नेपाल विज्ञापन संघका अध्यक्षद्वारा महासंघमा उम्मेदवारी
काठमाडौं : नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधित्व गर्दै महासंघमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
विज्ञापन बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठ डेढ दशकदेखि आनको गतिविधिमा सक्रिय रूपमा संलग्न छन् । आनको सचिव, महासचिव र अध्यक्ष हुँदै १० वर्षसम्म सफल नेतृत्व सम्हालेका श्रेष्ठले आगामी दिनमा महासंघलाई पनि सवल र सशक्त रूपमा अघि बढाउन पहल गर्ने उद्देश्यअनुरूप आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
नेपाली उत्पादनको बजारीकरण र औद्योगिक विकासका लागि सञ्चारमाध्यम र विज्ञापनको ठूलो भूमिका हुने र त्यसका लागि आफूले महासंघभित्र रहेर सक्दो पहल गर्नेसमेत उनले जानकारी दिए । विशेषगरी विज्ञापन र मिडिया रिसर्चमा राम्रो दख्खल भएका श्रेष्ठले संघमा रहेर पनि थुप्रै सुधारका काम गरिसकेका छन् । सामाजिक कार्यमा बढी चासो राख्ने श्रेष्ठ बाग्मती सफाइ अभियानमा पनि एक मुख्य अभियन्ता हुन्।
चार वर्षदेखि बाग्मती सरसफाइ अभियानमा संलग्न उनी अन्य सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् । बाग्मती सरसफाइ अभियानको प्रचारप्रसार समितिका संयोजक रहेका श्रेष्ठको सरकार र कर्मचारीतन्त्रसँग राम्रो सम्बन्ध छ । नीतिगत सुधारका काममा सरकारसँग सहकार्य गर्न सक्ने क्षमता भएको श्रेष्ठले आगामी दिनमा महासंघभित्र रहेर व्यवसायीमैत्री ऐन-नियम निर्माणका लागि सक्दो पहल गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !