शाश्वत धाममा क्षणभरको अनुभूति
शाश्वत धामभित्र प्रवेश गर्दा मंगल धुन बजिरहेको थियो । मण्डपमा पञ्चकन्याले स्वागत गरे, ढुंगेधारामा गुरुङसेनीहरूले । पञ्चेबाजा घन्किरहेको थियो, नृत्यांगनाहरू नाचिरहेका थिए । देख्दादेख्दै भव्य मञ्चमा सबै धर्म र सम्प्रदायका अगुवाहरू भरिए ।
शिवमन्दिरको विशाल परिसर भक्तिसंगीतले गुञ्जायमान भयो । पानीका फोहोरा छुटे । फूल बर्सिए । यज्ञकुण्डबाट कुमकुमको सुगन्ध चारैतिर फैलियो । शुभ बिहानीमा मानौं आकाशबाट कुनै दिव्य अवतार पदार्पण गर्दैछ, धर्तीको रूप फेरिँदैछ भन्ने आभास हुन्थ्यो । माहोल घनिभूत हुँदै थियो, मानौं समय थामिँदैछ । न भूत थियो, न भविष्य । वर्तमान क्षण सुन्दर र सम्पूर्ण रूपले छाइरहेको थियो । धाम साँच्चिकै शाश्वत प्रतीत भइरहेको थियो ।
शाश्वत शब्दले हरेक मानवलाई सृष्टिको रहस्यसँग जोड्ने चेष्टा गर्छ । परिवर्तनशील सृष्टिमा केही कुरा शाश्वत पनि छ, अस्तित्वमा कुनै शक्ति अविनाशी र सदाबहार पनि छ । बुद्ध, महावीरलगायत तपस्वीले गहिरो ध्यानावस्थामा यो रहस्यको अनुभूति गरिसकेका हुन् । यद्यपि आममानिसका लागि अदृश्य ऊर्जाको स्रोत अझै अव्यक्त र अविदित छ । जे भए पनि मानिस अव्यक्तलाई व्यक्त रूपमा प्रस्तुत गर्न कहिल्यै हार मान्दैन ।
स्वर्गलाई धर्तीमा उतार्न मानिसले हरसमय प्रयत्न जारी राख्छ । शाश्वत धाममा यतिखेर देखिएको भव्यताले मानौं मानिस जातिको उक्त प्रयासको सांगे भइरहेको झल्को दिन्थ्यो । सुन्नलाई मीठो संगीत, हेर्नलाई सुन्दर कलाकृति, सुँघ्नलाई धूपको सुवास । केही विशिष्ट कुराको शुभारम्भ हुँदै गरेको क्षण वर्णनातीत हुँदो रहेछ । मानिसको व्यक्तित्वका सीमा र बन्धनहरू टुट्न थाल्दा रहेछन् ।
मानिस ऊ सम्बद्ध देश, जाति, धर्म, लिंग या वर्ण बिर्सेर ती सबै बन्धनबाट माथि उठ्दो रहेछ । आफैंबाट माथि उठ्दा अस्तित्वसँग एकाकार हुन सम्भव हुँदो रहेछ । क्षणभरका लागि यो सब दृश्य सपनाजस्तै लागिरहेको थियो । त्यस्तो सपना जुन छुन सकिन्छ, जसको तस्बिर खिच्न सकिन्छ ।
तस्बिरमा सबैतिर धर्मो रक्षति रक्षितः चित्रित भइरहेको थियो । संस्कृतको यो सूक्तिले धर्मको रक्षा गरिन्छ भने आफ्नो रक्षा हुन्छ भन्ने आशय उजागर गर्छ । यही सूक्तिलाई मूलमन्त्र मानेको शाश्वत धामलाई आयोजकले आध्यात्मिक शक्ति, सनातन ज्ञान र आत्मानन्दको त्रिवेणीका रूपमा विकसित गर्ने संकल्प गरेको देखियो, सुनियो । विशाल परिसरमा गौशाला, ध्यानगृह, सात्विक भोजनालय, गुरुकुल, मन्दिर र सनातन संस्कृतिको झल्को दिन्छन्, शास्त्रमा वर्णित शाश्वत धामको झल्को दिन्छन् ।
शाश्वत भनेको सदासर्वदा रहिरहने सृष्टिको धारा हो । त्यो धारामा समाहित हुँदा मानिसले निस्सार जीवनको सार फेला पार्छ । त्यो क्षणमा मानिस अधिक मानवीय हुन्छ । एक हौं भन्ने भावना पैदा हुन्छ । एक्लोपनाको कारणले हुने असुरक्षाको भाव, कुण्ठा, बेचैनीको अन्त्य हुन्छ । मानिसको दृष्टि क्षणिक महत्ववका वस्तुबाट हटेर दीर्घकालीन महत्ववका भावनाहरूमा जोडिन्छ ।
