राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता
कठमाडौ/नयाँ दिल्ली : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतन्त्र सुदृढीकरण र स्थायित्वका लागि दक्षिणी छिमेकी भारतको सद्भाव महत्वपूर्ण रहेको भारतीय उच्च नेतृत्वसमक्ष बताउनुभएको छ ।
भारतको पाँच दिने राजकीय यात्रामा रहनुभएकी राष्ट्रपति भण्डारीले समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार भएका भिन्दा भिन्दै भेटवार्तामा राष्ट्रपति भण्डारीले त्यस्तो बताउनुभएको हो ।
राष्ट्रपति मुखर्जीसँग मंगलबार साँझ भएको भेटमा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको हो । दुई देशबीच भइरहेका निरन्तरका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई अझै मजबुत बनिरहेको बारेमा विचार आदान प्रदान भएको त्यहाँस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले बताउनुभयो ।
नेपाल र भारतबीच उर्जा, पूर्वाधार विकास, सीमापार कनेक्टिभिटी र भूकम्प पछिको पुर्ननिर्माण लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नेबारे छलफल भएको प्रवक्ता ओडारीले उल्लेख गर्नुभयो ।
राष्ट्रपति मुखर्जीले बिभिन्न भूमिकामा रही नेपाल र भारतबीचको सम्बन्ध विस्तारमा पुर्याउनुभएको योगदानका लागि भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो ।
भण्डारीले नेपाल सरकारले स्थानीय चुनावको घोषणा गरिसकेको बताउँदै सबै राजनीतिक दलले त्यसमा भाग लिनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
प्रत्युत्तरमा भारतीय उच्च नेतृत्वले नेपालको लोकतन्त्रको सुदृढीकरण, शान्ति, स्थिरता, विकासमा सहयोग गर्न तयार रहेको जनाउँदै सबै राजनीतिक पक्षको सहभागितामा संविधान कार्यान्वयन सँग जोडिएका मुद्दाहरु हल हुने तथा निर्वाचन हुने अपेक्षा व्यक्त गरेको छ । भण्डारी र मोदीबीच भारत र नेपालबीचको सम्बन्ध थप सुदृढ र मजबुत बनाउने विषयमा कुराकानी भएको हो ।
भारतीय प्रधानमन्त्रीसंगको भेटमा भण्डारीले भारतले आर्थिक वृद्धि र विकासका क्षेत्रमा गरिरहेको प्रगतिप्रति मोदीलाई बधाई दिनुभयो । ‘भारतले गरिरहेको आर्थिक वृद्धि र विकासबाट हामी लाभ लिन चाहन्छौँ’ राष्ट्रपतिले भन्नुभयो ।
छिमेकी मुलुकसंगको संबन्धलाई भारतले प्राथमिकतामा राखेकोमा उहाँले प्रशंशा गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले भारत सरकार छिमेकको प्रगति र विकासका लागि सक्दो सघाउन तयार रहेको बताउनुभयो । ‘दक्षिण एसिया क्षेत्रले भोगिरहेका साझा विकासका चुनौतिहरु हामी आपसमा मिलेर सामना गर्न आवश्यक छ’ मोदीले भेटमा भन्नुभयो ।
राष्ट्रपतिले नेपालले महिला शशक्तिकरणका लागि संबैधानिक व्यवस्थामार्फत् नेपालले उपलब्धिहरु हासिल गरिरहेको बताउनुभयो । मोदीले नेपालको प्रगति र समृद्दिमा भारत सदैव सहयोगी रहेको बताउनुभयो ।
भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले नेपालले पनि भारतमा जस्तै लोकतन्त्र संस्थागत गर्न चाहेको भन्दै लोकतन्त्रको स्थायित्वका लागि संवैधानिक व्यवस्था अनुरुप तीन तहको स्थानीय निर्वाचन गराउन लागेको उल्लेख गर्नुभएको थियो ।
समावेसी संविधानमा सबैलाइ समेटने प्रयास गरेको भन्दै राष्ट्रपति भण्डारीले नेपाललाइ भारतको शुभेच्छा, सद्भाव र साथ सदैव आवश्यक रहेको बताउनुभयो ।