भोलीका आशा लाग्दा खेलाडी
०७१ बैशाख १२ गत्तेको महाभुकम्पले त्रीपुरेश्वर स्थित दशरथ रंगशालाको प्यारापिटलाई ठूलो क्षति पुर्यायो । क्षति प्यारापिट भित्र र वरीवरी रहेका मार्शल आर्टका आधा दर्जन अभ्यास केन्द्रहरुमा पनि पुर्यायो । सरकारले त्यहा प्र्रवेश निशेध गरेको पनि दुई बर्ष पुग्यो ।तर, नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपुर्ण सफलता दिलाएका तेक्वान्दो, कराते, बक्सिङ लगायत खेलका खेलाडीहरू उच्च जोखिमका बाबजुद त्यही स्थानमा अभ्यास गर्न बाध्य छन् । उनिहरूका लागि अरु बिकल्प छैन ।
अन्य खेलको अवस्था पनि यस्तै छ । रंगशालामा फुटवल प्रतियोगिता आयोजना नभएको दुई बर्ष नै पुगिसक्यो । रंगशालामा अझै लामै समय खेलकुद गतिबिधी हुने छैन । खेलकुदमाथीको लगानी, जिम्मेवार निकायहरुको अदुरदर्शी निर्णय र खेलमै लागिरहन प्रोत्साहन समेतको अभावमा नेपाली खेलकुदले गति लिन सकिरहेको छैन ।
नेपाली खेलकुदलाई भौतीक पुर्बाधारले मात्रै हैन प्राबिधीक जनशक्तिको अभावले पनि गरीब बनाएको छ । आवश्यक्ताको अनुपातमा प्रशिक्षकहरुको उत्पादन निक्कै कम छ ।
अभाव नै अभावका बाबजुद नेपाली खेलकुदमा यस्ता केही आशा लाग्दा प्रतिभाहरु पनि देखिएका छन्, जसलाई बेलैमा मल जल गर्न सकिएको अवस्थामा भबिश्यमा देशले उनिहरुबाट पदकको आशा गर्न सक्ने छ ।
१, रोजा केसी (ट्रायथलन)
रोजा केसी नेपाली खेलकुदमा चिनिएको नाम हो । १८ बर्षिया रोजाले खेल्न मात्रै हैन ट्रायथलन खेलबारे सुनेकै धेरै भएको छैन । ट्रायथलन खेल्न सुरु गरेको दुई बर्ष मै रोजाले नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाई सकेकी छिन्, त्यो पनि दुईदुईवटा ।रोजाले ०७२ फागुनमा भारतको गुवाहाटी र शीलोङमा भएको १२ औं साग खेलकुदमा महिला सिंगलतर्फ काश्य तथा मिक्स रीलेतर्फ रजत पदक जितीन् । स्विमिङ, साईक्लिङ र रनिङ तीन बिधा मिसिएको ट्रायथलन खेल निक्कै बल र मेहनत चाहिने खेल हो । १२ औं सागमा रोजाले शसक्त प्रदर्शन गरेकी थिईन् ।
सुरुवातमा श्रीलंकाकी खेलाडीसँग निक्कै पछि परेर पनि रोजाले काश्य पदक पक्का गरेकी थिईन् । 'जाडो मौसममा पौडीका लागि अभ्यास गर्ने ठाउ नै पाएनौं', रोजा भन्छिन्, 'त्यसैले पौडीमा पछि पर्दा मुस्किल भयो तर, साईक्लिङ र रनिङमा सुधार गरेर पदक जिते । पौडीमा पनि राम्रो गर्न सकेको भए, प्रदर्शन अझै सुधारीन्थ्यो ।' मिक्स रीलेमा पनि रोजाकै बलियो प्रदर्शनमा नेपालले रजत पदक जितेको थियो ।
रोजाले ट्रायथलनमा सुरुवातबाटै सम्भावना देखाएकी थिइन् । उनी ट्रायथलन खेल्न सुरु गरेको पहिलो महिनामै राष्ट्रिय प्रतियोगितामा दोस्रो बनेकी थिईन् । त्यसपछि अझ हौसिएकी उनले दक्षिण एसियाली प्रतियोगितामा आफुलाई पदकधारी बनाईन् ।
१२ औं सागको प्रदर्शनसँगै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो सम्भावना देखाएकी छिन्, उनि आफैलाई पनि आत्मबल बढेको महसुस भएको छ । 'भनेको जस्तो सुबिधा र खुराककासाथ अभ्यास गर्ने अवसर पाउने हो भने दक्षिण एसियाली प्रतियोगितामा स्वर्ण पक्कै जित्ने छु', उनी भन्छिन्, 'त्यसपछि एसियाली र अन्य ठूला प्रतियोगिताको लागि पनि सम्भावना बढ्ने छ ।'
२, दीपेन्द्र सिंह ऐरी (क्रिकेट)
धनगढीका दीपेन्द्र नेपाली क्रिकेटमा पछिल्लो समयका सेलिब्रेटी स्टार हुन् । १७ बर्षिय दीपेन्द्र उमेर समुहको प्रतियोगितामा यस अघि बाटै उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका खेलाडी हुन् । हालै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) बिश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्ध किर्तिपुर मैदानमा भएको खेलमा सिनियर राष्ट्रिय टोलीबाट समेत अवसर पाएका उनले शसक्त प्रदर्शन गरे ।
दुई मध्ये पहिलो खेल केन्या तथा दोस्रो खेल नेपालले जित्यो । बर्षाले बारम्बार अवरुद्ध पारेको पहिलो खेलमा अन्य खेलाडी चल्न सकेनन्, तर पहिलो पटक सिनियर टोलीबाट खेलिरहेका दीपेन्द्रले नेपालका लागि दुबै खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले दुबै खेलमा ब्यक्तिगत दोस्रो उच्च स्कोर प्रहार गरे ।
उनले पहिलो खेलमा १९ रन तथा दोस्रो खेलमा ६२ रनको महत्वपुर्ण योगदान गरे । दुबै खेलमा उनि भन्दा बढि ज्ञानेन्द्र मल्लले मात्रै २४ रन र ६४ रन प्रहार गरे । त्यसपछि बंगलादेशमा भएको एसियाली क्रिकेट काउन्सिल (एसिसी) इमर्जिङ नेशन्स कपअन्तर्गतको तीन मध्ये दुई खेलमा पनि उनले अर्धसतक प्रहार गरे ।
उनले बंगलादेशविरुद्ध ५६ रन तथा हङकङविरुद्ध अबिजित ६० रन प्रहार गरे । होचा कदका उनी बललाई राम्रोसँग बुझेर शट खेल्न सक्छन् । टोलीको आवश्यक्ताअनुसार ब्याटिङ गर्न सक्ने उनी एक दिवसीय र टीट्वेन्टी दुबै फम्र्याटको क्रिकेटमा सुहाउने खेलाडी हुन् ।
पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) आईसिसीबाट निलम्बनमा परेपछि संकटमा परेको नेपाली क्रिकेटमा दीपेन्द्र जस्ता खेलाडीले आशा भरेका छन् । दीपेन्द्र नेपाली क्रिकेटमा उदीयमान खेलाडीका रुपमा आएका छन्, जसबाट नेपाली क्रिकेटले अझै धेरै आशा गरेको छ ।
३, श्यान्टु श्रेष्ठ (टेवलटेनिस)
श्यान्टु अघिल्लो बर्ष सम्म जुनियर खेलाडी थिए । जुनीयर प्रतियोगितामा उनको बलियो दाबेदारी हुने गथ्र्याे । गत पुस यता भने उनी सिनियर राष्ट्रिय प्रतियोगितामा छाएका छन् । पुर्बाञ्चलमा भएको सातौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत टेवलटेनिसको पुरुष एकलतर्फ स्वर्ण जितेपछि १६ बर्षिय श्यान्टुले आफुलाई नेपाली टेवल टेनिसमा शसक्त खेलाडीको रुपमा प्रस्तुत गरेका छन् ।
