राष्ट्रघातविरुद्ध ‘जनसक्रियता'

 राष्ट्रघातविरुद्ध ‘जनसक्रियता'

गत फागुन २६ मा कञ्चनपुर जिल्लाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले चलाएको गोलीबाट पुनर्वास नगरपालिका- ८ का ३४ वर्षीय गोविन्द गौतमको मृत्यु भयो । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने भारतीय बजारमा आवतजावत गर्न आनन्दबजारका स्थानीयले नेपाली भूमिमा कल्भर्ट निर्माण गर्न लागेकोमा भारतीय पक्षबाट हस्तक्षेप भएको थियो ।

भारतीयहरूले नेपाली भूमिमा निर्माण भइरहेको कल्भर्टलाई आफ्नो भूभागमा पर्दछ भन्ने निहँु खोजी अघिल्लो दिन आनन्दबजारमा प्रवेश गरी त्यहाँका स्थानीयहरूलाई कुटपिट एवं तिनका भाँडाकुँडा, लत्ताकपडालगायतका सामान लुटपाट गरेका थिए । सोही कुराको विरोध गर्न अर्को दिन सीमा बन्द गरी विरोध जुलुस गरिरहेका बखत एसएसबीका जवानहरू नेपाली भूमिमा प्रवेश गरी चलाएको गोलीबाट गौतमको मृत्यु हुन पुगेको थियो भने केही घाइते भएका थिए ।

यस घटनाले नेपाली पक्षलाई आक्रोशित तुल्याउनु स्वाभाविकै थियो । त्यसैले आक्रोशित नेपालीले अर्को दिन दिनभरि आनन्द बजार क्षेत्रमा प्रदर्शन गरिरहे । सो दिन पनि भारतीय पक्षबाट दिनभरि हवाईफायर भइरह्‍यो भने नेपाली पक्षबाट आनन्दबजार घटनाको विरोधमा कैलाली-कञ्चनपुरसँगै देशका विभिन्न भागमा विरोध प्रदर्शन भए । उक्त घटना भएलगत्तै नेपालका गृह एवं परराष्ट्र मन्त्रीहरूले भारतीय परराष्ट्रमन्त्रीसमक्ष घटनाको भत्र्सना गर्दै छानबिनको माग गरे भने सत्तासीन माओवादी केन्द्रका जनवर्गीय संगठनहरूले उक्त घटनाविरुद्ध विरोध प्रदर्शन गरे ।

घटनालगत्तै नेपालस्थित भारतीय राजदूतावासले वक्तव्यमार्फत एसएसबीले गोली नचलाएको दाबी गर्‍यो । यसै सिलसिलामा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री दाहाललाई फोन गरी उक्त घटनाप्रति दुःख व्यक्त गरे । शुक्रबार परराष्ट्र सचिवद्वारा भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोध्ने कार्य भयो । फागुन २९ गते विप्लव नेतृत्वको नेकपाले उक्त घटनाको विरोधमा नेपाल बन्द ग‍र्‍यो । बन्दका क्रममा उक्त पार्टीको तर्फबाट भारतीय नम्बर प्लेटका गाडीलगायत यातायातका अनेकौं साधनहरू तोडफोड र आगजनी गरियो ।

सरकारले मृतक गौतमलाई सहिद घोषणा गर्दै उनको परिवारलाई राहतस्वरूप १० लाख रकम प्रदान गर्ने र उनका सन्ततिहरूको पठनपाठनको जिम्मेवारी लिने निर्णय ग‍र्‍यो । मृतक गौतमको अन्त्येष्टि ३० गते राष्ट्रिय सम्मानका साथ गरियो । भारतीय पक्षबाट कञ्चनपुरमा भएको हस्तक्षेप र ज्यादतीप्रति सत्ता पक्षका घटकहरू माओवादी केन्द्र, नेपाली कांग्रेससँगै प्रतिपक्षी एमाले, नेकपा (विप्लव) लगायतका पार्टीहरूले विरोध प्रकट गरेका छन् । तर मधेसी मोर्चा एवं संघीय समाजवादी दललगायतका पार्टीहरूले भने त्यस घटनाको विरोध गर्न आवश्यक ठानेनन् ।

