हिरो हजुरआमा
भाइबहिनीहरू, तस्बिरमा देखिएकी यी वृद्ध महिलाको अनुहारमा जति चमक छ, बालबालिकाको क्षेत्रमा उहाँले गर्नुभएको कामको चर्चा विश्वभर उत्तिकै छ । यी हँसिली व्यक्तित्वकी धनी रोजी गोलमनले गत सातामात्रै आफ्नो ९०औं जन्मदिन मनाउनुभयो । बालबालिकाको क्षेत्रमा नोबल पुरस्कारको रूपमा चिनिने वल्र्ड्स चिल्ड्रेन प्राइजको यस वर्षको मनोनयनमा उहाँ पनि पर्नुभएको थियो ।
उहाँले भारत र बंगलादेशका अति विपन्न र जोखिममा परेका बालबालिकका हकहितका लागि काम गर्नुभएको पनि ५० वर्ष पूरा भइसकेको छ । रोजीको यही योगदानको कदर गर्दै पुरस्कार आयोजना गर्ने संस्था वल्र्ड्स चिल्ड्रेन प्राइज फाउन्डेसनले उहाँलाई वल्र्ड चिल्ड्रेन अनररी अवार्ड प्रदान गरेको छ ।
रोजी दोस्रो विश्वयुद्धताका जर्मनीमा जन्मनुभएको हो । त्यतिबेला युद्धकै कारणले गर्दा उहाँले धेरै नै डरत्रास र विभेद सहनु परेको थियो । १८ वर्षको उमेरमा पुगेपछि उहाँले आफ्नो जीवन नै गरिब र शोषित वर्गको सेवामा समर्पित गर्ने निर्णय गर्नुभयो । उहाँले स्थापना गर्नुभएको संस्था अन्धेरी हेल्फले ५० वर्षको अवधिमा स्थानीय साझेदारसँग मिलेर करिब एक करोडभन्दा बढीको उज्ज्वल भविष्य निर्माण गरिदिएको छ ।
रोजीकै सहयोगका कारण करिब ५० हजारभन्दा बढी श्रमिकहरू श्रम क्षेत्रबाट छुटकारा पाएर विद्यालय जान थालिसकेका छन् । अपांगता भएका दसौं हजार बालबालिकाले उनकै संस्थामार्फत विभिन्न तालिम र सहयोग पाएका छन् । रोजी र उनको संस्थाले एचआईभी एड्स पीडित परिवारलाई पनि सहयोग गर्ने गरेको छ । त्यसैगरी विभिन्न मठमन्दिरमा यौनदासीको रूपमा बालिकालाई राख्ने कुरीतिविरुद्ध रोजीले लडेर उनीहरूको उद्धारसमेत गरिसक्नुभएको छ ।
'चाइल्ड राइट हिरो' रोजीकै प्रयासस्वरूप बंगलादेशमा करिब १० लाखभन्दा बढी मानिसले आफ्नो आँखाको ज्योति प्राप्त गरेका छन् । 'कुनै पनि बालिका इच्छाविपरीत हुँदैनन्' भन्ने उहाँको अभियानकै कारण कोखमै मृत्युको मुखमा पुर्याइने क्रूरताबाट १२ हजार बालिका जोगिएका छन् । त्यसैगरी बालविवाह रोक्नुका साथै बालअधिकारलाई बलियो बनाउने काममा पनि रोजीको योगदान निकै महत्वपूर्ण रहेको पाइन्छ ।
सन् १९२७ जुन ९ तारिखका दिन जर्मनीको बोनस्थित एक व्यापारिक घरानामा जन्मिएकी रोजी बोन र कोलोङमा क्याथोलिक धार्मिक गुरुको रूपमा काम गर्नुहुन्थ्यो । उहाँले धर्मको व्याख्या गर्नेमात्रै होइन, धर्मले सिकाएका कुरालाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । धार्मिक प्रवचनकै क्रममा एक दिन उहाँको विद्यार्थीले एउटा जर्मन पत्रिकामा प्रकाशित एक लेख ल्याएर उहाँलाई देखाउनुभयो ।
मुम्बईको अन्धेरीमा रहेको एउटा अनाथगृहको नाजुक अवस्थाका बारेमा लेखिएको उक्त लेखले उहाँलाई निकै स्तब्ध बनायो । आफ्ना विद्यार्थीसहितको सहयोगमा अति आवश्यक सामग्रीको सयौं पार्सल बनाएर उहाँले त्यहाँका अनाथलाई पठाउनुभयो । सन् १९६२ मा उहाँ पहिलो पटक भारत जानुभएको थियो । त्यहाँबाट फर्किएर जर्मनी आएपछि आफूले देखेको त्यो कठिन परिस्थितिका लागि सहयोग गर्न जर्मनीका नागरिकलाई उहाँले आग्रह गर्नुभयो । यसरी सहयोगी हातको साथ पाएर उहाँले लाखौं बालबालिकाको जीवन परिवर्तन गरिसक्नुभएको छ ।
(एजेन्सीको सहयोगमा)