कछुवाकै गति

कछुवाकै गति

‘जो व्यक्ति खेलको पारखी छैन, त्यो युद्धमा कुशल लडाकु बन्न सक्दैन यो उक्ति प्राचीन रोमन साम्राज्यमा प्रचलित थियो । रोमन साम्राज्य त परको कुरा । शीतयुद्धमा तत्कालीन सोभियत संघ र अमेरिकाबीच खेलकुदमा भएका प्रतिस्पर्धाले पनि राज्यका लागि खेलको महत्वव कति जरुरी छ भन्ने झल्काउँछ ।

सन् १९३२ मा अमेरिकाले लस एन्जलसमा ओलम्पिक खेलकुदको आयोजना भव्य रूपमा सम्पन्न गर्‍यो । यसको अपार सफलता र भव्यतालाई देखेपछि अत्तालिएका जर्मनका एडोल्फ हिटलरले बर्लिन ओलम्पिक आयोजनाका लागि पैसाको खोलो नै बगाए । हिटलरले सन् १९३६ को बर्लिन ओलम्पिकभन्दा दुई वर्षअघि मात्र जर्मन चान्सलरको पद सम्हालेका थिए । त्यतिबेला हिटलरलाई आफ्नो नाजी विचार संसारभर फैलाउने उत्कृष्ट अवसर ओलम्पिक लागेको थियो । ओलम्पिकको सफलतापछि उनले ७० लाख अमेरिकी डलर खर्चेर चलचित्र निर्देशक लेनी रिइफेनस्टाललाई ओलम्पिकबारे चलचित्र नै निर्माण गर्न लगाए, जसले विश्व बजारमा तहल्का पिट्यो ।

सन् १९८९ को अन्त्यमा बर्लिन पर्खाल भत्किनुअघि पूर्वी र पश्चिम जर्मनीबीच राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा ठूलो टकराव थियो । तर, खेल क्षेत्रमा यसको कुनै प्रभाव देखिएन । पूर्वीजर्मनीले त्यतिबेला खेलकुदमा डोपिङको नौलो प्रयोग सुरु गरेर संसारलाई आश्चर्यचकिक बनायो । फलस्वरूप सन् १९७२ को म्युनिख ओलम्पिकको पदक तालिकामा पूर्वीजर्मनीले पश्चिम जर्मनीलाई उछिन्यो । त्यसपछि पूर्वीजर्मनीको सफलताको पनि चर्चा विश्वभर चुलियो ।

अन्तर्राष्ट्रियस्तरमा खेलकुदका यस्ता तमाम उदाहरण छन्, जसले त्यस देश र त्यहाँको सभ्यतालाई जीवन्त तुल्याएका छन् । विश्व राजनीति र देशको प्रतिष्ठासँग प्रत्यक्ष जोखिएको खेलकुदको नेपालमा अझसम्म संस्थागत विकास हुन सकेको छैन ।

नेपालको खेलकुद इतिहास लामो छैन । दोस्रो विश्वयुद्धताका नेपालमा थुप्रै लडाकु जन्मिए । तर, उनीहरूको परिचय वीर योद्धा र गोर्खालीमा मात्र सीमित बन्यो । मल्ल वंशका संस्थापक अरिमल्ल पहिलो मल्ल राजा हुन्, जसले कुस्ती प्रतियोगितामा सबै प्रतिद्वन्द्वीलाई पछारेर राजगद्दी हात पारेको किंवदन्ती छ । लिगलिग दौडको उपाधिबाट स्थापित भएको शाहवंश र गोर्खा राज्यको इतिहास पनि खेलकुदसँग जोडिएको रमाइलो प्रसंग छ ।
सन् १९५० मा जंगबहादुर राणाको बेलायत भ्रमणमा उनका भाइ धीरशमशेर पनि सँगै गएका थिए । त्यहाँ धीरशमशरले कुस्ती खेलेर बेलायती पहलमानलाई पछारे र नेपालको सान उँचो बनाए । नेपाली खेलाडीले विदेशी भूमिमा गएर खेलेको त्यो नै पहिलो खेल थियो ।

