खेलकुदमा छ धेरै अवसर

 खेलकुदमा छ धेरै अवसर

महिला बास्केटबल टोलीकी सदस्य अलिसा ठकुरी संस्कृति र इङ्लिस प्रिपेटरी स्कुलमा बास्केटबल सिकाउँछिन् । सन् २००३ देखि बास्केट बल खेल्न थालेकी उनी सन् २०११ देखि लगातार राष्ट्रिय टोलीको सदस्य रहँदै आएकी छन् । राष्ट्रिय टोलीकी सेन्ट्रल डिफेन्स अलिसा दुवै विद्यालयका कक्षा एकदेखि कक्षा १० सम्मका विद्यार्थीलाई बास्केटबलको कला सिकाउँछिन् । ‘दुवै विद्यालयमा टाइमटेबल मिलाएर बास्केटबल सिकाउने गरेकी छु । संस्कृतिमा शनिबार र आइतबार सिकाउँछु भने इङ्लिस प्रिपेटरीमा अन्य दिन सिकाउँछु' अलिसा भन्छिन् ।

नेटबलको पनि राष्ट्रिय खेलाडी उनले दुवै विद्यालयबाट मासिक २० हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताइन् । ‘दुवै विद्यालयसँग घन्टाको हिसाबले पारि श्रमिक लिन्छु । मासिक रूपमा हिसाब गर्दा २० हजारजति हुन्छ', उनले बताइन् । लामो समयदेखि खेलकुदमा सक्रिय अलिसा यस पेसाबाट सन्तुष्ट रहेको बताउँछिन् । ‘अरू क्षेत्रमा काम गरे पनि मासिक कमाउने भनेको २० हजारकै हाराहारी हो । अरू पेसामा जस्तो यस पेसामा धपेडी र तनाव पनि कम हुने भएकाले यही पेसा राम्रो लागेको छ र यसबाट सन्तुष्ट पनि छु', अलिसाले भनिन् ।

यसैगरी, करातेकी राष्ट्रिय खेलाडी अनु अधिकारी पनि दुई वटा विद्यालयमा कराते सिकाउँछिन् । उनी प्यारागन स्कुल तिलगंगा र सृष्टि स्कुल बौद्धमा कराते सिकाउँछिन् । तीन वर्षदेखि कराते सिकाउन थालेकी अनुले दुई वटा स्कुलबाट १५ हजारजति कमाउँछिन् ।११ औं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक विजेता अनु यस पेसाबाट सन्तुष्ट रहेको बताउँछिन् । ‘पार्टटाइम काम हो । सधंै खटिरहनु पर्दैन । त्यसैले यस पेसाबाट म सन्तुष्ट छु', उनी भन्छिन् ।

खेलकुद क्षेत्रमा साढे एक दशक बिताइसकेकी अनु आफूसँग भएको सीप भाइबहिनीलाई सिकाउँदा रमाइलो लाग्ने बताउँछिन् । ‘हामीले पहिले सिकेका कुरा भाइबहिनीलाई सिकाउन पाउँदा रमाइलो लाग्छ', उनले भनिन् । अलिसा र अनु मात्र होइन, खेल क्षेत्रका विभिन्न व्यक्तित्व अहिले यसैलाई जीवनको आधार बनाइरहेका छन् । कुनै बेला सोख र पुरस्कारसँग मात्र जोडिएको खेलकुद अब जीविकोपार्जनको समेत आधार बन्दै छ ।

पुरस्कार र सम्मानको रूपमा लिइने खेल क्षेत्र अब विस्तारै आर्थिकोपार्जनको आधार बनिरहेछ ।


‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' को नारा बोकेको नेपाली खेलकुद मुलुकको इज्जत र प्रतिष्ठाका साथै जीविकोपार्जन र जीवन निर्वाहको माध्यम पनि बनेको छ । कुनै बेला स्वास्थ्य र पदकसँग मात्र तौलिने खेलकुदको आयाम फराकिलो भएको छ । त्यसैले धेरैले यसलाई नै आफ्नो जीविकोपार्जन र रोजीरोटीको माध्यम बनाएका छन् ।