उनीहरूले सप्तरीको मलेठसँगै उक्त घटनाको पनि छानबिन हुनुपर्नेसम्म उल्लेख गरेका छन् । थप रूपमा संघीय समाजवादी दलका एक नेताले त नेपालस्थित भारतीय दूतावासले एसएसबीले गोली नै नचलाएको भनी लिएको दाबीलाई बल पु‍र्‍याउने गरी घटना शंकास्पद भएको अभिव्यक्तिसमेत दिन भ्याए । कथित मधेस आन्दोलनका क्रममा भारतीयहरूसँग मिलेर सीमापारि रक्सौलबाट नेपाली सुरक्षाकर्मीहरूमाथि ढुंगा प्रहार गर्ने र पटकपटक भारतीय दूतावासमा पुगेर डिनरसँगै राष्ट्रविरोधी गतिविधि गर्न निर्देशन लिनेहरूले नेपालको सीमा सुरक्षाको लागि लड्दालड्दै मर्नेका पक्षमा र आफ्नो संरक्षकको विरुद्ध आवाज उठाउन आवश्यक ठानेनन् । यसो गरेर उनीहरूले नुनको सोझो गरे ।

यहाँनेर मधेसी मोर्चाका नेताहरूको मात्र नभएर देखावटी रूपमा भारतीय क्रियाकलापको विरोध गर्ने एक पक्षको नियतमा समेत शंका गर्नुपर्ने भएको छ । त्यसो किनभने भारतीयहरूले भर्खरै कञ्चनपुरको आनन्दबजारमा गराएको घटना नौलो होइन । यो नियमित घटनाक्रमको पछिल्लो कडी मात्र हो । यसक्रममा गत भदौमा भारतीय पक्षले सप्तरी जिल्लाको तिलाठी सीमा क्षेत्रको नेपाली भूभागमा अवैध संरचना निर्माण गर्न खोज्दा नेपाली पक्षबाट विरोध प्रकट हुँदा उनीहरूमाथि भएको कुटपिटलगायत केही समयअघि बर्दिया जिल्लाको सीमा क्षेत्रका बासिन्दासँगै समयसमय सुस्तालगायतका नेपाली भूभागका वासिन्दामाथि गर्ने गरेको ज्यादतीलाई स्मरण गर्नुपर्ने हुन्छ ।

यसैगरी यसअघि भारतले सीमा क्षेत्रमा लक्ष्मणपुर, रसियावाल खुर्दलोटन बाँधजस्ता संरचनाहरू निर्माण गरेर नेपाली भूभाग डुबानमा पार्ने कार्य गरिरहेको थियो भने अब आएर नेपाली भूभागमा कल्भर्ट जस्ता संरचना निर्माण कार्यमा समेत हस्तक्षेप गरेर आफ्नो विस्तारवादी चरित्रलाई नांगो रूपमा प्रकट गरिदिएको छ ।

यसरी नेपाली सीमा क्षेत्रका भूभागको अतिक्रमण गर्दै नेपालीहरूमाथि ज्यादती गर्ने कार्य भारतको विस्तारवादी नीतिको एउटा पक्ष मात्र हो । उसले नेपालको सरकार, प्रशासनलगायत विभिन्न तहमा समेत हस्तक्षेप गर्ने गरेको छ । भारतको यस किसिमको प्रवृत्तिमा बल पु‍र्‍याउने कार्य हाम्रै राजनीतिक नेता, प्रशासक र बुद्धिजीवीहरूले गरिरहेका छन् । यसैक्रममा भारतले आनन्दबजारको घटना गराएर एक किसिमले नेपालविरुद्ध युद्धकै घोषणा गरेको छ । यो अवस्थामा सत्ता, प्रतिपक्ष एवं सर्वसाधारण नेपाली एकजुट भई यस घटनाको विरोध र प्रतिकार गर्नुपर्दछ ।

राष्ट्रवादी नेपालीहरूले जसरी बाह्‍य हस्तक्षेपविरुद्ध नेपाली भूभागको सुरक्षार्थ आफूलाई रक्षाकवचको रूपमा प्रस्तुत गर्ने आँट गरेका छन्, सत्ता स्वार्थका लालची एवं राष्ट्रघातीहरूविरुद्ध पनि सोही रूपमा उभिने आँट गर्नुपर्दछ ।