यद्यपि राणाकालसम्म नेपाली खेलकुद राणाहरूको दरबारमा मात्र सीमित रह्यो । राणामध्ये खेलकुदप्रति बढी उत्साहित व्यक्ति थिए, नरशमशेर । उनले दरबारमा सीमित फुटबल, क्रिकेट र हक्कीलाई टुँडीखेलसम्म ल्याएर खेलाउने काम गरे । विक्रम संवत् २००७ सालको क्रान्ति र प्रजातन्त्रको उदयसँगै नेपाली खेलकुदले पनि केही आशाको श्वास फेरेको मानिन्छ । २००७ सालको राजनीतिक परिवर्तनसँगै खेलकुद सर्वसाधारणको पहँचमा आएको हो ।

 

२००८ सालमा खेलकुदको विकास गरिनुपर्ने मान्यतास्वरूप जावलाखेलस्थित नरशमशेरको घरमा बृहत् भेला आयोजना गरिएको थियो । भेलामा राजा त्रिभुवन, प्रधानमन्त्री मोहनशमशेर र गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)समेत उपस्थित थिए । २०१५ सालमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नेपाली खेलकुदको संरचना निर्माण गरिएको थियो, जसमा खेलकुद सदस्य सचिवको जिम्मेवारी होराप्रसाद जोसीलाई दिइयो । त्यसअघिसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आफ्नो कुनै नीति र नियम थिएन । त्यो बेला फुटबल, क्रिकेट, हक्की, ब्याडमिन्टन, टेबल टेनिसजस्ता खेल संघको स्वविवेकमा खेलिँदै आइएको थियो । खेलकुदका सामग्री भने सिंहदरबारस्थित विलियार्ड घरमा राखिन्थ्यो ।

पछि राजा महेन्द्रका साला सुशीलशमशेरले वागदरबारस्थित आफ्नो घरलाई खेलकुदको अखडा बनाए । राखेपको स्थापना हुँदासम्म सुशीलशमशेरको घर नै राखेपको कार्यालय थियो । राजा महेन्द्रले त्रिपुरेश्वरस्थित हालको रंगशाला परिसर नेपाल आर्मीबाट खेलकुदलाई दिलाए । नेपालमा औपचारिक खेलकुद प्रतियोगिताको आयोजना पनि राजा महेन्द्रको गद्दी आरोहणको अवसरमा भएको थियो । सोही बेला फुटबल खेलिएको त्रिपुरेश्वरको मैदानमा दशरथ रंगशाला निर्माण कार्यसमेत सुरु गरिएको थियो ।

नेपाली खेलकुदले अन्तर्राष्ट्रिय स्पर्धामा औपचारिक फड्को मारेको भने सन् १९६४ को टोकियो ओलम्पिकबाट हो । नेपालले पहिलोपटक ओलम्पिक खेलकुदमा भाग लिएर फर्किएपछि त्यहाँ देखेको खेल कलालाई उजागर गर्न काठमाडौंमा ‘युवा महोत्सव'को नाममा धेरै खेल समावेश गरी खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । त्यसपछि राजा वीरेन्द्रको पालामा नेपाली खेलकुदले अझै ठूलो फड्को मार्ने काम गर्‍यो । राजा वीरेन्द्रको विकासलाई विकेन्द्रीकरण गरिनुपर्ने अवधारणाअनुरूप खेलकुदको संरचनामा पनि विकास भयो । देशका पाँच विकासक्षेत्र र विभिन्न जिल्लामा खेलकुदका भौतिक पूर्वाधार निर्माण भए ।

संसारले देश, सभ्यातासँवग जोडेर हेर्ने गरेको खेलकुद क्षेत्रको विकास नेपालमा भने अझै संस्थागत रुपमा हुन सकेको छैन । 

राजा वीरेन्द्रकै अग्रसरतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा शरदचन्द शाह नियुक्त भए । शरदचन्दको १० बर्से कार्यकालमा नेपालको खेलकुदमा कायापलट नै भयो । २०३४ सालमा राखेपको सदस्य सचिव भएका शरदचन्द २०४५ सम्म राखेपमा रहे । शरदचन्द शाह नेपाली खेलकुदले जीवन्तसम्म सम्झिने नाम हो । मुलुकमा जेजति खेलकुदका भौतिक संरचना बनेका छन्, अधिकांश शरदचन्दकै पालामा निर्माण भएका हुन् । राजनीतिक रूपमा शरदचन्दको छविलाई विवादमा पारिए पनि खेलकुदमा उनको कार्यकाल स्वर्णिम युग रहेको नेपाली खेलकुद मनोविश्लेषक रमेश खनाल बताउँछन् । नेपाली खेलकुदमा शरदचन्दको जस्तो विचार भएको मानिस पाउन मुस्किल रहेको खनालको बुझाइ छ ।

