सेयर बजारमा दुई अर्ब बढीको कारोबार
काठमाडौँ: धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ। कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ६०४ दशमलव ३१ अङ्कमा पुगेको छ। 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ९४ अङ्कले घटेर ३४० दशमलव ३४ अङ्कमा आइपुगेको छ।
यस साता कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १७ करोड ९२ लाख ५० हजार बराबरको सेयर कारोबार भएको थियो।
कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकका दुई लाख ४७ हजार कित्ता सेयर कारोबार भएको थियो । रासस