अन्डा पनि ‘डेट एक्स्पाएर' हुन्छ

 अन्डा पनि ‘डेट एक्स्पाएर' हुन्छ

प्रायः सबै किराना पसलमा पाइने, पकाउन पनि सजिलो, पोषण भएको, स्वास्थ्यका लागि फाइदाजनक, स्वादिलो पनि, खाना÷खाजा दुवैमा मिल्ने भएकाले अन्डा धेरैको भान्सामा पाकिरहने परिकार हो । मिठो बनाएर खाने योजनासहित मुख रसाउँदै अन्डा फुटाउँदा कुहिएको गन्धले धेरैलाई सताएको होला । उचित भण्डारण र उपभोग्य मितिको ज्ञान नहुँदा नेपाली बजारमा अन्डा हुनुपर्ने जति स्वच्छ छैनन् । पसलबाट अन्डा किनेर ल्यायो, फुटाउँदा कुहिएको हुन्छ, फिर्ता गर्ने कुरा पनि भएन, खाने कुरा पनि भएन । यस्तो समस्यामा धेरै उपभोक्ता परिरहन्छन् । अन्डा उत्पादनमा आत्मनिर्भर बन्दै गएको मुलुकमा अब स्वच्छताका बारेमा पनि सोच्न आवश्यक छ । अन्डाको उपभोग्य मिति अर्थात् डेट अफ एक्स्पाएर राखेरमात्र बजार ल्याउने प्रबन्ध गर्न जरुरी छ ।

अन्डाको पोषण महत्व

अन्डा पोषणका दृष्टिले महत्ववपूर्ण मानिन्छ । विशेषगरी यसमा पाइने प्रोटिन शरीरका लागि उपयोगीमात्र हैन सजिलै पच्न सक्ने हुन्छ । बालबालिकादेखि युवा, वृद्धासम्मको प्रोटिन तथा पोषक आवश्यकता पूर्तिका लागि अन्डा फाइदाकर छ । विभिन्न अनुसन्धानहरूले अन्डाले मांसपेशी मजबुत बनाउनुका साथै तौल व्यवस्थापनमा पनि सहयोग पुर्‍याउने प्रमाणित गरेका छन् । अन्डा गर्भावस्थामा आमा तथा गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि फाइदाकर मानिन्छ । अन्डाले मस्तिष्कको विकास, आँखाको स्वास्थ्य, भिटामिन ई उपलब्ध गराएर कोषको क्षयीकरणमा कमी गर्छ ।

एउटा अन्डामा करिब ७० ग्राम क्यालोरी शक्ति, शरीरलाई अत्यावश्यक १३ प्रकारका भिटामिन तथा खनिज र ६ ग्रामभन्दा बढी उच्च गुणस्तरको प्रोटिन पाइन्छ । अन्डामा शरीरले उत्पादन गर्न नसकी खानाबाटै पूर्ति गर्नुपर्ने नौ प्रकार अत्यावश्यक एमिनो एसिड पाइने भएकाले यसलाई पूर्ण प्रोटियुक्त खाना पनि भनिन्छ । अन्डामा प्रशस्त पाइने लुसिननामक एमिनो एसिड मांसपेशीको स्वास्थ्यका लागि वरदान हो । अन्डा कोलिन, सेलेनियम, भिटामिन डी, भिटामिन बी १२, बी २, भिटामिन ए, जिंक, आइरन, फस्फोरस आदिको स्रोत हो । अन्डाको पहँेलो भागमा कोलेस्टेरोलको मात्रा धेरै हुन्छ, जसले चिल्लोमा घुल्ने भिटामिनहरू बोकेको हुन्छ ।

