'प्लस टु' पुस्ताका निम्ति 'गीताज्ञान प्रवेशिका'

  'प्लस टु' पुस्ताका निम्ति 'गीताज्ञान प्रवेशिका'

नेपालका ज्वाइँ कर्ण सिंह अनेकौं मिसनमा ससुराली राष्ट्र नेपाल आइरहन्छन्। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको जनउभारले राज सिंहासनलाई डुबाउँदै गर्दा सिंह कुनै तारणहार झैं भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूत बनेर बिखलबन्दमा परेका राजालाई बन्द खाम थमाउन आइपुगेका थिए।

बन्द खामले सञ्जीवनीको काम गर्न नसकेपछि नेपालका राजा पनि थोरै समयभित्रै विशेष दूतका पिता (काश्मीरका पूर्वराजा हरि सिंह)का पूर्व राजाहरूकै पंक्तिमा दरिए। तर, सिंहको आगमन नेपालमा विशेष अवसरमा विशेषविशेष उद्देश्यबाट हुन भने छाडेको छैन। उनका पछिल्ला काठमाडौं भ्रमण राजनीतिक अभीष्टबाट नभएर विशुद्ध आध्यात्मिक प्रवचनको उद्देश्यबाट भएका पाइन्छन्।

यस्तै मेसोमा करिब दुई वर्षअघि काठमाडौंमा 'भागवत गीता'माथि सिंहले जुन ओज र आभाका साथ प्रवचन दिए, त्यो यस पंक्तिकारका लागि श्रुतिसुखरमात्र नभएर एक आल्हादकारी अनि वर्णनातीत परिघटना थियो। अत्यन्त जटिल विषयलाई सरलीकृत गर्नसक्ने असामान्य क्षमताका धनी सिंहले गीता दर्शनको मर्मलाई संश्लेषण गर्दै भनेका थिए, 'एउटै ग्रन्थमा वेद, उपनिषद् लगायतका ग्रन्थहरूमा वर्णित चार योगहरू ज्ञानयोग, भक्तियोग, कर्मयोग र राजयोगका सार प्राप्त गर्न सकिनु नै गीताको विशिष्टता हो।'

गान्धी विचार परिषद्का डा. रामचन्द्र प्रधान लिखित तथा जवाहरलाल नेहरू विश्वविद्यालयका छात्र एवं राजनीतिक विश्लेषक शंकर तिवारी अनुदित 'गीताज्ञान प्रवेशिका'का लागि 'पुरोवाक' लेख्दाचाहिँ सिंहले गीतालाई मानवताको ग्रन्थका रूपमा अथ्र्याएका छन्। उनका अनुसार गीता सर्वजनीन र सर्वयुगीन ग्रन्थ हो।

सिंहको विचारप्रति सहमति जनाउँदै नेपालका समाजवादी चिन्तक प्रदीप गिरीले भारतीय उपमहाद्वीपमा गीताको अत्यन्त उच्च आकर्षण रहनुको कारण खोतलेका छन्। उनको तर्क छ, 'गीताको मुख्य विशेषता भन्नु नै यसले शास्त्रभन्दा पनि अनुभव र अनुभूतिलाई महत्व दिनु हो। यो एउटा समन्वयवादी कृति हो।'
भनिरहनु पर्दैन, गीताका अनेकौं व्याख्या छन्। र, गीतालाई मानिसहरूले अनेकौं रूपमा बुझ्दै आएका छन्। तर पनि, गीताको गुह्य वा अन्तर्यसम्म पुग्न सजिलो छैन।

यसलाई एउटा धार्मिक कृतिको रूपमा अंगीकार गरेर यसको व्याख्यान पुरोहितको जिम्मामा छाडिदिने एकाथरी जमात छ भने यसलाई जीवनपयोगी कृति मानेर विशुद्ध धर्मभन्दा पनि लोकहितकारी ग्रन्थका रूपमा लिने अर्कोथरी जमात पनि देखिन्छ। महात्मा गान्धी र नेपालका सन्तनेता कृष्णप्रसाद भट्टराईले 'गीता'लाई आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त बनाउँदै सत्य र निष्ठाको जीवन व्यतीत गरे। यस आलोकमा हेरिँदा 'गीता' जीवनोपयोगी कृति हो भन्ने तर्कको बलियो आधार देखिन्छ।

