नेतातन्त्र र विदेशी षड्यन्त्र

नेतातन्त्र र विदेशी षड्यन्त्र

हामी बहादुर नेपाली, आजका क्षणमा सहेर बसेरै आफ्नो बहादुरी प्रमाणित गरिरहेका छौं । नेताले घोडाजस्तो बनाएर चढ्दा पनि उनीहरू अझै आफूलाई बहादुर नेपाली नै भन्न बाध्य छौं। हामी तिमीले जेजे गरे पनि सहेरै बसिदिन्छौं, हामी त खाने दानापानी नभए पनि या लुतेलंगडो भए पनि बहादुर नेपाली नै हौं, त्यसैले नेताहरूले हाम्रो देश बेच्न लागे पनि हामी चुपचाप सहेर हेरेरै मात्र बसिरहन्छौं ।

नेताहरूले आफ्नो स्वार्थको निम्ति देश विखण्डन गरेर सार्वभौमसत्ताको व्यापार गरे पनि हामी चुप लागेर ठीकै छ भनेर बस्छौं । हामीजस्ता बहादुर जनताले खानेलाउने बाटो र मौका नपाएर जिउनको लागि बिदेसिनुपरे पनि हामी बहादुर नेपाली सहेरै बसी उत्पन्न समस्याबाट भागिरहन्छौं । धुँवा, धुलो र प्रदूषणको सिकार भएर पनि बहादुर नेपाली बहादुरीका साथ सहेरै बसिरहेका छन् ।

कतिसम्मको बहादुरी ?

नेताहरूले भ्रष्टाचार गरेर बटुलेको सम्पत्तिलाई भ्रष्टाचारी गरेको नभएर उनीहरूले कमाएको सम्पत्ति भन्ने संज्ञा दिँदै बहादुरीका साथ स्वीकार गर्छौं । जे गरे पनि सहेरै, धैर्य गरेर, संयम भएरै बस्ने नेपालीलाई पनि ठीकै पर्‍याे । ३४ बर्से बहादुर गोविन्द गौतम आफ्नो जग्गामा कल्भर्ट बनाउन लाग्दा अहंकारी अत्यचारी भारतीय सशस्त्र बलको सिकार बने । एउटा बहादुर निर्दोष नेपाली अहंकारीको सिकार बने । नपुंसक नेपाल सरकारका गृहमन्त्रीले गौतमको हत्या गरेको घटनामा भारत सरकारको ‘ध्यानाकर्षण’ गराए ।

बहादुर नेपालीका नेताहरूले घटनाको ‘निन्दा’ गरे । उच्च कूटनीतिक तहमा चासो देखाए, चिन्ता व्यक्त गरे । अन्ततः भयो के त ? निर्दोष निरीह बहादुर नेपाली भारतीयको हातबाट बिनाकारण मारिएका छन् । गृहमन्त्री भएर बसेका विमलेन्द्र निधिको ठाउँमा अरू कोही भए पनि यो घटनाको कुरै छोडौं, सिरहाको घटनापछि नै राजीनामा दिएर नेपाल र नेपालीसँग माफी माग्थे होला । तर उनी त बरु ज्यान जाओस् पद नजाओस् भनेर निकम्मा गृहमन्त्री भएर पद ओगटेर बस्नुमै कल्याण देख्छन् ।

नेताहरू विदेशी पैसामा बिकेर षड्यन्त्र नै षड्यन्त्रले भरिएको विदेशीको नीति बोकेर बहादुर नेपालीको आँखामा छारो हाल्नु नै नेतातन्त्रको परराष्ट्र नीति भएको छ ।

यस्तो जघन्य अपराध भारतको नेपालप्रतिको अहंकारी नीतिको परिणाम भए पनि भारतीय दूतावासले घटनालगत्तै विज्ञप्ति जारी गरी एसएसबीले गोली प्रहार नगरेको दाबी गरेको छ । त्यहाँ सशस्त्र बलबाट गोली प्रहार भएको अस्वीकार गरिन्छ । भारतीय दूतावासको यो साधारण चलन हो— ढाँट्नु, छलाउनु, झुक्याउनु । दूतावासको विज्ञप्ति केवल उनीहरूको अहंकार, अत्याचार र विस्तारवादको प्रत्यक्ष उदाहरण मात्र हो । यो भएको घटना केवल एउटा सशस्त्र बलको सेनाले गोली हानेर नेपालीको हत्या गरेको घटना मात्र नभएर नेपालप्रतिको भारतीय विदेश नीतिको परिणाम हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरे । अझै यसबारे के–के आउने हो मोदीबाट । उनको यो एक्सन पनि अन्ततः नेपाली नेताको जस्तै घटनाबारे दुःख व्यक्त गर्दै गम्भीर र सचेत हुनुमै सीमित हुनेछ । सचेत भएर गोविन्द गौतमले नाकाहरूमा ज्यान गुमाउनुबाहेक आखिर के पाए त ? यो घटनाले एउटा व्यक्तिको मृत्यु मात्र नभएर नेपालको सार्वभौमसत्तामाथि अहम् प्रश्न जन्माएको छ । नेताहरू भने सधैं सचेत र गम्भीर मात्र भएर पन्छिने गर्छन्, तर अर्कोतिर बहादुर नेपाली सहेरै बसिदिन्छन् ।

