'मैले लेख्दा महिलाले शक्ति पाउँछन्'

'मैले लेख्दा महिलाले शक्ति पाउँछन्'

तसलिमा नसरिन ती महिला लेखकको नाम हो, जसको अगाडि र पछाडि कुनै विशेषण चाहिँदैन। लैंगिक असमानताविरुद्ध कुनै न कुनै हिसाबले आवाज उठाउनेको निम्ति उनको नाम नै एउटा बोल्ड परिचय हो।

बंगलादेशको मुस्लिम समुदायमा जन्मेकी यी विद्रोही लेखकले धार्मिक आवरणको बुर्का फालिन् र बुर्का टिकाइरहने विभेदकारी सोचविरुद्ध लेखकीय धावा बोलिन्।

परिणामः कट्टरपन्थीहरूले देश निकाला गरे। २५ वर्षदेखि उनी हातमा पासपोर्ट बोकेर विश्वका विभिन्न मुलुक घुमिरहेकी छन्। पछिल्लो समय भारतमा निर्वासित जीवन बिताइरहेकी तसलिमा आज मूलतः दक्षिण एसियाली संघर्षशील मानिसका लागि प्रेरणा, हिम्मत र विद्रोहको प्रतीक हुन्।

आइतबार दक्षिण एसियाली महिला विकास मञ्च (सडफ)लेद आयोजना गरेको 'वमन स्पिक्स' नामक कार्यक्रममा आफ्नो संघर्षको कथा सुनाउन काठमाडौं आइपुगेकी यी जोदाहा लेखकसँग रामकला खड्कालक्ष्मण श्रेष्ठले गरेको कुराकानीः

तपाईं त मेडिकल डाक्टर, मज्जाले मेडिकल प्राक्टिस गरेर, प्रेमिल कविता लेखेर बस्न सक्नुहुन्थ्यो। 'कम्फर्ट जोन' छोडेर 'रिस्क जोन'मा किन आउनुभयो?

म मेडिकल क्षेत्र छोड्न चाहँदिनथेँ। सरकारले नै समस्या सिर्जना गर्‍यो। सरकारले मलाई लेख्न बन्द गर्न भन्यो। किनभने म सरकारी अस्पतालमा सरकारी जागिरेका रूपमा काम गर्थें।

सरकारले मलाई मेडिकल जर्नलमा बाहेक अरूमा लेख्दा प्रकाशनपूर्व नै अनुमतिका लागि देखाउनुपर्ने आदेश दियो। किनभने मैले सरकारको आलोचना गरेर लेखिरहेकी थिएँ। त्यसले गर्दा सरकार डरायो। सरकारले सिमान्तकृत समुदायको सुरक्षा गरिरहेको छैन भनेर सत्य बताइदिएँ। त्यसैले उनीहरूले मैले लेखेको प्रकाशनपूर्व नै देखाउनुपर्ने आदेश दिए।

मेरो पासपोर्ट पनि खोसियो। त्यसको विरोधमा मैले जागिर नै छोडिदिएँ। म निजी अस्पतालमा काम गर्न गएँ। तर, निजी अस्पताल पनि मलाई काम दिन डराए। मलाई काम दिँदा धार्मिक कट्टरपन्थीले आक्रमण गर्लान् भनेर उनीहरू डराए। त्यसपछि म पूर्णकालीन लेखक बनेँ।

म यसमा कुनै पछुतो मान्दिनँ किनभने मजस्ता मेडिकल डाक्टर त थुप्रै छन्। हो, अहिले मैले बाँचिरहेको जीवनमा निकै चुनौती छन्। आज मेरा किताब बिकिरहेका छन्, भोल बिक्न छोडे भने म कसरी बाँचुला ? यो चुनौतीपूर्ण छ। तर, मैले यो चुनौती स्वीकार गरेँ, मात्र समाज फेर्ने सपनाले।

