जुध्ने भाइसँग कि पराइसँग ?

जुध्ने भाइसँग कि पराइसँग ?

सप्तरीमा नेपाली प्रहरीको गोलीबाट चारजनाको मृत्यु भएको तीन दिनपछि कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागी एक नेपालीको मृत्यु भयो । त्यही दिन जाजरकोटमा भएको बस दुर्घटनामा दुई दर्जनभन्दा बढीको ज्यान गयो । यी तीनवटै घटनामा सबैमा नेपाली मारिए पनि यसको चर्चा र चासो फरक-फरक भयो । संख्याको हिसाबले जाजरकोटमा बढी व्यक्तिको मृत्यु भए पनि चर्चा बढी सप्तरीको भयो । एकजना मात्र मारिएको भए पनि कञ्चनपुरको चर्चा पनि कम भएन । सप्तरीको घटना नेपालको आन्तरिक राजनीतिसँग, कञ्चनपुरको घटना नेपालको अन्तर्राष्ट्रिय मामिलासँग र जाजरकोटको घटना ग्रामीण जनजीवनको सामाजिक पक्ष र मानवीय पक्षसँग जोडियो।

जेजस्तो कारणबाट भए पनि निर्दोष नागरिक मारिनु राम्रो होइन । त्यसमाथि झन् नेपाली नै मारिँदा नेपालीको मन छुने नै भयो । मारिनु पनि सामान्य कालगति वा दुर्घटना मात्र नभएर राजनीतिक कारणबाट मारिनु त झनै पीडादायी हुने नै भयो । त्यसैले सप्तरी बढी दुख्यो, कञ्चनपुर दुख्यो । जाजरकोटको घटना जतिसुकै वीभत्स घटना भए पनि मृतकका परिवारबाहेक केही दिनमा सबैको दिमागबाट हराउनेछ । किनभने विगतमा पनि यस्ता घटना भए, त्यसको न्यूनीकरणको लागि सरकारले केही गरेन । त्यसैले यो घटना बिर्सनुको अर्को विकल्प छैन । केही दिनमा सबै सामान्य हुनेछ, मानौं जाजरकोटमा घटना भएकै थिएन । तर सप्तरीको घटनाले राजनीतिक वृत्तलाई र कञ्चनपुरको घटनाले राष्ट्रियताको भावनालाई पटक-पटक घच्घच्याइरहनेछ । यसको असर दीर्घकालसम्म रहनेछ ।

सप्तरी घटना र कञ्चनपुर घटना दुवै नहुनपर्ने अप्रिय घटना हुन् । तर यी दुवैमा फरक के भने कञ्चनपुर घटना हामीले चाहेर पनि रोक्न सक्ने अवस्था थिएन । त्यो हाम्रो उपज थिएन । हाम्रो गल्ती पनि थिएन । गल्ती थियो भने हामीले भारतले हामीमाथि जति थिचोमिचो गरे पनि ‘त्वम् शरणम्’ गर्नु मात्र गल्ती थियो । राजविराज घटना भने हाम्रै गल्तीको उपज हो । हाम्रै हठको उपज हो । तर पनि हाम्रै हठको सिकार हाम्रै दाजुभाइ हुँदा पनि अनेकका व्याख्या-विश्लेषण गरेर त्यसलाई सही र गलत सिद्ध गर्न खोज्दै छौं । आफू पानीमाथिको ओभानो र अरू चुर्लुम्म पानीमा डुबेको प्रमाणित गर्न खोज्दै छौं।

अहिले सप्तरी घटनामा तँ दोषी र म निर्दाेषी भनेर हठ गर्ने बेला होइन । बरु सप्तरीको घटना फेरि नदोहोरियोस् भन्नाको लागि सबैले संयमता अपनाउने बेला हो । तर अहिले संयमताभन्दा बढी आक्रोश पोख्ने र बदला लिने खालको अभ्यास भइरहेको छ । आपसमा कसरी जुध्ने र जुधाइमा को भाले देखिने भन्ने कसरत दलहरूमा देखिन थालेको छ । यो चिन्ताको विषय हो । कञ्चनपुर जस्ता घटनाको सामना गर्न आपसमा जुट्नु आवश्यक छ, तर सप्तरीको जस्ता घटनाले हामीलाई दिनप्रतिदिन आपसमा टुटाउँदै छ, फुटाउँदै छ । कञ्चनपुर घटना जुट्नुपर्ने अपेक्षा गर्छ, तर राजविराज जस्तो घटना टुट्ने र टुटाउने काम गर्छ । तर हामी फुटिरहेका छौं, टुटिरहेका छौं र चुकिरहेका छौं । भाइ-भाइ जुटेर पराइसँग लड्नुपर्नेमा आफू-आफू लडेर दिनप्रतिदिन टुटिरहेका छौं । आखिर हामी किन चुकिरहेका छौं ? भविष्यमा सप्तरी जस्ता घटना दोहोरिए हामी कमजोर हुन्छौं । सप्तरी जस्ता घटना भइरहे कञ्चनपुर जस्ता घटनाको पनि पुनरावृत्ति भइरहन्छ ।

