विशाल मेमोरियल गोल्डकपको उपाधि आर्मीको कब्जामा
वीरगन्ज : वीरगन्जमा डेढ दशकपछि आयोजित राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ।
नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा सिएमजी संकटा क्लबलाई २–० ले हराउँदै आर्मीले उपाधि उचालेको हो। आर्मीले फाइनल भिडन्तमा संकटा क्लबसंग लगातार तीन पटकको हारको बदला लिन सफल भएको छ।
यस अघि संकटासंग भएका चार वटा फाइनल भिडन्तमा आर्मीले एउटामा मात्रै जित हात पारेको थियो भने त्यसपछिका लगातार तीन फाइनल भिडन्तमा संकटा विजयी भएको थियो। शनिबार भएको फाइनल खेलमा आर्मीका लागि दबै गोल जर्सी नम्बर ३० का जर्ज प्रिन्स कार्कीले गरेका हुन्।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा आर्मीले दुवै गोल दोश्रो हाफमा गरेको हो। दोश्रो हाफको २२ औं मिनेटमा जर्सी नम्बर १४ का सन्तोष तामाङले दिएको पासलाई कार्कीले हेड मार्फत् गोल गरेका थिए। पहिलो गोल भएको तेश्रो मिनेटमै (दोश्रो हाफको २५ औं मिनेटमा) फेरि कप्तान भरत खवासले दिएको व्याक पासलाई सदुपयोग गर्दै कार्कीले प्रहार गरेको बल संकटा क्लबको गोल पोष्ट भित्र छिरेपछि आर्मीले खेल २–० ले जित्दै उपाधिमाथि कब्जा गरेको हो।
उपाधीसंगै आर्मी क्लबले नगद पाँच लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। उपविजेता संकटा क्लबले भने नगद दुई लाख ५० हजार र ट्रफीमै चित्त बुझाएको छ। सँगै प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ दी सिरिज) संकटा क्लबका राज पौडेल घोषित भए। उनले सुजीकी जिक्सर मोटरसाइकल पाएका छन्।
यस्तै प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर आर्मी क्लबका जर्ज प्रिन्स कार्की, उत्कृष्ट गोल रक्षक आर्मीकै विकास कुथु, उत्कृष्ट मिड फिल्डर संकटाका कप्तान विक्रम लामा, उत्कृष्ट रक्षक संकटाका पिटर सेगुन र उत्कृष्ट प्रशिक्षक आर्मी क्लबका नवीन न्यौपाने घोषित भएका छन्। सबैले जनही नगद १० हजार रुपैयान् पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको समापन समारोहमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक गणेश केसी, प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्याय, उद्योगपति एंव समाजसेवी विजय सरावगी, नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्धिन अन्सारीले विजेता र उपविजेता टिमका खेलाडीहरुलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नु भएको थियो।
विशाल मेमोरियल फाउण्डेशनले वैशाख नौ गतेदेखि आयोजना गरेको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, संकटा क्लब, वीरगन्ज युनाइटेड , नवजनजागृती युवा क्लब सीमरा र विजय युथ क्लब हेटौंडा गरी ए डिभिजनका सात वटा क्लबले भाग लिएका थिए।