र, त्यो चुनौती स्वीकार्दा नै आजको तसलिमा नसरिनको निर्माण भयो। तपार्इं यति बोल्ड, साहसी कसरी हुनुभयो ? तपाईंलाई यत्रो हिम्मत दिने के छ त्यस्तो?
म अरूभन्दा साहसी र बोल्ड छु भन्दिनँ। मैले केवल मलाई भन्नुपर्छ भन्ने लागेको भनेकी मात्र हुँ। मानिसहरूले सबै प्रकारका असमानता, अन्यायविरुद्ध बोल्नुपर्छ भन्ने मलाई लाग्यो, म बोलेँ। धेरै महिला दमित छन्, कैयौं मानिस सिमान्तकृत गरिएका छन्, थुप्रै गरिब छन्। तर, केही थोरै मानिस अकल्पनीय रूपमै धनी छन्।

धनी र गरिबबीच ठूलो विभाजन छ। यदि यी सबैबारे बताउँदा वा महिलाहरू धर्मको आवरणमा हेपिएका छन्, दबाइएका छन् भन्दा के म मारिनुपर्छ? के मलाई देशबाट गलहत्याइनुपर्छ? ममाथि जे गरियो, त्यो निकै खराब काम हो। मैले आफ्नो चाहनाले देश छाडेकी हुँदै होइन।

२५ वर्षअगाडि मलाई मेरो देशबाट गलहत्याइयो। किन? किनभने मैले सत्य बोलेँ-धार्मिक कानुनले महिला र पुरुषबीच विवाह, सम्बन्धविच्छेद आदिमा समानता नदिएकाले महिला दबाइएका छन्। हामीलाई समानतामा आधारित कानुन चाहिन्छ। मैले मानवअधिकार र महिला अधिकारको पक्षमा पैरवी गरेँ।

महिला आफ्नो खुट्टामा आफैं उभिऊन् भन्ने चाहेँ। प्रगतिशील मानिसले यसबारे बोल्नैपर्छ। त्यसैले म बोलें, आफैं प्रताडित भएँ। मैले धेरै थोक गुमाउनुपर्‍यो। मैले देश, समाज, परिवार नै छोड्नुपर्‍यो। तैपनि मैले लेख्न छोडिनँ। किनभने मेरो लेखनले धेरै महिलाले शक्ति पाउँछन्। यही नै समाजका लागि मेरो योगदान हो।

कार्यक्रममा तपाईंले 'किताब पढेर महिलाले दिने फिडब्याकले नै लेखनमा लाग्ने हिम्मत पाएको' बताउनुभयो। फिडब्याक कसरी पाउनुहुन्छ ?
उनीहरूले व्यक्तिगत रूपमै मलाई लेख्ने गर्छन् इमेलमार्फत वा अरू कुनै माध्यममार्फत। महिलाले आफ्नो सफलताको कथा सुनाउँदा मेरो किताब पढेर हिम्मत आएको भन्छन्। त्यसले पनि मलाई लेखिरहन प्रेरणा दिन्छ।

तपाईंले भोग्नुपरेका विभिन्न परिस्थितिले के तपाईंमा कुनै परिवर्तन ल्यायो?
म झन् बढी बलियो भएँ। मैले दबाइएका मानिसहरू, धर्मनिरपेक्षतावादीहरू, नारीवादीहरू, मानवअधिकारको पक्ष लिनेहरूबाट प्रेम, सद्भाव र ऐक्यबद्धता प्राप्त गरेँ। यसले मलाई झन् बढी बलियो बनायो। हो, मेरो अगाडि धेरै अवरोधहरू छन्। म मेरो देश जान सक्दिनँ। भारतको पश्चिम बंगाल जान पनि मलाई रोक लगाइयो। मेरा किताब प्रतिबन्धित गरिए। अहिले पनि ममाथि फतवा जारी गरिएको छ। तर म ती सबलाई बेवास्ता गर्छु। त्यसको अगाडि म डराएकी छैन।

