म्याद गुज्रेका सामग्री बजारमा

म्याद गुज्रेका सामग्री बजारमा

जुम्ला: कर्णालीको व्यापारिक केन्द्र जुम्लाका अधिकांश खाद्यान्न पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएका छन् । धेरै समयपछि जिल्ला प्रशासनको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा ८० प्रतिशत खाद्यान्नका पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएका हुन् ।

कर्णालीका अधिकांश जिल्लाका उपभोक्ता म्याद गुज्रेका र गुणस्तरहीन खाद्यवस्तु उपभोग गर्न बाध्य छन् । सरकारी तवरबाट अनुगमन नहुनु र उपभोक्ता सचेत नभएकै कारण व्यवसायीले गुणस्तरहीन वस्तु बिक्री गरिरहेको प्रशासनले जनाएको छ । प्रशासनले अनुगमन गरेपछि मंगलबार खलंगा बजारमा सबै खाद्य पसलमा म्याद गुज्रेका खाद्यवस्तु पाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेले बताउनुभयो ।

‘हामीले उपभोक्ताको मागलाई ध्यानमा राखेर पसल अनुगमन गर्यौं', उहाँले भन्नुभयो, ‘तर बजारका अधिकांश पसलमा म्याद गुज्रेका सामग्री पाइँयो । यो निकै डरलाग्दो स्थिति हो ।' बजारका ८७ पसलमा अनुगमन गर्दा करिब २८ हजारभन्दा बढी मूल्यका म्याद गुज्रेका खाद्य सामग्री भेटिएको न्यौपानेले बताउनुभयो । ‘हामीले अनुगमन गरेको क्षेत्र सानो हो तर सोचेभन्दा निकै ठूलो परिमाणमा म्याद गुज्रेका सामग्री भेटियो,' उहाँले थप्नुभयो, ‘यसरी हेर्दा बजारभरिका गोदाम म्याद गुज्रेका खान नमिल्ने खाद्य वस्तुले भरिएको छ । यसका लागि अनुगमनमा कडाइ गरिनेछ ।'

यस्तै, अनुगमनका क्रममा भेटिएका सामग्रीमध्ये धेरैजसो पेय पदार्थ छन् । कोकाकोला, फेन्टा, स्प्राइटलगायत पेय पदार्थ भारी मात्रामा जफत गरिएको छ । यस्तै, पिठो, फुरन्दाना, दालमोट, बिस्कुट, चक्लेट, हर्लिक्सलगायत खाद्य सामग्री पनि भारी मात्रामा जफत गरिएको थियो । जफत गरिएका सामग्री बुधबार जिल्ला प्रशासन कार्यालय परिसरमा जलाएर नष्ट गरिएको थियो । अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानले सदरमुकाममा आउने जो कोही उपभोक्ताले खाद्य सामग्री किन्दा उत्पादित कम्पनी र म्याद अनिवार्य हेरेर मात्रै खरिद गर्न सुझाव दिनुभयो ।

सदरमुकाममा बिक्री वितरणका लागि राखिएका अधिकांश पेय पदार्थ खान नमिल्ने अवस्थामा पुगेकाले यसबाट बच्न उपभोक्ता सचेत हुन आवश्यक रहेको न्यौपानेले बताउनुभयो । प्रशासनको नेतृत्वमा करदाता सेवा कार्यालय, प्रहरी, जिल्ला पशु स्वास्थ्य, घरेलु तथा साना उद्योग विकास समिति, सञ्चारकर्मी र उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागितामा अनुगमन गरिएको थियो ।

पसलेहरू भागाभाग
बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि मंगलबार जुम्ला बजारका खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । सदरमुकामको तर्फबाट अनुगमन थालिएपछि अधिकांश खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए । प्रशासनले यसपटक पसल बन्द गरी भागे पनि अर्को पटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने जनाएको छ । उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गरी नाफामात्र खोज्ने व्यवसायीलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रशासनको दाबी छ ।

यस्तै मंगलबारको अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री जफत गर्नुका साथै नियमविपरीत सञ्चालनमा आएका पसललाई जरिवानासमेत गरिएको थियो । कानुनी दायराभन्दा बाहिर रहेर सञ्चालन भएका र कर नतिर्ने पसललाई ८५ हजार रुपैयाँ जरिवाना गरिएको करदाता सेवा कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो । ‘केही पसल हाम्रो अधिकार क्षेत्रभन्दा बाहिर गएर सञ्चालन गरेको पाइयो', उहाँले भन्नुभयो, ‘त्यस्ता केही पसलबाट जरिवाना गरेका छौं । आगामी दिनमा अनुगमनलाई जिल्लाव्यापी बनाउनेछौं ।'

जुम्लामा पटकपटक सचेत गराउँदा पनि व्यापारीले म्याद नाघेका, सडेगलेका र ढुसी लागेका खाद्य तथा तरकारी बेच्दै आएको पाइएको छ । बजारमा बिक्रीका लागि राखिएका खाद्यवस्तुको म्याद गुज्रिएको, गुणस्तर कमजोर भएको, तौल नपुगेकोलगायत समस्यामा उपभोक्ता ठगिएका छन् । उपभोक्ताले प्रत्येक महिना अनुगमनलाई निरन्तरता दिँदै गुणस्तरीय खाद्यवस्तु बिक्री हुने वातावरण सिर्जना गर्न प्रशासनलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.