'श्रीमतीको इच्छा पनि स्वीकार्नुपर्छ'
वैदेशिक रोजगारीले नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक पाटोमा पारेको प्रभावलाई समेटेर लेखिएको उपन्यास 'रेमिट्ल्यान्ड' सोमबारदेखि बजारमा छ । उपन्यासको विषयमा केन्द्रित रहेर यसका लेखक श्याम सिंघकसँग गरिएको कुराकानी
उमेरले चार दशक नाघिसकेपछि पो उपन्यास लिएर आउनुभयो त । यत्तिका समय कता हराउनुभयो?
स्कुल पढ्दै कथा, निबन्ध, कविता लेख्थेँ । लेखेका कविता, कथा, निबन्ध बुइँगलको सानो थोत्रो दराजमा थन्क्याउँथेँ । तेह्रथुममा मलाई साहित्यमा डोहोर्याउने, हौसला दिने, सुझाव दिने कोही पनि थिएन । खासमा तेह्रथुमको मेरो अँध्यारो गाउँमा कुनै साहित्यिक माहेल नै थिएन । अनि कसरी थाहा पाउनु क्वालिटी के हो । कसरी लेख्ने, वाक्य कसरी सुन्दर बनाउने भन्ने आइडिया पनि थिएन । त्यसैले वातावरणले नै साथ दिएन मलाई । लेखन, पठनमा टाढासम्म पनि साइनो नभएको मेरो परिवारमा साहित्य लेखिटोपल्ने म आउटसाइडरजस्तो पो भएछु । त्यस्तो गाउँमा हुर्केर पनि एउटा उपन्यास लेखेँ ।
२०६५ सालमा छापिएर आयो पनि । उपन्यासको नाम थियो- 'दलिता' । दलित पृष्ठभूमिको गाउँमा दलित पात्रहरूको सामाजिक संघर्ष उपन्यासको कन्टेन्ट हो । तर, त्यो उपन्यास मैले आफ्नो ओरिजिनल नाममा छापिनँ, सायद भित्र कताकता डर पनि थियो र 'निरव यात्री'को नाममा छपाएँ । तेह्रथुमको एउटा अन्धकार गाउँमा बसेर चुपचाप उपन्यास लेखिबस्ने त्यो ठिटो अर्थात् निरव श्याम सिंघकसँग अहिले प्रश्न गर्छ- के त्यो निरव यात्री मै थिएँ ? त्यहीँ निरव र श्यामबीच च्यापिएको एउटा अर्कै पात्र बनेर यत्तिका वर्ष आत्मविश्वास जुटाउन नयाँ उपन्यासका पात्र र प्लट खोज्दै बसेँ । 'दलिता' मिडियाका पत्रकारलाई दिएँ, तर कसैले वास्ता गरेनन् ।
२०६३ मा श्रीमती कामको खोजीमा इजरायल पुगिन् । उनी उता पुगेपछि मैले आर्थिक टेन्सन व्यहोर्नुपरेन र आफूलाई लेखनमा ढुक्कले लगाउन सकेँ । निकै पढ्न थालेँ । आफूले लेख्ने विषयमा रिसर्च गर्न थालेँ । एउटा जोस र तृष्णा थियो, त्यो तृष्णा लिएर सडकमा भौंतारिएँ । 'दलिता'ले मजस्तो लेख्ने तृष्णा भएको एउटा मानिसलाई गतिलो पाठ पढायो- कम्तीमा रिसर्च गर् र क्वालिटी लेख्ने कोसिस गर् ।
'रेमिट्ल्यान्ड'को लागि कस्तो खोज गर्नुभयो ? कथा कसरी फेला पार्नुभयो ?
म कामको सिलसिलामा झापाको दूधे भन्ने ठाउँमा बसेँ । मेरो एकजना पुरानो साथी थियो । उसले अन्तकहाँ बस्ने, मेरै घरमा बस भन्यो । दूधेमा शैक्षिक, राजनीतिक र सामाजिक चेतना निकै पिछडिएको पाएँ । दुई÷तीन कठ्ठा जमिन भएको मानिस पनि काम नगर्ने, रमाइलो गरेर हिँड्ने ।
गाउँ नै रेमिट्यान्समा चलेको । कसले को युवतीलाई प्रेम गर्यो भन्ने चर्चामै दिन काट्ने, त्यसैमा गर्व गर्ने । राजमार्गबाट नजिकै भएर पनि गाउँ पूरै वैदेशिक रोजगारीमा आ िश्रत थियो । अनेकखाले एक्स्ट्रा मेरिटल सम्बन्धमा रमाउने मानिस देख्दा मलाई यो भूमिको कथा एउटा राम्रो उपन्यासको प्लट हुन सक्छ भन्ने लाग्यो । त्यहीँ 'रेमिटल्यान्ड' जन्मियो ।
वैदेशिक रोजगारीका विविध पाटाबारे अनेक कोणबाट व्याख्या हुन्छ । तपाईं यसैमा केन्द्रित हुनुभयो । तपाईंलाई के लाग्छ, वैदेशिक रोजगारले हाम्रो समाजलाई सहयोग गर्यो कि ध्वस्त पार्यो ?
