रासायनिक मल पर्याप्त

रासायनिक मल पर्याप्त

काठमाडौं : यस वर्ष वर्षे बालीका लागि रासायनिक मल पर्याप्त हुने भएकोछ । सरकारसँग ठूलो परिमाणमा मल मौज्दात रहेकाले धान र मकैका लागि अभाव नहुने भएको हो । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले यो वर्ष धान र मकैबालीका लागि रासायनिक मल अभाव नहुने जानकारी दिनुभयो ।

सहज रूपमा मल आपूर्ति भइरहेको र बिक्रीवितरण गर्ने निकायसँग पनि पर्याप्त परिमाणमा रासायनिक मल मौज्दात भएकाले भदौसम्मलाई अभाव नहुने मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा केही राजनीतिक दलले गरेको तराई केन्द्रित बन्द हडतालका कारण समयमा ढुवानी हुन नसक्दा उपत्यकालगायत केही पहाडी जिल्लामा मल अभाव भएको थियो । ‘तर, बिहीबारदेखि पुनः सुरु भएको ढुवानी व्यवस्थाका कारण आगामी तीन दिनभित्रमा मल अभावको समस्या समाधान हुँदैछ', प्रवक्ता कार्कीले भन्नुभयो ।

यो वर्ष मनसुन निर्धारित समयमै सुरु भएकाले किसानले धान रोपाइँ गर्न सुरु गरिसकेका छन् । यसले गर्दा मलको माग सुरुमै बढेर गएको छ । धान र मकैबालीलाई करिब ७० हजार मेट्रिक टन युरिया, सोही अनुपातमा पोटास र करिब ३५ हजार मेट्रिक टन डीएपी माग छ । कृषि विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी र आपूर्ति मन्त्रालय अन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनसँग सबै प्रकारका मल गरी अहिले एक लाख ५९ हजार मेट्रिक टन मौज्दात छ ।

यसमध्ये कृषि सामग्री कम्पनीसँग युरियातर्फ ६० हजार मेट्रिक टन, डीएपी नौ हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन मल मौज्दात छ । कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक अमरराज खैरका अनुसार चीनबाट थप ३० हजार मेट्रिक टन युरिया आयात गरी कोलकाता बन्दरगाह आइपुगेको छ । ‘यो परिमाणको युरिया असार अन्तिमसम्ममा नेपाल आइपुग्छ', खैरले भन्नुभयो, ‘स्वदेशभित्रै अवागमनग र ढुवानीमा समस्या भएन भने यो वर्ष धान र मकैखेतीका लागि युरिया मल पर्याप्त हुन्छ ।'

कृषि सामग्री कम्पनीले चीनबाट थप ३० हजार डीएपी मल आयात गरी कोलकाता ल्याइपुर्‍याएको छ । यो मल पनि आगामी साताभित्रमा नेपाल भित्रिने जनाइएको छ । मल आपूर्ति र वितरणको जिम्मेवारी पाएको अर्को अर्धसरकारी संस्था साल्ट ट्रेडिङ कर्पोरेसनसँग अहिले युरिया १० हजार मेट्रिक टन र डीएपी १९ हजार मेट्रिक टन मौज्दात छ । यस्तै पोटास नौ सय मेट्रिक टन मौज्दात छ ।

कृषि सामग्री कम्पनीका अनुसार नेपालमा बर्सेनि करिब सात लाख मेट्रिक टनको परिमाणमा रासायनिक मलको माग छ । सरकारले भने तीन लाख मेट्रिक टनमा अनुदान सुविधा उपलब्ध गराएको छ । आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०७३/७४ को पहिलो आठ महिनामा एक लाख ८७ हजार एक सय ३१ मेट्रिक टन रासायनिक मल बिक्री भएको थियो । प्रतिवेदनले चालू आर्थिक वर्षमा वर्षेबाली लगाउने समय यथावतै रहेकाले मलको खपत दर थप वृद्धि हुने उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष भने भारतको अघोषित नाकाबन्दी र आन्तरिक रूपमा भएको बन्द हडतालका कारण दुई लाख ५८ हजार नौ सय १३ मेट्रिक टन मल बिक्री भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा भने दुई लाख ९८ हजार ६ सय ७७ मेट्रिक टन रसायनिक मलको बिक्री भएको थियो । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मलको प्रयोग दर पनि घटेको छ । यो नर्षमा प्रतिहेक्टरमा ४५ किलोग्राम मल प्रयोग भएको पाइएको छ । आव २०७१/७२ मा ९७ किलोग्रामको परिमाणमा मल प्रयोग भएको थियो । २०६९/७० र २०७०/७१ मा भने क्रमशः ५७ किलोग्राम र ७५ किलोग्राम प्रतिहेक्टरका दरले मलको प्रयोग भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.