दर्पण छाया २ः झुर सिक्वेल

 दर्पण छाया २ः झुर सिक्वेल

भारतीय चलचित्र भन्नु र हिन्दी चलचित्र भन्नु उही कुरा होइन । हिन्दी भाषाका अतिरिक्त अनेक भाषामा त्यहाँ चलचित्र बन्छन् । सबैको योगबाट नै भारत संसारमा सबैभन्दा धेरै चलचित्र बन्ने राष्ट्र भएको हो र त्यहाँको चलचित्रको विकासका लागि अन्य भाषाका क्षेत्रीय चलचित्रहरूको योगदान कम छैन । भारतको पहिलो कथानक चलचित्र भनिएको दादासाहब फाल्केको ‘राजा हरिश्चन्द्र' मराठी भाषाको चलचित्र थियो ।

त्यसका अतिरिक्त बंगाली, तेलुगु, तमिल, कन्नड, मलयालम अनेक भाषाका चलचित्रले समग्रमा भारतीय चलचित्रको परिचय निर्माण गरेका छन् । संख्यामा थोरै र स्तरमा सामान्य भए पनि सोही पंक्तिमा भारतीय नेपाली चलचित्रहरूको पनि स्थान छ । यसमा प्रताप सुब्बा, शम्भु प्रधान तथा तुलसी घिमिरेहरूको योगदान छ ।

स्तरीयताका दृष्टिले प्रताप सुब्बाको ‘परालको आगो'लाई पनि उत्कृष्ट चलचित्र मानिन्छ तथापि नेपालभित्र तुलसी घिमिरेको जति चर्चा र लोकप्रियता अन्य भारतीय नेपाली निर्देशकहरूको छैन । ‘लाहुरे', ‘कुसुमे रुमाल', ‘चिनो', ‘बलिदान', ‘दर्पण छाया'जस्ता चलचित्रलाई नेपालमा धेरै रुचाइयो । व्यावसायिक दृष्टिले ती सफल रहे । नेपालको राजनीतिक संघर्षलाई विषय बनाइएको ‘बलिदान'ले भने राजनीतिक महत्वव पनि राख्छ ।
नेपाली भाषाको कला-साहित्यका क्षेत्रमा भारतीय नेपालीको योगदान धेरै छ । संगीतका क्षेत्रमा गोपाल योञ्जन, अम्बर गुरुङ, अरुणा लामाहरू विशेष स्मरणीय छन् । साहित्यका क्षेत्रमा पारिजात, इन्द्रबहादुर राई, लीलबहादुर क्षेत्री, अगमसिंह गिरी, हरिभक्त कटुवाल हुँदै मनोज बोगटी वा राजा पुनियानीसम्मको लामो पुस्ता छ । लैनसिंह बाङ्देलको योगदान साहित्य र कलाकारिता दुवैतिर छ । चलचित्रका क्षेत्रमा तुलसी घिमिरे पनि यस्तै अग्रणी पंक्तिमा आउँछन् ।

भारतीय नेपाली साहित्यकारका रचनाहरूमा ‘लोकेसन' प्रस्ट छ । कि त उनीहरू भारतीय नेपाली समाजलाई आफ्ना सिर्जनाहरूमा अभिव्यक्त गर्छन् कि त नेपालभित्रको नेपाली समाजलाई देखाउँछन् । यसरी देखाउँदा उक्त समाज र त्यहाँको परिवेश प्रस्ट चिनिन्छ । तर, तुलसी घिमिरेमा यो पाइँदैन । न दार्जिलिङ, न नेपाल नै पाइन्छ । कहीँको पनि सामाजिक जीवन र आर्थिक राजनीतिक परिस्थितिका चित्रहरू चलचित्रमा आउँदैनन् ।

एकादेशका परीकथाजस्ता घिमिरेका चलचित्रहरूमा संवादको भाषा नेपाली हुन्छ तर चरित्रका जीवनमा आइपर्ने समस्यामा नेपालीपन हुँदैन । पहिरन हेर्दा नेपालीजस्ता लाग्ने पात्रहरू हुन्छन्, चाडपर्व पनि नेपाली समाजसँग मिल्ने खालकै देखिन्छन् तर नेपाली समाजका अन्तर्विरोधहरू त्यहाँ हुँदैनन् । यसको अर्थ दार्जिलिङको वास्तविकता हुन्छ भन्ने होइन । दार्जिलिङकै समस्या र जनजीवन पनि चलचित्रमा आउँदैनन् ।

