँच्छु यहीं उपचार गर्छु, देश छोड्दिन भन्ने भीष्मप्रतिज्ञा गरेर बस्नुभयो । बीपी काठमाडौंमा नभएको दिनबाहेक प्रत्येक दिन बिहान सातदेखि नौ बजेसम्म बीपीनिवास चाबहिलमा प्रजातन्त्रवादी युवा, तरुण र प्राध्यापकहरूको जमघट हुन्थ्यो, देश-विदेशका घटनामा बीपीको धारणा के छ भनेर । काठमाडौंबाहिर पनि त्यत्तिकै उत्सुकता हुने गर्दथ्यो । चाबहिलमा भएका ती मानिसले आआफ्नो माध्यमबाट देशव्यापी रूपमा बीपीको सन्देश प्रवाह गर्दथे, अहिले जस्तो रेडियो, टेलिभिजनको सुविधा थिएन त्यतिबेला । अनुयायीहरूको निम्ति मात्र होइन, बीपीको विचार जान्न पञ्च र कम्युनिस्टहरू पनि त्यत्तिकै उत्सुक रहन्थे ।

२०३९ साल वैशाख अन्तिम वा जेठको सुरुमा सदा झै हामी चाबहिल बीपीनिवासमा थियौं । करिब नौ बजे बिदा भएर निस्कन खोज्दा सधैं चाबहिलमा बस्ने शिवध्वज बस्नेतले भन्नुभयो, ‘सान्दाजुले माथि आउन भन्नुभएको छ ।' शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विपिन कोइराला, पंक्तिकार र अरू दुईतीनजना त्यहाँ थियौं । माथिल्लो तलाको बरन्डामा एकदुईवटा बेन्च र दुइटा बेतका कुर्सी हुन्थे । हामी बेन्चमा बसेपछि बीपी आउनुभयो र सोध्नुभयो, ‘तिमीहरूका सोसल फ्रेन्ड्स छन् कि छैनन् ? सोसल फ्रेन्ड्स नभई राजनीतिमा टिक्न सकिन्न । भारतमा मेरा दुईचारजना सोसल फ्रेन्ड्स भएकाले म राजनीतिमा टिक्न सकें, तिमीहरूले पनि सोसल फ्रेन्ड्स बनाउनु नत्र गाह्रो हुन्छ, राजनीतिमा टिक्न ।'

मेरो अब धेरै दिन छैन, रोगले च्याप्दै ल्याएको छ । ०१७ साल पुस १ गतेबाट छरिएको कांग्रेस अब एक भएको छ । मपछि यी तीन नेता गणेशमान, किसुनजी र गिरिजालाई फोड्ने ठूलो कोसिस हुनेछ । तिमीहरू सतर्क भएर फुट्न नदिनु । किसुनजी अलि मुडी हुनुहुन्छ, तर प्रजातन्त्रभन्दा अर्को कुनै कुरा स्वीकार गर्नु हुन्न । अहिले सभापति हुनुहुन्छ, गणेशमानजीलाई सुरुमा सम्झाउन अलि गाह्रो हुन्छ, सम्झिसकेपछि उहाँबाट धोका हुँदैन । गणेशमानजीकहाँ चिसो व्यवहार हुन सक्छ, तिमीहरू जान नछोड्नू । यति गर्‍यौं भने प्रजातन्त्र अवश्य आउँछ । अँ, मपछि पार्टीलाई आन्दोलनमा लैजान अनेक कोसिस हुनेछ । आन्दोलन गर्नुभन्दा पहिले तिमीहरूले गम्भीर विचार गर्नू । विचार नपुर्‍याई आन्दोलन सुरु भयो भने त्यही आन्दोलनभित्र घुसेर हामी र राजतन्त्र समाप्त गर्ने कोसिस हुनेछ, बाह्य शक्तिलाई राजासँगको हाम्रो मेलमिलाप मन परेको छैन । यसलाई समाप्त गर्न अनेक प्रलोभन देखाइनेछ, तिमीहरू सतर्क रहनू ।'