भारतलाई यस घटनाप्रति माफी माग्न र भविष्यमा यस किसिमका घटना नगराउने विषयमा वचनबद्ध तुल्याउनुपर्छ । यद्यपि केचाहिँ स्पष्ट छ भने भारतले उक्त घटनाप्रति माफी माग्ने र वचनबद्धता प्रकट गर्ने जेसुकै गरे पनि उसले नेपालप्रति गर्ने लबस्तरो र हेपाहा व्यवहारमा सुधार आउने छैन । त्यसैले यस किसिमको भारतीय प्रवृत्ति रोक्न नेपाल भारत सीमालाई काँडेतार वा पर्खालद्वारा नियन्त्रित र नियमित गर्नुपर्दछ । हुन त यस किसिमको कार्य धेरै पहिले गरिनुपर्थ्यो । तर नेपालका हुतिहारा शासकहरूका कारण त्यसो हुन सकेको छैन । त्यसैले अब उक्त कार्य प्रारम्भ गर्न विलम्ब गर्नु हुँदैन । यसो हुन सकेमा मात्रै नेपालले भारतबाट व्यहोर्नुपर्ने अर्घेल्याईं धेरै हदसम्म कम हुनेछ ।

माथि चर्चा भए झैं यो भारतीय हस्तक्षेपविरुद्ध सम्पूर्ण नेपालीहरू एकजुट भई लाग्ने समय हो । तर सत्ता पक्षको रबैया ‘मुखमा राम राम, बगलीमा छुरा' भन्ने उखानलाई चरितार्थ तुल्याउने खालको छ । एकातर्फ उसले आनन्दबजार घटनाबारे भारत सरकारसँग असहमति प्रकट गर्ने कार्यसँगै भारतीय पक्षद्वारा मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गरेको छ । तर अर्कोतर्फ यसै सिलसिलामा आफ्नो हुतिहारा र राष्ट्र एवं जनविरोधी चरित्रलाई समेत प्रकट गरेको छ ।

यो कसरी भने, एक त प्रधानमन्त्री दाहालले भारतद्वारा नेपालको सार्वभौमसत्तालाई चुनौती दिने गरी भएको गोलीकाण्डबारे भारतीय प्रधानमन्त्रीसँग कुरा गर्नुको सट्टा उनका सल्लाहकारसँग कुरा गरेर आफ्नो हैसियतलाई प्रशासकको स्तरमा खसाएका छन् । त्यसैगरी सरकारले व्यवस्थापिका-संसद्मा प्रस्तुत राष्ट्रघाती संविधान संशोधन विधेयक पारित गर्ने हेतुले सत्ताका लालची एवं विदेशी स्वार्थका धुपौरेहरूलाई एकताबद्ध गर्ने प्रयासको थालनी गरेको छ । स्पष्ट छ, यो कार्य भारतीयहरूको निर्देशन र उनीहरूको स्वार्थअनुरूप भइरहेको छ । सबैले देखेबुझेको हो, केही दिनअघि सप्तरीमा भएको घटनालाई लिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्ने मधेसी मोर्चा सरकारलाई समर्थन दिने विषयमा अझै पनि आफ्नो स्पष्ट धारणा बनाउन सकिरहेको छैन ।

यो कसको निर्देशनमा र कुन उद्देश्य परिपूर्तिको लागि भइरहेको छ भन्ने प्रस्ट छ । यससँगै नेपाली राजनीतिमा मुसा प्रवृत्तिका जनक कमल थापाले पार्टी पद्धतिलाई बेवास्ता गर्दै सरकारमा सामेल हुन देखाएको हतारो र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता विजय गच्छदारलाई सरकारमा सामेल गर्ने विषयमा भइरहेको सौदाबाजी अनि लम्पसारवादीहरू देउवा-पुष्पकमल जोडीको बढ्दो चुरीफुरीले आनन्दबजार घटनामा उनीहरूले प्रदर्शन गरेको राष्ट्रवादी प्रस्तुतिभित्रको राष्ट्रघात प्रकट गर्दछ । यसबाट सत्ता स्वार्थको लागि हजारौं नेपालीहरूको सहादत, घाइते, बेपत्ता र विस्थापनसम्मका अवस्था सिर्जना गर्न जिम्मेवार लम्पसारवादीहरूको जोडी आफ्नो पक्षमा आएको सत्ता समीकरणलाई कायम राख्न जेजस्तो हर्कत गर्न पनि पछि पर्दैन भन्ने प्रमाणित हुन्छ ।