वास्तविकता नै होस् तर त्यसलाई नै प्रकट गर्ने घिमिरेको निर्देशकीय शैली अतिशयोक्तिपूर्ण छ । कसैले यसैलाई ‘फिल्मी' भनेका हुन् भने निर्देशक घिमिरेको शैली फिल्मी नै छ । घटनाहरू संयोगमा आधारित हुन्छन् । अतिरञ्जनापूर्ण अभिनय हुन्छ- नाट्यशास्त्रीय रसवादको प्रभावले लपक्कै भिजेको । स्वाभाविकता, जसलाई चलचित्रको आत्मा भनिन्छ; त्यो घिमिरेका चलचित्रमा खोज्दा पनि पाइँदैन । तर, जो दर्शक अतिशयोक्ति नै हेर्नका लागि चलचित्र भवनमा पुग्छन्, उनीहरूका लागि भने चलचित्रहरू मज्जाका छन् । यही रुमानी शैलीको ‘फिल्मी मज्जा'ले घिमिरेका चलचित्रलाई लोकप्रिय बनाएका हुन् ।

हामीले तुलसी घिमिरेजस्ता परिपक्व निर्देशकबाट अपेक्षा गरेको कुरा दर्पण छाया २ वा ३ होइन, बरु पुनर्निर्माण नै गर्ने हो भने ‘लाहुरे'को पुनर्निर्माणको अपेक्षा हो । लाहुरे चलचित्रमाथिको आत्मसमीक्षा हो । हिजो त्यसरी सोच्ने मञ्जरीहरू आज कसरी सोच्दैछन् ?

तुलसी घिमिरे विचार र बौद्धिकताका भन्दा पनि भावनाका निर्देशक हुन् । यिनका चलचित्रमा भावुकता र कोमलताको मात्रा धेरै हुन्छ । रुमानी शैलीको भावुकतापूर्ण मायाप्रेम यिनका चलचित्रहरूमा देख्न पाइन्छ । यिनका अधिकांश चलचित्रले दर्शकका आँखामा आँसु ल्याइदिन्छन् । अन्य भाषाका स्तरीय चलचित्रसम्म पहुँच नभएका सामान्य ग्रामीण समुदायका सोझासीधा जनसमुदाय र बूढाबूढीमा यिनका चलचित्रहरूको प्रभाव ज्यादा पर्छ ।
जसले चलचित्रलाई बौद्धिक सिर्जनात्मक कलाका रूपमा हेरेको हुँदैन उसका लागि घिमिरेका चलचित्रहरू नेपालका चलचित्र नै हुन् भन्ने पनि लाग्नसक्छ । धेरैले नेपाली चलचित्र नै मान्दै आएका छन् । किनभने त्यहाँ नेपालको मात्रै होइन, भारतको कुरा पनि कतै स्पष्ट देखिने गरी हुँदैन । मूल कुरा समाज हुँदैन ।

समाज नभएपछि न पेसा हुन्छ, न राजनीति, न त कुनै चरित्रको विशिष्ट सामाजिक धरातल । न उक्त समाजका शक्तिसंघर्षहरू नै हुन्छन् । यस्ता जग नभएका चरित्रहरूलाई निर्देशकले जता मन लाग्यो, उतै लैजान पाउँछन्, जे गराउन मन लाग्यो त्यही गराउन पाउँछन् । कलाका दृष्टिले यो काम गतिलो काम होइन, यसले कलात्मकता र विश्वसनीयतामा क्षति पुर्‍याउँछ । तर, मनोरञ्जनका लागि चलचित्र हेर्ने दर्शक भएका ठाउँमा व्यावसायिकतालाई यसले नोक्सान गर्दैन, गरेको छैन ।