‘अहिले नेपालका खेलाडीले शरदचन्दकै पालामा बनेका संरचना र सुविधा प्रयोग गरिरहेका छन् । खेलकुदको विकास गर्ने र यसबाट राज्यले पाउने इज्जतबारे शरदचन्द्रमा स्पष्ट भिजन थियो । उनीपछिका सदस्य सचिव भाषणमा मात्र सीमित छन् । शरदचन्दको पालादेखि राखेपको सदस्य सचिवलाई असीमित पावर दिइयो । त्यो पावर अझै पनि यथावत् छ । तर, खेलकुद के हो भन्ने विषय अरू सदस्य सचिवलाई थाहा भएन', खनाल भन्छन् । शरदचन्द सदस्य सचिव हुनासाथ २०३५ सालमा उनले पाँचवटै विकासक्षेत्रमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको प्रस्ताव राजा वीरेन्द्रकहाँ लगे ।

विभिन्न क्षेत्रमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा स्थानीय खेलाडीको स्तरवृद्धि, उदयीमान खेलाडी उत्पादन र भौतिक संरचनासमेत निर्माण हुने दूरदृष्टि उनमा थियो । अझ प्रत्येक दुई वर्षमा स्थान परिवर्तन गर्दा थप प्रभावकारी हुने तर्क शरदचन्दको थियो । उनकै योजनास्वरूप २०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्पन्न भयो । २०४० मा पोखरा र २०४२ सालमा वीरगन्जमा तीन संस्करणसम्म नियमित सञ्चालन गरियो । तर, चौथो संस्करण २०५५ मा आएर मात्र सुरु भयो । दुई वर्षमा गरिनुपर्ने उक्त प्रतियोगिताले गतवर्ष सात संस्करण मात्र पूरा गर्नु आफैमा विडम्बना थियो ।

खनालका अनुसार शरदचन्दको पालापछि खेलकुदमा सानातिना काम त भएका छन् । ललितपुरको सातदोबाटोमा खेलग्राम र दशरथ रंगशालामा ट्र्याक निर्माणलगायत केही काम भए । तर, सम्झन र गर्व गर्ने खालको कुनै पनि विकास भएको छैन । ३२ वर्ष राखेपको उच्च तहमा रहेर अवकाश पाएका खनालले खेलको विकास भौतिक संरचनासँगै खेलाडी, प्रतियोगिता, प्रशिक्षक, प्रतिस्पर्धा, खेलप्रविधि र साइन्समा आधारित हुने बताए । उनको नजरमा पछिल्लो समय राजनीतिक बेइमानी र राजनीतिज्ञमा स्पष्ट भिजनको कमीले गर्दा खेलक्षेत्र तहसनहस भएको हो ।

शरदचन्दले बृहत् खेलकुद आयोजना गर्दा नयाँ परिपाटीसमेत बसालेको खनालले स्मरण गरे । शरदचन्दको पालाबाट अन्तर्राष्ट्रिय खेलकुदको ओलम्पिकमा जस्तै राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि एउटा क्षेत्रले अर्को क्षेत्रलाई झन्डा हस्तान्तरण गर्ने मोडल र परिपाटीको समेत सुरुवात भयो । राष्ट्रिय खेलकुदको उद्घाटन र समापनमा ओलम्पिकमा जस्तै खेलाडीलाई मार्चपास गराउने कामको सुरुवात पनि शरदचन्दले गरे । उनको पालमा १४ वटै अञ्चलमा खेलकुद रंगशाला बने र खेलक्षेत्र व्यस्त भयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिएसम्म खेलाडीको स्तर नबढ्ने कुरामा पनि शरदचन्द स्पष्ट थिए ।

एकैपटक अन्तर्राष्ट्रिय स्पर्धामा खेलाडीलाई उतार्दा माथिल्लोस्तरका खेलाडीसँग नेपाली खेलाडीले प्रदर्शन गर्न नसक्ने बुझाइ उनमा थियो । त्यसैले दक्षिण एसियाली राष्ट्र (साग)लाई खेलकुदको माध्यमबाट एउटै सूत्रमा बाँध्नका लागि शरदचन्दले सार्क राष्ट्रमा दक्षिण एसियाली खेलकुद (साग गेम) गर्ने प्रस्ताव राखे । उनको प्रस्तावबाट सबै देश प्रभावित भए । फलस्वरूप साग गेमको पहिलो आयोजना नेपालमै सन् १९८४ मा भयो । दुई–दुई वर्षमा हुने तय भएको सागले हाल १२औं संस्करण पूरा गरिसकेको छ । सन् २०१९ मा नेपालमा आयोजना गरिने भनिएको सागको १३औं संस्करणका लागि अहिले आवश्यक भौतिक संरचना निर्माण नहुँदा आयोजना नै अन्योलमा परेको छ ।

शरदचन्दकै पालामा नेपालमा मार्सल आर्ट्स गेम भित्रियो । उनले कराँते, बक्सिङ, तेक्वान्दो, भारोत्तोलनजस्ता खेललाई प्राथमिकतामा राखे । नेपालले सन् १९८६ को सोल एसियाडमा बक्सिङबाट नसोचेको सफलता हात पार्‍यो । सोलमा नेपाली बक्सिङ टोलीको पाँच कास्य जितेको थियो । त्यसपछि सन् १९८८ मा सोलमै आयोजना भएको ओलम्पिक गेम्समा विधान लामाले तेक्वान्दोमा कास्यपदक जिते । त्यतिबेला तेक्वान्दोलाई प्रदर्शनी खेलमा राखिएका कारण उनको पदक गन्ती गरिएन । तर पनि त्यो नेपालका लागि ठूलो सफलता थियो ।

खेलाडीको सहभागितासँगै शरदचन्दले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली पदाधिकारीको उपस्थितिलाई पनि बलियो बनाएका थिए । उनले नेपालको सञ्जाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), एसियन गेम्स फेडेरेसन तथा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)सम्म विस्तार गरे । सन् १९७७ देखि १९८८ सम्म चार वर्ष एसियन गेम्स फेडेरेसनका सदस्य बनेका शरदचन्द १९७७ मा ओसिएको उपाध्यक्षसमेत थिए ।

२०४६ सालको आन्दोलनपछि नेपालमा फेरि बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना भयो । २०६२÷६३ सालको जनआन्दोलनपछि गणतन्त्र नै आयो । शरदचन्द्रसहित राखेपमा हालसम्म १९ जना सदस्य सचिव भए । खेलकुदलाई थप व्यवस्थित गर्न २०५२ सालपछि छुट्टै युवा तथा खेलकुद मन्त्रालयको समेत गठन भयो । नेपाली खेलकुदमा पटकपटक मन्त्री र सदस्य सचिव फेरिए । तर, सम्झनलायक काम केही हुन सकेन । खेलकुद राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र र विवादको मूल थलोमा परिणत भएको छ । २०७२ सालको भूकम्पका कारण लथालिंग बनेको नेपालको एउटामात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको निर्माण कार्य अझै सुरु भएको छैन ।

नेपाल ओलम्पिक कमिटीमा समेत १० वर्ष अध्यक्ष रहेका शरदचन्द पञ्चायती व्यवस्थाको अन्त्यसँगै खेलकुदबाट टाढिए । २०६३ सालको राजनीतिक परिवर्तन र राजतन्त्रको अन्त्यपछि शरदचन्द अझै गुमनाम रहे ।

पाँच वर्षअघि सिंगापुरमा उपचारको क्रममा निधन भएका शरदचन्दको चर्चा भने नेपाली खेलकुदमा चुलिरहेको छ । शरदचन्दको दृष्टि र भिजनमा निर्मित संरचना अहिले जीर्ण बनेका छन् । खेलकुदमन्त्री र राखेपका पछिल्ला सदस्य सचिवहरू शरदचन्द्रकालीन जीर्ण संरचनामा उभिएर ठूला भाषण ठोक्नमा व्यस्त छन् । र, नेपाली खेलकुद त्यसैमा रमेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.