वैदेशिक रोजगार र रेमिट्यान्सले हाम्रो समाजलाई ध्वस्त बनायो भनेर विश्लेषण गरियो भने त्यो एक्स्ट्रिम मिस्टेक हुनसक्छ । यसका साइड इफेक्ट त छन् नै । गाउँमा ठूला स्क्रिनका टेलिभिजन छन्, महँगो मोबाइल भित्रेको छ । धूलो उडाउँदै पल्सर बाइक दौडेका छन् । आर्थिक रूपमा गाउँलेहरू सक्षम भएका छन् । छोराछोरी पढाएका छन् । तर, सँगै त्यसले परिवारमा झगडाको बिउ पनि रोपिदिएको छ।
युवाहरूमा मेहनत नगर्ने बानीको विकास भएको छ । जीवनप्रति कुनै दीर्घकालीन सोच नबन्ने प्रवृत्तिको विकास भएको छ । तर, अर्को विश्लेषण छ- विदेश गएका श्रीमान्का यहाँ रहेका पत्नीहरूलाई थुप्रै सामाजिक लाञ्छनाहरू लगाउन थालिएको छ । श्रीमतीहरू परपुरुषसँग रमाइलो गर्न थालेका खबर आउन थालेका छन् । यति हुँदाहुँदै पनि म वैदेशिक रोजगारको पक्षमा छु । यसले कम्तीमा मानिसको जीवनस्तर त उकासेको छ ।
तपाईं आफैं पनि श्रीमतीको रेमिट्यान्सबाट आ िश्रत एक हिस्सा हुनुहुन्छ नि ?
श्रीमती विदेश नगएको भए म लेखक बन्दिनथेँ । उनैको कारण मैले लेखनमा समय दिन सकेँ । आफूले आफ्नै संसार सिर्जना गर्न सकेँ । मेरो आफ्नै पनि जागिरेजीवन छ । तथापि म श्रीमतीको रेमिट्यान्सबाट आंशिक आ िश्रत पुरुष हुँ नै । यदि उनी विदेश नगएकी भए म परिवारको लागि भौतिक आवश्यकता पूरा गर्दागर्दै बूढो भइसक्थेँ । परिवारलाई बेवास्ता गरेर देवकोटा वा गोपालप्रसाद रिमाल बन्न पनि त सक्दिनथेँ ।
'श्रीमान्को विदेशमा सास्ती, श्रीमतीको नेपालमा परपुरुषसित मस्ती'को थिममा 'छक्का-पञ्जा' भन्ने फिल्म बन्यो । वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको असली तस्बिर यही हो त ?
सकेसम्म श्रीमान्- श्रीमती एकअर्काप्रति निकै इमानदार हुनुपर्छ । तर, पनि यौन शारीरिक आवश्यकता हो । श्रीमती यौनआनन्दकै लागि परपुरुषसँग लागिन् नै भने पनि उनलाई अपराधीजस्तो व्यवहार गर्नु हुँदैन । ठीक छ, मैले त आफूलाई जोगाएर राखेको छु र श्रीमतीबाहेक कसैसँग दैहिक सम्बन्ध छैन । तर, सम्बन्धमा आएको तनावकै कारणले धेरै घरबार बिगे्रका छन् । श्रीमतीलाई टर्चर दिने, मार्नेसम्मका हर्कत समाजमा देखिन्छ । यसले समाजलाई आपराधिक बनाउँदै लगेको सत्य हो । तर, रेमिट्यान्सको अर्को पाटो पनि छ- यसले मुलुकलाई समृद्धितिर डोर्याएको छ । त्यसैले रेमिट्यान्सलाई पीडाकै रूपमा मात्र लिनुहुन्न । यसले समाजलाई सुख पनि दिएकै छ, आर्थिक रूपले ।
रेमिट्यान्सका प्रभावबारे केही आख्यान लेखिएका पनि छन् । 'रेमिटल्यान्ड' पनि ती अरू किताबकै निरन्तरता त हो नि है ?