पछिल्लो समय हरेक स्कुल, कलेज र शिक्षण संस्थाले खेलकुदको महत्वव बुझ्न थालेका छन् । त्यसैले नियमित अध्ययन अध्यापनसँगै अतिरिक्त क्रियाकलापका रूपमा खेलकुदलाई पनि सञ्चालन गर्दै आइरहेका छन् । हरेक विद्यालय तथा कलेजले फुटबल, बास्केटबल, मार्सल आर्टस्लगायत विभिन्न खेलकुद सञ्चालन गर्दै आएका छन् । विद्यालय र कलेजले खेलकुद सञ्चालन गर्न थालेपछि यसको प्रत्यक्ष फाइदा खेलाडीलाई भएको छ । विभिन्न खेलका राष्ट्रिय खेलाडी कुनै न कुनै विद्यालय र कलेजसँग जोडिन थालेका छन् । उनीहरूले स्कुल कलेजमा अतिरिक्त क्रियाकलापमा विभिन्न खेल प्रशिक्षकका रूपमा रोजगार पाउन थालेका छन् ।

 

नेपाली खेलकुदका अघिल्लो पुस्तादेखि पछिल्लो पुस्तासम्म विभिन्न स्कुल र कलेजमा खेलकुद ‘इन्स्ट्रक्टर' छन् । पूर्वफुटबल खेलाडी हरि खड्कादेखि पछिल्लो पुस्ताका धेरै राष्ट्रिय खेलाडी आफूजस्तै खेलाडी उत्पादनमा लागेका छन् । यसले उनीहरूलाई दोहोरो फाइदा पुगेको छ । एकातिर आफूले सिकेको कला र ज्ञान अरूलाई बाँड्न पाएका छन् भने अर्कोतिर पकेट खर्च पनि जोहो गर्न पाएका छन् ।

पछिल्लो समय विद्यालय तथा कलेजले एउटै खेल मात्र नभई विभिन्न खेल सिकाउने गरेका छन् । शारीरिक शिक्षा अध्ययन गरेकाहरूले विभिन्न खेल सिकाए पनि राष्ट्रिय खेलाडीले भने आफूले खेल्ने एउटै मात्र खेल सिकाउने गर्छन् । केही सम्पन्न विद्यालयले भने फुटबल, क्रिकेट, बास्केटबललायत खेलका छुट्टाछुट्टै प्रशिक्षक नै राख्ने गरेका छन् । विद्यालय तहमा धेरैले बास्केटबल प्रशिक्षक राख्ने गरेका छन् भने कलेजले फुटबल, क्रिकेट, बास्केटबललगायत विधागत खेलका प्रशिक्षक राख्ने गरेका छन् ।

‘धेरै जनाले फुटबल, क्रिकेट, भलिबललगायत विभिन्न खेल सिकाउने गर्छन् मैलेचाहिँ कराते मात्रै सिकाउने गरेकी छु', राष्ट्रिय खेलाडी अनुले भनिन् । रग्वीका राष्ट्रिय खेलाडी सुनील ठकुरी पनि काब्य र शारदा एकेडेमीका स्पोर्टस् टिचर हुन् । साढे तीन वर्षदेखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएका उनी दुवै स्कुलमा सातामा चार÷पाँच दिन रग्वी र तेक्वान्दो सिकाउने गरेको बताउँछन् । रग्वी खेलमा लाग्नु अघि तेक्वान्दो खेलेका उनी दुवै खेल खेलेका कारण विद्यार्थीलाई सिकाउन सजिलो भएको बताउँछन् ।

‘मैले तेक्वान्दोबाट खेलकुद सुरु गरेको हुँ । पछि रग्वी खेल्न थालें र अहिले राष्ट्रिय टोलीको सदस्य छु । दुवै खेलको खेलाडी भएकाले विद्यार्थीलाई सिकाउन सजिलो भएको छ', उनले भने । उनकै प्रशिक्षणमा काव्यलगायत विद्यालयले रग्वी खेलमा विभागीय टोलीलाई पराजित गर्न सफल भएको थियो । यसअघि ६ वटा विद्यालयमा खेलकुद सिकाउने सुनील अहिले दुईवटा स्कुलमा मात्रै सिकाउने गर्छन् । ‘धेरै स्कुलमा संलग्न हुँदा समयले भ्याइएन, त्यसैले अहिले दुई वटा विद्यालयमा मात्रै सिकाउँदै आएको छु', उनले भने । एउटा विद्यालयबाट मासिक १० हजार रुपैयाँ पारि श्रमिक लिँदै आएका उनी यस पेसाबाट सन्तुष्ट रहेको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.