सनग्लास: फेसनसँगै बाध्यता !

 सनग्लास: फेसनसँगै बाध्यता !

कुनै समय 'आहा' काठमाडौं! अब उफ् काठमाडौं बनेको छ! एउटा निकायको अर्कोसँग पटक्कै तालमेल नहुनुले पनि राजधानीको धुलो धुवाँ झन् बाक्लिँदै गएको छ।

यतिबेला समर सिजन सुरु भएको छ। च्यापच्याप गर्मीमा धुलो धुवाँको कणले शरीर कालो, फुस्रो हुनु सामान्यजस्तै भएको छ। एक दिन लगाएको लुगा अर्को दिन लगाउनलायक हुँदैन। धुलो धुवाँको प्रभाव शरीर, लुगामा जस्तै आँखामा नपर्ने कुरै भएन। त्यसैले त समर अर्थात् गर्मीमा चस्माको व्यापार ह्वात्तै बढेको छ। तराईको प्रचण्ड गर्मीमा चर्को धूपबाट र काठमाडौंजस्ता सडकमा उडेको धुलो धुँवाबाट आँखा बचाउन पनि चस्मा रोजाइमा पर्ने गरेको यसका प्रयोगकर्ताको भनाइ छ।

'बिहानको जस्तो मधुरो मौसम दिउँसो हुँदैन', मोडेल सरु उप्रेतीले भनिन्, 'अब त राजधानीमा दिउँसो चस्मा नलगाई हिँड्नै सकिँदैन। गर्मी पनि बढ्यो त्योभन्दा पनि यहाँको धुलो धुँवाले आँखा नै टालिएलाजस्तो हुन्छ।' कहिले ढल निकास, कहिले सडक विस्तार त कहिले पानीको पाइपलाई निर्माणका क्रममा राजधानीको धुलो बाक्लिँदै गएकाले पनि आफू रहरभन्दा बाध्यताले चस्मा लगाउन बाध्य भएको मोडेल सरुले प्रस्ट्याइन्।

काठमाडौंको सुन्धारा, रत्नपार्क, गौशाला, बसपार्कलगायत सडकपेटीमा ८० रुपैयाँमै रेबन लेखिएका चस्मा पाइन्छन्। धनगढी स्थायी घर भएका राजबहादुर थापा भने राजधानीको दरबारमार्गमा रेबनको चस्मालाई ८ हजार तिर्न राजी भेटिए। यति महँगो किन त भन्ने जिज्ञासा स्वाभाविक होला।

उनले भने, 'मैले रहरका लागि भन्दा आँखाको सुरक्षाका लागि चस्मा किन्न आँटेको।' सामान्य सडकपेटीमा भेटिने चस्मा लगाउनै नहुने भन्ने त होइन तर थापाको भनाइअनुसार सस्ता चस्माले आँखाको दृष्टिदेखि फ्रेमले टेक्ने अनुहारको भागमा कालो दाग बस्ने गर्छ। 'अरू वस्तुमा म धेरै कन्सियस नभए पनि आँखाजस्तो संवेदनशील अंकमा लगाउने वस्तुका लागि मैले महँगो नै खोजेको हुँ', थापाले भने।

नयाँबानेश्वरस्थित श्री ओम् चस्मा पसलका सञ्चालक दाताराम कोइरालाका अनुसार सनग्लासको प्रयोगले आँखालाई घाम, धुलोधुवाँबाट बचाउने हुँदा सनग्लासको विकल्प छैन। राजधानीमा बढ्दो धुलोधुवाँले पनि चस्माको बजार बढेको उनी बताउँछन्। 'सनग्लास फेसनसँगै बाध्यता पनि बनेको छ', उनी भन्छन्, 'आँखा संवेनदशील हुने भएकाले सनग्लास प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ र सस्तो पाए भन्दैमा प्रयोग गर्नु ठीक होइन।'

सनग्लास जुनसुकै मौसममा पनि फेसनमा बनेको छ तर समरमा बढी प्रयोग गर्ने गरेको पाइन्छ। विशेष गरी सनग्लास बढी मात्रामा महिलाले लगाउँछन्। सनग्लास खरिदारी तथा चयनमा निकै ध्यान पुर्‍याउनुपर्ने व्यवसायी उद्धव सापकोटा बताउँछन्। आँखा शरीरको महत्वपूर्ण अंग भएको र त्यसैले गुणस्तरीय चस्मा लगाउन उनको सुझाव छ। काठमाडौंमा ब्रान्डेड चस्माका सोरुमसमेत खुलेका छन्।

नेपालमा चीनको भर
छिमेकी मुलुक चीनले नेपालको चस्मा बजार धानेको छ। नेपालमा प्रयोग हुने चस्मा प्रायः चीनबाट आयात हुन्छ। करिब ८५ देखि ९० प्रतिशत चस्मा चीनबाट आयात हुने स्काई अप्टिकलका सञ्चालक उद्धव सापकोटाले बताए।

केही प्रतिशत ब्रान्डेड चस्मा इटाली, अमेरिकाबाट र बाँकी सबै चीनबाट आयात हुने उनको भनाइ छ। छिमेकी मुलुक भारतबाट पनि चस्मा आयात हुने भए पनि बिक्री खासै नहुने उनी बताउँछन्। 'चीनबाट ८० रुपैयाँ देखि ३० हजारसम्म आयात हुन्छ', सापकोटाले भने, 'प्लास्टिकका सामान्यदेखि ब्रान्डेड चस्मा आयात हुन्छ। प्लास्टिकका चस्मा ८० रुपैयाँदेखि ४ हजारसम्म पर्छ।'