बीपीले नै अब मेरो धेरै दिन छैन भनेपछि खिन्न मन लिएर हामी निस्कियौं । त्यसबेलासम्म हाम्रो मात्र होइन, धेरै तरुणहरूलाई लाग्थ्यो, बीपी मर्ने हो र ? भावुकता त्यस्तो थियो । बीपीको एक आह्वानमा हजारौं युवा संघर्षको बलिवेदीमा होमिन्थे, कतिले सहादत प्राप्त गरे । दसौं हजार संघर्षमा होमिएर आफ्नो जवानी र श्रीसम्पत्ति समाप्त गरेका थिए । त्यस्तो मानसिकता भएका हामी बीपीले नै अब मेरो धेरै दिन छैन भनेपछि दिमागमा ठूलो झड्का लाग्यो ।

हाम्रो भावुक मन यो सत्य स्वीकार गर्न तयार थिएन, तर मान्छे जन्मेपछि मर्छ यो सत्य स्वीकार गर्नुको विकल्प थिएन । भारी मन लिएर त्यो दिन हामी फर्कियौं । बीपी एक प्रकारले कोमामा गइसकेपछि वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखियो, त्यताबाट बैंकक लगियो, तर केही सुधार भएन । २०३९ साउन ६ गते उहाँको निधन भयो । शवयात्रामा बाहिरबाट पनि ठूलो संख्यामा सर्वसाधारण मानिस काठमाडौंमा आए, मानव सागर नै शवयात्रामा देखियो । योभन्दा पहिले जनताको कुनै छोराको पनि शवयात्रामा यत्रो मानव सागर देखिएको थिएन । शवयात्रामा मानिस देखेर डा. डिल्लीरमण रेग्मीको भनाइ थियो, ‘विश्वेश्वरले बाँचुञ्जेल हामी सबै नेतालाई जितेको थियो, मरेपछि पनि सबैलाई जित्यो ।'

बीपीको निधनपछि पञ्चहरूमा उन्माद सुरु भयो, अब कांग्रेस सिध्याउन सकिन्छ भनेर । राजा अलिकति पनि टसमस भएनन् । पञ्चायत अब चुनौतीविहीन भयो भन्ने निष्कर्षमा दरबार पनि पुग्यो । कांग्रेसले ०३९/४० सालमा कुनै खास कार्यक्रम ल्याएन । युवा विद्यार्थीका छट्पटी बढ्दै गयो । २०४१ सालमा कपिलवस्तु जिल्लाको जितपुरमा पार्टी संगठनको सिलसिलामा महामन्त्री गिरिजाप्रसाद कोइराला पुग्दा मण्डलेहरूले आक्रमण गरे । आक्रमणबाट सँगै गएका शेरबहादुर देउवा र अन्य युवाहरू घाइते भए, त्यतिबेला कुनै कार्यक्रम हुन पाएन ।

२०४१ सालमा रूपन्देहीको विभिन्न ठाउँमा कार्यक्रम गरेर सुरजपुरास्थित पार्टी सभापति पुष्पानन्द गिरीको घरमा खाना खाएर नवलपरासी र चितवनमा कार्यकर्ता भेट गरी काठमाडौं फर्कन लाग्दा अचानक सयौंको संख्यामा हतियारधारी मण्डलेहरूले घर घेरे । गिरिजाबाबुलाई लक्षित गरेर हानिएको गोलीले उहाँलाई त लागेन, तर पार्टीका कार्यकर्ता अधिवक्ता यादवनाथ आलोकलाई लाग्यो । उहाँको निधन भयो । गिरिजाबाबु काठमाडौं फर्कनुभयो । घटना सम्बन्धमा गणेशमानजी र किसुनजीलाई जानकारी गराउनुभयो, त्यो आततायीहरूको कति डरलाग्दो आक्रमण थियो भनेर ।