मैले स्विडेनको नागरिकता लिएकी छु, म त्यहाँ बस्न सक्छु। म कुनै पनि युरोपेली देशमा बस्न सक्छु। मसँग अमेरिकाको ग्रिन कार्ड पनि छ। म त्यहाँ बस्न सक्छु तर चुनौतीपूर्ण ठाउँमा नै आएँ। भारतमा मेरो जीवन खतरामा छ। तर भारतमा महिलाहरू दबाइएका छन्, धार्मिक कट्टरपन्थीहरू बढिरहेका छन्।

महिलाहरू बेचबिखन, घरेलु हिंसा, यौन हिंसा र दुर्व्यवहारका सिकार भएका छन्। मलाई लाग्यो मैले भारतीय उपमहाद्विपका महिलाहरूको लागि लेख्नुपर्छ किनभने पश्चिमी महिलाहरू त हामीभन्दा केही भए पनि स्वतन्त्र छन्। त्यसैले म भारतमै बसेर लेख्ने निर्णय गरेँ। अर्कोतर्फ, म बंगालीभाषी लेखक भएकाले पनि भारतमा बस्न सहज भयो। अर्को मुख्य कारण हो, मलाई यहाँको भाषा, संस्कृतिको ज्ञान छ। भारतमा बस्दा मलाई म अझ बढी योगदान गर्न सक्छु भन्ने लाग्छ। जब कि यहाँ मलाई निकै खतरा छ।

पूर्वमा धर्मका कारण महिला धेरै दमित छन् भन्ने ठान्नुहुन्छ तपाईं ?
म ठान्छु। म अहिले देख्छु, मेरो देशमा महिलाहरू बुर्का, हिजा लगाउन बाध्य छन् जबकि पहिले त्यस्तो देखिँदैनथ्यो। त्यसो त विभिन्न मुस्लिम देशमा महिलाहरू यस्तो दमित पनि छैनन् तर भारतमा मुस्लिम महिलाले समान अधिकार पाएका छैनन्।

भारतमा अहिले पनि 'मुस्लिम कानुन' छ जसले महिलालाई विवाह, सम्बन्धविच्छेद, वंशज आदिमा समान अधिकार दिएको छैन। त्यसेैले मैले समानतमा आधारित सबैका लागि एउटै कानुन 'युनिफाइड सिभिल कोड' माग गरिरहेछु। त्यस्तो भयो भने मुस्लिम महिलाले पनि समान अधिकार पाउनेछन्।

तपाईंको उपन्यास 'फेरा'मा आफ्नो देशप्रति एक महिलाको मोह दर्शाउनुभएको छ। अहिले तपाईं नै २५ वर्षदेखि निर्वासनमा हुनुहुन्छ। वास्तवमा यो निर्वासन के हो? देशबाट निकालिनुमात्र हो वा अरू पनि केही हो?
फरक विचार राखेकै कारण मेरो देशमा मलाई मार्न चाहन्थे। मैले मेरै देशमा पनि निर्वासनमा भएको महसुस गरिरहेकी थिएँ। अन्ततः मैले देश नै छोड्नुपर्‍यो। मेरो निम्ति देश केही फरक हो। मेरो निम्ति देश भनेको मप्रति ऐक्यबद्धता जनाउने मानिसहरू नै देश हो। यो कुनै भूगोल वा सीमा होइन। मजस्तै विचार राख्ने जनता नै मेरो देश हो।

के हामी तसलिमा नसरिनलाई नारीवादी भन्न सक्छौं ?
हो, म नारीवादी नै हुँ।

नारीवाद चाहिँ के हो?
नारीवाद एक मान्यता हो जसले महिला पनि मानिस हुन् भन्ने स्वीकार्छ। यो त्यतिमात्र हो त्योभन्दा अरू केही पनि होइन। नारीवाद पुरुषमाथिको शासन होइन मात्र महिलालाई मानिस ठान्नु हो।