चीनबाट चस्मा आयातकर्तासमेत रहेका सापकोटाले भने, 'नेपालमा चस्माको यकिन कारोबार विवरण नभए पनि करोडौं रुपैयाँको हाराहारीमा चिनियाँ चस्माको व्यापार हुन्छ।' चस्मा व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन्। शतप्रतिशतसम्म नाफा हुने अनुभव उनको छ।

सनग्लास थरीथरी
नेपालमा ब्रान्डेडदेखि सामान्य प्लास्टिकका सनग्लास पाइन्छ। ८० रुपैयाँदेखि ८० हजारसम्मका चस्मा सहजै पाइन्छन्। फुटपाथदेखि सामान्य पसल, सपिङ सेन्टरमा चस्मा पाइन्छ। एउटै चस्मा, ब्रान्डको नाम पनि लेखिएका सनग्लास ५÷७ सयमै पाइन्छ।

ब्रान्डेड सनग्लासको मूल्य हजारौं पर्छ। नेपाली बजारमा रेवन ब्रान्डका विभिन्न खालका चस्मा उपलब्ध छन्। पोलोराइज्ड लेन्स, रेवन क्लबमास्टर, रेवन केवल, रेवन फ्लोडिङ र रेवन वेफरेर उपलब्ध छन्। यसको मूल्य ५ हजार ९ सयदेखि झन्डै एक लाखसम्मको रहेको विक्रेता बताउँछन्।

रेबन, डायर, वर्साचे, भरसिज, गुच्ची, टोमी हिलफिगर, क्रिस्टिन डाई, अर्मानी, पोलिस आदि नेपाली बजारमा नाम चलेका ब्रान्डेड सनग्लास हुन्। यी सनग्लासको मूल्य करिब १ लाख रुपैयाँसम्म पर्छ।

दरबारमार्गस्थित वाच एन्ड सीकी सरला लम्सालले भनिन्, 'सनग्लास फेसनसँगै बाध्यता पनि हो। चस्माभन्दा आँखा महँगो भएको र आँखाको सुरक्षका लागि चस्मा अनिवार्य छ।' समर र दसैं-तिहारमा चस्माको व्यापार बढ्ने अनुभव उनले सुनाइन्। ७ हजार रुपैयाँदेखि ४५ हजारसम्मको सनग्लास बिक्रीका लागि उपलब्ध भए पनि कम मूल्यका बढी मात्रामा बिक्री हुने उनीले बताइन्।

विश्वका महँगा सनग्लास
विश्वकै सबैभन्दा महँगो चस्मा चोपार्ड सनग्लास हो। यो सनग्लासको मूल्य ४ लाख अमेरिकी डलर पर्छ। यसमा हीरा र २४ क्यारेट सुनको प्रयोग गरिएको छ।

त्यस्तै, अर्को महँगो सनग्लासमा डोल्से एन्ड गाब्बाना डिजी २०२७ बी सनग्लास पर्छ। यसको मूल्य तीन लाख ८३ हजार डलर छ। यसैगरी, तेस्रो महँगो सनग्लासमा सिल्स एमराल्ड सनग्लास पर्छ जसको मूल्य दुई लाख डलर छ।

यसैगरी, कार्टियर प्यानपदयर सनग्लासको मूल्य १ लाख ५९ हजार डलर, लक्जुरियटर क्यानरी डाइमन्ड सनग्लासको मूल्य ६५ हजार डलर, बुल्गारी फ्लोरा सनग्यासको मूल्य ५९ हजार डलर, गोल्ड एन्ड उड २५३ डाइमण्ड सनग्लासको मूल्य ५५ हजार डलर पर्छ।

यस्तै, गोल्ड एन्ड उड ११९ डाइमन्ड सनग्लासको मूल्य ३० हजार डलर, लुगानो डाइमन्डस् सनग्लासको मूल्य २७ हजार डलर र कार्टियर पेरिस १८ के गोल्ड सनग्लासको मूल्य २५ हजार डलर रहेको छ।

किन सनग्लास ?
घाममा हुने अल्ट्राभायोलेट किरणले आँखामा असर गर्छ। यसले गर्दा आँखा पोल्ने, आँसु आउने, रिँगटा लाग्नेजस्ता समस्या देखिन सक्छ। यसकारण समरमा सनग्लास अनिवार्य बनेको छ। धुलोधुवाँबाट आँखालाई बचाउन पनि सनग्लास अनिवार्य बनेको छ।

विज्ञका अनुसार घामबाट निस्कने परावैजनी किरणबाट सनग्लासले आँखाको रेटिनालाई बचाउँछ। धुलोको कणले रेटिनामा क्षति पुग्ने भएकाले सनग्लास लगाउँदा उपयुक्त हुन्छ। यसैगरी, परावैजनी किरणले आँखामा बन्ने टियर सेल टुट्ने सम्भावना बढी रहन्छ। सनग्लासले कन्जेक्टिभा (आँखाको तल्लो र माथिल्लो परेलाको बाहिरी पत्र) लाई समेत सुरक्षित राख्ने विज्ञको भनाइ छ।

सनग्लासको प्रयोग गर्नाले मोतियाबिन्दु रोगको जोखिमसमेत कम गर्छ। घामको परावैजनी किरणका कारण पनि मोतियाबिन्दु हुन सक्ने विज्ञ बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.