व्यावसायिकता तुलसी घिमिरेका चलचित्रको महत्ववपूर्ण पाटो हो । तर, पनि कुनै न कुनै आदर्शबाट प्रेरित नभई केवल व्यवसायका लागि चलचित्र बनाउने काम यिनले गरेका छैनन् । यथार्थबाट कटेका यिनका चलचित्र र चरित्रहरूमा आदर्शवादको प्रभाव जतासुकै छ । ‘दर्पण छाया' १ र २ मा मानवीय प्रेमसम्बन्ध र संगीतप्रतिको लगावलाई आदर्शीकरण गरिएजस्तै ‘दक्षिणा'मा शिक्षकको व्यक्तित्वलाई आदर्शीकरण गरिएको छ । अन्य चलचित्रहरूमा पनि यो विशेषता प्रशस्तै पाइन्छन् । ‘लाहुरे' एउटा नमुना हुनसक्छ ।

‘लाहुरे' चलचित्रमा एउटा सिपाहीको परिवारको तीनपुस्ते कथा छ । मञ्जरी (तृप्ति)का ससुरा सिपाही थिए, पति सिपाही थिए र छोरालाई पनि ऊ सिपाही नै बनाउँछे । ससुरा सिपाही भएकाले उसकी सासू विधवा भएकी थिई । पति सिपाही भएकाले ऊ आफू विधवा भएकी छ । तर, फेरि पनि ऊ आफ्नो छोरालाई सिपाही नै भएको देख्न चाहन्छे । ससुराले भारतमाताको सुरक्षाका क्रममा गोली खाएको थियो, पतिले पनि सोही कामका लागि गोली खायो र छोरालाई ऊ बलपूर्वक त्यही काममा लगाइराखेकी छ । सिपाही पेसाप्रतिको आदर्श । नेपाली भनेको वीर जाति हो भन्ने स्थापित धारणाको गौरवगान ।

‘लाहुरे' चलचित्रको कथा एकप्रकारले निर्देशक तुलसी घिमिरे र भारतीय नेपाली समुदायकै पनि कथा हो, नेपाली समुदाय भारतका अल्पसंख्यक र उत्पीडित समुदाय हुन् । त्यहाँका नेपालीभाषीलाई आफ्नो सांस्कृतिक विरासतको मायामोह छ, लगाव छ । तर, उनीहरूको भविष्यचाहिँ नेपालको होइन भारतको राजनीतिसँग जोडिएको छ । देश उनीहरूको भारत हो । बाबु र हजुरबाबु दुवै गोली खाएर मर्नुपर्दा र घरमा महिलाहरू पुस्तैनी रूपमा विधवा बन्नुपर्दा पनि मञ्जरीले छोरालाई सेना नै बनाउन खोज्नुको कारण भारतभूमिप्रतिको भक्ति प्रदर्शन हो । ऊ आफ्नो देशका रूपमा भारतमाताप्रतिको बफादारी देखाउन चाहन्छे, जसले गर्दा भारतीय सत्ताले उनीहरूलाई दोस्रो दर्जाको नागरिक नठानोस्, पहुँच र सुविधाहरूबाट वञ्चित नगरोस् ।

आफू बलात्कृत हुन लाग्दा आत्मरक्षाका क्रममा बगानको हाकिम मारिँदा मञ्जरीले थातथलो छोडेर भाग्नु परेको छ । सेनाको परिवार भएर पनि राज्यले उसको रक्षा गर्ला भन्नेमा उसलाई विश्वास छैन । तब त्यस्तो राष्ट्रको रक्षाका लागि जीवन दाउमा राखेर सेनाको जागिर किन खाने ? मञ्जरीलाई देशको माया यतिसारो लाग्नुको कारण के ? के देश भनेको खालि भावना हो ? आफ्ना नागरिकप्रति, राज्यको कुनै दायित्व हुँदैन ? यसको जवाफमात्रै होइन, यस्तो प्रश्न पनि चलचित्रमा छैन ।