यो निकै साधारण प्रतीत हुन्छ।
हो, यो साधारण नै छ।

तर, आम बुझाइमा त्यति साधारण बन्न सकेको छैन।
त्यसो त नारीवादका पनि धेरै प्रकारका छन् तर म अघि भनेजस्तो नारीवादमा मात्र विश्वास गर्छु। मेरो नारीवाद यत्ति हो, जसले भन्छ– महिलालाई आम मानिसलाई गर्ने व्यवहार गर। मात्र यत्ति। अरू चाहिँदैन। आम महिलालाई मानिसको रूपमा ग्रहण गरिएको छैन। उनीहरूलाई पुरुषभन्दा कमजोर ठानिन्छ। यौनसामग्री वा यौनदासी ठानिन्छ। मेरो नारीवाद महिला पनि मानिस हुन् भन्छ।

महिलालाई केले स्वतन्त्र बनाउँछ ?
पुरुषले महिलालाई मानिस सरहको व्यवहार नगर्दासम्म महिला स्वतन्त्र हुने छैनन्। शताब्दीयौंदेखि महिलालाई शिक्षा र आर्थिक अधिकारबाट बहिस्कृत गरिएको छ। उनीहरूले त्यसका लागि वर्षौंदेखि संघर्ष गरिरहेका छन्।

महिलालाई समान कानुन, शिक्षा, आर्थिक अधिकार आदि दिइयो भने मात्र यो लैंगिक विभेदको समस्या समाधान हुनेछ। तर, महिलालाई मानिस नठान्ने पुरुषले मात्र होइन, महिला स्वयंले पनि त्यस्तो ठान्छन् किनभने महिलाहरू शताब्दीयौंदेखि महिला केवल यौनवस्तु हुन्, पुरुषभन्दा कमजोर हुन् भनेर ब्रेनवास गरिएको छ। अर्कोतर्फ महिलालाई आम मानिस सरह व्यवहार गर्नुपर्छ भन्ने केवल महिलामात्र छैनन्, थुप्रै पुरुष पनि छन्। त्यसैले पुरुष वा महिला भन्ने ठूलो विषय होइन। यो तपाईंको शिक्षा, हुर्काइ र विचारधारामा निर्भर गर्छ।

तसलिमा नसरिन पुरुषलाई घृणा गर्ने महिला हुन्। उनले आफ्नो बुवालाई बाहेक कसैलाई पनि मन पराउँदिनन् भन्ने आरोप तपाईंमाथि छ। तपाईंले पुरुष र पुरुष प्रवृत्तिलाई कसरी हेर्नुहुन्छ?

मेरा किताब वा लेखहरू नपढ्ने मानिसले मात्रै यस्तो आरोप लगाउने गर्छन्। मेरो सन्दर्भमा मात्रै होइन, सबै महिलावादी लेखकहरूलाई योजनाबद्ध रूपमै यस्तै आरोप लाग्ने गरेको पाइन्छ। यहाँसम्मकी पश्चिमा मुलुकका नारीवादी लेखकलाई पनि पुरुष विरोधी भनेर आरोप लगाइन्छ किनभने यस्तो भनियो भने उनीहरूलाई पुरुषले घृणा गर्नेछन्।

अनि संसारमा कतै पनि जान दिँदैनन्। उनीहरूलाई समाजबाटै बाहिर्‍याउने उनीहरूको चाहना हुन्छ। त्यसैले तिमीलाई पुरुषले घृणा गर्ने व्यक्ति भन्ने आरोप लाग्छ। अनि तपाईंको आन्दोलन पनि कमजोर हुनेछ। विश्वका सबै चर्चित महिलावादी लेखकका यस्तै कथा छ। उनीहरूलाई पुरुष विरोधी भनेर आरोप लगाइने गरेको छ। वास्तवमा उनीहरू त्यस्ता होइनन्। उनीहरू त समाजमा रहेको विभेद हटाएर महिलालाई स्वतन्त्र बनाउन चाहन्छन्।

