घरजग्गा मेला आयोजना हुने
काठमाडौः नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनामा छैटौं ‘घरजग्गा मेला' आयोजना हुने भएको छ । मेला चैत २५ देखि २८ सम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने भएको छ । मेलाको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ ।
मेलाको अवसर पारी २०७३ साल चैत २८ मा विभिन्न घरजग्गा कम्पनीको संयुक्त आयोजना, इन्जिनियरिङ अध्ययन संस्थानको सहयोग र सरोकारवालासमेतको समन्वय एवं सहकार्यमा नेपालमा पहिलो पटक हाउजिङ समिटसमेत आयोजना हुने आयोजकले जनाएको छ । गत वर्षको विनाशकारी भूकम्पले यस व्यवसायलाई केही हदसम्म अवरोध सिर्जना गरे पनि विगत वर्षमा आयोजित मेलामा प्रदर्शक तथा अवलोकनकर्ताको उल्लेख्य उपस्थितिले यस वर्ष पनि मेला आयोजना गर्न लागेको हो । यसै तथ्यलाई मध्येनजर गरी यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था, यसका समस्या र समाधानका उपायसहित सूचना उपलब्ध गराई व्यवसायलाई समयसापेक्ष विकास एवं विस्तार गर्न थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा महत्ववपूर्ण योगदान पुर्याएका व्यवसायीलाई एकै ठाउँमा उभ्याउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । साथै, व्यवसायीले घरजग्गासम्बन्धी नवीनतम् उत्पादन उपभोक्तामाझ पुर्याई नेपाली रियल स्टेट व्यवसायको यथार्थ स्थिति, छनोट र समुचित मूल्यका बारेमा जानकारी दिने बताइएको छ । मेलामा स्वदेशी तथा विदेशी गरी एक सय २० भन्दा बढी स्टल रहनेछन् ।
यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्री उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक तथा बिमा कम्पनी सहभागी हुनेछन् । यस मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्ट्स, सवारीसाधन, सजावटका सामान र बिमा, बैंकिङ तथा वास्तुकलाजस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी सोसम्बन्धी परामर्श सेवासमेत उपलब्ध गराउने आयोजकले जनाएको छ ।
यस मेलाबाट योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेन्ट खरिदबिक्रीमा संलग्न सबैले घरजग्गासम्बन्धी विस्तृत जानकारी प्राप्त गर्नेछन् । दर्शकले सुरक्षित एवं व्यवस्थित बसोबासको बारेमा प्रतिस्पर्धी मूल्यमा घरजग्गा तथा अपार्टमेन्ट सम्बन्धमा एकै थलोबाट जानकारी प्राप्त गर्न सक्नेछन् । यसका साथै उपभोक्तालाई विशेषज्ञद्वारा सोसम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्शसमेत उपलब्ध गराइनेछ । यसबाट यस व्यवसायमा आबद्ध व्यवसायी तथा उपभोक्ता दुवैको हित प्रवद्र्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !