उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार वितरण : राष्ट्रिपति नै बेखबर

उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार वितरण : राष्ट्रिपति नै बेखबर

काठमाडौं :  वर्षभरिमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने उत्कृष्ट किसानलाई सरकारले प्रत्येक वर्ष ‘उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार' प्रदान गर्दै आएको छ । यो पुरस्कारको नाम राष्ट्रपतिकै नाममा राखिएको छ । तर, यो पुरस्कार वितरण गर्दा कुनै पनि वर्ष राष्ट्रपतिको उपस्थिति भएको छैन । पुरस्कार वितरण कार्यक्रममा कृषि विकास मन्त्रालयले राष्ट्रपतिलाई निम्ता नै गर्दैन । विगतजस्तै यो वर्ष पनि कृषि विकास मन्त्रालयले त्यही चलनलाई निरन्तरता दिँदै राष्ट्रपति बिना नै देशभरबाट उत्कृष्ट छनोट भएका पाँच जना किसानलाई पुरस्कार प्रदान गर्‍यो ।

यो वर्ष झन् मन्त्रालयले क्रमभंग गरी विभागीय मन्त्री बिना नै यो पुरस्कार प्रदान गरेको छ । मन्त्रालयले यो वर्ष राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठको हातबाट किसानलाई पुरस्कार वितरण गराएको थियो । मन्त्रालयका सचिव डा.सुरोज पोखरेलले पुरस्कारको गरिमा बढाउन राष्ट्रपतिको नाममा नामाकरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको नामबाट पुरस्कारको नामाकरण गरिए पनि राष्ट्रपति कै हातबाट पुरस्कार वितरण गराउनुपर्छ भन्ने छैन । पुरस्कारको गरिमा ठूलो हुन्छ । सुरुआती समयमा प्राविधिक कारणले गर्दा सम्मानित राष्ट्रपतिको हातबाट वितरण गराउन सकेनौं । तर, आगामी वर्षमा राष्ट्रपति कै हातबाट वितरण गराउने तयारी गर्दैछौं ।'

सचिव पोखरेलका अनुसार उक्त पुरस्कार गणतन्त्र दिवसका दिन वितरण गर्ने योजना भए पनि राजनीतिक परिवर्तनका कारण केही दिन लम्बिएको हो । सरकारले विभागीय मन्त्रीसमेत नियुक्त गर्न थप ढिलाइ भएको जानकारी गराउँदै सचिव पोखरेलले भन्नुभयो, ‘विभागीय मन्त्रीलाई पर्खदा पर्खंदै धेरै दिन बितिसक्यो । त्यसैले सामान्य कार्यक्रम गरी पुरस्कार वितरण गरेका छौं ।' किसानी पेसा र कृषि क्षेत्रको सम्मान गर्ने उद्देश्यले आर्थिक वर्ष २०७०/७१ देखि यो पुरस्कार प्रदान गर्न लागिएको हो ।सरकारले सर्लाहीको हरिपुर नगरपालिका पिडारी टोलका माछापालक किसान अफजल हुसैनलाई यो वर्षको सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ । हुसैनलाई दुई लाख नगदसहित कदर प्रदान गरिएको थियो ।

पुरस्कार थाप्दै हुसैनले भन्नुभयो, ‘मेरो लागि यो पुरस्कार नोवेल पुरस्कारभन्दा कम्ती लागेन ।' यसैगरी नवलपरासी हुप्सेकोट गाउँपालिका वेलहानी टोलका थमबहादुर रजाली मगरलाई तरकारी खेतीतर्फ, डडेलधुराको अजमेरु गाउँपालिकाका खडकसिंह विष्टलाई बाख्रापालनतर्फ, पाँचथर मिक्लाजुङ गाउँपालिका कुरुम्बा टोलका इन्द्रकुमारी लावतीलाई सुन्तला खेतीसहित एकीकृत खेतीतर्फ र बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका सुमेरशमशेर जवरालाई जनही एक एक लाखको नगदसहित उत्कृष्टको कदरपत्र प्रदान गरिएको छ ।