सन् २००३ मा हावर्ड विश्वविद्यालय र सन् २००८ मा नर्थ क्यारोलिना विश्वविद्यालयमा गरिएको अनुसन्धानले अन्डाले स्तन क्यान्सरको खतरा कम गर्न सहयोग गर्ने आैंल्याएको छ । प्रतिअन्डाबाट औसतमा दैनिक रूपमा आवश्यक भिटामिन एको ६ प्रतिशत, फोलेट ५ प्रतिशत, भिटामिन बी ५.७ प्रतिशत, बी २ १५ प्रतिशत, फस्फोरस ९ प्रतिशत, सेलेनियम २२ प्रतिशतसम्म प्राप्त हुन्छ । एउटा अन्डामा पाइने कोलेस्टेरोलको मात्रा दैनिक खानुपर्ने मात्राको झन्डै आधा हुन्छ । अन्डामा पाइने कोलिन मस्तिष्क र कोषको स्वास्थ्यका लागि उत्तम मानिन्छ । कसैकसैलाई अन्डा खाँदा छाला चिलाउने, आँखा धुमिल हुने, रिंगटा लाग्नेजस्ता असर देखिन सक्छ । त्यो व्यक्तिको अन्डाप्रतिको एलर्जीका कारण भएको हो । यस्तो एलर्जी खाना र व्यक्तिअनुसार फरक पर्दछ ।

पकाउन सजिलो ।
 पोसिलो र स्वास्थ्यका लागि लाभदायक ।
 उचित भण्डारण र उपभोग्य मितिको ज्ञानको अभाव ।
 स्वच्छताका बारेमा सोच्न आवश्यक ।
 उपभोग्य मिति राखेर बजारमा ल्याउनुपर्छ ।
 शरीरलाई चाहिने प्रोटिन तथा पोषकका लागि अन्डा फाइदाकर छ ।
अन्डाले मांसपेशी मजबुत बनाउँछ, तौल व्यवस्थापन गर्छ ।

अन्डाको उपभोग्य मिति

खानेकुराहरू कति समयमा बिग्रिन्छन ? भन्ने कुरा खानेकुराको प्रकृति, उत्पादन तथा भण्डारण शैली, वातावरण आदिमा निर्भर हुन्छ । उत्पादन भएको कति समयसम्म अन्डा नबिग्री रहन सक्छ भन्ने कुरा भण्डारण गर्ने शैली र वातावरणमा निर्भर हुन्छ । विशेषगरी नेपालजस्ता मुलुकमा ओसारपसार, भण्डारण, वितरण गर्ने वैज्ञानिक तरिका नअपनाउँदा अन्डा छिट्टै बिग्रिन्छ । तापक्रम र सापेक्षित आद्रता अनुकूल कायम नगरी कोठाको सामान्य तापक्रममा राख्दा अन्डामा जीवाणुहरूको संक्रमण छिटो हुन गई चाँडो कुहिन्छ । बिग्रिएको अन्डा खाँदा साल्मोनेल्ला फुड पोइजनिंग हुन सक्छ ।

अन्डालाई कुनै पनि प्रशोधन नगरी सामान्य अवस्थामै सामान्य तापक्रममा राख्दा ७ देखि १० दिनमै बिग्रिन सुरु हुन्छ । तर तापक्रम, सापेक्षित आद्रता उचित कायम गरी भण्डारण गरेमा ४५ दिनभन्दा बढी स्वच्छ रहन्छ । उचित तापक्रम निरन्तर कायम गरी रेफ्रिजेरेटरमा दुई महिनासम्म पनि कुनै पोषणतत्वव नष्ट नभई राख्न सकिन्छ । अन्डालाई कम तापक्रममा राख्दा साल्मोनेला ब्याक्टेरियाको संक्रमणबाट पनि जोगिन्छ ।

