सुरुङमार्गको अपरिहार्य

 सुरुङमार्गको अपरिहार्य

कठिन भौगोलिक अवस्थाले नेपालमा भौतिक पूर्वाधार निर्माण, संरक्षण र मर्मतसम्भार चुनौतीको विषय बनेको छ । संरचनाको निर्माण नै कम भएको छ, निर्माण भएका संरचनाहरूले पनि आशानुरूप काम गर्न सकेका छैनन् । सडक, सिँचाइ, खानेपानी, विद्युत्लगायत सम्पूर्ण भौतिक निर्माणका क्षेत्रहरू लथालिंग अवस्थामा देखिन्छन् । हाल रहेका भौतिक निर्माणका संरचनाहरूले बढ्दो भार थेग्न सक्ने अवस्था छैन । सडक, बिजुली र पानी अहिलेको मूल आवश्यकता भएको छ । तसर्थ भौतिक संरचनामा थप लगानी गर्नु सरकारको बाध्यता हो ।

सरकारले भौतिक संरचना निर्माणको लागि योजना र बजेट नभएको भने होइन । राष्ट्रिय गौरवका आयोजनाहरू, प्रथम प्राथमिकताका आयोजनाहरू तथा विभिन्न कार्यक्रमको कमी छैन, तर यस्ता उच्च प्राथमिकतामा परेका कार्यक्रमहरूमध्ये कतिपयमा ज्यादै न्यून प्रगति हुने गरेको छ । दोषजति विगतलाई दिएर चालू वर्ष सुधार गर्ने प्रतिबद्धता जनाइन्छ, तर जतिसुकै प्रतिबद्धता जनाइए पनि उपलब्धि भने निराशालग्दो हुने गरेको छ । विगत जस्तोसुकै रहे पनि अबका दिनमा द्रूत गतिमा अघि बढ्नुको विकल्प छैन । अन्य सबैभन्दा पहिले नेपालले गुणस्तरीय सडक सञ्जालको विकास गर्नु आवश्यक छ ।

नेपालमा सबै निकायले निर्माण गरेको सडक संरचना एक लाख किलोमिटर पुगिसकेको छ । यीमध्ये न्यून प्रविधि प्रयोग गरेर बनाइएका ग्रामीण सडकको अवस्था दयनीय छ, सडक विभागद्वारा निर्माण भएका सडकको अवस्था पनि फरक देखिँदैन । देशको राजधानीबाट सय किलोमिटरभन्दा पनि कम दूरीमा रहेको तराईमा पुग्न जुनसुकै राजमार्ग भएर गए पनि आधा दिन लाग्ने अवस्था छ ।

कुनै अवरोध नरहेको पृथ्वी राजमार्ग भएर पोखराको दुई सय किलोमिटर बाटो छिचोल्न पनि दिनभर लाग्ने अवस्था छ । सरकारको हालको योजना भनेको यी बाटाहरू अझ चौडा गर्ने र अब आउने दिनहरूमा पनि स्तर सुधारको नाममा हाल जस्तै अवरोध लामो समयसम्म कायम राखिराख्ने देखिन्छ । यस्तो कार्यक्रममा मात्र निरन्तरता दिनुभन्दा नेपालले नयाँ सोचका साथ द्रूतमार्गहरूको निर्माण सुरु गर्न अब ढिलाइ गर्नु हुन्न । यसको लागि सुरुङमार्गको निर्माण अपरिहार्य छ ।

नेपालमा सुरुङ निर्माणको लामो इतिहास छ । पहाडमा सिँचाइ कुलो निर्माण गर्दा सुरुङ निर्माण भएको पाइन्छ । पश्चिम नेपालको बागलुङ भेगतिर सुरुङ निर्माणको नै व्यवसाय गर्ने र यस कार्यमा निपुण ‘आग्री’ भनिने जातिको पेसा नै पहाडमा सुरुङ निर्माण गर्नु थियो । यिनीहरूद्वारा नै तनहुँ जिल्लाको साँगे पत्यानी सिँचाइ योजनामा निर्माण गरिएको सुरुङ हालसम्म पनि सञ्चालनमा छ । पाल्पाको छेर्लुङ र अर्तुङ्गा भूभागमा चट्टान काटेर पानी पुर्‍याउन राणाकालमै बनाइएको जेठी, कान्छी भनिने कुलो निर्माणमा पनि आग्रीहरूको परि श्रम र सीप परेको छ । यस्ता दक्ष कालिगढहरू हाम्रै देशमा रहँदारहँदै पनि हामीले तिनको सीप र क्षमताको प्रयोग गर्न छोडेका छौं, आफ्नाको उपेक्षा गरेर अरूका आस गरेर बसेका छौं । कामको अभावमा यो जातिको शिल्प लोप हुने अवस्थामा पुगेको छ ।