तपाईंको आसय महिलावादी हुँदैमा पुरुषलाई घृणा गर्नुपर्छ भन्ने आवश्यक छैनन्, कि कसो ?
हो, किन गर्नु पर्‍यो पुरुषलाई घृणा? महिला र पुरुष सधैं एकअर्काको सम्मान गरेर सुखका साथ बाँच्नुपर्छ भन्ने मात्रै नारीवादी धारणा हो।

तपाईंले भन्नु भएअनुसार निर्णायक तहमा महिला वा पुरुष जो भए पनि केही फरक पर्दैन। मुख्य विषय वैचारिक प्रतिबद्धता र पद्धतिमा परिवर्तन हो। कस्तो वैचारिक प्रतिबद्धता? कस्तो परिवर्तन?
पुरुष र महिला बराबर हुन् भन्ने विचारमा प्रतिबद्धता। पद्धतिमा परिवर्तन भनेको चाहिँ महिला र पुरुषका लागि समान अवसर हुनुपर्‍यो भनेको। महिला बालविवाहको सिकार हुनु हुँदैन, उनीहरूको बेचबिखन हुनु हुँदैन, यौनदासी, वेश्यावृत्ति आदि हुनु हुँदैन।अहिलेसम्म पुरुषको मनोरञ्जनका लागि महिला सधैं प्रयोग भएका छन्। महिलालाई वेश्यावृत्तिमा लाग्न बाध्य गरिन्छ। अहिले पनि घरमुली पुरुष नै हुन्छ।

महिलाले कमाइ गरिरहे पनि अहिले पनि प्रायः परिवारमा पुरुषलाई नै घरमुली मानिन्छ। पतिपत्नी दुवै काम गरेर उत्तिकै कमाइ गरे पनि घरमा उनीहरूको भूमिका नितान्त भिन्न हुन्छ। निर्णय गर्ने अधिकार पतिमा नै हुन्छ। पुरुषले के बुझ्नुपर्छ भने, दासीसँग भन्दा आफूजस्तै मानिससँग जीवन बिताउन निकै सजिलो हुन्छ। समान तहको जीवनसाथीसँग जीवन बिताउँदा बौद्धिक छलफल हुन्छ।

उनीहरूसँग बस्दा पुरुषलाई पनि आनन्द आउँछ। त्यसैले महिलाले पनि शिक्षा पाउँदा, उनीहरूलाई समान मानवको रूपमा व्यवहार गरिँदा र उनीहरूलाई आर्थिक स्वतन्त्रता दिइँदा अर्थात् महिला स्वतन्त्र हुँदा सबैभन्दा बढी त पुरुषलाई नै फाइदा हुन्छ।

मेरो जीवनसंगिनी पनि म जत्तिकै सक्षम छ भन्न पाउनु पुरुषका लागि पनि एउटा गर्वको विषय हो। तर अहिले महिलालाई घर सफा गर्ने, खाना पकाउनेलगायतका घरको काम गर्न लगाइन्छ। कुनै पनि दासीसँग बिताएको जीवनमा प्रेम र प्रतिबद्धता हुँदैन। तपाईंले किन आफू समानको मानिससँग जीवन नबिताउने? त्यसैले, महिलावादीले उठाएको विषय, समान तहको साथीसँग जीवन बिताऊ भन्ने हो। त्यसैले नारीवादी आन्दोलन सफल हुँदा पुरुषलाई नै फाइदा हुन्छ।

तपाईंले हालै प्रकाशित एक अन्तर्वार्तामा शिक्षित महिलाले नै बढी पित्तृसत्तात्मक सोचलाई बढावा दिइरहेका छन् भन्नुभएको छ। यस्तो अवस्थामा शिक्षाले महिलालाई कसरी सशक्त बनाउन सक्ला त?
वास्तविक शिक्षाले। विश्वविद्यालय गएर डिग्री हासिल गर्ने शिक्षामात्रै अहिले हामीले दिइरहेका छौं। यो वास्तविक शिक्षा होइन। तपाईं मानव हो, महिला पुरुष बराबर हुन्, महिलालाई दबाउने, बलात्कार गर्ने लगायतका कार्य गर्नु हुँदैन भन्ने धारणा बसालिदिने शिक्षा नै वास्तविक शिक्षा हो।