यति मात्र नभएर आफ्नै भूमिमा विदेशी सैनिकको गोली लागी मृत्युवरण गरेका सहिद गौतमको अन्त्येष्टिमा सरकारका तर्फबाट कुनै पनि उच्च पदस्थ व्यक्ति सामेल नहुनुले पनि सरकारमा हुनेहरूको नियत सफा नभएको देखाउँछ । यसो गरेर उनीहरूले नेपाली भूमिको सुरक्षार्थ विस्तारवादी दुस्मनहरूको गोलीको पर्वाह नगर्ने सहिद गोविन्द गौतम एवं आनन्दबजारबासीको बलिदानप्रति उपेक्षा गरेका छन् । उनीहरूले मुलुकसामु सिर्जित राष्ट्रवाद र सत्ता स्वार्थबीचको छनोटको स्थितिमा आफूहरूलाई सत्ता स्वार्थको पक्षमा उभ्याएका छन् । यसबाट राष्ट्र र जनताविरोधीहरूको कुनै अडान र नैतिकता हुँदैन भन्नेसमेत प्रमाणित हुन पुगेको छ ।

हुन त राष्ट्रवाद र सत्ता स्वार्थबीचको लडाइँ नेपालीहरूको लागि नौलो होइन । केही अपवादजन्य अवस्थाबाहेक प्रायः सदैव शासकहरू सत्ता स्वार्थको पक्षमा र जनता राष्ट्रवादको पक्षमा उभिने गरेको हाम्रो राष्ट्रिय यथार्थ रहेको छ । तर जनता आफूहरू जतिसुकै राष्ट्रवादी भए पनि उनीहरूले सत्तापक्षबाट हुने कुशासन र राष्ट्रघात नियन्त्रण गर्न भने सकेका छैनन् । त्यसैले यहाँ दलहरू विपक्षमा छँदा राष्ट्रवादी र सत्तामा पुगेपछि राष्ट्रघाती बन्ने प्रवृत्ति रोकिएको छैन । यस किसिमका समस्याको समाधान संवैधानिक-कानुनी व्यवस्था एवं न्यायपालिकी सक्रियता कतैबाट हुन सकेको छैन । कारण ती सबै विषय राष्ट्रघाती, भ्रष्ट र अनैतिकतावादीहरूको औजारको रूपमा परिणत हुन पुगेका छन् । अनि मुलुकमा भ्रष्टाचारी एवं राष्ट्रघातीहरूको निर्बाध हालिमुहाली चल्ने गरेको छ ।

त्यसैले जनतासमक्ष उपस्थित समस्या समाधानको एक मात्र उपाय बाँकी छ, त्यो हो- जनसक्रियता । निरन्तर जनसजगता र अहं विकृतिहरूविरुद्धको जनसक्रियताले नै धेरैलाई एक ठाउँमा ल्याइदिन सक्छ । सजगता र सक्रियताबिनाको जनसहभागिता औपचारिकतामा मात्र सीमित रहन जान्छ । त्यसैले राष्ट्रवादी नेपालीहरूले जसरी बाह्‍य हस्तक्षेपविरुद्ध नेपाली भूभागको सुरक्षार्थ आफूलाई रक्षाकवचको रूपमा प्रस्तुत गर्ने आँट गरेका छन्, सत्ता स्वार्थका लालची एवं राष्ट्रघातीहरूविरुद्ध पनि सोही रूपमा उभिने आँट गर्नुपर्दछ । अनि हेरौं त, राष्ट्रघाती, जनघाती एवं भ्रष्टाचारीहरूको के गति हुँदो रहेछ ?

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.