महिनावारीमा पीडा झेल्न विवश महिला
‘तिम्रो मुहार किन यस्तो मलिन हो आज ? पिरियड चलेको हो र ? ' कक्षाकोठामा दिनेशले सहपाठी अनुष्कालाई सोध्दा केटाहरूबीच हाँसोको फोहोरा उठ्यो । उता छात्राहरूले भने जिब्रो टोके ।एकातिर महिनावारीको पीडाले तल्लो पेट दुखेर सहिनसक्नु भएकी अनुष्काका आँखामा आँसु टपल्किए । आफू हाँसोका पात्र बनेको देखेपछि कक्षाकोठाबाट बाहिर निस्केर बाथरुम भित्र छिरिन् ।
अनुष्का एक्ली होइनन् यो पीडा झेल्ने । नेपालमा अधिकांश महिला सामान्य जैविकीय प्रक्रियाका रूपमा रहेको महिनावारीका विषयमा समाज, परिवार, साथीभाइले गर्ने व्यवहार र टिप्पणीका कारण पलपल यसैगरी पीडा झेल्न बाध्य छन् । हामीकहाँ परिवारभित्रै पनि महिनावारी बारे कुरा चल्दैन । बुवाका अगाडि, दाइका अगाडि महिनावारी भएको कुरा गर्नु हुँदैन । महिनावारी भएपछि लुकेर स्यानेटरी प्याड किन्नुपर्छ । घरमा केही गरी कुरा आयो भने पुरुष सदस्यहरूले मुन्टो लुकाउँछन् । मानौं उनीहरूले केही नपच्ने कुरा सुने जस्तो । महिला महिलाका बीचमा समेत उमेरको भिन्नता धेरै भए यस्ता कुरा कमै हुन्छन् । महिनावारी लाजको विषय बनेको हुन्छ ।
हरेकजसो समाजमा महिनावारी भन्नेबित्तिकै नकारात्मक सोच उत्पन्न हुन्छ । यसलाई यौनसँग या महिलाको अंगसँग जोडेर सोच्ने गरिन्छ । कतिपयले यसलाई पाप र धर्मसँग जोड्छन् । कसैलाई छुन नहुने, आफूले खाने भाडा छुट्टै हुने, अलग्गै बस्नुपर्ने, पीडाले छटपटिए पनि चुपचाप बस्नुपर्ने आदि ।हाम्रा पूर्वजहरूको पालामा एकातिर महिनावारीको बारेमा पर्याप्त ज्ञान थिएन, अर्कोतर्फ सरसफाइ गर्ने, रगत संक्रमण हुन नदिने प्रविधि र वस्तुहरूको अभाव थियो । त्यसैले महिनावारी भएका महिलाको रगत अन्य ठाउँमा लाग्ने डरले उनीहरूलाई सबैबाट अलग गरिएको हुन्थ्यो । पछि गएर यसलाई नै नियम र संस्कार बनाइयो । तर अहिलेको अवस्था त्यो होइन ।
महिनावारी भन्नेबित्तिकै महिनाको खास दिनमा स्त्रीको यौनांगबाट रगत बग्नु हो । यो सामान्यतः चारपाँच दिनसम्म बग्ने गर्छ । कसैकसैमा यो सात-आठ दिनसम्म पनि बग्दछ । तर यो रगत बग्ने कुरा प्राकृतिक नियम हो । महिलामा मात्रै भएको प्रजनन गर्ने क्षमतालाई विकास गर्ने प्रक्रिया हो महिनावारी । महिनावारी हुँदा महिलाको तल्लो पेट (पाठेघर) खुम्चिने र खुल्ला हुने गर्दछ । जसले गर्दा महिलालाई पेट दुख्ने समस्या देखिन्छ । कतिपय महिलामा यो पीडा असह्य हुन्छ ।
महिनावारी प्रत्येक २८ दिनको हुन्छ । महिलाको पाठेघर तीन तहको हुन्छ । जसमध्ये भित्री तह भनिन्छ । महिनावारी हुँदा त्यही तह बगेर आउँछ । बच्चा पेटमा आउनका लागि यस तहले महत्ववपूर्ण भूमिका खेलेको हुन्छ । यसले बच्चा कन्सिभ गर्न राम्रो वातावरण सिर्जना गर्छ यदि कन्सिभ भए महिनावारी रोकिन्छ नत्र महिनावारीको रूपमा आउँछ ।
कामकाजी महिलालाई महिनावारीको बिदा पाइँदैन । जस्तोसुकै दुखे पनि, जतिसुकै रगत बगे पनि उनीहरूले अरू दिनझैं सामान्य अवस्थामा देखिए काममा जानैपर्छ । यो अवस्थामा पसलमा स्यानेटरी प्याड किन्दासमेत कागजमा बेरेर या लुकाएर दिने गरिन्छ ।
