पुरस्कार पाउँदा
हाम्रो विद्यालय पाठशाला नेपालमा विभिन्न समयमा कथा लेख्ने, निबन्ध लेख्ने, गीत गाउनेजस्ता विभिन्न खालका सिर्जनात्मक क्रियाकलाप हुन्छन् । त्यसका अतिरिक्त विद्यालय बाहिरका कार्यक्रममा पनि हामीले भाग पाउँछौं । यस्ता कार्यक्रममा भाग लिँदा मलाई आनन्द लाग्छ । गत वर्ष अन्नपूर्ण पोस्ट्को साप्ताहिक परिशिष्टांक अंकुरमा हामीले पनि रचना प्रकाशित गर्ने अवसर पाएका थियौं ।
त्यसको लागि हामी अन्नपूर्ण पोस्ट्को कार्यालयमा नै साहित्य क्लबका विद्यार्थी पृष्ठ संयोजकका रूपमा पुगेका थियौं । त्यहाँ हामीले कथा, कविता, निबन्ध, चुट्किला आदि विधा राखेर अन्तरविद्यालय बालप्रतिभा प्रतियोगिताअन्र्तगत अंकुरको मध्यपृष्ठ सम्पादन गर्ने अवसर पएका थियौं । हाम्रो साथमा शिक्षिका देबु लुइँटेल पनि जानु भएको थियो ।
लामो समयपछि हाम्रो विद्यालय अन्तरविद्यालय बालप्रतिभा प्रतियोगितामा उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल भएको खबर सुन्न पाइयो । प्रतीक्षाको फल मीठो हुन्छ भनेझैं मलाई पनि उक्त समाचारले खुसी बनायो । उक्त कार्यक्रम अन्नपूर्ण पोस्ट्को १५औं वार्षिकोत्सवको उपलक्ष्यमा हुने कुरा शिक्षकबाट थाहा पाइयो । मलाई भने कार्यक्रम कस्तो होला भनेर एक दिन अगाडिदेखि नै मनमा खुल्दुली बढेको थियो ।
भोलिपल्ट वैशाख १८ गते बिहान हामी पाठशालाबाट अन्नपूर्ण पोस्ट्को मुख्य कार्यालय गैरीगाउँमा गयौं । साथमा देबु गुरुआमा पनि हुनुहुन्थ्यो । हामी त्यहाँ पुग्नासाथै धरधरी पानी पर्न थाल्यो । सुन्दर पारेर सजाइएको मञ्चनै भिज्ने गरी पानीले तर्सायो । तर पनि मेरो मन भने खुसीले भरिएको थियो । उक्त कार्यक्रममा अंकुरमा उत्कृष्ट हुने अन्य विद्यालयका विद्यार्थीसमेत आएका थिए । जसमा पाठशाला नेपाल फाउन्डेसनका तर्फबाट हाम्रो सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि कुलमानसिंह घिसिङलाई बोलाइएको रहेछ ।
हामी सबै परिणाम सुन्न निकै आतुर थियौं । परिणाम सुन्दै जाँदा सेन्ट मेरिज स्कुल प्रथम, विजेश्वरी ज्ञानमन्दिर दोस्रो, केएमसी तेस्रो र हाम्रो विद्यालय चौथो भएको थाहा भयो । जम्मा ५२ ओटा विद्यालयमध्ये चौथो स्थानमा आफ्नो विद्यालयको नामबाट पुरस्कृत हुँदा निकै खुसी लाग्यो । हामीले पाएको उक्त सफलताका पछाडि विद्यालय परिवार र देबु गुरुआमाको विशेष योगदान रहेको छ ।
वार्षिकोत्सव कार्यक्रम समापनपछि हामीले फोटो खिच्यौं र त्यहीं खाना पनि खायौं । आगामी दिनमा आफूलाई साहित्य सिर्जनामा थप तिखार्दै यस्ता प्रतियोगितामा अझै अब्बल बन्ने प्रयत्न्न गर्ने प्रेरणा कार्यक्रमबाट हामीलाई मिल्यो । अर्कोतिर विद्यालयको ढुकुटीमा सफलताको नयाँ आयाम थपिएकोमा हामी प्रसन्न भयौं ।
नस्वा जोशी
कक्षा ः ८
पाठशाला नेपाल फाउन्डेसन, नयाँबानेश्वर काठमाडौं ।