नेपालमा सुरुङमार्गको बहस हुन थालेको लामो समय भइसकेको छ । स्रोत साधनयुक्त भए पनि सडक निर्माण गर्ने निकायहरू हालसम्म पनि सुरुङ मार्ग बनाउन अग्रसर भएको देखिँदैनन् । नेपालमा सुरुङमार्ग निर्माण गर्ने दक्षता नभएको तर्फ औंल्याउँदै यी निकायहरू विदेशी सहयोग पर्खेर बसेका छन् । हालैमात्र त्रिभुवन राजमार्गको नागढुंगामा जापान सरकारको सहयोगमा सुरुङ निर्माण हुने सम्झौता भएको छ ।

नेपालमा सुरुङहरू निर्माण नभएका भने होइनन् । हरेक ठूला जलविद्युत् आयोजनाहरूमा सुरुङहरू बनेका छन् र यी सबै सुरुङहरूका आयतन ठूला गाडी छिर्न सक्ने गरी निर्माण गरिएका हुन्छन् । नेपालले स्थानीय प्रविधि प्रयोग गरी सयौं किलोमिटर यस्ता सुरुङ बनाइसकेको छ । उपभोक्ता स्वयंले र सिँचाइ योजनाहरूले पनि विगतमा स्थानीय सीप र प्रविधि प्रयोग गरी पहाडी नहरहरूमा सुरुङ निर्माण गरेका छन् ।

हाल नेपालमा नै पहिलोपटक ‘टनेल बोरिङ मेसिन’ प्रयोग गरेर भेरीको पानी बबई नदीमा ल्याउने गरी निर्माण कार्य सुरु भइसकेको छ । यस आयोजनाको सम्पूर्ण अध्ययन, डिजाइन, निर्माण, लगानी नेपालको नै रहेकाले पनि यसको महत्वव अझ बढेको छ । यसको निर्माणपश्चात् सुरुङ निर्माणमा नेपालीको आत्मविश्वास अझ बढ्ने छ । प्रसस्त स्रोत र साधन रहँदारहँदै पनि सुरुङ निर्माण कार्यमा सडक विभाग भने पछि परेकै हो ।

नेपालमा सुरुङमार्ग निर्माण सुरु गर्न ढिलाइ भइसकेको छ । यसको लागि प्रविधि र सीप उपलब्ध छ । झन्डै दुई सय अर्ब खर्च नभई फ्रिज भइरहेको हालको अवस्थामा आर्थिक स्रोतको अभाव पनि देखिँदैन । सुरुङमार्ग निर्माणमा आत्मविश्वासको भने कमी देखिएको छ । पूर्वाञ्चलमा चियो भन्ज्याङदेखि सूदूर पश्चिमाञ्चलको झुलाघाटसम्म पुग्ने गरी बन्दै गरेको मध्यपहाडी राजमार्ग एक हजार सात सय किलोमिटरभन्दा बढी लम्बाइको छ ।

पूर्व-पश्चिम राजमार्गभन्दा झन्डै सात सय किलोमिटर बढी । यो राजमार्ग यसरी लामो हुनुमा यसमा कहींकतै सुरुङ नहुनुले पनि हो । बाटो पुग्दैमा विकास भइहाल्ने पनि होइन । जबसम्म छोटो, सहज र सुरक्षित सडक बन्दैन, तबसम्म त्यसको प्रयोग र प्रभाव क्षेत्रको उल्लेखनीय विकास हुँदैन । तसर्थ कालान्तरमा यस राजमार्गमा बाटो छोटो हुने गरी रेखांकन र सुरुङहरूको निर्माण हुनुपर्छ ।

खानेपानीको लागि बन्दै गरेको विश्वको दोस्रो लामो मेलम्ची-काठमाडौं सुरुङ समाप्तिको चरणमा पुगेको छ । यसको निर्माणले नेपालको आत्मविश्वासमा वृद्धि हुनेछ र यस्ता बृहत् आयोजनाहरू निर्माण गर्न प्रेरणा दिनेछन् ।