कसरी चिन्ने बिग्रेको अन्डा

-अन्डा बिग्रेको छ वा छैन भन्ने कुरा केही हदसम्म चिन्न सकिन्छ ।
-अन्डा विस्तारै हल्लाउँदा आवाज निस्किने गरी हल्लिन्छ भने बिग्रिएको हुन सक्छ ।
-अन्डालाई विस्तारै फुटाएर हेर्दा पहेँलो भाग एकै ठाउँमा नभई छरिएको, धेरै तरल भएको, सेतो भागमा कालो धब्बा छ भने पनि बिग्रिएको संकेत हो ।
-उसिनेको अन्डाको सेतो भागमा धेरै कालो भएको, पहेँलो भाग छरिएर रहेको, कुहिएको गन्ध आउने भएमा बिग्रिएको हो ।
- सिसाको गिलासमा आधा पानी राखेर अन्डा डुबाउँदा तैरियो भने त्यो बिग्रिएको हो ।

अन्डा बिग्रिएको छ वा छैन भन्ने अर्को सजिलो हरेलु जाँच तैरिने जाँच पनि हो । अन्डा सग्लै छिर्न सक्ने खालको सिसाको गिलास वा भाडामा आधा भन्दा बढी चिसो पानी राखी अन्डा डुबाउँदा भाडाको पिँधमै पुगेर बस्यो भने उपभोग्य मानिन्छ । तर माथि नै तैरिएर रह्यो भने उपभोग्य मिति सकिएको वा बिग्रिएको मानिन्छ । तैरिने परीक्षण गर्दा अन्डा जति माथि तैरिन्छ त्यति नै पुरानो हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अन्डाको बाहिरी भागमा (बोक्रा) साना मसिना प्वालहरू हुन्छन जहाँबाट हावा छिर्न सक्दछ । अन्डा जति पुरानो बन्दै गयो हावा छिर्ने निस्किने क्रम पनि उत्ति नै बढी हुन्छ । यसले अन्डाको घनत्वमा कमी आई पानीमा तैरिन्छ । यसरी हावाको चलखेलका कारण बाहिरी वातावरणमा भएका जीवाणुहरू अन्डाभित्र पसी संक्रमण गर्ने खतरा उच्च हुन्छ ।

अन्डा गर्भावस्थामा आमा तथा गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि फाइदाकर मानिन्छ । अन्डाले मस्तिष्कको विकास, आँखाको स्वास्थ्य, भिटामिन ई उपलब्ध गराएर कोषको क्षयीकरणमा कमी गर्छ ।

अन्डा उत्पादनको अवस्था

नेपाल अन्डा उत्पादनका हिसाबले आत्मनिर्भर बन्दै गइरहेको अवस्थामा यसलाई कसरी जनस्वास्थ्यमा असर नपर्ने गरी उत्पादन, बिक्री वितरण, भण्डारण गर्न सकिन्छ भन्नेतिर ध्यान दिन जरुरी छ । यसका लागि उत्पादकदेखि वितरकसम्म जिम्मेवार बन्ने र उपभोक्ता सचेत बन्न जरुरी छ । उत्पादकहरूले अन्डाको कार्टुनमा उत्पादन तथा उपभोग्य मिति लेख्न जरुरी छ । पछिल्लो समय अन्डामै पनि प्रिन्ट गर्न सकिने प्रविधिको विकास भइसकेको हुनाले प्रत्येक अन्डामा उपभोग्य मिति राख्न सकिन्छ ।

व्यावहारिकताका दृष्टिले यो अलि झन्झटिलो र महँगो हुने हुनाले ब्याचअनुसार प्याकिङ गरिएको कार्टुन वा क्यारेटमा उपभोग्य मिति राख्न सकिन्छ । खुद्रा व्यापारीहरूले उपभोक्ताले देख्ने गरी उक्त उपभोग्य मिति राख्ने चलनको विकास गर्न जरुरी छ । पोषणका दृष्टिले महत्ववपूर्ण मानिने अन्डाको स्वच्छता कायम गर्न सके यसबाट उपभोक्तालाई मात्र नभई उत्पादक र विक्रेतालाई पनि फाइदा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.