बालबालिका किन फेर्छन ओछ्यानमा पिसाब

बालबालिका किन फेर्छन ओछ्यानमा पिसाब

बालबालिकाले राति नचाहेर पिसाब फेर्ने समस्या उनीहरूमा देखिने सबैभन्दा प्रमुख समस्यामध्ये एक हो । पाँच वर्षमाथिका बालबालिकाले राति ओछ्यानमा र दिउँसो लुगा भिजाउने गरी हप्तामा कमसेकम दुईपटक पिसाब गर्दछन् भने यसलाई नचाहेर पिसाब गर्ने समस्या भएको मानिन्छ ।

बालबालिकामा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई नकारात्मक प्रभाव पार्छ भने अर्कोतर्फ बालबालिकाको आत्मविश्वासलाई समेत यसले कम गराउने र लजाउनेजस्ता मनोवैज्ञानिक असर पर्न सक्छ । समाजमा यसका बारेमा ज्ञान नभएर बालबालिकाको मनोविज्ञानसँग सम्बन्धित विभिन्न समस्याहरू उत्पन्न हुन सक्छन् । बालबालिकालाई तर्साउने, धम्क्याउने तथा दण्ड दिनेजस्ता क्रियाकलापले आजीवन नबिर्सने किसिमको असर पर्न सक्छ ।

पाँच वर्षमाथिका बालबालिकामा १५ देखि २५ प्रतिशतमा यो समस्या देखिएको छ । बालिकाहरूको तुलनामा बालकहरूमा यो समस्या दुई गुणा बढी छ ।

कारणहरू


.वंशाणुगतः नचाहेर ओछ्यानमा राति पिसाब फेर्नुको कारणमध्ये वंशाणुगत कारण प्रथम स्थानमा आउँछ । आमाबाबुमा बाल्यवस्थामा यस्तो समस्या थियो भने बालबालिकामा यो समस्या हुने सम्भावना ५० देखि ७७ प्रतिशत निश्चित हुन्छ ।
.मनोवैज्ञानिकः शौचालय शिक्षा (दिसापिसाब गर्ने आदतबारे बालबालिकालाई शिक्षित गर्ने) समयभन्दा पहिले सुरु गर्नु, यसबारे कडा नियमहरू लगाउनु, घरमा नयाँ बच्चाको जन्म तथा आगमन हुनु, नयाँ घर सर्नु, धेरै माया गर्नु, धेरै हेला र घृणा गर्नुलगायतका कारणले यो समस्या उत्पन्न हुन सक्छ ।

.सुत्ने समस्याहरूः मानसिक विकास उचित रूपमा नभएको कारणले बालबालिका गहिरो निद्रामा सुत्ने भएकाले पनि यो समस्या देखा पर्दछ ।
.पिसाबको थैलीको समस्याः पिसाब जम्मा हुने थैलीको क्षमता कम भएको खण्डमा पनि यो समस्या देखा पर्दछ ।

.संक्रमणः पिसाबको संक्रमण, परजीवीहरूको संक्रमण, स्नायुसम्बन्धी (न्युरोलोजिकल) समस्याहरू लगायतका विभिन्न कारणले पनि यो समस्या देखा पर्दछ ।
. खानपिनको कारणः राति धेरै खाना खाने तथा पानी पिउने बालबालिकामा पनि यसखाले समस्या देखिन्छ ।


उपचार


सबैभन्दा महत्ववपूर्ण कुरो लाज र डरको अनुभूतिलाई कम गराउने, परिवार तथा नजिकका आफन्तहरूले बालबालिकासँग आफ्ना अनुभवहरू सुनाउने, बच्चालाई ढाडस दिने र उनीहरूको आत्मबल बढाइदिनेलगायतका कामहरू गर्नुपर्ने हुन्छ ।


.बानीजन्य उत्प्रेरणाः बच्चालाई जहिले पनि सकारात्मक प्रतिक्रिया दिनुपर्छ । बच्चा राति सुत्नुअघि र सुतिसुकेको दुई घन्टापछि पिसाब फेराउनु राम्रो हुन्छ । बिहान स्कुल जानुअघि, स्कुलमा र स्कुलबाट फर्केपछि फेर्न लगाउनुपर्छ । बच्चाको साँझको खाना र खानापछि पानी कम पिउन दिनुपर्छ । चिया, कफी र क्याफिनयुक्त खानेकुराहरू बढी नुन, बढी चिनी भएका खानेकुराहरू खान दिनु हुँदैन । कब्जियतको समस्या छ भने त्यसको निदान तथा उपचार गर्नुपर्छ । धेरै समय टीभी तथा कम्प्युटरमा बसेर खेल्न दिनु हुँदैन । पिसाब गर्दा बालबालिकाको गोडाले भुईमा छोएको हुनुपर्छ । राति पिसाब फेर्न जाँदा सजिलो बनाइदिनका लागि बत्ती, चप्पललगायतको व्यवस्था गरिदिनुपर्छ । घरमा पारिवारिक कलह बच्चाको अगाडि नगर्ने, ठूलो स्वरमा बोल्नु हुँदैन । पिसाब फेरेकै कारण बच्चालाई दोष लगाउनु हुँदैन ।

बच्चालाई सजाय दिनु हुँदैन । त्यसो गर्दा उसको समस्या थप बिग्रेर जान सक्दछ । टीभीको भोल्युम कम गर्नु पर्दछ । बच्चालाई उमेरअनुसारको फिल्म हेर्न दिनु पर्दछ । बच्चा घरमा हुँदा डरलाग्दा चलचित्र वा झैझगडा बढी भएका चलचित्र हेर्नु हुँदैन । राति पिसाब गरेमा पानी परेको फोटो वा स्टिकर भित्तामा टाँसिदिने र पिसाब नफेरेमा घमाइलो दिन वा स्माइलिङ फेसको स्टिकर हरेक दिन टाँसिदिनुपर्छ । पिसाब फेरेको ओछ्यानलाई सरसफाइ गर्न बच्चालाई पनि सहभागी गराउँदा उसलाई राम्रो अनुभूति हुन्छ ।

.अलार्म उपचारः पिसाब फेर्नुभन्दा पहिले अलार्म बजाउने विधिबाट पनि उपचार गर्न सकिन्छ ।
. पिसाबलाई नियन्त्रण गर्ने विभिन्न अभ्यासहरूबाट पनि उपचार गराउन सकिन्छ ।


यी विधिहरू अपनाएमा यस रोगको निदान हुने सम्भावना ७० प्रतिशतभन्दा बढी रहेको छ । यी विधिहरू अपनाउँदा पनि समाधान भएन भने मेडिकल उपचारका लागि बालरोग विशेषज्ञसँग सल्लाह गर्नुपर्छ ।

बच्चाले नचाहेर पनि राति पिसाब फेर्नु कुनै दोष हैन, यो साधारण समस्या हो । जसलाई बच्चा परिवार समाज र परेमा डाक्टरसमेत मिलेर समाधान गर्न सकिन्छ ।
.लेखक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालअन्तर्गत बालरोग विभागका निर्देशक हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.