‘भ्रष्टाचारमुक्त, पारदर्शी र व्यवस्थित काठमाडौं’

‘भ्रष्टाचारमुक्त, पारदर्शी र व्यवस्थित काठमाडौं’

पदभार ग्रहण गर्नुअगावै महानगरपालिकाको कार्यालय परिसरमा नवनिर्वाचित जनप्रतिनिधिले मूल्यवान फल लाग्ने, रूख रोपी ‘ग्रिन एन्ड क्लिन काठमाडौं' अभियानको कार्य शुभारम्भ गर्ने घोषणा गरेका एमालेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयरमा विजयी हुनुभएकाे छ । कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीलाई धेरै मतले पछि पार्दै विजयी हुनुभएका शाक्यले उम्मेदवारी दर्ता भएपछि मेयरका २८ जना उम्मेदवारभन्दा फरक काम देखाउन सय दिनमा १ सय १ काम गर्ने घोषणा गर्नुभएको थियो ।

घोषणाअनुसार काम गरे ५ वर्षपछिको काठमाडौं महानगरको रूप नै फरक देखिनेछ । ‘भोकरहित जनता शोकरहित महानगर', ‘काठमाडौं महानगर झिलिक्क : घर घर टिलिक्क', ‘महानगरका विशेष स्थानमा भेहिकल फ्रि जोन', ‘जन्जालमुक्त सडक सञ्जाल', ‘नो मास्क सिटी' र ‘चौबिसघन्टे जीवन्त सहर' जस्ता जनताका चाहना र आवश्यकता पूरा गर्ने एजेन्डा ल्याएका शाक्यसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :

५ वर्षपछि काठमाडौं महानगर कस्तो बन्ला ?
काठमाडौं चौबिसघन्टे ‘जीवन्त सहर' हुनेछ । काठमाडौं स्मार्ट सिटिजन कार्ड, स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने महानगर बोर्डब्यांक हुनेछ भने होम एड्रेसिङ प्रणाली लागू हुनेछ । गोंगबु बसपार्कको परिमार्जित मास्टरप्लान कार्यान्वयन, पुरानो बसपार्कमा प्रस्तावित काठमाडौं टावर निर्माण हुने, राजधानी महानगरलाई देशका सबै नेपालीको साझा मैत्रीनगर बनाइने, सातै प्रदेशका लागि प्रदेश भवन निर्माण हुनेछन् ।

वर्षौंदेखि अड्किएको तीनकुनेको जग्गामा अत्याधुनिक पार्क बन्नेछ । सम्पूर्ण ट्राफिक लाइटले काम गर्नेछन् । क्लिन द सिटी अभियानको प्रारम्भ धुवाँधुलो न्यूनीकरण गरी नो मास्क सिटी हुनेछ । ‘जन्जालमुक्त सडक सञ्जाल' कार्ययोजना लागू हुनेछ भने निर्माणाधीन चक्रपथ विस्तारकार्र्य यथाशीघ्र सम्पन्न हुनेछ । कार पार्किङ मलको नीति बनाई कार्य प्रारम्भ र स्मार्ट भर्टिकल कार पार्किङ नीति निर्धारण गरी कार्यान्वयन गर्नेछु । भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनार हुँदै केबल बस गुडाउने योजना छ ।

धरहरा प्रिमिसेसको मास्टर प्लान बनाई कार्यान्वयन हुनेछ । महानगरका विशेष स्थान भेहिकल फ्रि र वाईफाई फ्रि जोन घोषणा हुनेछन् । ‘काठमाडौं महानगर झिलिक्क : घर घर टिलिक्क' अभियान र ‘भोकरहित जनता शोकरहित महानगर' का लागि सुपथ मूल्यको मेयर फुड पार्लर सञ्चालित हुनेछन् । ‘सही समय सही ठाम, नो ट्राफिक जाम' लागू हुनेछ भने समग्रमा महानगरपालिकाको सम्पूर्ण कामकारबाही भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ-गभर्नेन्स प्रणालीलगायत काम हुनेछन् ।

काठमाडौंलाई कसैले सिंगापुर त कसैले स्वीजरल्यान्ड बनाउने सपना देखेका छन्, तपार्इं नि ?
सडक, ढललगायत परम्परागत कामलाई निरन्तरता दिनै पर्छ । ट्राफिक समस्या हटाउन पार्किङ मल निर्माण गर्नेछु । मोनो र मेट्रो रेलका काम हुनेछन् । धेरै कुरा भनिसकेको छु, अब काठमाडौं सुरक्षित, २४ सै घन्टा खुला, जीवन्त र सुन्दर सहर हुनेछ । धेरै बोल्नेभन्दा अब काम गर्ने बेला आएको छ । काठमाडौंलाई विश्वका अन्य देशसँग तुलना गर्ने होइन, अन्य देशका सहरले अब काठमाडौंजस्तो भनेर तुलना गर्ने महानगर बनाउनेछु ।


-पाँच वर्षभित्र काठमाडौं सुरक्षित, २४ सै घन्टा खुला, जीवन्त र सुन्दर सहर हुनेछ ।
-पुरानो बसपार्कमा प्रस्तावित काठमाडौं टावर निर्माण हुने, राजधानी महानगरलाई देशका सबै नेपालीको साझा मैत्रीनगर बनाइने, सातै प्रदेशका लागि प्रदेश भवन निर्माण हुनेछन् ।
-वर्षौंदेखि अड्किएको तीनकुनेको जग्गामा अत्याधुनिक पार्क बन्नेछ ।
-भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनार हुँदै केबल बस गुडाउने योजना छ ।
-महानगरका सरकारी र सार्वजनिक ठाउँलाई ‘बाउन्ड्रीलेस गार्डेन'का रूपमा विकास गर्नेछु ।
-काठमाडौं स्मार्ट सिटिजन कार्ड कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशीघ्र काम सुरु हुनेछ ।
-जन्मदेखि मृत्युसम्म चाहिने सामग्री सहितको ‘मिनी असन बजार' विभिन्न ठाउँमा सञ्चालन गर्नका लागि अध्ययन हुनेछ ।
-महानगरपालिकाले सम्पन्न गर्ने हरेक काम भ्रष्टाचारमुक्त र पारदर्शी बनाउनु र यसका लागि कर्मचारीको पुरानो मानसिकतालाई नयाँ जोश र जाँगरमा ढाल्नु पनि अबका दिनमा चुनौती छ ।
-मैले निर्वाचनका एजेन्डामा देखिएका र उठेका सबै पार्टीका साझा नारालाई दलीय प्रतिस्पर्धाबाट बाहिर निस्केर उहाँहरूसँगको सहकार्यमा साकार पार्नु छ।


वातावरण र ध्वनि प्रदूषण कसरी निर्मूल गर्नुहुन्छ ?
‘क्लिन द सिटी अभियान' को प्रारम्भ धुवाँधुलो न्यूनीकरण गरी ‘नो मास्क सिटी' को अभियान सञ्चालन गर्नेछु । मेलम्ची आयोजनालगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधि प्रयोग गरी धुलो र खाडलरहित सडक निर्माण गर्ने काम हुनेछ । ‘काठमाडौं महानगर झिलिक्क ः घर घर टिलिक्क' अभियानका साथै सरकारी सार्वजनिक भवन रंगरोगन गर्ने र आम नागरिकसँग पनि आह्वान गर्नेछु । यसअघि नै सुरु भइसकेको ‘नो हर्न' सँगै आवश्यक अन्य काम अघि बढ्नेछन् । काठमाडौंलाई प्लास्टिकमुक्त बनाउन प्लास्टिकका सामग्री व्यवस्थित रूपमा जम्मा गरेर राखेबापत महानगरपालिकाले किन्ने व्यवस्था हुनेछ भने कुहिने फोहोरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिने साथै किन्ने व्यवस्था हुनेछ । सहरको सुन्दरता र दुर्घटना न्यूनीकरणका लागि अव्यवस्थित पोल तथा तारको उचित व्यवस्थापन गरिनेछ । कौसी खेती तथा गार्डेन र घरघरमा जैविक तरकारी खेती गर्न प्रोत्साहित गरिनेछ जसले वातावरणसमेत स्वच्छ बनाउनेछ । इलेक्ट्रिक भेहिकल प्रवद्र्धन गरी साना गाडी विस्थापित गर्नेछु । अब कसैले पनि सडकमा निर्माण सामग्री थुपार्ने छैन ।


पार्क निर्माण र सार्वजनिक जग्गासम्बन्धी तपार्इंका योजना कस्ता छन् ?
काठमाडौं महानगरभित्रका सबै सार्वजनिक जग्गा अब संरक्षित हुनेछन् । स्थानीय बासिन्दाकै सहयोगमा यो र ती क्षेत्रमा पार्क निर्माण गर्नेछु । तीनकुनेको जग्गाको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण हुनेछ । महानगरका सरकारी र सार्वजनिक ठाउँलाई ‘बाउन्ड्रीलेस गार्डेन'का रूपमा विकास गर्नेछु । नदी किनारमा रहेका मठमन्दिर संरक्षणसहितको बाग्मती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माण हुनेछन् । ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनःस्थापना प्रक्रिया अघि बढ्नेछ । महानगरपालिकाभित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्र जस्तै स्वयम्भू, पशुपति, बौद्ध, वसन्तपुरलगायत स्थानमा द्रूत गतिको निःशुल्क वाईफाई क्षेत्र बनाइनेछ ।


राजधानीमा रहेको महानगरका हैसियतमा उपत्यकाका अन्य नगरसँग के-कस्तो सहकार्य हुनेछ ?
काठमाडौं महानगर र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा सटल बसको व्यवस्थासहित सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति संग्रहालय सहितको युवा पार्क निर्माण हुनेछ । साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ हुनेछ, जसले आसपासका नगरलाई प्रोत्साहित गर्नेछ । महानगर र गोकर्णेश्वरको समन्वय/सहकार्यमा ‘तारेभीर परियोजना' को प्रक्रिया अगाडि बढाइनेछ । टोखा नगरपालिकासँग समन्वय/सहकार्य गरी टोखाको संस्कृति सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित बाणेश्वर ‘वाटरफल पार्क' बनाउने काम हुनेछ । ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरूको ‘नयाँ ललितपत्तनम' नामको आर्ट एन्ड क्राप्ट निर्माण प्रक्रिया अघि बढाइनेछ ।


महानगरपालिकाको भ्रष्टाचार, ढिलासुस्ती, अपारदर्शिता र सुस्त प्रशासनलाई कसरी व्यवस्थित र जनमुखी बनाउनुहुन्छ ?
विगतमा जे भयो सकियो । अब नहुने काम रहेछन् भने त्यो महानगरपालिकाबाट ५ वर्ष बिते पनि हुनेछैन भने गर्नैपर्ने काम निश्चित समयभित्रै हुनेछन् । यसका लागि कर्मचारीबाट विगतजस्तो ढिलासुस्ती र भ्रष्टाचार हुनेछैन भने पारदर्शी ढंगले चुस्त रूपमा काम हुनेछ । उत्तरदायी कर्मचारी हुनेछन्, जसले सबै काम जवाफदेहीपूर्वक गर्नेछन् । स्थानीय शासन ऐन लागू हुँदै छ, त्यसले तोकेका काम तोकेकै मितिमा हुने गरी काम अघि बढाउनेछु । महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्री र प्रविधिमैत्री कार्यालयका रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाइनेछ ।

काठमाडौं स्मार्ट सिटिजन कार्ड कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशीघ्र काम सुरु हुनेछ । भित्री सहरको हरेक ५ सय मिटरमा र बाहिरी सहरमा आवश्यकताअनुसार सार्वजनिक-निजी साझेदारीकोे ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अघि बढाइनेछ, जसमा महिला, अपांगता भएका, वृद्ध, बालबालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाव संकलन डेस्क, रिचार्ज कार्ड, चार्जर, फ्रि वाईफाईको व्यवस्था गरिनेछ । जन्मदेखि मृत्युसम्म चाहिने सामग्री सहितको ‘मिनी असन बजार' विभिन्न ठाउँमा सञ्चालन गर्नका लागि अध्ययन हुनेछ ।

स्थानीय निकाय तहमा परिणत भएपछि संविधानले नै २२ र संघ तथा प्रदेशसँग साझा १५ अधिकारको ग्यारेन्टी गरेको छ, यति धेरै अधिकारलाई कसरी नागरिकसामु पुर्‍याउनुहुन्छ ?
ती सबै अधिकार नागरिकले खोज्ने नै छन् तर खोज्नुअघि पुर्‍याउने दायित्व हरेक गाउँपालिका वा नगरपालिकाको छ । महानगरपालिकाको हैसियतमा यसलाई अझ विशेष बनाउने योजना छ । आजसम्म जिल्लाको नगरपालिका र राजधानीमा रहेको काठमाडौं महानगरपालिकाबीच फरक थिएन । आजसम्म नभएको महानगर ऐन तत्काल बनाउनेछु । संविधानले दिएका एकल र साझा अधिकार अहिलेको कर्मचारीले प्रदान गर्न सक्दैनन् । आवश्यक जनशक्ति थप्ने र प्रदेश तथा संघसँग समन्वय गरी कर्मचारीको मनोबल बढाउँदै ती सेवा दिनेछु ।

यी सबै कामका लागि चुनौती के देख्नुभएको छ ?
संविधानले ग्यारेन्टी गरेका एकल र साझा अधिकार स्थापित गर्नु मुख्य चुनौती हुनेछ । स्थानीय सरकारको प्रत्याभूति गराउनु राजधानीभित्र रहेको महानगरपालिकामा कम चुनौती छैन । महानगरभित्रका सबै ३२ वटै वडाबाट चुस्त, दुरुस्त र पारदर्शी ढंगले छिटोछरितो सेवा दिनु पनि चुनौती नै हो । महानगरपालिकाले सम्पन्न गर्ने हरेक काम भ्रष्टाचारमुक्त र पारदर्शी बनाउनु र यसका लागि कर्मचारीको पुरानो मानसिकतालाई नयाँ जोश र जाँगरमा ढाल्नु पनि अबका दिनमा चुनौती छ । काठमाडौं महानगरभित्र विकास निर्माणमा जोडिने हरेक लाइन एजेन्सी स्वतन्त्र रहेको अवस्थामा ती सबैसँग सहकार्य गरी एकीकृत रूपमा विकास गर्नु झन् ठूलो चुनौती छ ।


अवसर पनि त देख्नुभएको होला । कसरी सदुपयोग गर्नुहुन्छ ?
यति सानदार मत दिएर जिताउनुभएको छ महानगरवासीले कि मैले पनि उहाँहरूको अमूल्य मतको कदर अवश्य गर्नु छ । हिजोसम्म म एमालेको मान्छे थिएँ अब सबैको भएको छु । मैले निर्वाचनका एजेन्डामा देखिएका र उठेका सबै पार्टीका साझा नारालाई साकार पार्नु छ । दलीय प्रतिस्पर्धाबाट बाहिर निस्केर उहाँहरूसँगको सहकार्यमा चुनौतीहरू चिर्नु छ । ७५ वटै जिल्लाबाट बसोबास गर्न आउनुभएका विविध क्षेत्र, संस्कृति, तह र तप्का अनि विचार भएका उहाँहरूको मन जितेर काम गर्नु छ । तर, मलाई थाहा छ, माहोल अब यसरी परिवर्तन हुनेछ कि सबैले आ-आफ्नो क्षेत्रबाट स्वयंसेवक जनसहभागिता दिन तयार हुनुहुनेछ । शान्ति-सुरक्षादेखि स्वच्छ वातावरण हुँदै पुनर्निर्माणसम्मका कामलाई अवसरका रूपमा लिनु छ । सामूहिक भावनाको विकास गर्दै देखिएका चुनौती सामना गरेर अघि बढ्दा आउने परिणाम नै अवसर हुनेछन् भन्ठानेको छु ।


अन्त्यमा... ?
मेयरमा दुई दर्जनभन्दा बढी प्रत्याशी हुँदाहुँदै पनि मलाई माया र विश्वास गरेर जिताउनुभएको छ । सबैप्रति आभारी छु । तपाईंहरूको विश्वासलाई डगमगाउन दिने छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.