बीपीको निधन भइसक्यो । गणेशमान र किसुनजी संगठनमा सक्रिय भएर हिँड्न सक्दैनन् । यसअघि प्रभावशाली नेताहरू योगेन्द्रमान शेरचन, दिवानसिंह राई र सरोजप्रसाद कोइरालाको हत्या भइसकेको थियो, अब गिरिजाप्रसादलाई सिध्यायो भने कांग्रेस नै सिद्धिन्छ । यस्तो विश्लेषणको आधारमा सुरजपुरामा गोली चलाइएको थियो ।आलोकको शव निधन भएको तेस्रो दिन मात्र काठमाडौं ल्याइयो । सहर परिक्रमा गरी आर्यघाटमा लगेर दाहसंस्कार गर्न भनी सडकमा जम्मा भएको जुलुसलाई महांकाल भन्दामाथि वीर अस्पतालअगाडि पुलिसले घेरा हाल्यो र अघि बढ्न दिएन, त्यहीं सडकमा बसेर २०४२ फागुन ७ गते सत्याग्रह गर्ने घोषणा भयो ।

पूर्व घोषित कार्यक्रमअनुसार २०४२ फागुन ७ गतेबाट सत्याग्रह सुरु गर्न देशव्यापी संगठन परिचालन हुन थाल्यो । माघको दोस्रो सातादेखि नै केही प्रमुख कार्यकर्ता पक्राउ परे । त्यसबाट झन् सक्रिय भएर कार्यकर्ता लागेर सत्याग्रहको तयारी भयो र २०४२ फागुन ७ गतेबाट गणेशमानजीको निवास चाक्सीबारीबाट सत्याग्रह सुरु भयो । सयौंको संख्यामा कार्यकर्ताले गिरफ्तारी दिए, देशभरि नै धरपकड सुरु भयो । सत्याग्रह सुरु भएको करिब तीन हप्तापछि गणेशमानजीको बक्तव्य आयो, सत्याग्रहमा १० हजारले गिरफ्तारी दिए भनेर । गणेशमानजीले १० हजार भने पनि ५/६ हजार पक्राउ परेका थिए । पञ्च कम्युनिस्ट प्रतिक्रियाविहीन थिए, देश सत्याग्रहमय भयो ।

देशमा आइपरेको विकराल परिस्थितिको सामना न एमालेले भनेजस्तो खोक्रो राष्ट्रवादबाट गर्न सकिन्छ न त लम्पसारवादले समाधान दिन्छ । त्यसको लागि प्रमुख दलका नेताहरू एक ठाउँमा बसेर समाधान खोज्नु आवश्यक छ ।

यति धेरै मात्रामा धरपकड हुँदा प्रशासन ठप्प भयो । विश्वका शक्तिशाली सञ्चारमाध्यमहरू बीबीसी, सीएनएन टेलिभिजन र अन्य पत्रपत्रिकाले समाचार दिन थालेपछि दरबारमा राजाले निकटहरूसँग छलफल गरेर भने जनमत संग्रहबाट पनि मुलुकको राजनीतिक समाधान भएन । अहिले कांग्रेसले गरेको सत्याग्रहमा जसरी जनसहभागिता देखियो, यसलाई सम्बोधन गर्न कुनै कदम चाल्नुपर्ने स्थिति देखियो । राजाले विश्वासपात्र ठानेका व्यक्तिहरूबाटै यो सूचना चुहियो ।

त्यसको तीन/चार दिनपछि २४सै घन्टा सेनाको सुरक्षा घेराभित्र रहने राष्ट्रिय पञ्चायत सभाहलको माननीयहरूको सूचना तथा चिठीपत्र राखिने पिजन होलमा अज्ञात व्यक्तिद्वारा राखिएको बम विस्फोट भएर एकजना रापंसको घटनास्थलमै निधन भयो । त्यहीबेला दरबारका सदस्यको स्वामित्वमामा रहेको होटेल अन्नपूर्णमा पनि बम विस्फोट भयो र एकजना महिला कामदारको निधन भयो । यसैगरी मध्यपश्चिमको बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँमा भएको विस्फोटबाट अरू दुईतीनजना मरे । बम विस्फोट भारतमा बसेका रामराजाप्रसाद सिंहले गराएको भनी अन्तर्राष्ट्रिय प्रेसलाई भनियो । त्यो विस्फोटनको डिजाइन कहाँबाट भएको थियो त्यो बुझेर शान्तिपूर्ण सत्याग्रहभित्र आतंककारी घुसे र बम विस्फोट गराए भनी नेपाली कांग्रेसले सत्याग्रह स्थगित गर्‍यो । त्यसपछि गिरफ्तार नेता तथा कार्यकर्ता क्रमशः रिहाइ भए ।