तुलसी घिमिरेमा यही अप्ठ्यारो छ, न मज्जाले नेपाली हुने आँट छ न त मज्जाले भारतीय हुने हिम्मत छ । उनी दुवै प्रकारको समाजसँग गाँसिने र भिन्न हुने काम एकसाथ गरिरहेका छन् । यसले उनलाई मजधारमा अल्झाएको छ र पर्वते नेपाली नोस्टाल्जियामा फसाएको छ । भावुकता र बफादारिता छ, संघर्षको चेतना छैन । जुन राज्यसत्ताले आफ्नो हितको रक्षा गर्न चाहँदैन वा सक्दैन, त्यस्तो राज्यसत्ताको रक्षाका लागि मञ्जरीले आफ्नो छोरालाई सेनामा जानै लागेको भए पनि रोक्नुपथ्र्यो । अर्की महिलालाई विधवा हुनबाट बचाउनुपथ्र्यो । तर, ऊ यसका विपरीत नजान खोजेको छोरालाई बलपूर्वक सेनामा पठाउँछे । निर्देशक त्यसैलाई गौरवको विषय बनाउँछन् र प्रशंसित गर्छन् । यो क्रम आजसम्म पनि उस्तै छ ।

बफादारिता, विश्वास, सहयोग, त्यागजस्ता कुराले निर्देशक घिमिरेलाई ज्यादा प्रभावित गर्छन् । हिन्दु सभ्यता र सनातनी धर्ममा उनको अटुट विश्वास देखिन्छ । गाउँले जीवनप्रति मोह र विश्वास दुवै छ । गाउँले पहिरन, पहाडी टोपी र दौरा सुरुवाल, फरिया र मजेत्रोमा आकर्षण छ । लोकगीत र नाचहरूप्रति लगाव छ । नेपालको पहाडी गाउँले जीवनमा उनी त्यो आदर्श देख्छन् । त्यहाँ मानवता अझै पनि बलियो छ भन्ने उनलाई लागेको छ । समाज जति नै भौतिकवादी भइसकेको किन नहोस्, जति नै नाफाखोरी र अमानवीय भइसकेको किन नहोस्, त्यसलाई निर्देशक बुझ्नै चाहँदैनन् ।

‘दर्पण छाया २' हेर्दा यस्तो लाग्छ, नेपाली वाद्ययन्त्रहरूको संरक्षण र प्रयोग नभएको युवाहरूले चाख नदिएर हो । युवाहरूले चाख किन दिएनन् भन्नेतिर चलचित्रले कुनै संकेत गर्दैन । आफ्नो परम्परा हराउन थाल्यो, मर्न थाल्यो भन्ने चिन्ता त देखिन्छ, यसलाई मर्न दिनु हुँदैन भन्ने सकारात्मक भावना पनि देखिन्छ । तर, के कारणले हराउन थालेको हो भन्नेमा कुनै खोजी चलचित्रले गर्दैन । पाश्चात्य संगीत र संस्कृति कसका कारणले भित्रिँदैछ भन्नेमा पनि चलचित्र मौन छ । सांस्कृतिक अतिक्रमणका आर्थिक-राजनीतिक आयामबारे चलचित्र बोल्नै चाहँदैन ।

परम्परागत र मौलिक नेपाली वाद्ययन्त्रहरूको संरक्षण र उपयोग गरिनुपर्छ त चलचित्रले भन्छ तर किन गरिनुपर्छ भन्ने कुराको जवाफ दिँदैन । तिनीहरू हराउँदा समाजलाई के घाटा हुन्छ भन्नेमा चलचित्र बोल्दैन । बरु यस्तो महत्ववलाई व्यावसायिक मुनाफामा लगेर जोड्छ । परम्परालाई ‘ग्यामराइज्ड' गरेर आर्थिक हितको मार्ग समात्ने सन्देश दिन्छ । संस्कृतिलाई हेर्ने पुँजीवादी व्यापारिक दृष्टिकोणको पक्षपोषण गर्छ । सांस्कृतिक मूल्यलाई बजार मूल्यमा मिलाउने काम गर्छ ।

हामीलाई चाहिएको कुरा कलाकारहरूको, स्रष्टाहरूको मूल्यको स्थापना हो भने त्यो वैचारिक, कलात्मक, सिर्जनशील मूल्यको स्थापना हुनुपथ्र्यो होला । त्यो मूल्य पो हामीले जोगाउनुपर्ने होला जसले मानिसलाई व्यापारिक रूढता र यान्त्रिकताबाट थोरै भने पनि मुक्ति देओस् । मानिसलाई सिर्जनशील जीवन बाँच्ने प्रेरित गरोस् । व्यवसायभन्दा माथि मानवीय हितका विषयमा सोच्न, बोल्न र व्यवहार गर्न प्रेरित गरोस्, मार्गदर्शन गरोस् । तर, दर्पण छाया २ चलचित्र यसको विपरीत छ । मुनाफाका ध्येयले संगीतकर्मलाई व्यवसाय बनाउन खोज्ने कम्पनीकै कारण सांगीतिक क्षेत्र विकृत हुन्छ भन्ने यथार्थलाई चलचित्रले उल्टो ढंगबाट पेस गरेको छ ।