मानिसको आशक्ति पद र प्रतिष्ठा, धन र धाकको धङधङीबाट मुक्त भएर प्रेम, मानवता, शान्ति, सौन्दर्य र ज्ञानको आलोक पछ्याउन थाल्छ । यिनै कुराले मानिसको जीवनलाई अधिक जीवनमय बनाउँछन् । यिनै कुराले जीवनलाई शाश्वतसँग जोड्छ । योगासन या ध्यानको अभ्यासले कालक्रममा मानिसमा एउटा विवेक पैदा हुन्छ जसले जीवनमा कुन कुरा अशाश्वत हो र कुन शाश्वत हो भन्ने सिकाउँछ । यति कुराको हेक्का राख्ने व्यक्ति शाश्वततर्फको यात्रामा अग्रसर हुन्छ । यही एक यात्रा हो जुन यात्राको हरेक क्षण आनन्दमय हुन्छ ।
सभा मण्डपमा राष्ट्रपतिको व्यग्रतासाथ प्रतीक्षा भइरहेको थियो । आकाश सफा थियो तर उनको वायुयानको नामोनिशान कतै देखिएन । ९ बजे उद्घाटन हुनुपर्ने, ११ बज्न थाल्दा पनि मुख्य अतिथि आइनन् । अब माहोलको आकर्षण फिका हुन थाल्यो । मञ्चमा आसीन धर्मगुरु हाई काढ्न थाले । बस्दाबस्दै सबै थाके । गर्मी चढिरहेको थियो, भीड बढिरहेको थियो । जता हेरे पनि त्यति सुन्दर ठाउँ अब त पट्यारलाग्दो भइसकेको थियो । अघिसम्मको सुमधुर संगीत पनि कानै खालाजस्तो कर्कश सुनिन थालेको थियो ।
खजुराहो शैलीमा कुँदिएको शिव मन्दिरमा वृकोदर पण्डाहरू भरिभराउ थिए । मन्त्र पढ्ने गुटिका हातमा लिएका यी नंगधडंग व्यक्तिहरूले कुन पुण्य कार्य गर्दैछन् केही बुझ्न सकिँदैनथ्यो । यज्ञकुण्डमा एक हूल भारतीय पुजारीहरू घिउ र अनाज स्वाहा गर्दैथिए । नजिकै गुरुकुल थियो, जहाँ सस्याना बालकहरूलाई वेदका श्लोक पाठ गर्न लगाइएको थियो ।
सायद धर्मभीरु जनहरूलाई भुलाइराख्न कर्मकाण्डको पुनरुत्थान गर्न परेको थियो । नजिकै लुम्बिनीमा पच्चीस सय वर्षपहिला गौतम बुद्धले ठगी धन्दाका रूपमा विकसित भइरहेको कर्मकाण्डलाई निस्तेज गर्न र मानिसलाई वास्तविक रूपले आध्यात्मिक बनाउन शील, समाधि र प्रज्ञाको बाटो देखाएका थिए । आज तिनै बुद्धको सालिकलाई छेउतिर साक्षी राखेर आयातीत पण्डाहरूले सुप्तप्रायः कर्मकाण्डलाई मानौं विद्युतीय झट्का दिएर ब्यूँताउने चेष्टा गर्दै थिए । सायद समय सधैं अग्रगामी हुँदैन ।
अकारण लामो समय नष्ट भएकोमा खिन्न पत्रकारहरू गर्मी छल्नका लागि मञ्चबाट अलि पर लिचीको बगैंचामा शीतल बस्न पुगे । शाश्वत धामभित्रै योग र ध्यानगृह पनि छ भन्ने जानकारी थियो । तर, साधना ग्राम अवलोकन गराउने त परको कुरा, ती ठाउँ कता थिए भन्नेसमेत हामीलाई बताउन आयोजकले आवश्यक ठानेनन् । सबैतिर कुनै अदृश्य ईश्वरको कृपा प्राप्त गर्न पूजा, अर्चना र धूपदीप बालिँदै थियो । पत्रकारहरूको बोली आलोचनात्मक हुँदै गइरहेको थियो । अन्ततः एउटा वायुयान परिसर नजिकै ओर्लियो, राष्ट्रपतिको सभास्थलमा आगमन भयो । शाश्वत धाम उद्घाटन कार्यक्रम शुभारम्भ भयो ।
शाश्वत भनेको सदासर्वदा रहिरहने सृष्टिको धारा हो । त्यो धारामा समाहित हुँदा मानिसले निस्सार जीवनको सार फेला पार्छ । त्यो क्षणमा मानिस अधिक मानवीय हुन्छ । एक हौं भन्ने भावना पैदा हुन्छ ।
आर्ट अफ लिभिङका संस्थापक धर्मगुरु रविशंकर मञ्चमा आउँदा उनका सबै शिष्य जुरुक्क उठे र जय गुरुदेव भन्दै चिच्याए । उनलाई यति धेरै सम्मान दिइयो मानौं रविशंकर त्यस झकिझकाउ समारोहका देवता नै हुन् । देवत्वकरण या दानवीकरण गरिहाल्ने मानिसको स्वभाव हो । यहीँनेर त मानिस शाश्वत दृष्टिबाट चुक्न पुग्छ । हरेक वस्तुलाई त्यो जस्तो छ त्यस्तै रूपमा हेर्न सक्नु शाश्वत दृष्टि हो ।