पञ्चायत झन् अनुदार बन्दै गयो । राजाबाट कुनै कदम चालिन्छ कि भनेर कांग्रेसले ०४३/४४ र ०४५ सालभर विरोधको कुनै कार्यक्रम राखेन । कार्यकर्ताको तीव्र दबाबपछि २०४६ मा पञ्चायतलाई अन्तिम धक्का दिने भनी कांग्रेसले आन्दोलनको कार्यक्रम घोषणा गर्‍यो, ‘गर या मर ।' आन्दोलन विधिवत् रूपमा सुरु गर्नुभन्दा पहिले आन्दोलनलाई सहयोग गर्न भारतका विभिन्न पार्टीका नेताहरूसँग कुरा गर्न गिरिजाबाबु दिल्ली जानुभयो र प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटेर पञ्चायतविरुद्ध कांग्रेसले गर्न लागेको आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

गिरिजाबाबुको आग्रहअनुसार सहयोग गर्ने भारतीय नेताहरूले आश्वासन दिएपछि उहाँ फर्कनुभयो । विभिन्न समूहमा विभाजित नेपालका कम्युनिस्टहरूले पनि सहाना प्रधानको नेतृत्वमा वाममोर्चा बनाएर आन्दोलनमा भाग लिने निर्णय गरे । ०४६ फागुन ७ गते विधिवत् रूपमा आन्दोलन गर्नुभन्दा पहिले गणेशमानजीको बगैंचा चाक्सीबारीमा कांग्रेसको सम्मेलन सुरु भयो । चन्द्रशेखरको नेतृत्वमा भारतीय कांग्रेस आईबाट हालका उत्तराखण्डका मुख्यमन्त्री, भाजपाबाट डा. सुब्रह्मण्यम स्वामी, सीपीएमबाट सीताराम यचुरी, डीपी त्रिपाठीलगायतका नेताहरूले सम्बोधन गरेर नेपाली जनताले गर्ने आन्दोलनमा भारतको पूर्ण सहयोग रहने आश्वासन दिए ।

विधिवत् आन्दोलन सुरु भयो । कांग्रेस-कम्युनिस्टका दसौं हजार कार्यकर्ता गिरफ्तार भए । कहींकतै हिंसात्मक घटना भएन । दुई/अढाई महिना आन्दोलन चलेपछि पञ्चायत व्यवस्थाले घुँडा टेक्यो । बहुदलीय व्यवस्था घोषणा गर्न राजा बाध्य भए । २०४२ सालको सत्याग्रह कांग्रेसको आन्तरिक निर्णयबाट भएको थियो । नेपालको हरेक राजनीतिक परिवर्तनमा हाम्रो सहयोग लिने, तर ०४२ सालको सत्याग्रहमा हामीलाई उपेक्षा गरेर राजा र तिमीहरू मिलेर निकास निकाल्ने ? हाम्रो जानकारीविना यो कसरी सम्भव हुन्छ । कुनै संगठन नभएका रामराजालाई अघि सारियो । बम विस्फोटपछि कांग्रेस राजापछि हटे ।