पुरस्कृत किसानले सरकारले उपलब्ध गराएको बिमा सुविधा र बैंक ऋण सुविधा उपभोग गर्न निकै झन्झटिलो भएको गुनासो पोखे । उनीहरूले बिमा र बैंक ऋण सुविधा पहुँच भएका सीमित व्यक्तिको पहुँचमा मात्रै पुगेको गुनासो पोखेका थिए ।

पुरस्कृत किसान

कुनै ताका चिनी उत्पादनमा नाम कमाएको खाँडसारी चिनी मिलका मालिक आफैं रहेका अफजल हुसैन अहिले माछापालनमा जमेका छन् । २०४१ देखि २०६९ सम्म सञ्चालनमा आएको उक्त चिनी मिलबाट त्यति सारो नाफा नभएपछि हुसैनले उक्त कारखाना बन्द गरी माछापालनमा होमिनुभएको हो । सुरुमा ७५ लाखको लगानीमा ६ बिगाहामा १० वटा पोखरीबाट सुरु भएको उहाँको माछापालन अहिले ११ बिगाको १९ वटा पोखरीमा पुगेको छ । अहिले हुसैनको कुल लगानी दुई करोड २५ लाख पुगेको छ । वार्षिक साढे तीन करोड मूल्य बराबरको ९० मेट्रिक टन कार्प र पंगासियस जातको माछा उत्पादन गर्ने हुसैनले सबै खर्च कटाएर वर्षमा ५० देखि ६० लाख नाफा गर्दै आउनुभएको छ ।

२०३६ सालदेखि माछाको भुरा उत्पादन गर्न सुरु गर्नुभएको सुमेरशमशेरले अहिले १५ वटा पोखरीबाट सात प्रकारका माछाको भुरा उत्पादन गर्दै आउनुभएको छ । वार्षिक ३० लाख मूल्य बराबरको साढे पाँच करोड गोटा माछाको भुरा उत्पादन गर्र्दै आउनुभएका सुमेरशमशेरले सबै खर्च कटाएर वर्षमा २० लाख नाफा गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्ने भुरा नौ वटा जिल्लामा बिक्री हुन्छ ।

यस्तै २०६८ सालमा ४७ हजारको लगानीमा तरकारीखेती गर्नुभएका थमबहादुर यतिखेर दुई बिघाको जग्गामा थोपा सिँचाइ प्रविधिको सहयोगमा वार्षिक ८० मेट्रिक टन गोलभेंडा, ३० मेट्रिक टन काँक्रो, २० मेट्रिक टन बोडी, १८ मेट्रिक टन करेला, दुई मेट्रिक टन भेडे खुर्सानी, १६ मेट्रिक टन फर्सी र एक मेट्रिक टन हरियो खुर्सानी उत्पादन गर्दै आउनुभएको छ । थमबहादुरले वार्षिक ३३ लाखको तरकारीको कारोबार गर्नुहुन्छ । यसमध्ये सबै खर्च कटाएर २० लाख नाफा हुन्छ । ‘मास कम्युनिकेसनको विद्यार्थी म कृषिप्रतिको आकर्षणलाई जोगाउन यो पेसामा होमिए । सुरुमा श्रीमती इन्दिराको गहना १७ हजारमा बिक्री गरी थप रकम पारिवारिक सदस्यसँग जोहो गरी तरकारी खेती सुरु गरें', थमबहादुरले भन्नुभयो ।

यस्तै १५ वर्षअघि ९० हजारको लगानीमा १६ वटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएका खड्क सिंहले अहिले एक सय ८० थान वोयर, सानन, लामकाने र खरीजातका बाख्रा पाल्दै हुनुहुन्छ । खड्क सिंहले सबै खर्च कटाएर वार्षिक आठ लाख रुपैयाँसम्म नाफा गर्नुहुन्छ । यस्तै २०५३ सालदेखि सुन्तलाखेती गर्न सुरु गर्नुभएका इन्द्रकुमारीले ६० रोपनीमा सुन्तला र १८ रोपनीमा तरकारीसहित पशुपन्छीसमेत पालन गर्दै आउनुभएको छ । इन्द्रकुमारीले सबै खर्च कटाएर वार्षिक २२ देखि ५५ लाख रुपैयाँ नाफा गर्दै आउनुभएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.