हरेक मानिसमा केही गुण हुन्छन्, केही अवगुण हुन्छन्, केही क्षमता हुन्छन्, केही अक्षमता । गुणको कदर गर्नु तर अवगुणहरूलाई समर्थन नगर्नु शाश्वत दृष्टि हो । कसैलाई तिमी भगवानै हांै भन्नु अल्पदृष्टि हो र यस्तो दृष्टिले शाश्वत धामको यात्रा सम्भव हुँदैन । मानिसका रूपमा पैदा भएका सबै मानिस नै हुन् । देवत्वकरण गर्नु त मानिसले उसको क्षमता, सामथ्र्यमा विश्वास नभएर आफ्ना मुराद पूरा गर्न कसैलाई द्यौता थाप्नु गर्नुसरह हो जसको पाउमा लम्पसार परेर वरदानको याचना गर्न सकियोस् ।
विनोद चौधरी जो ठूला उद्योगपति, व्यापारी हुन् उनले यसप्रकारको मन्दिर किन बनाउनु परेको होला ? सबैको जिज्ञासा मेट्दै चौधरीले आफ्नो स्वागत मन्तव्यमा शंकराचार्यको प्रेरणाबाट धामको परिकल्पना आरम्भ भएको बताए । नेपालजस्तो पुण्य भूमिमा व्यवस्थित र वैदिक विधिले भगवान् शिवको पूजाआराधना गर्ने थलो होस् भनेर मन्दिर र पण्डितहरू उत्पादन गर्ने गुरुकुलसमेत बनाइएको उनले खुलासा गरे ।
चर्को गर्मीमा पसिना पुछ्दै मञ्चमा बसेका धर्मगुरुहरू सायद धर्मसभामा बोल्न आतुर थिए । उनीहरू ९ बज्नुभन्दा पहिल्यैदेखि मञ्चमा उपस्थित भइसकेका थिए । उनीहरूलाई आ–आफ्ना धर्मको आशय व्यक्त गर्नु थियो । सबैले आफ्नो मन्तव्यमा धर्मको सार मानव कल्याण हो भने । सबै धर्मले जोड्ने गर्छन्, तोड्ने गर्दैनन्, ईश्वर एक छन्, चाहे हामीले जुनसुकै नामले पुकारौं, शान्ति सबै धर्मको निचोड हो । सबैको मन्तव्य सुन्दा एउटा निष्कर्ष के निस्किन्थ्यो भने यति कुरा नभने अब धर्म या सम्प्रदाय चलाउन पनि कठिन हुने भयो ।
समाजमा मानिसहरूको बुझाइ या समझको दायरा केही फराकिलो भइसकेको छ । धर्म या सम्प्रदाय सञ्चालकहरूले भित्र जे भने पनि बाहिर खुला मञ्चबाट एकता, मेलमिलाप र समानताका कुरा गर्नैपर्ने भयो । उनीहरूले मुखले जे भने पनि, इतिहास साक्षी छ, समाजमा धर्मको नाममा जति भेदभाव र हिंसा अन्य कुनै कारणले भएको छैन । आशा गरौं, उनीहरूले मुखले एक स्वरले अभिव्यक्त गरेको कुरा उनीहरूको मनकै कुरा होस् र उनीहरूको व्यवहार पनि तदनुरूप होस् ।
उद्घाटनपछिको धर्मसभामा पूर्वराजा ज्ञानेन्द्र पनि उपस्थित थिए । जुन आसनमा केही समयपहिला गणतन्त्र नेपालकी पहिलो महिला राष्ट्रपति बसेकी थिइन्, त्यही आसनमा पूर्वराजा बसेका थिए । प्रवेशद्वारबाहिरै राजदण्ड हातमा लिएका पूर्वराजा ज्ञानेन्द्रका ठूला तस्बिरहरू टाँगिएको देखेर पत्रकार अचम्म परेका थिए । र, तिनमा हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ इत्यादि नारासमेत लेखिएको हुनु कल्पनातीत विषय थियो ।
हामी सबैलाई कतै केही तालमेल नमिलेको, कतै कुनै आग्रह लुकेको आभास भइरह्यो । कर्मकाण्डलाई अध्यात्मसँग जोड्ने, गणतन्त्रमा राजतन्त्र मिसाउनेजस्तो असम्भव प्रयत्न शाश्वत धाममा देखियो । चौधरी गु्रपको मनशाय बुझ्नलाई हामीसँग समय पनि थिएन, पहुँच पनि थिएन । हामीले धामको शोभा हेरेरै चित्त बुझायौं । मोनालिसाको मुस्कान बडा आकर्षक थियो, मनशाय पनि पक्कै सुन्दर हुँदो हो । आशा गरौं, चौधरी गु्रपले संस्कृति विस्तार गर्न केही खँदिलो काम गरेको देख्न पाइयोस् ।
फगत हंगामा खडा करना कोई बडी बात नहीं
सब की उम्मीद ये है कि सूरत बदलनी चाहिए ।