अहिले मुलुकको राजनीति पुनः घुमिफिरी रुम्जाटारमा आइपुगेको छ । हामी आफैंले हाम्रो राजनीतिको भविष्य निर्धारण गर्ने कि दिल्लीमा १० वर्षअघि भएको बाह्रबुँदे सम्झौतालाई निरन्तरता दिने ? बीपीले भनेजस्तै यतिबेला हो देशको माटो मुठीमा लिएर नेताहरूले निर्णय गर्ने बेला आएको छ । अहिले सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने घोषणा गरेको छ । चुनावको निम्ति न्यूनतम वातावरण बनेको छैन । एकथरी मधेसवादी दलहरू आपूmहरूले चाहेजस्तो संविधान संशोधन नगरी चुनावमा सहभागी हुँदैनौं भनिरहेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेलगायत साना दल र सत्ताधारी दलभित्र र ठूलो संख्यामा त्यस क्षेत्रका जनता सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको विपक्षमा छन् । मधेसवादी दलहरू संविधान संशोधन नगरी चुनावमा गए आपूmहरू आन्दोलनमा जाने धम्की दिइरहेछन् ।

संविधान कार्यान्वयनको लागि चुनाव आवश्यक छ, तर चुनाव गर्दा मुलुक द्वन्द्वमा गयो भने अर्को अस्थिरताको चक्रव्युहमा फस्नेछ । चुनाव अनिवार्य छ र परिणाममुखी चुनाव आवश्यक छ । अहिले संविधान संशोधन गर्नु पाण्डुराको बाकस खोल्नु हो । अहिलेका ६ प्रान्त विभाजित गरी सात बनाइयो भने बक्साबाट तुरुन्तै आवाज निस्कनेछ, ७ ले पुग्दैन ८, ९, १० र ११ प्रान्त हुनुपर्छ । यो भनाइ तर्कको लागि तर्क होइन । अहिले मधेसी मोर्चाभित्रकै कतिपय घटकले भनिरहेका छन्, जबसम्म ११ प्रान्त बन्दैन हाम्रो आन्दोलन रोकिने छैन ।

मैले माथि उल्लेख गरेका ०४२ र ०४६ का घटना पुरानो भन्ने हो भने पनि गत साल मात्र ९० प्रतिशतभन्दा बढी जनताका प्रतिनिधिले पारित गरेको संविधानपछि हामीले भोग्नुपरेको अकथनीय पीडा स्मृतिमा अझै ताजा छ । संविधान जारी गर्नुभन्दा पहिले सबैको भावना समेटेर संविधान जारी हुनुपर्छ । बाह्य शक्तिको भनाइ थियो । तिनै सबैलाई नसमेटेको बहानामा हामीले मात्र होइन, आउने पुस्ताले पनि नबिर्सने नाकाबन्दी सहनुपर्‍यो । अहिले चुनावमा जाने निर्णय हुनासाथ गत सालकै शब्द मात्र होइन, तिनै कमा र फुलिस्टप पनि दोहोरिएको छ । सबैलाई समेटेर संविधान संशोधन होस् र चुनाव होस्, शब्द कर्णप्रिय छन्, त्यसभित्रको अर्थले मुटु चस्स छुन्छ । आफूहरूले भनेजस्तो गरी संविधान संशोधन भएन भने संघर्षमा जान्छौं, त्यसको परिणाम अहिलेका ठूला दलहरूले भोग्नुपर्नेछ । धम्की आइरहेको छ । आशा गरौं, यो भाषाको अन्तर्य दलका नेताहरूले अवश्य बुझेको हुनुपर्छ ।

देशमा आइपरेको यस्तो विकराल परिस्थितिको सामना न एमालेले भनेजस्तो खोक्रो राष्ट्रवादबाट गर्न सकिन्छ न त लम्पसारवादले समाधान दिन्छ । त्यसको लागि प्रमुख दलका नेताहरू एक ठाउँमा बसेर समाधान खोज्नु आवश्यक छ । पटकपटकको ठक्करबाट सबै नेतामा चेतना भया— हामी पनि भन्न सक्ने छौं, तिम्रो कुनै भूभागमा २१ प्रतिशत मात्र मत खस्दा त्यो वैध हुने, हाम्रो ९० प्रतिशतभन्दा बढीले गरेको मतदान कसरी अपूर्ण र अवैध भयो ? आजको मुलुकको जटिल परिस्थितिमा इतिहासको यो पाठ के हाम्रा नेताहरूले सिक्लान् ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.