सबैको मन जितिन् कृषाले
गत महिना भारतको अयोध्या सहरमा पाँचौं सोसियल मिडिया सम्मेलन भएको थियो । नयाँ दिल्लीस्थित संस्था हम साथ साथ र नवप्रभात जनसेवा संस्थानको संयुक्त प्रयासमा भएका उक्त सम्मेलनमा नेपाललगायत अन्य देशका करिब दुई सयजना फेसबुक, ट्विटर, ह्वाट्सएप, युट्युब आदि सोसियल मिडिया प्रयोगकर्ताले सहभागिता जनाएका थिए । दुई दिनसम्म चलेको सम्मेलनको मुख्य उद्देश्य सोसियल मिडियामा भाइचारालाई कसरी बढाउने भन्ने रहेको थियो ।
सम्मेलनमा सहभागी हुने व्यक्तिहरूले सोसियल मिडियाकैमार्फत कसरी विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएका छन् भन्ने जानकारी गराइयो भने कतिपयले यस्ता मिडियामार्फत आफ्नो व्यवसायलाई समेत अन्तर्राष्ट्रियकरण गर्दै आएका विषयमा छलफल भएको थियो । सम्मेलनमा भारतका विभिन्न स्थानबाट आउनुभएका कविहरूको कवि सस्मेलन र कविता हिन्दी भाषासहित नेपालीमा पनि कवितावाचन कार्यक्रम गरिएको थियो ।
ठूलो संख्यामा सञ्चारकर्मी, लेखक, साहित्यकार, बालकलाकार, कलाकार र समाजसेवीको जमघट भएकाले कार्यक्रममा अत्यन्त उत्साहपूर्ण रहेको थियो । नेपालबाट आफ्नो परिवारसँग सस्मेलनमा भाग लिन गएकी सात वर्षीया कृषा श्रेष्ठले 'कालेदाइ कालेदाइ' नामक गीतमा अत्यन्त भावपूर्ण तरिकाले नाच प्रस्तुत गर्ने अवसर प्राप्त गरिन् । उनको नाच र अनुहारको हावभावको ठूलै जमातले प्रशंसा गरेका थिए । परीक्षापछिको लामो बिदा मनाउन आफ्नो ममी, बाबा र दिदीसँग भारत भ्रमणमा निक्लिएकी कृषाको नृत्य देखेर कार्यक्रमका प्रमुख संयोजक किशोर श्रीवास्तव, शशि श्रीवास्तव र राजकुमार दुवेले 'वाइल्ड कार्ड इन्ट्री' दिनुभएको थियो ।
उक्त नृत्य प्रस्तुति कार्यक्रममा विभिन्न बालकलाकारहरूसहित बलिउडमा काम गरिसकेका कलाकारले पनि आफ्नो नृत्य देखाएका थिए । केही समय अगाडि रिलिज भएको बलिउड चलचित्र 'जोली एलएलबी २' मा अक्षय कुमारसँग अभिनय गरेका बालकलाकार रुवेल जैनले समेत कृषाको फेसियल एक्सप्रेसन देखेर मन्त्रमुग्ध हँदै भनेका थिए, कृषा साह्रै राम्री छिन् र उनको अनुहारको भाव पनि निकै सुन्दर छ । यति सानो उमेरमा सबैसँग यस्तो प्रतिभा हुँदैन । त्यसैले म त उनको फ्यान भएँ ।' कृषा लोकदर्शन स्कुल, हाँडीगाउँमा कक्षा २ मा पढ्छिन् ।
हक्की, नलजाउने, कसैसँग नडराउने, आफ्नो हक लिन सक्ने र केही जिद्दी स्वभावकी छिन् कृषा । विद्यालयको अभिभावक दिवसमा पनि उनी नाच्ने, गाउने, नाटकमा भाग लिनेदेखि कार्यक्रम सञ्चालनसमेत गर्ने गरेकी छिन् । केही दिन पहिले भएको उनको विद्यालयको अभिभावक दिवसमा उनले एउटा डाक्टरको भूमिकामा नाटकमा अभिनय गर्नुका साथै कार्यक्रममा उद्घोषण गरेर सबैको मन जितेकी थिइन् । अंग्रेजी र नेपाली दुवै भाषा बोल्ने कृषा अत्यन्त चुलबुले स्वभावकी छिन् ।
तर पनि उनी आफ्नो परिवारलाई धेरै माया गर्छिन् । घरमा विदेशी पाहुना आउँदा अंग्रेजीमा जानी नजानी भए पनि बोल्ने प्रयास गर्छिन् उनी । त्यसैगरी भारत भ्रमणमा रहँदा पनि हिन्दी नबोली नेपाली या कहिले अंग्रेजी मिसाएर बोल्दा सबैले अचम्म मानेर सुन्थे । कृषाको प्रस्तुति हेरेर उनले सही मार्गदर्शन र मौका पाए भविष्यमा ख्याति कमाउने अड्कल धेरैले गरेका छन् ।