सामाजिक व्यवहारमा सुधार

 सामाजिक व्यवहारमा सुधार

सामाजिक व्यवहारमा सुधार भनेर भोजभतेर जन्ती पार्टी प्यालेस होटेल र बाटो छेकेर गरिने मांगलिक कार्यहरू र पितृकार्य काजकिरियालाई मात्र लिने गरेको पाइएको छ । सरकारले पनि त्यसमा नियमितता र सदाचार कायम गर्न ऐन, नियम बनाएको छ । तर अहिले परम्परागत नेपाली समाजमा भएको ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँसराइ, संयुक्त परिवारबाट एकल परिवार, विद्यालयमा पढाइने नैतिक शिक्षा हटाइनु, सञ्चार र अन्य क्षेत्रमा भएको भौतिक परिवर्तन र सहज उपलब्धता, महिलाले घरबाहिर काम गर्न थाल्नु, निजी र सार्वजनिक यातायात प्रयोगको अनिवार्यता, ज्येष्ठ नागरिकको जनसंख्या वृद्धि, सार्वजनिक स्थल, कार्यालय र घरमा गरिने सामाजिक व्यवहार जस्ता कार्यलाई पनि समेट्ने गरी एकीकृत नयाँ सामाजिक मुलुकी ऐन, नियमको खाँचो महसुस भएको छ ।

नेपाली समाजमा सामाजिक व्यवहारमा तडकभडक र फजुल खर्चले अनावश्यक गति लिँदै गएको छ । सम्पन्नहरूले सामाजिक आडम्बर देखाउन गरिने यस्ता खर्चले सम्पन्न र विपन्नबीचको खाडल अझ फराकिलो बनाएको छ । आफ्नो हैसियतभन्दा बढी देखावटीको लागि गरिने यस्ता अनुत्पादक खर्चले पारिवारिक बोझ र जीवनयापन शैली तथा राष्ट्रको विकासमै असर पर्न गएको छ ।

वर्षौंको मेहनत र मितव्ययी भएर जोगाएको रकम परिवारको कल्याण र उत्पादक कार्यमा लगाउनुको बदला सामाजिक व्यवहारको भोजभतेर जस्ता अनुत्पादक कार्यमा खर्च गरेर सक्ने चलनले समाजमा विकृति र अनैतिक कार्यलाई प्रोत्साहन गरेको छ । समाजमा देखा परेका यस्ता विकृति रोकी सामाजिक चाडपर्वमा गरिने तडकभडक र फजुल खर्च रोक्नको लागि सामाजिक व्यवहार सुधार ऐन र नियमावली २०३३ जारी भएको छ ।

नेपालमा ऐन, नियम जारी भएपछि त्यसको अनुगमन र कार्यान्वयन पक्ष फितलो रहेको छ । राजनीतिक र प्रशासनिक लहडको भरमा यस्तो ऐन, नियम कहिले जाग्छ र धेरैजसो निष्क्रिय नै पाइएको छ । ४० वर्षअगाडि त्यस बेलाको नेपाली समाजमा गरिने विवाह, व्रतबन्ध, पास्नी जस्ता सामाजिक कार्यमा देखा परेका विकृति र विसंगति रोक्न सामाजिक सुधार ऐन, नियम लागू गरिएको थियो ।

सामाजिक व्यवहार सुधार ऐन २०३३ लाई समयानुकूल बनाउन संसद्को राज्य व्यवस्था समितिले हालै सामाजिक व्यवहार सुधार विधेयक २०७१ पास गरेको छ । समितिले पारित गरेको विधेयकमा संसद्बाट सामान्यतया परिवर्तन हुने गरेको छैन । संसद्ले पास गरेर राष्ट्रपतिबाट स्वीकृत भएर राजपत्रमा प्रकाशित भएपछि यो ऐन कार्यान्वयनमा आउनेछ । राजपत्रमा प्रकाशित ऐन, नियमको सरकारले व्यापक प्रचार–प्रसार र लिखित जानकारी नदिएको भनेर एकथरी लालबुझक्कडले भनेको पाइएको छ । जबकि राजपत्र भनेको सरकारको कामकारबाहीको आमजनतालाई सुसूचित गर्ने आधिकारिक माध्यम रहेको छ ।

राजपत्र देख्नेबित्तिकै राजा सम्झने फोबिया भएकाले यो पढ्दै पढ्दैनन् । सामाजिक सुधार ऐनको संशोधित व्यवस्थाअनुसार विवाहमा बढीमा ५०१ जना र अन्य सामाजिक कार्य व्रतबन्ध पास्नी जस्ता सामाजिक कार्यमा २५१ जनालाई निमन्त्रणा गर्ने पाइने अधिकतम सीमा तोकिएको छ । हाल यो ५१ जनामा सीमित रहेको छ । त्यस्तै दाइजो, तीलक र अन्य खर्चको सीमा पनि हेरफेर गरिएको छ ।