पुरुषले आफ्नो जीवनसाथीलाई बराबरीको रूपमा व्यवहार गर्नुपर्छ भनेर सिकाउनु नै वास्तविक शिक्षा हो। पुरुष र महिलामा शारीरिक भिन्नता भए पनि उनीहरूको दिमाग एउटै हुन्छ। र, ध्यान दिनोस्, कुनै पनि देश चलाउन बलियो मांसपेशी होइन दिमाग चाहिन्छ।

त्यसो भए हामी वर्तमान शिक्षा प्रणालीलाई पितृप्रधान सोचकै निरन्तरता भन्न सक्छौं ?
मैले त्यसो भनिरहेको छैन। वर्तमान शिक्षा प्रणाली शिक्षित गराउनेभन्दा पनि राम्रो जागिर खुवाउने माध्यममात्रै बनेको छ। यो त राम्रो जागिर पाउनका लागि गरिने तालिम भएको छ।

स्कुलमा पढाइने किताबमै बुवाले पैसा कमाउनुहुन्छ, आमाले घरधन्धा गर्नुहुन्छ भन्ने लेखिएको पाइन्छ।
सबैभन्दा पहिला त बालबालिकालाई नै महिला र पुरुष बराबरी हुन् भन्ने सिकाउनु जरुरी हुन्छ। बालबालिकालाई अहिले नै आमाले भात पकाउने र बाबाले कमाउने भन्ने कुरा सिकाइयो भने उनीहरूको कलिलो मस्तिष्कले यही कुरा सिक्छ र पछि छोराले फेरि पनि आफ्ना पत्नीलाई नै घरको काम गर्न लगाउँछ। त्यसैले समाजमा परिवर्तन गर्ने हो सबैभन्दा पहिले बालबालिकालाई समानताको शिक्षा दिनु आवश्यक छ।

अब प्रसंग बदलौं, लेखनमा कसरी प्रवेश गर्नुभयो?
मैले सानैदेखि लेख्न थालेकी हुँ। सबैभन्दा पहिले कविता लेखेँ र त्यसपछि विस्तारै यसलाई निरन्तरता दिएँ। मेरो दाइले कविताको पत्रिका निकाल्ने गर्नुहुन्थ्यो। मैले त्यसैमा सम्पादन गर्ने गर्थें।

मैले लेखेका कविताको किताब सबैभन्दा बढी बिक्री हुन थाले। पत्रिकाका सम्पादकले पनि मलाई लेख लेख्न अनुरोध गरे। ती लेखमात्रै होइन मेरा किताबहरूलाई पनि पाठकले धेरै रुचाए। मलाई उपन्यास लेख्ने बानी नभए पनि प्रकाशकले धेरै रोयल्टी दिने भए पछि त्यो पनि सुरु गरेँ। मेरो पहिलो उपन्यास 'अपोरपोक्को (अपोजिसन)' हो। 'लज्जा' मेरो चौथो उपन्यास हो।

'लज्जा'मा तपाईंले हिन्दु अल्पसंख्यकको पक्षमा पैरवी गर्नुभएको छ। तर, तपाईंले अहिले शरण लिनुभएको भारतमा नै हिन्दु अतिवादीहरूको निरन्तर उदय भइरहेको देखिन्छ। के तपाईं त्यसको पनि विरोध गर्नुहुनेछ?
म उनीहरूविरुद्ध लेख्नेछु। केही हिन्दु अतिवादीहरूले त मलाई देश निकाला गर्छु समेत भनेका छन्। म हरेक प्रकारको धार्मिक अतिवादको विरोधी हुँ। अतिवादले हिन्दुलाई बढी स्वतन्त्र (लिबरेटेड) बनाउँछ भन्नेमा म विश्वास गर्दिनँ। समानता र न्यायले मात्रै जनताको उन्नति गराउँछ।

