भूकम्प प्रभावित जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट

भूकम्प प्रभावित जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट

काठमाडौः सरकारले भूकम्प प्रभावित सात जिल्लामा ४४ करोड २० लाख रुपैयाँ खर्चेर एक वर्षभित्रै तीव्र गतिको (ब्रोडब्यान्ड) इन्टरनेट सेवा पुर्‍याउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सस्तो र सुलभ महसुल दरमा भूकम्प प्रभावित जिल्लामा इन्टनरेनट सुविधा उपलब्ध प्रयोग गर्न दिएर ई सूचना प्रविधियुक्त जिल्ला बनाउन ब्रोडब्यान्ड पुर्‍याउन लागेको हो ।

प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग लिएको कुल आम्दानीको दुई प्रतिशत रकमलाई प्रयोग गरेर गाउँगाउँमा इन्टेरनेट पुर्‍याउन लागेको हो । ग्रामीण दूरसञ्चार विकास कोषका नाममा प्राधिकरणमा सेवाप्रदायकले बुझाउने यो रकम खर्च गरेर गाँउगाउँमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउन लागिएको हो ।

प्राधिकरणले भूकम्प प्रभावित सात जिल्ला गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुंगामा ब्रोडब्यान्ड पुर्‍याउन गरेको प्रस्तावमा मर्कन्टायल र सुबिसु केबलनेट छनोट भएका छन् । यी कम्पनीले एक वर्षभित्रै सेवा दिने गरी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रस्तावमा सुबिसु र मर्कन्टायल छनोट भएका छन् । यी दुई कम्पनीमा एउटाले चार र अर्कोले तीन जिल्लामा इन्टरनेट सेवा दिनुपर्ने छ ।

प्राधिकरणले यी दुई कम्पनीलाई छनोट गरिसकेकाले आगामी दुई साताभित्र सम्झौता हुँदै छ । यी दुवै कम्पनीले कबोल गरेको रकमको पाँच प्रतिशत रकम प्राधिकरणसमक्ष राखेर सम्झौता गर्नुपर्छ । पर्फर्मेन्स ग्यारेन्टीका लागि राखिने यो रकमपछि १२ महिनाभित्र सम्झौता गरेको जिल्लामा इन्टरनेट सेवा पुर्‍याउनुपर्छ । अर्यालका अनुसार यी कम्पनीले सम्बन्धित जिल्लाका हरेक गाविस, सामुदायिक विद्यालय र स्वस्थ्य चौकीमा अनिवार्य रूपमा कम्तीमा ५१२ केबीपीएसको डाउनलोड स्पिड हुनुपर्छ।

यी कम्पनीसँग तार वा ताररहित प्रविधिबाट इन्टरनेट सेवा दिन पाउने गरी प्राधिकरणले सम्झौता गर्ने भएको छ । सेवाप्रदायक कम्पनीलाई जुन प्रविधि उपयुक्त हुन्छ त्यसैको प्रयोग गरेर सेवा दिन सक्ने व्यवस्था प्राधिकरणले तोकिदिएको छ । प्राधिकरणले गाउँगाउँमा इन्टरनेट पुर्‍याउन गरेको यो प्रयास अहिलेसम्मको पहिलो हो । यसअघि लमजुङमा सुबिसु केबलनेटमार्फत दिएको इन्टरनेट सेवा भने सीमित क्षेत्र र एक जिल्लामा मात्रै सीमित थियो।

प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा इन्टरनेट पुर्‍याउने मर्कन्टायल र सुबिसुलाई दिने निर्णय एक साता अगाडि गरेको थियो । प्राधिकरणले गत मंसिर पहिलो साता भूकम्प प्रभावित जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने कामका लागि सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो । सोही प्रस्तावबाट उपयुक्त कम्पनीद्वय सुबिसु र मर्कन्टायल छनोट भएका हुन् ।

प्राधिकरणले सुबिसुका लागि दोलखा, रामेछाप, सिन्धुली र ओखलढुंगामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मा दिएको छ । बाँकी तीन जिल्ला गोरखा, धादिङ र मकवानपुरको जिम्मा भने मर्कन्टायललाई दिएको छ । यो सेवाका लागि सुबिसु केबलनेटले २० करोड ७० लाख ८० हजार रुपैयाँको ठेक्का पाएको छ भने मर्कन्टायलले २३ करोड ५० लाख रुपैयाँ खर्च गर्ने जिम्मा पाएको छ ।

प्राधिकरणले भूकम्प प्रभावित अन्य चार जिल्लामा पनि ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउन लागेको छ । यसका लागि यसअघि नै सरकारी कम्पनी नेपाल टेलिकमलाई बिना प्रतिस्पर्धा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मा दिएको थियो । टेलिकमले आवश्यक काम गरिरहेको जानकारी दिएको छ ।

यसअघि ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर देशका सबै गाउँमा इन्टरनेट विस्तार गर्ने गरी इन्फर्मेसन सुपर हाइवेको काम पनि थालेको छ । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर अप्टिकल फाइबरमार्फत ब्रोडब्यान्ड सेवा विस्तार गर्ने प्रक्रियालाई प्राधिकरणले अगाडि बढाएको छ ।

मध्यपहाडी लोकमार्ग भएर ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तार गर्ने कामलाई पूर्वी खण्डतर्फ टेलिकमले जिम्मासमेत पाइसकेको छ । यो कम्पनीले करिब पाँच अर्ब खर्चने जिम्मा पाएको छ । टेलिकम सरकारी कम्पनी भएको र सरकारबाट पनि सोही कम्पनीलाई निर्देशन भएकाले सीधै यसलाई पहिलो चरणको कामको जिम्मा दिएको प्राधिकरणको भनाइ छ ।

मध्यपहाडी लोकमार्ग इन्टरनेटका लागि महामार्ग हो । यसलाई आधार मानेर ९६ कोर क्षमताको मेन लिंक र जिल्ला सदरमुकाम पुग्न ४८ वा २४ कोरको स्पर्क लिंक हुनुपर्ने सर्त तोकिएको छ । मध्यपहाडी लोकमार्गलाई अप्टिकल फाइबरको महामार्ग मान्ने र यसैबाट जिल्लाका नगर र गाउँसम्म इन्टरनेट विस्तार हुनेछ । प्राधिकरणका अनुसार पाँचथर चियो भञ्ज्याङदेखि गोरखाको आरुघाटसम्मको प्याकेजका लागि काम सुरु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.