ऐनले तोकेको सीमाभित्र रहन जसको विवाह वा व्रतबन्ध गर्ने हो, उसको बाबुतर्फको चार पुस्ताभित्रका दाजुभाइ, दिदीबहिनी र आमातर्फका पनि चार पुस्ताभित्रका दाजुभाइ, दिदीबहिनी र नजिकका नातेदार र इष्टमित्रलाई मात्र बोलाउन पाउने गरिएको छ । यसरी ऐनका प्रस्तावित प्रावधान अधिकतम विवाहमा ५०१ जना र व्रतबन्ध, पास्नी जस्ता अन्य सामाजिक कार्यमा २५१ जनालाई आमन्त्रण गर्न सक्ने रहेको छ ।

भोजमा मात्र एक लाखदेखि ३० लाखसम्म र अन्यमा एक लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेको पाइएको छ । यसरी विवाह गरेका जोडी विवाहको भोलिपल्टदेखि एक वर्षभित्रमा सम्बन्ध–विच्छेद गरेको पनि देखिएको छ । अब सामाजिक कार्यमा कसले कति खर्च गरेको छ, त्यसको विवरण सो कार्य भएगरेको मितिले ३५ दिनभित्र आफू बसेको गाउँपालिका, नगरपलिका, उपमहानगरपलिका र महानगरपालिकाका वडा कार्यालयमा अनिवार्य बुझाउनुपर्ने भएको छ । यो विवरणमा किनमेलको बिल भरपाइ र भोज गरेको स्थान तथा लागतसमेत खुलाउनुपर्ने भएको छ । उक्त विवरण समयमा नबुझाएमा १० हजार रुपैयाँ जरिबाना र ऐन, नियम उल्लंघन गरेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिबाना र डेढ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

खर्च विवरण पेस भएपछि भोजमा आमन्त्रित वा अन्य कसैले उजुरी गरेमा प्रहरी कारबाही वा सम्पत्ति शुद्धीकरण विभागले आयस्रोतको छानबिन गर्ने बाटो खुलेको छ । बितेको यो चार दसकको अवधिमा नेपाली समाजमा आएको परिवर्तनले सामाजिक व्यवहारमा अग्रगमनतर्फ लाग्नुपर्नेमा त्यसबेलाभन्दा अझ पछाडितर्फ नै धकेलिएको पाइएको छ ।

नेपालीहरूको आर्थिक स्तर बढ्नुका साथै जसरी भए पनि धन कमाउनुपर्ने धारणा विकास भएको छ । जे गरेर पनि अकूत सम्पत्ति थुपारेपछि त्यस्ता धनीको सानसौकात र रबाफ नहुनेको लागि अनुकरणीय बन्न पुगेको छ । देश र समाजको उन्नति र विकासमा लाग्ने नेतृत्वदायी भूमिकामा रहेका राजनीति, प्रशासन र सामाजिक क्षेत्रका अगुवाहरू नै अवैध तरिकाले अकूत सम्पत्ति थुपार्न लागेकाले ‘जो अगुवा उही.....’ भन्ने उखान चरितार्थ भएको छ ।

समाजमा एकथरी कमजोर मनस्थितिका भएको पाइएको छ । उनीहरू आफ्नो जीवन अरूसँग तुलना गरेर चिन्तित रहने गरेका हुन्छन् । उन्नति प्रगति चाहनेले आफ्नो अन्तरात्माको आवाज सुनेर आफ्नो जीवन आफ्नै तरिकाले अगाडि बढाएका हुन्छन् । अरूले के भन्लान् भनेर आफ्नो व्यक्तिगत व्यवहारमा अरूको राय, सल्लाह लिनु कमजोर निर्णय क्षमता र आत्मविश्वासको कमी नै मानिएको छ । यस्ता व्यक्तिहरू वर्तमानमा नभई हिजो र भोलिको जिन्दगी बिताइरहेका छन् । जबकि जीवन भनेको वर्तमान नै हो । हिजो बितिसक्यो ।

त्यसबाट शिक्षा लिएर वर्तमान जीवनलाई अगाडि बढाउनुपर्छ । भोलि कसले देखेको छ र ? विगत र वर्तमानका गतिविधिले भोलिको निर्धारण गरेको हुन्छ । जो आफ्नो वर्तमान जीवनमा इमानदार र लगनशील भएर लागेका हुन्छन्, तिनीहरू अरूको लहैलहैमा नलागी सामाजिक व्यवहार आफ्नो औकातअनुसार मितव्ययी तरिकाले गरेको पाइएको छ ।

विवाह, व्रतबन्ध जस्ता कार्यहरू सामान्य तरिकाले घरैबाट वा धार्मिक र सार्वजनिक स्थानबाटै गरेका हुन्छन् । भोजभतेर आफ्ना नजिकका नातेदार, इष्टमित्र मात्र राखेर ऐन, नियमको व्यवस्थाअनुसार नै गरेको पाइएको छ । यस्ता व्यक्तिहरू आफ्नो जीवन इमानदार, सरल र सुखमय तरिकाले स्वाभिमानी भएर समाजमा शिर ठाडो गरेर रहेका छन् ।