कुनै पनि प्रकारको अतिवादले त समाजलाई नै पछाडि धकेल्छ। मेरो लागि हिन्दु, बुद्धिष्ट, क्रिश्चियन, मुस्लिम सबै मानव नै हुन् र म सबैको आदर गर्छु। म कुनै धर्ममा विश्वास नगर्ने भएकाले मेरा लागि सबै समान हुन्। मुस्लिम अतिवाद, हिन्दु अतिवाद, क्रिश्चियन अतिबाद कुनैले पनि उनीहरूको समाजलाई सुधार गर्दैन।

तपाईंले इस्लाममै परिवर्तन ल्याउनुपर्ने विचार राख्नुहुन्छ। कस्तो खालको परिवर्तन खोज्नुभएको?
इस्लामिक कानुनले महिलालाई विवाह, सम्बन्धविच्छेद, वंशज आदिमा विभेद गरेको छ। कानुन समानतामा आधारित हुनुपर्छ। धर्मलाई व्यक्तिगत छनोटको विषय बनाउनुपर्छ। कसैमाथि पनि लाद्नु हुँदैन।

मुस्लिम धर्म मान्ने मानिसलाई धेरै प्रकारको नियमले बाँध्ने गरिन्छ। महिलालाई बुर्का, हिज्जा लगाउन बाध्य पारिन्छ त्यसो गर्नुहुँदैन। टर्की, इराकजस्ता देशमा पनि कुनैबेला महिलामाथि यस्तो विभेद थिएन। तपाईंलाई थाहा छ, मुदाजिल्लाको समयमा यस्तो थिएन।

त्यतिबेला जागृत मानिसहरू थिए। तर, सन् १८०० मा भएको समानता पनि अहिले छैन। त्यतिबेलाका मानिसहरू मुस्लिम नै भए पनि अहिलेको जस्तो थिएनन्। कट्टरपन्थीहरूले इस्लाममा यो विभेद सिर्जना गरेका हुन्। इजिप्टका नासेरले पनि परिवर्तनको पक्षमा काम गरेका थिए। मुस्लिम देशमै पनि सेक्युलर आन्दोलन भएको थियो। तर, अहिले कट्टरपन्थीहरूको उदय भइरहेको छ। कट्टरपन्थीहरूले शासन गरिरहेका छन्।

अहिले नेपालमा महिलाहरू मुख्यमुख्य पदमा छन्। राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख नै महिला छन्। के नेपाली महिलाले यस्तो परिदृश्यले परिवर्तन ल्याउनेमा आशा गर्न सक्छन्?
नेपालमा यस्तो छ भन्दा मलाई निकै खुसी लाग्यो। अब उहाँहरूले कस्तो काम गर्नु हुनेछ भन्नेले महिलाको अवस्थामा कस्तो परिवर्तन ल्याउनेछ भन्ने निधो गर्नेछ।

केही आलोचकहरू तसलिमाका पछिल्ला लेखनमा छाडापन पाइन्छ भन्छन् नि?
जब महिलाहरूले आफ्नो शरीरबारे कुरा गर्न थाल्छन्, आफ्ना यौनिक चाहनाबारे कुरा लेख्छन् आलोचकहरूले जहिल्यै छाडापन भेट्टाउँछन्। तर, जब कुनै पुरुष लेखकले नारी शरीर र यौनको व्याख्या गर्छ, त्यसलाई कला भन्छन्।

महिला लेखकलाई आफ्नै शरीर र इच्छाबारे लेख्ने अधिकार छैन। यो काम पुरुषको हो भनिन्छ। यो मान्यता अब फेरिनुपर्छ। जो मानिसले मेरो लेखनमा छाडापन भेट्टाउँछन् वास्तवमा उनीहरूले महिलाले उनीहरूले कोरेको पारम्परिक सीमा ननाघुन् भन्ने चाहन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.