कञ्चनपुरलाई दुख्दा सप्तरीलाई दुख्नुपर्छ । सप्तरी रुँदा कञ्चनपुर पनि रुनुपर्छ । जाजरकोटको कथा सप्तरीलाई पनि थाहा हुनुपर्छ । सप्तरीको व्यथा जाजरकोटले पनि अनुभूति गर्न सक्नुपर्छ । अनि मात्र हुन्छ नेपालको जित, नेपालीको जित र सबैको जित ।

अहिले देशले दलहरूबाट अपेक्षा गरेको सप्तरीमा गएर फुट्ने होइन कञ्चनपुरमा गएर जुट्ने हो । जसरी राजविराजमा मधेसी मोर्चा, सरकार र एमालेबीच त्रिकोणात्मक आरोप-प्रत्यारोप भइरहेको छ त्यसरी नै कञ्चनपुर घटनामा पनि आपसमा आरोप-प्रत्यारोप गर्दै हामी फुट्यौं भने भोलिका दिनमा अरू पनि नेपाली मारिन सक्छन् । भोलि पनि नेपालीले पराइको त्यो हेपाहा प्रवृत्तिको सिकार हुनुपर्छ । हामी जुटे हामीलाई कुनै पनि शक्तिले केही गर्न सक्तैन, हामी फुटे सानोभन्दा सानो शक्तिले पनि हामीमाथि रजाइँ गर्न सक्छ । अब के गर्ने फुट्ने कि जुट्ने ? जोड्ने कि तोड्ने ?

देशको सिमानामा बाह्य अतिक्रमण हुँदा आफू पनि देशभित्र आपसमा लडेर बस्ने कि आफ्ना असहमति थाँती राखेर बाह्य शक्तिविरुद्ध लड्ने त्यो अबको दलहरूको अग्निपरीक्षाको घडी हो । दलहरू के गर्दै छन् भन्ने हिसाबकिताब जनताले राख्छन् । दलहरूको कामको हिसाबकिताब राख्ने लेखापाल भनेका जतना नै हुन् । त्यसैले जनताको चाहना र भावनाबमोजिम काम गरौं । राष्ट्रियताको भावना जागृत गर्ने बेला भौगोलिक, वर्गीय, क्षेत्रीय र जातीय नारालाई केही समय थाँती राखेर एकजुट हौं । राष्ट्र रहे हामी रहने हो, दल रहने हो, हाम्रा स्वार्थ रहने हुन् । राष्ट्र नै नरहे यी सबको कुनै अर्थ रहन्न । हाम्रो अस्तित्व नै खतरामा पर्छ ।

देश र जनताको अगाडि व्यक्तिगत र पार्टीगत स्वार्थ गौण हुन् । हो, हामीबीच आन्तरिक मामिलामा आपसमा असहमति हुन सक्छन् । एजेन्डा फरक हुन सक्छन्, तर बाह्य मामिलामा सबै दल, नेता र व्यक्तिको मत एक भए मात्र हामी बलियो हुन्छौं । विकसित मुलुकमा जुनसुकै दलको सरकार आए पनि वैदेशिक मामिलामा आधारभूत कुरामा अन्तर हुँदैन । तर नेपालको परराष्ट्र नीति नै छैन भन्दा पनि फरक पर्दैन । विदेश मामिला नीतिविहीन चलिरहेको छ । दलका नेतापिच्छे फरक-फरक दृष्टि भएकाले हाम्रो यस्तो नियति भइरहेको छ । खासगरी भारतको सवालमा सत्तामा हुँदा एउटा कुरा र सत्तामा नहुँदा अर्को कुरा गर्दा भारतले हामीबाट अनधिकृत फाइदा उठाइरहेको छ ।

एकपटक सबै नेपालीले नेपाली मन लिएर सोचौं । हामी पहिले नेपाली हौं, त्यसपछि मात्र हामी मधेसी हौं, पहाडी हौं, सप्तरीबासी हौं, कञ्चनपुरबासी हौं, जाजरकोटबासी हौं र काठमाडौंबासी हौं । त्यसैले कञ्चनपुरलाई दुख्दा सप्तरीलाई दुख्नुपर्छ । सप्तरी रुँदा कञ्चनपुर पनि रुनुपर्छ । जाजरकोटको कथा सप्तरीलाई पनि थाहा हुनुपर्छ । सप्तरीको व्यथा जाजरकोटले पनि अनुभूति गर्न सक्नुपर्छ । अनि मात्र हुन्छ नेपालको जित, नेपालीको जित र सबैको जित।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.