मेसी चम्किएपछि बार्सिलोनाले रियल मड्रिडलाई हरायो, उपाधि होड खुला
काठमाडौंः रियल मड्रिड बार्सिलोनासँग पराजित भएपछि स्पेनिस ला लिगा फुटबलको उपाधि होड खुल्ला भएको छ। गएराति भएको खेलमा रियल मड्रिडलाई बार्सिलोनाले पराजित गरेपछि ला लिगाको उपाधि होड खुल्ला भएको हो। लियोनल मेसीको दुई गोलको मदतमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरेलु मैदान सान्टियागो बर्नबाउमा ३-२ गोल अन्तरले पराजित गरेपछि उपाधि होड खुल्ला भएको हो।
१० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई बार्सिलोनाले पराजित गर्दा नायक मेसी बने। खेलको २८ औं मिनेटमा कासिमिरोले गोल गर्दै घरेलु टोली रियउल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, ३३ औं मिनेटमा लियोनल मेसीले गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो। खेलमा ७३ औं मिनेटमा इभान र्याकेटिजले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। खेलको ७७ औं मिनेटमा मेसीमाथि खराब ट्याकल गरेपछि कप्तान सर्जियो रामोस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो।
खेलको ८५ औं मिनेटमा जेम्स रोड्रिग्वेजले बराबरी गोल फर्काउँदै रियललाई हारबाट जोगाउन प्रयास गरेका थिए। तर, खेलमा इन्जुरी समय मेसीले उत्कृष्ट गोल गर्दै रियल मड्रिडलाई स्तब्ध पारे।
जितपछि रियल मड्रिडसँग अंक बराबरी गरेको बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना ३३ खेलबाट ७५ अंकका साथ शीर्ष स्थानमा रहँदा ३२ खेलबाट ७५ अंक जोडेको रियल मड्रिड गोल अन्तरका आधारमा पछि पर्दै लिगको दोस्रो स्थानमा झरेको छ।