देउवालाई प्रधानमन्त्री बनाउन आजदेखि बहुमतीय प्रक्रिया सुरु हुँदै
काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न बिहिबारदेखि प्रक्रिया सुरु हुँदैछ । राष्टपति विद्यादेवी भण्डारीले बिहिवार सभामुख ओनसरी घर्तीलाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न पत्र पठाएपछि देउवाले आफू नेतृत्वको सरकार गठन गर्न पहल थाल्नु हुनेछ । सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्टपति भण्डारीले दिएको सात दिनको समयसीमा बुधबार रातीबाट सकिएको छ ।
देउवाका लागि प्रधानमन्त्री हुन आवश्यक बहुमत सत्ता गठबन्धनसँग पर्याप्त देखिन्छ । हाल संसदमा कायम रहेको साँसदको संख्या पाँच सय ९३ छ भने बहुमतका लागि दुई सय ९७ मत आवश्यक पर्नेछ । सत्ता गठबन्धनसँग तीन सय ११ मत छ भने राप्रपाले पनि सरकारमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवालाई सकारात्मक सन्देश दिएको छ । संसदमा राप्रपाको साँसद संख्या ३७ छ । राप्रपा पनि सरकारमा सहभागी भएको अवस्थामा देउवाको पक्षमा तीन सय ४८ साँसद हुनेछन ।
गत साउनमा काँग्रेस र माओवादी केन्द्र वीच भएको समझदारी अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि देउवाका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । आगामी असार १४ गते भन्दा पहिले देउवाले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने एक काँग्रेस नेताले बताए । स्रोतका अनुसार मन्त्रिपरिषदमा नपर्ने नेताहरु असन्तुष्ट हुन सक्ने भएकोले देउवाले निर्वाचन भन्दा पहिले सानो आकारको सरकार गठन गर्न खोजेका हुन ।
संसदमा कायम रहेको संख्या ५९३
बहुमतका लागि २९७
सत्ता गठबन्धनसँग कायम रहेको संख्या ३११
काँग्रेस २०७
माओवादी केन्द्र ८२
नेपाल लोकतान्त्रिक फोरम १७
नेकपा संयुक्त ३
अखण्ड नेपाल १
समाजवादी जनता पार्टी १
जम्मा ३११