कुनै पनि पुस्तकको उद्देश्य धेरैभन्दा धेरै पाठकले पढिदिऊन् भन्ने हुन्छ। 'प्लस टु जेनेरेसनलाई अध्यात्म र दर्शन बुझ्नका लागि उपयोगी हुनेछ' भन्दै अनुवाद कर्मको पुष्टि अनुवादक तिवारीले गरेबाट पनि प्रस्ट हुन्छ, पुस्तकका लक्षित समूह किशोर र युवा नै हुन्। तर, यसको अर्थ यो पुस्तक अन्य उमेर समूह वा भिन्न शैक्षिक पृष्ठभूमिकाहरूका निम्ति अनुपयोगी भन्न खोजिएको होइन। 'गीताज्ञान प्रवेशिका' दर्शनको एउटा सुबोध हातेपुस्तक हो, जसले अध्ययताहरूलाई अध्यात्म र दर्शनको गहन अध्ययनका लागि तयार पार्छ। यस अर्थमा पुस्तक गीता दर्शनको महासागरमा तैरिन खोज्नेका लागि एउटा 'लाइफ ज्याकेट' पनि हो।

गीतामाथि लेखिएका बहुल पुस्तकमा श्लोकपिच्छेका अनुवाद वा व्याख्यान पढ्न सकिन्छ। अधिकतर मानिसमा संस्कृत भाषा र त्यसमा पनि बहुअर्थी श्लोकहरूका अर्थ खुट्याउनसक्ने सामथ्र्य नरहँदा उनीहरूले गीताबारेका ज्ञान अनुवादबाट प्राप्त गर्दै आएका छन्। तर, 'गीताज्ञान प्रवेशिका'मा श्लोक पिच्छेका अनुवाद छैनन्, बरु गीतका सार अन्य ग्रन्थ र सिद्धान्तहरूका आलोकमा संश्लेषित छन्।

यो एउटा प्राथमिक वा प्रारम्भिक पुस्तक हो, जसमा सनातन र हिन्दू धर्मशास्त्रमा सर्वाधिक प्रचलित पद वा शब्दावलीका अर्थ र व्याख्या समाहित छन्। ती पद वा शब्दावलीहरू सन्दर्भसहित सरल र बोधगम्य शैलीमा वर्णित छन्। मूल लेखक प्रधानका अंग्रेजी र हिन्दी भाषाका कृतिलाई नेपालीमा भाषान्तर गर्दा अनुवादकले ती शब्दका सार जीवित राखेका छन्।

यस लघुपुस्तकलाई अनुवादकले अत्यन्त मनोयोगले अनुवाद गरेका देखिन्छन्। तर, राम्रो अनुवादका बीच पनि केही कमजोरी नदेखिएका चाहिँ होइनन्। पहिलो त, हिजोआज यसै पनि नेपाली भाषामा कमजोर किशोरहरूका लागि पुस्तक लेख्दा भाषा सक्दो सरलीकृत गरिनु आवश्यक छ। अनुवादकले हिन्दीबाट नेपालीमा भाषान्तर गर्दा क्लिष्ट सुनिने संस्कृत शब्दका समतुल्य नेपाली शब्द खोज्ने जमर्को गरेको भए भाषा अत्यन्तै सरल हुन सक्थ्यो।

संस्कृत पदावलीहरू जस्तै- वैषम्यवस्था, निस् श्रेयस, उच्छेदन आदिलाई सरलीकृत नगरिँदा कताकतै हरफहरू बुझ्न हम्मे पर्छ। अर्कोचाहिँ, हिन्दीबाट नेपालीमा अनुवाद गरिँदा धेरैले हिन्दीमा 'क्यू कि', 'की' आदि प्रयोग गरेर घुमाउरो गरेर भनिने शैलीलाई अनुवादकसमेतले अनुकरण गरेका देखिन्छन्। जुन वाक्य गठन र भाषिक मिठासका दृष्टिले नेपालीमा आवश्यक छैन।