हिजोको राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा हैकम, रबाफ जमाएका सबैको लागि उदाहरणीय भएकाहरू व्यावहारिक सन्तुलन मिलाउन नसकेर हाल निरिह र असहाय भएर वृद्धा श्रम, डेरा वा पाटीबास भएको पनि देखिएको छ ।

धेरैजसोलाई आफूले विगतमा गरेको वा भोगेको सामाजिक चलनमा परिवर्तन गर्न कठिनाइ परेको पनि पाइएको छ । बसाइँ सरेर सहरमा आएर पनि गाउँको चलन अझै गरिराखेको पनि देखिएको छ । रातो माटोले दैलो पोतेर पूजा गर्ने गाउँको चलन मार्बल वा सिमेन्ट लगाएको घरमा पनि गरेर पिठोको ऐपन हालेको देख्दा त्यो घरको पुरातन चलनप्रतिको मोह कायमै रहेको झल्काउँछ ।

‘दाजुभाइ ज्युँदाका जन्ती र मर्दाका मलामी’ र रामका भाइ लक्ष्मण तथा रावणका भाइ विभीषण जस्ता भएकाले समारोहमा नछुटून् भन्ने मनसाय रहेको छ । बिरामी भएपछि एम्बुलेन्सबाट अस्पताल जाने र अस्पतालको मरण, शव वाहनबाट घाट लैजाने र बिजुलीको चितामा राख्ने चलनले सामाजिक व्यवहारमा पनि व्यापक परिवर्तन आएको छ ।

विगतमा विवाह, व्रतबन्ध, पास्नी, न्वारान, जंको र अन्य अशुभ आसौच, काजकिरिया जस्ता सामाजिक कार्यमा नजिकका नातेदार, इष्टमित्र र छिमेकीको मात्र सहभागिता रहने गरेकोमा अहिले आडम्बर र फजुल खर्चको लागि नयाँनयाँ चलनको सुरुआत गरिएको छ । विवाह, इन्गेजमेन्ट, स्वयम्बर तथा विवाहको वार्षिकोत्सव, २५ वर्ष पुगेको र ५० वर्ष पुगेको, जागिर पाएको, बढुवा भएको जस्ता अनेक निहुँ पारेर भोज आयोजना गर्ने गरिएको छ । यस्ता भोजभतेर साबिकमा परिवारका सदस्यहरू, छिमेकी, गाउँलेहरू, गुठियार भेला भएर आपसी सहयोगबाट तयार पारिने चलन रहेको थियो । अहिले यस्ता भोजभतेरलाई ‘प्रीतिभोज’ नामकरण गरेर घर, पार्टी प्यालेस र होटेलमा गर्ने चलन चलेको छ । यसले पार्टी प्यालेस र क्याटरिङ सेवा क्षेत्रमा नयाँ रोजगारको अवसर खुलेको छ ।

काठमाडौंलगायत नेपालका अन्य ग्रामीण तथा सहरी क्षेत्रमा क्याटरिङ पार्टी प्यालेस र तारे होटेलहरूमा सरदर प्रतिव्यक्तिको पाँच सय रुपैयाँबाट सुरु गरेर तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको पाइएको छ । निमन्त्रणा कार्डबाटै सुरु भएको तडकभडक गर्ने कार्य भोज गर्ने स्थानको छनोटमा गएर टुंगिने गरेको छ ।

सामान्यतः यस्ता भोजमा गरिने खर्च इमानदारी र मेहनतको आफ्नो कमाइ, पैत्रिक सम्पत्ति र अतिरिक्त आय अकूत सम्पत्तिबाट गर्ने गरेको पाइएको छ । यस्ता भोजमा जानेले कुन कमाइबाट खर्च भएको हो, अनुभव गरेकै छन् । महाभारतमा दुर्योधनको पापको अन्न पेटमा परेकाले सम्पूर्ण पाप धर्मका ज्ञाता भीष्मपितामह द्रौपदीको चीर हरण हुँदा मौन बस्नुपरेको थियो ।’ त्यस्तै अहिले आयोजना गरिने भोजमा पनि कुन किसिमको कमाइको हो भोज खाएर घरमा गएपछि खानेको स्वास्थ्यमा पर्ने असरले थाहा हुने गरेको छ ।

समाज प्रगति र अग्रमनतर्फ नै बढिरहेको छ । हिजोको राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा हैकम, रबाफ जमाएका सबैको लागि उदाहरणीय भएकाहरू व्यावहारिक सन्तुलन मिलाउन नसकेर हाल निरिह र असहाय भएर वृद्धा श्रम, डेरा वा पाटीबास भएको पनि देखिएको छ । त्यसैले आफ्नो सामथ्र्यले सके उन्नत जीवन शैली अपनाउने नसके वर्तमान अवस्थालाई कायम राख्नेहरू नै आफ्नो जीवन सुखमय तरिकाले बिताइरहेको पाइएको छ । समाजमा सबैले सदाचार, शिष्टाचर, अनुशासित र सरल जीवन बिताएर सामाजिक व्यवहारमा समयोचित सुधार गर्नु नै समयको माग हो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.