महिनवारी हुँदा महिलाले रगतको संक्रमण अन्यत्र नहोस् भनेर स्यानेटरी प्याड प्रयोग गर्ने चलन बढ्दो छ । यसअघि महिलाले कपडाको प्रयोग गर्ने गर्थे । कतिपय अवस्थामा त उनीहरू घरबाहिर ननिस्किने, एउटै कोठामा बस्ने समेत गर्थे । अहिले पनि महिनावारीलाई त्यति सजिलो अर्थमा भने लिईंदैन ।
एल्लेख गरिए झैं महिनावारीलाई लाजको विषय बनाउँदा यसको असर हरेक महिलाले झेल्नुपर्छ÷परेको छ । अहिले पहिला जस्तो घरमा नै बस्ने अवस्था छैन । कामकाजी महिलालाई महिनावारीको बिदा पाइँदैन ।
जस्तोसुकै दुखे पनि, जतिसुकै रगत बगे पनि उनीहरूले अरू दिनझैं सामान्य अवस्थामा देखिए काममा जानैपर्छ । यो अवस्थामा पसलमा स्यानेटरी प्याड किन्दासमेत कागजमा बेरेर या लुकाएर दिने गरिन्छ । अर्थात् यो अझै सामान्य विषय बन्न सकेको छैन । पढेलेखेका, शिक्षित भएको राजधानीमा त यस्तो अवस्था छ भने गाउँघरतिर त महिला पसलमा गएर प्याड किन्नु कल्पनाबाहिरको विषयसमेत बन्ने गर्दछ ।
महिनावारीको नकारात्मक पक्षलाई हटाउन विश्वव्यापीरूपमा नै प्रयत्न भएको छ । हालैमात्र पनि विश्वभरि महिनावारीलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्ने आवाज राख्दै विश्व दिवस नै मनाइयो । यसैबेला नेपालमा समेत महिलाले सार्वजनिक रूपमा पहिलोपटक महिनावारीका बारेमा सकारात्मक दृष्टिकोण राख्ने आशयका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।
तर यही बीचमा केही पुरुषका तर्फबाट भने महिनावारीका बारेमा अत्यन्तै निम्नकोटीका प्रतिक्रिया देखिए । फेसबुक पेजमा एकजना पुरुषले लेखे- ‘मलाई त महिनावारी भएको महिलालाई छुन पनि घिन लाग्छ ।' प्रश्न गर्न मन लाग्छ- ‘यही घिनलाग्ने अवस्था पार गरेकै कारण तिमी हामी जन्मेका हैनौं र ? ' आमा महिनावारी नभएकी भए उनी अहिले यसरी फेसबुकमा कमेन्ट लेख्न सक्थे र ?
एकातिर समाजको यस्तो दृष्टिकोण छ भने अर्कोतर्फ ग्रामीण क्षेत्रमा र महिनावारी सुरु हुने उमेरका युवतीमा यसबारे पर्याप्त जानकारी देखिँदैन । महिनावारीका बारेमा सही जानकारी नहुँदा उनीहरूले समेत समाजको मानसिकताका आधारमा यसबारेको बुझाइ बनाएर आफूलाई कमजोर ठान्न पुग्छन् । महिनावारी केही होइन, बरु सामान्य प्रक्रिया हो, यो पाप होइन, यसले शारीरिक रूपमा कुनै हानि गर्दैन, बरु यो त महिलाको प्रजनन प्रक्रिया विकास हुने एउटा चरण हो भन्ने कुरा नबुझ्दा कतिपय किशोरीमा मानसिक तनाव जन्मिन पुगेको देखिन्छ । एकातिर महिनावारी हुँदा हुने असह्य पीडा, अर्कोतर्फ सामाजिक र पारिवारिक तनाव, यो दुवै कतिपय महिलाका लागि महिनावारीको साता नर्क जस्तो बन्न पुगेको हुन्छ ।
त्यसैले महिनावारीले झेल्नुपर्ने मानसिक तनाव, सामाजिक दबाबलाई निर्मूल पार्न सबै तहबाट विशेष पहलको आवश्यकता छ । अब यो हिजोको जस्तो अशुद्ध रगत भने तर्किने अवस्थासँग मात्रै सीमित छैन । त्यसैले महिलालाई महिनावारी भएको बेला पुरुषका अगाडि या परिवारमा लज्जित भएर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न सचेतना अभियान सबैतहबाट अगाडि बढाउनु जरुरी छ । महिनावारीको अवधिमा महिलाले त्यो अवधिको बिदा अरू सामान्य दिनमा पूर्ति गर्ने गरी लिन चाहेमा दिनुपर्ने प्रावधानसमेत कानुनी रूपमा गर्न जरुरी छ । कतिपय देशमा यस्तो गरिएको छ । यसबारेमा सबैले ध्यान दिनुपर्ने अहिलेको आवश्यकता हो ।
- केसी, सहिद मेमोरियल अस्पतालमा नर्स छन् ।