यो किताब लेख्न मैले निकै किताब पढेँ । रेमिट्यान्ससँग सम्बन्धित साहित्यमा विदेशको रोदन, विलाप नै बढी लेखिएको भेटेँ । श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती नेपालमा पैसा उडाउने र अरूसँग हिँड्ने भन्ने कथा बढी लेखिए । धेरैले श्रीमतीको अतृत्पता, अश्लीलता लेखे । तर, रेमिट्यान्सले मानिसको आर्थिक स्तर बढाएको, मानिसले घरजग्गा जोडेको, बैंक ब्यालेन्स गरेको, मानिसको जीवनस्तर उकासिएको प्रसंग लेखिएन । मैले यसमा सन्तुलन कायम गर्ने प्रयास गरेको छु । यो अरू किताबकै निरन्तरतो होइन । यो रेमिट्यान्ससँगै मानिसको प्रेमकथा पनि हो । विदेश जाने सबैका श्रीमती पोइल गएका पनि छैनन् ।
परिवार सबैको भत्केको पनि छैन । हाम्रो साहित्यमा सन्तुलित मनोविज्ञान लेखिएन । श्रीमान् वा श्रीमती साथ नहुँदा पनि मानसिक रूपमा मानिसले कसरी आफूलाई जोगाउन सकेका छन्, मैले त्यही लेखेँ । मैले वैदेशिक रोजगार ८० प्रतिशत राम्रो, २० प्रतिशत नराम्रो भनेर लेखेँ । रेमिट्यान्सले हाम्रो समाजमा कस्तो प्रभाव पारेको छ र हामीमा कस्तो मनोविज्ञान निर्माण गरेको छ भन्ने कथा नै उपन्यास-कन्टेन्ट हो ।
अरू विषयमा पनि त लेख्न सक्नुहुन्थ्यो । रेमिट्यान्सकै मुद्दा उठाउनुपर्ने कुनै घटना विशेष पो छ कि?
मेरो पात्र मरुभूमिको उच्चाट हावापानीमा बस्यो र यहाँ आउँदा रमायो, वर्षामा उसको मन चञ्चल भयो । त्यसैले म किताबको नाम 'मनसुन' राख्न चाहन्थेँ । त्यसबेला मैले हावापानीबारे थुप्रै पढेँ । तर, त्यो नामको किताब पहिल्यै आइहाल्यो । किताब लेख्न मैले खाडी मुलुक गएर आएका मानिस भेट्नु थियो ।
उनीहरूको कथा टिप्नु थियो । विदेश गएर फर्केको एकजना साथी भेटेँ । उसले विदेशमै हुँदा श्रीमतीको नाममा किनेको जग्गाको अहिले करोडौं भाउ छ । जग्गा श्रीमतीको नाममा छ, तर ऊ अरू कुनै परपुरुष छानेर, दुई छोरा छोडेर पोइल हिँडी । तर, ऊ पोइल गएकी श्रीमतीलाई कति माया गर्छ भने घरको भित्तामा श्रीमतीसँगको ठूलो फोटो टाँसेको छ । एल्बममा श्रीमतीका फोटोहरू बडो हिफाजत गरेर राखेको छ । श्रीमतीले प्रयोग गर्ने सामान, कपडालाई जतनसाथ राखेको छ । श्रीमती पनि उसलाई प्रेम त गर्थी।
तर, प्रेम एकजनासँग मात्र नहुन सक्छ । उसको शारीरिक आवश्यकता पनि सायद पूरा भएन र ऊ पोइल गई । यसलाई पनि म नराम्रो मान्दिनँ । श्रीमतीको इच्छा पनि स्वीकार्नुपर्छ कुनै केसमा । श्रीमती कुनै वस्तु त होइन नि यार । उसका पनि अनेक इच्छा हुन्छन् । मानिदिनुपर्छ । छोरालाई जे गर्न पनि छुट, छोरीलाई चाहिँ जेमा पनि बन्देज लगाउने ? मेरो उपन्यासमा बारम्बार आइरहने एउटा चिटिक्क परेको कम्पाउन्ड भएको घर त्यही साथीको घर हो । उसकै कथाले मलाई उपन्यास लेखायो ।
त्यसो भए रेमिट्यान्सले हाम्रो परिवार विखण्डनमा सहयोग पुर्याउँछ ? रेमिट्यान्स विषालु भयो है ?
होइन । यसरी मात्रै हेर्नुहुन्न । मैले माथि नै भनिसकेँ, यसले नेपाली समाजलाई समृद्ध बनाएको छ । गरिबीको चोट डरलाग्दो हुन्छ । आर्थिक रूपमा सबल भएमात्रै जीवन सबल हुन्छ । र, रेमिट्यान्सले मानिसलाई मल्हमपट्टि लगाएको छ ।