कुखुराको चल्ला र अण्डामा मूल्यवृद्धि

कुखुराको चल्ला र अण्डामा मूल्यवृद्धि

भरतपुर : कुखुराको चल्ला र अन्डाको मूल्य वृद्धि भएपछि जिल्लाका पोल्ट्री व्यवसायी खुसी भएका छन् । साबिकको मूल्यमा ५० प्रतिशत मूल्य वृद्धि भएपछि व्यवसायी खुसी भएका हुन् । चल्लाको उत्पादन धेरै हुनाले बजार नपाएको भन्दै चिन्तामा रहेका व्यवसायी अहिले चल्लाको बिक्री मूल्य राम्रो पाएकोमा दंग छन्।

‘चार महिना अगाडिसम्म बजार राम्रो थिएन । अहिले सोचेभन्दा राम्रो छ' नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्री भन्नुहुन्छ, ‘प्रतिगोटा ५० रुपैयाँ पनि नपाएको समय थियो तर अहिले ७५ देखि ८० रुपैयाँ पाइएको छ । यो मूल्य नराम्रो होइन । चल्ला उत्पादनकर्तालाई अहिलेको समय राम्रो छ ।' चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगका सञ्चालक खत्रीले गतवर्षको माघ महिनादेखि चल्लाको मूल्यमा सुधार आएको बताउनुभयो । ‘कुखुरा पाल्ने किसानको संख्या वृद्धि हुँदै गएकाले अहिले चल्लाको माग बढेको छ', उहाँ भन्नुहुन्छ, ‘चितवन, मकवानपुर, नवलपरासीसहित काठमाडौंलगायत क्षेत्रमा चल्लाको मूल्य बढेको छ ।'

चल्लाको माग हरेक दिन वृद्धि भइरहेको दिव्य ह्याचरी प्रालिका सञ्चालक टिकाराम पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार, ब्रोइलर र लेयर्स दुबैखाले चल्लाको मागमा वृद्धि भएको छ । ब्रोइलर चल्लाको मूल्य अहिले प्रतिचल्ला ७५ देखि ८० रुपैयाँ पुगेको छ । लेयर्सको मूल्य प्रतिचल्ला एक सय २० देखि एक सय २५ रुपैयाँ पर्छ । ‘यो मूल्य राम्रो हो', पोखरेलले भन्नुभयो, ‘चल्ला पाउन मुश्किल छ । चितवन जिल्लामा उत्पादन भएको चल्लाको माग अहिले देशैभर छ । माग अनुसार चल्ला आपूर्ति गर्न व्यवसायीले मेहनेत गरेका छन् ।'

चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगका लागि अहिलको समय धेरै राम्रो भएको नेपाल पोल्ट्री व्यवसायी मञ्च चितवनका कार्यकारी अधिकृत शिवप्रसाद बराल बताउनुहुन्छ । ‘चल्लाको मूल्य प्रतिगोटा १० रुपैयाँमा समेत व्यवसायीले बिक्री गर्नु परेको समयबाट अहिले ८० रुपैयाँ पाउनु भनेको धेरै राम्रो हो', उहाँले भन्नुभयो, ‘चल्लाको मूल्य धेरै समय ६० रुपैयाँ प्रतिगोटा थियो । प्रतिगोटा चल्लाको लागत ५५ रुपैयाँ पर्ने गरेको छ । अहिले ८० रुपैयाँमा बिक्री गर्दा उद्योगीको लागि राम्रो हो ।'

कार्यकारी अधिकृत बरालका अनुसार देशभर अहिले दैनिक ३० लाख अन्डा उत्पादन हुने गरेको छ । चितवन जिल्लामा मात्रै दैनिक १० लाख अन्डा उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादन भएको अन्डा २० प्रतिशतमात्रै स्थानीय बजारमा बिक्री हुने गरेको छ । अन्डाको मूल्य अहिले किसानले प्रतिक्रेट (३० गोटा) तीन सय ६५ रूपैयाँ पाएका छन् । यसअघि अन्डाको मूल्य धेरै समयसम्म प्रतिक्रेट दुई सय ८० देखि तीन सय २० रूपैयाँसम्म रहेको थियो । अन्डाको लागत मूल्य नौ रुपैयाँ ५० पैसा रहेको र वर्तमान बजार मूल्यले उत्पादन लागतमा प्रतिगोटा दुई रुपैयाँ ५० पैसा नाफा हुने नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउनुहुन्छ । दुई वर्षअघि भूकम्प र गतवर्ष नाकाबन्दीले थला परेको पोल्ट्री व्यवसाय अहिले विस्तारै तंग्रिन उहाँले बताउनुभयो।

ब्रोइलर चल्लाको मूल्य प्रतिचल्ला ७५ देखि ८० रुपैयाँ पुगेको छ भने लेयर्सको एक सय २० देखि एक सय २५ रुपैयाँ पर्छ ।

मासुको लागि पालिने ब्रोइलर र अन्डाको लागि पालिने लेयर्स कुखुराका चल्ला उत्पादन गर्ने देशभरका एक सय ३० वटा ह्याचरी उद्योगमध्ये ७५ वटा चितवन जिल्लामा छन् । देशभरका ह्याचरीले हरेक साता २५ लाख ब्रोइलर र एक लाख २५ हजार लेयर्स चल्ला उत्पादन गर्छन् । यसमध्ये चितवनमा ५० प्रतिशत ब्रोइलर र ८० प्रतिशत लेयर्स चल्ला उत्पादन हुन्छ । नेपालमा उत्पादन हुने कूल चल्लामध्ये ५० प्रतिशत चितवनमा उत्पादन हुने गरेको छ । तीमध्ये २५ प्रतिशतमात्र जिल्लामा र बाँकी जिल्लाबाहिर जाने गरेको छ ।

जीडीपीमा योगदान

देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर मानिए पनि औषधि र कच्चापदार्थको लागि भारतको भर पर्नुपर्ने अवस्था विद्यमान छ । देशभरमा पोल्ट्रीको ठूलो हिस्सा ओगटेको चितवन जिल्लालाई पोल्ट्रीको राजधानी मानिन्छ । नेपालमा पोल्ट्री क्षेत्रमा भएको ६० अर्ब रुपैयाँभन्दा बढीको लगानीमध्ये अधिकांश चितवनमा भएको छ । अन्डाको लागि चितवनमामात्र तीन सयभन्दा बढी व्यवसायीले ३० लाख लेयर्स कुखुरा पालेका छन् । मासुको लागि ब्रोइलर कुखुरा पाल्ने व्यवसायी सयौं छन् ।

जिल्लामा रहेका पाँच दर्जन ह्याचरीले दैनिक चार लाख ब्रोइलर र लेयर्स चल्ला उत्पादन गरिरहेका छन् । पोल्ट्रीसँग सम्बन्धित औषधि उद्योग, दाना उत्पादक कारखाना र अन्डा राख्ने क्रेट बनाउने उद्योग अधिकांश चितवनमा नै छन् । पोल्ट्री व्यवसायलाई व्यवस्थित गर्न र यस व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाबीच समन्वय गर्न चितवनमा नेपाल कुखुरा व्यवसायी मञ्चको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । मञ्चमा आबद्ध संस्थामा नेपाल अन्डा उत्पादक संघ, नेपाल कुखुरा बजार व्यवस्थापन संघ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, कुखुरा मासु व्यवसायी संघ र चितवन नवलपुर दाना वितरक संघ छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.