गीताका उद्देश्यमाथि नै प्रश्न गर्दै अर्थ खोज्ने लेखकको शैली रोचक छ। गीताको व्यूत्पत्ति पनि द्विविधा वा धर्मसंकटबाटै भएकाले पनि प्रश्न गर्ने र उत्तर फेला पार्ने लेखकको शैलीले पाठकलाई पुस्तकभर बाँधेर राख्छ। एउटा यस्तै प्रश्न गीताको पथ हिंसाको वा मानवतावादको, कुनचाहिँ भनेर गरिएको छ। धनुकाण बिसाएर युद्धमैदान छाड्न खोजिरहेका अर्जुनलाई कृष्ण किन युद्धका लागि लल्कार्छन् ?

यस अर्थले गीता युद्धोन्मादी ग्रन्थ त होइन भन्ने प्रश्नको जवाफमा प्रधान लेख्छन्, 'महाभारतअगावै अर्जुनले अनेकपटक युद्ध र हिंसा गरिसकेका थिए। कुरुक्षेत्रमा अर्जुनको वितृष्णा गुजन स्वजनप्रतिको आशक्तिका कारणले उत्पन्न भएको थियो। कृष्णले गीतोपदेशद्वारा अर्जुनलाई क्षणिक आशक्तिबाट मुक्त गरेर उनलाई स्वधर्मपालनका लागि प्रेरणा दिएका थिए (पृ. ३७)।'

'गीताज्ञान प्रवेशिका'मा लेखकको मूल जोड व्यक्तिलाई स्वधर्मप्रति प्रेरित गराउनु हो, जसरी कृष्णले अर्जुनलाई गराए। स्वधर्म अर्थात् कर्तव्य। अझ, हिजोआजको बोलीमा भनिँदा, व्यावसायिकता। स्वधर्म वा व्यावसायिकताको पालना त्यस्तो कर्म हो, जसमा फलाशा (फलको आशा) एवं कर्ता भाव हुँदैन। गीतामा जोड दिइएको निष्काम कर्म पनि यही हो।

पुस्तकमा लेखकले सर्वाधिक जोड दिएको विषयचाहिँ गीताको समन्वयकारी चरित्र नै हो। गीता कुनै सम्प्रदाय, समुदाय, धर्मविशेष र कालविशेषको ग्रन्थ नभएर यसको सन्देश सर्वकालीन र सम्पूर्ण मानव जातिको हितमा लक्षित रहेको दलील लेखकको छ। एउटा पूर्ण ग्रन्थका रूपमा गीताले पुरोहित र धर्मसँग जोडिएका अनेकौं बिचौलियाबाट मानिसलाई मुक्त गर्नसक्ने हुँदा गीता एउटा जीवनोपयोगी कृति हो भन्ने ध्येय लेखकले राखेकाले यसको अध्ययन र गीतोपदेशको अनुकरणबाट मानिसभित्रको बुद्धि र विश्वासमा समन्वय हुन गई एक मर्यादित जीवनदृष्टि विकसित हुने लेखकको आग्रह पनि छ।

आद्यगुरु शंकराचार्य, लोकमान्य तिलक, श्री अरविन्द, महात्मा गान्धी, आचार्य विनोभा भावे, स्वामी विवेकानन्ददेखि ओशो रजनीशसम्मका ध्यानी, ज्ञानी र तपस्वीहरूकालाई निरन्तर उद्वेलित गरिरहनु 'गीता' सर्वयुगीन र जीवनोपयोगी कृति रहेको बलियो प्रमाण हो। आजको आधुनिक युगमा गीताको अध्ययन र अनुसरण एउटा सम्यक् जीवनका निम्ति झनै खाँचो छ।

गीताज्ञान प्रवेशिका
लेखक : डा. रामचन्द्र प्रधान
अनुवादक : शंकर तिवारी
प्रकाशक : महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान, काठमाडौं
पृष्ठ : ११०
मूल्य : १५०/-


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.