चरा उड्दा जम्मा पैंतीस किलोमिटरमा राजधानीबाट पुगिने हेटौंडा हालको राजमार्ग हुँदै जाँदा दुई सय बीस किलोमिटर पर्छ । चन्द्रागिरिमा करिब तीन किलोमिटर र कुलेखानी जलाशयको दक्षिण महाभारतमा करिब चार किलोमिटर सुरुङ निर्माण गरी सडक निर्माण भएमा यो दूरी करिब पैंतालीस किलोमिटर मात्र हुनेछ । कडा चट्टानमा बनाइने यी दुवै सुरुङ निर्माण गर्न अपेक्षाकृत सजिलो र कम लागतमा हुने अवस्था छ । यसको लागि पनि दाता खोजी बस्नुभन्दा नेपाल सरकारकै लगानीमा अविलम्ब कार्य सुरु गराउनुपर्छ । यसका लागि स्रोतसाधन र प्रविधि नेपालमै रहेको छ । नेपाली प्राविधिज्ञहरू विदेशमा समेत ठूलाठूला सुरुङ निर्माण कार्यमा संलग्न रहेको वर्तमान अवस्थामा यस्तो दक्षताको उपयोग गर्न पनि नेपाल पछि पर्नु हुँदैन । यसमा पनि टनेल बोरिङ मेसिनको प्रयोग उपयुक्त हुनेछ ।

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको मुलुक हो । जति नियन्त्रण र रोकथामको प्रयास भए पनि यहाँ बाढी, पहिरो जाने क्रम रहिरहनेछ । सुरुङ मार्ग निर्माण भएमा यस्ता जोखिममा कमी आउनेछ, दुर्घटनाको सम्भावना पनि निकै कम हुनेछ । तसर्थ सुरुङ मार्ग प्रकृतिसँग जुधेर होइन, बुझेर बनाइने पर्यावरणमैत्री संरचना हुनेछ । स्रोत र साधनको अभाव रहँदारहँदै राजा महेन्द्रबाट २०१८ सालमा सुरु गरेको पूर्वपश्चिम राजमार्ग निर्माण सम्पन्न भइसकेको निकै पछि सुरु गरिएको मध्य पहाडी राजमार्गको निर्माण सुरु गर्न ढिलाइ भएको हो ।

यो राजमार्ग निर्माणाधीन रहेको अवस्थामा यसको दूरी घटाउन सुरुङ निर्माणको अध्ययन सुरु गर्न ढिलाइ गरिनु हुँदैन । तराईमा हुलाकी राजमार्ग र पूर्व-पश्चिम राजमार्ग गरी दुइटा राजमार्ग र मध्य पहाडी राजमार्ग बनेको अवस्थामा अब पूर्ण रूपमा उपेक्षामा परेको उच्च पहाडी राजमार्गको निर्माण पनि उच्च प्राथमिकताका साथ सुरु गरिनुपर्छ । यसका लागि साधन, स्रोत, प्रविधिको पर्याप्तता देशभित्रै छ । यस्ता निर्माण कार्यमा सुरुङ निर्माणको अझ आवश्यकता छ ।

डोजरको प्रयोगको जतिसुकै टीकाटिप्पणी गरिए पनि यसले नेपालको पहाडी भेगमा सडक क्रान्ति नै ल्याएको छ । अब आउने दिनहरूमा हेभी इक्युपमेन्टको प्रयोगबाट नेपालमा अझ छिटो सडक निर्माण हुनेछ । यसैगरी भेरी-बबई डाइभर्सनपछि पनि नेपालमा टनेल बोरिङ मेसिनहरू आउनेछन् र नेपालको सडकहरूमा सुरुङ थपिँदै जानेछन् । खानेपानीको लागि बन्दै गरेको विश्वको दोस्रो लामो मेलम्ची-काठमाडौं सुरुङ समाप्तिको चरणमा पुगेको छ ।

यसको निर्माणले नेपालको आत्मविश्वासमा वृद्धि हुनेछ र यस्ता बृहत् आयोजनाहरू निर्माण गर्न प्रेरणा दिनेछन् । यसबाट दक्ष प्राविधिक जनशक्ति तयार हुनुका साथै सुरुङ मार्गहरूको निर्माणमा पनि यसले प्रेरणा दिने नै छ । यसको लागि हामीले विदशी सहयोगको मात्र आशा गरेर बस्नुभन्दा आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्छ र यसमा ढिलाइ गर्नु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.