श्यान्टुले सातौं खेलकुदमा स्वर्ण जित्ने क्रममा तीन पटकका राष्ट्रिय च्याम्पियन दीप सावन, सन् १९९९ को साग खेलकुद खेलेका शिव सुन्दर गोथे जस्ता खेलाडीलाई पराजित गरेका थिए । शीव सुन्दर त्यो बेला देखी टेवलटेनिसमा जमेका खेलाडी हुन्, जतिबेला श्यान्टु जन्मेका पनि थिएनन् । श्यान्टुले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफु भन्दा निक्कै सिनियर र अनुभवी खेलाडीलाई पराजित गर्दै सिनियर राष्ट्रिय प्रतियोगितामा आफ्नो आगमनको बलियो संकेत दिए ।
सानै उमेरमा देखीएको उनले देखाएको आत्मबल र कलालाई अझ बलियो बनाउन सकिएको अवस्थामा श्यान्टुले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पदक दिलाउन सक्ने छन् । श्यान्टुलाई टेवल टेनिसमा लाग्न परीवारको पनि साथ छ । उनका दाई बनिन पनि पौडीका राष्ट्रिय खेलाडी थिए । बबिनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । पढाईका लागि बनिनले पौडी छाडे । यद्यपि श्यान्टु टेवलन टेनिसलाई निरन्तर्ता दिने योजनामा छन् । भन्छन्, '१३ औं साग नेपालले आयोजना गर्दै छ । अहिले १३ औ सागमा पदक जित्ने योजनासहित अभ्यास गरीरहेको छु ।'
४. संरक्षणभुषण बज्राचार्य (लन टेनिस)
नेपाली लन टेनिसको पुरुषतर्फ कुमार अघिकारी र जितेन्द्र परीयारले लामो समय राज गरे । नेपालमा हुने प्रतियोगिताहरुमा यी दुई खेलाडीकै बर्चश्य हुने गर्थ्यो । तर, पछिल्लो झन्डै एक बर्ष यता नेपाली लन टेनिसमा उनिहरुको एक छत्र राज तोडीएको छ ।उनिहरुलाई पनि युवा खेलाडी शंरक्षणभुषण बज्राचार्यले बिस्थापित गराएका हुन् । सन् २०१६ यता १६ बर्षिय संरक्षकले आफुलाई नेपालको शीर्ष बरियताका खेलाडी बनाएका छन् । आज भोली आयोजना हुने कुनै पनि प्रतियोगिताम उनकै बर्चश्य देखिन्छ ।
संरक्षण पनि यस्ता उदीयमान खेलाडी हुन्, जसले नेपाली खेलकुदको उज्जल भविश्य बोकेका छन् । लन टेनिस परीवारबाट आएका संरक्षणले पनि आवश्यक अभ्यासको वातावरण र त्यही अनुसारको सहयोग र समर्थन पाउने हो भने नेपाली खेलकुदले उनिबाट फाईदा लिन सक्ने छ ।
संरक्षणको पुरै परीवार टेनिस खेलमा संलग्न छ । संरक्षणको ममी रेणुदेबी बज्राचार्य कोन्डा लन टेनिसको मुख्य प्रशिक्षक हुन् । उनका पिता सुर्य भुषण बज्राचार्य पनि टेनिसकै बरिष्ठ प्रशिक्षक हुन् । संरक्षणका भाई सम्यक खेलाडी हुन् । परीवारको पुर्ण सहयोग पाएका संरक्षण उच्च स्तरको प्रशिक्षणको अवसर पाए, अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ राम्रो प्रदर्शन गर्न सकिने बताउछन् । 'अन्य देशका खेलाडीले हाम्रो भन्दा राम्रो सुबिधा र बैज्ञानिक ढंगबाट प्रशिक्षणको अवसर पाएका हुन्छन्', संरक्षण भन्छन्, 'त्यसैले उनिहरुसँग हामी सधै पछि पर्छौं । त्यो स्तरको प्रशिक्षणको अवसर पाउने हो भने हामी पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनिहरुलाई बलियो टक्कर दिन सक्षम छौं ।'