हिजो सामान्य घटनामा आवाज निकाल्ने मानवअधिकारवादी र नागरिक समाजका अगुवा भन्नेहरू आज कता लुकेर बसेका छन् ? नेपाली मानव अधिकारवादीको पाठ सिकाउने अधिकारकर्मी भारतीयले निर्दोष, निशस्त्र र एक स्वावलम्बी नेपालीको उसकै मातृभूमिभित्र पसेर हत्या हुँदासम्म चूँ पनि नगर्ने ?

हालै सिराहा काण्डमा पाँचजना बहादुर नेपालीले ज्यान गुमाए । बुझ्ने हो भने सिराहा घटना आफैं एकाएक भएको नभई नियोजित रूपले गराइएको हो । देशकै गृहमन्त्री (जो मधेसबाट प्रतिनिधित्व गर्छन्) ले अर्को पार्टीलाई सिराहामा निषेध गरिदिने खालका अभिव्यक्ति दिनु र काठमाडौंमा बसी भारतीय नारा लगाएर हिँड्ने मधेसी नेता राजेन्द्र महतो, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, हृदयेश त्रिपाठीले नै सिराहाको घटना गराएका हैनन् भनेर कसरी भन्ने ? त्यहाँका बहादुर नेपाली भने यी नेताहरूको व्यवहार, आचरण र षड्यन्त्र बुझेर पनि घटनाबारे मौन बस्छन् । के अब यी दुईचार मधेसकेन्द्रित नेताहरूले भन्दैमा मधेसमा मधेसी मूलका मानिसबाहेक अरू नेपालीले जान नपाउने ? त्यहाँ गएर आफ्ना विचार राख्न नपाउने ? यस्तो अराजकता पनि बहादुर नेपालीले सहिदिन्छन् ।

अंग्रेजी पत्रिका स्पोर्टलाइटका प्रकाशक तथा कूटनीतिज्ञ माधवकुमार रिमाल राणकालीन सरकारदेखि आजसम्म भएको राजनीतिक परिवर्तनको अनुभवका आधारमा वर्तमान नेपालको राजनीतिलाई नेतातन्त्रका संज्ञा दिन्छन् । उनी भन्छन्, ‘आजको नेपालको राजनीति त राजतन्त्र, गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्रका सिद्धान्त मूल्य र मान्यताका आधारबाट विचलित भएरै नेतातन्त्रमा परिणत भएको छ । देशमा न एकतन्त्र छ, न पञ्चतन्त्र, न प्रजातन्त्र, न लोकतन्त्र, तर केवल षड्यन्त्रमा परिणत भएको राजनीतिक खेलमा बहादुर नेपाली यहाँको अर्थतन्त्र जतिसुकै नाजुक भए पनि चुपचाप भएर कलेटी परेका ओठभित्रका दाँत ङिच्याएर नेताहरूको अनुशरण गर्दै मगन्तेको पगरी भिरेर पेट बाँधेर बसेका छन् ।’

‘नेतातन्त्र भनेको संविधान भएर पनि कार्यान्वयन नगरी सत्ता र कुर्सीका लागि नैतिकता बिक्री गरेर अनेकौं बहाना बनाउँदै बहादुर नेपालीको मन धमिल्याउने भएको छ । सार्वभौमसत्ता, अखण्डता, स्वाभिमान र देशको आर्थिक विकास र समृद्धिलाई दाउमा हाल्नुलाई नेतातन्त्रको परिभाषा मानेका छन् नेताहरूले यतिबेला’, रिमाल भन्छन् ।

नेतातन्त्रमा नेपालका विभिन्न क्षेत्रमा भारतबाट अतिक्रमण हुँदा नेताहरू मूकदर्शक भएर बस्छन् । नेतातन्त्रमा भ्रष्टाचार गरेर, चोरी, डकैती, घूस खाएर सम्पत्ति बटुल्नु पुरुषार्थ मानिन्छ । नेतातन्त्रमा बहादुर नेपालीले उचित शिक्षा र स्वास्थ्य नपाउनु, गाँस र बासको ठेगान नहुनु स्वाभाविक मानिन्छ । नेतातन्त्रमा नेताहरू गम्भीर भए पनि जनताले भुइँचालो जस्ता प्राकृतिक प्रकोपको क्षतिबाट उक्सिन उचित उद्धार र राहत समयमा पाउँदैनन् । भुइँचालोले खल्बल्याएको घरमा बाहिरबाट टेको लगाएर अड्याएको घरमा बहादुर नेपालीलाई मुन्टो लुकाएर बस्न बाध्य बनाइन्छ ।