एकादेशका परीकथा जस्ता घिमिरेका चलचित्रहरूमा संवादको भाषा नेपाली हुन्छ तर चरित्रका जीवनमा आइपर्ने समस्यामा नेपालीपन हुँदैन । पहिरन हेर्दा नेपालीजस्ता लाग्ने पात्रहरू हुन्छन्, चाडपर्व पनि नेपाली समाजसँग मिल्ने खालकै देखिन्छन् तर नेपाली समाजका अन्तर्विरोधहरू त्यहाँ हुँदैनन् ।

क्षेत्रीय चलचित्रहरूको महत्वव स्थानीय जनजीवन र तिनका सांस्कृतिक-आर्थिक सम्बन्धहरूलाई आकार दिनुमा छ । विशिष्ट सामाजिक अन्तर्विरोध र त्यसले पारेका प्रभावहरूलाई चित्रण गर्नुमा छ । अन्य भाषाका भारतीय चलचित्रहरूले धेरै हदसम्म यो काम गर्दै आएका पनि छन् । साहित्यमा यो काम भारतीय नेपालीले पनि गर्दै आएका छन् तर चलचित्रमा यो देखिएको छैन । कम्तीमा दर्पण छाया २ मा त यो पटक्कै छैन ।

एउटा भारतीय नेपाली चलचित्रका नाताले हामीले दर्पण छाया २ मा खोज्ने कुरा त्यहाँको जनजीवनको चित्रण हो । नेपाली समुदायमाथि भएको उत्पीडन वा विशिष्टताको अभिव्यक्ति हो । नेपालका आदिवासी जनजातिका चलचित्र होऊन् वा मधेसी समुदायका । तिनै अभिव्यक्ति हामी चाहिरहेका हुन्छौं । विदेशी भूमि र समुदायको चलचित्रमा हामी त्यहाँको सच्चाइ हेर्न चाहन्छौं । त्यही चीज चलचित्रमा छैन ।

सांगीतिक क्षेत्रलाई नै विषय बनाउने हो भने पनि त्यहाँका अन्तर्विरोधहरू खै ? पुरस्कारको राजनीतिले सांगीतिक क्षेत्रलाई प्रभावित गरेको नहोला ? बजारले सर्जकहरूसँग बिकाउ सिर्जनाको माग गरेको छैन होला ? बजारले सर्जकहरूलाई खास किसिमका त्रास र प्रलोभनहरू देखाएर अभिव्यक्तिको स्वतन्त्रताबाट वञ्चित गरेको छैन ? खास प्रकारका सिर्जनाहरूलाई प्रोत्साहन गर्ने र खास किसिमका सिर्जनाहरूलाई निरुत्साहित गर्ने काम गरेको छैन ? मिडियाले संगीतको प्रसारणमाथि न्याय गर्दै आएको छ ? पैसाको चलखेल र सेलिब्रिटीको किनबेच छैन ? रिमेकलाई चलचित्रले नराम्रो भन्छ तर किन ? आफूले उठाएका मुद्दालाई चलचित्रले प्रकाश पार्नु पर्दैन ? कि दार्जिलिङतिर यो छैन ? तर्कपूर्ण आलोचनाहरू चलचित्रमा हुँदै नहुनुको कारण के ? भारतीय नेपालीका लागि सब कुरा ठिकठाक छ ?

यसको जवाफ दर्पण छाया २ ले दिन सक्दैन । हामीले तुलसी घिमिरेजस्ता परिपक्व निर्देशकबाट अपेक्षा गरेको कुरा दर्पण छाया २ वा ३ होइन, बरु पुनर्निर्माण नै गर्ने हो भने लाहुरेको पुनर्निर्माणको अपेक्षा हो । लाहुरे चलचित्रमाथिको आत्मसमीक्षा हो । हिजो त्यसरी सोच्ने मञ्जरीहरू आज कसरी सोच्दैछन् ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.