नेतातन्त्रमा धुर्मस र सुन्तलीले गरेका उदाहरणीय कार्य, उनीहरूले देखाएको उदारता र बलिदानलाई ईष्र्याभावले हेरिन्छ । उनीहरूलाई नेताहरूको जस्तो फूलमाला र खादा चाहिएको छैन, उनीहरूलाई निःस्वार्थ सहयोगी हात चाहिएको छ । तर नेतातन्त्रमा निःस्वार्थ भन्ने शब्दावली र सोच नै हुँदो रहेनछ । भुइँचालोले बिचल्ली बनाएका असहाय बहादुर नेपालीले चिच्याइरहँदा पनि नेतातन्त्रको हाबी भइरहन्छ । नेतातन्त्रमा न आफूले केही गरेर देखाइन्छ, न अरूलाई नै गर्न दिइन्छ ।

नेतातन्त्रको परराष्ट्र नीतिमा कूटनीतिले काम गर्दैन । नेताहरू विदेशी पैसामा बिकेर षड्यन्त्र नै षड्यन्त्रले भरिएको विदेशीको नीति बोकेर बहादुर नेपालीको आँखामा छारो हाल्नु नै नेतातन्त्रको परराष्ट्र नीति भएको छ । नेतातन्त्रमा देशको शासन र प्रशासन, ऐनकानुन नीतिनिर्देशनअनुसार सञ्चालन हुँदैनन् । देशको ऐनकानुन मिचेर आफूखुसी देश चलाउनु नेतातन्त्रको विशेषता हो । देशलाई भागबन्डा लगाएर सञ्चालन गर्नु नेतातन्त्रको अर्को विशेष नीति भएको छ । नेतातन्त्रमा हुलिया, गुन्डा, घुस्याहा, चोरीचकारी, अत्याचारी भ्रष्टाचारीलाई आड दिएर राखिन्छ । नेतातन्त्रमा राष्ट्रियतामा र राष्ट्रिय मुद्दा ओझेलमा राखिन्छ ।

नेपालका मधेसी नेताहरूले मागेको माग कुनै पनि राष्ट्रिय स्वार्थका छैनन्, यो कुरा कुर्सीमा बसेको सरदार र नेताले खुलारूपमा भन्न सक्नुपर्‍याे । सीमांकन, भाषा र नागरिकताको माग ठीक छैनन् । यो मोलमोलाइ र भागबन्डा गर्ने मुद्दा होइन, तर नेतातन्त्रमा यस्तै भइरहन्छ । मधेसी नेतालाई चित्त बुझ्दैन भने चुनावमा गएर आफ्ना मुद्दा जनताबीच राखेर चुनाव चितेर आए हुँदैन ? तर उनीहरू नेतातन्त्र र विदेशी षड्यन्त्रको घेराभित्रै सञ्चालित हुने भएकाले चुनावबारे सकारात्मक देखिँदैनन् ।

चुनावबाट पछि हटेर संविधान संशोधन गर्नु जायज हुँदैन, यो केवल विदेशीको मुद्दा बोकेर हिँड्नु मात्र हुनेछ । चुनावमा जान डर लागे सीमांकन, जातीय संघीयता, धर्म निरपेक्षता र भाषा आदिमा जनमतसंग्रह गरे कसो होला ? दुईचारजना नेताको एकोहोरो ढिपीले देश विखण्डन गर्न पाइँदैन । स्वदेशी र विदेशी अन्याय र अत्याचारले पिल्सिएका बहादुर नेपाली केवल न्याय, स्वतन्त्रता र जिउने आधारभूत वातावरणको माग गर्दै नेतातन्त्र र विदेशी षड्यन्त्रबाट मुक्ति पाएर लोकतन्त्रमा स्वतन्त्र र स्वाभिमान भएरै बाँच्न चाहन्छन् ।

प्रधानमन्त्रीले नेपाली जनतालाई वर्तमान स्थितिमा संयम हुन आग्रह गरेका छन् । प्रधानमन्त्रीले आग्रह गरेजस्तै पंक्तिकारले भन्न खोजेको पनि यही हो, बहादुर नेपाली यो स्वदेशी नेतातन्त्र र विदेशी षड्यन्त्रले चलेको देशमा जति पिसिए पनि जति कुटिए पनि, जति धकेलिए पनि संयम भएरै बसिरहने ? ती सुनसरी र कञ्चनपुरमा मरेका नेपालीलाई सहिदको उपाधि र १० लाख रुपैयाँ ओइरो लागेको खुसीले गद्गद हुँदै बहादुर नेपाली र नेतातन्त्रको कर्तुती पर्खेर बसिरहने ? कठै बहादुर नेपाली ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.