‘एड्सविरुद्ध विश्व कोष बढाउन चीन सकारात्मक’

‘एड्सविरुद्ध विश्व कोष बढाउन चीन सकारात्मक’

काठमाडौं : संयुक्त राष्ट्रसंघको एड्सविरुद्धको विश्व कोष (ग्लोबल फण्ड) मा आफ्नो सहयोग बढाउन चीन सरकार सकारात्मक भएको छ ।
ग्लोबल फण्डमा कोष बढाउन माग गर्दै शुक्रबार बुझाइएको ज्ञापनपत्र बुझ्दै नेपालका लागि चिनियाँ राजदूत यू होङले ग्लोबल फण्डमा कोष बढाउन चीन सरकार सकारात्मक रहेको बताउनुभएको हो ।
एचआईभी/एड्सका क्षेत्रमा कार्यरत नेपालका सातवटा नेटवर्कहरुले शुक्रबार एड्सविरुद्धको विश्व कोषमा दस करोड (एक बिलियन) अमेरिकी डलर योगदान गर्न माग गर्दै चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।
‘राजदूत योङले ग्लोबल फण्डमा आफ्नो योगदान बढाउन चीन सरकार सकारात्मक भएको बताउनुभयो’, ज्ञापनपत्र बुझाउनुभएका एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालका राष्ट्रिय निर्देशक दीपक ढुंगेलले अन्नपूर्णसँग भन्नुभयो ।
उहाँका अनुसार राजदूत योङले नेपालमा बुझाइएको ज्ञापनपत्रबारे चीनस्थित आफ्नो सरकारलाई जानकारी दिने बचनसमेत दिनुभएको थियो ।
राजदूत योङलाई ज्ञापनपत्र बुझाउन राष्ट्रिय निर्देशक ढुंगेलसँगै नेपाल एचआईभीएड्स महासंघ (एनएपीएन) का अध्यक्ष अच्युत सिटौलालगायत राजदूतावास पुग्नुभएको थियो ।
बालुवाटारस्थित चिनियाँ राजदूतावासम्म पुगेर ज्ञापनपत्र बुझाउने नेटवर्कको तयारी भने पूरा हुन पाएन । बालुवाटार क्षेत्र निषेधित रहेको तथा चिनियाँ दूतावासमा हुने गतिविधिलाई गम्भीरतापूर्वक लिइने भएकाले प्रहरी प्रशासनले नेटवर्कका प्रतिनिधिहरुलाई कमलपोखरीस्थित प्रहरी चौकीका रोकेका थिए ।
कमलपोखरीभन्दा अघि बढ्न नदिइएपछि नेटवर्कका करिब एकसय जना प्रतिनिधिहरुले रातो टीसर्ट लगाएर एड्सविरुद्धको ग्लोबल फण्डमा कोष बढाउन चीनलाई छाती चौडा पार्न आग्रह गरेका थिए ।
प्लेकार्ड समेत बोकेका उनीहरुले रातो टीसर्ट र व्यानरमा समेत चिनियाँ भाषाको प्रयोग गरेका थिए ।
फण्ड द फण्ड अभियानअन्तर्गत भएको शान्तिपूर्ण रुपमा कमलपोखरीमा गरिएको प्रदर्शनमा एएचएफ नेपालका राष्ट्रिय निर्देशक ढुंगेलले ग्लोबल फण्डमा जम्मा हुने कोष कम भएर एचआईभी एड्स संक्रमित तथा तिनका परिवारले चाँडै मृत्युवरण गर्नुपर्ने अवस्था नआओस् भन्नुभयो ।
फण्ड द फण्ड अभियानअन्तर्गत बुझाइएको ज्ञापनपत्रमा चीन विश्वमै दोस्रो ठूलो आर्थिक देश भएकाले अरु देशहरुलाई नमुना भएर देखाउनको लागि भए पनि ग्लोबल फण्डमा उसको योगदान बढाउनुपर्ने माग गरिएको छ ।
विश्वभरका एचआईभी एड्स संक्रमित र तिनका परिवारहरुको जीवन रक्षाको लागि चीनले ग्लोबल फण्डमा आफ्नो योगदान बढाउनुपर्ने ज्ञापनपत्रमा जोड दिइएको छ ।
ग्लोबल फण्डबाटै विश्वभरका एचआईभी÷एड्स संक्रमित तथा तिनका परिवारहरुले निःशुल्क जीवनदायिनी औषधि एआरभी, जीविकोपार्जनको सहयोग पाइरहेका छन् । तर सन् २००० देखि उक्त फण्डमा लक्ष्य गरिएको भन्दा धेरै कम रकम जम्मा भइरहेको छ । उक्त फण्डमा अपेक्षाकृत कोष जम्मा नहुँदा धेरै देशका एचआईभी/संक्रमितहरुको लागि दिइँदै आएको अनुदान कटौती गरिँदै आएको छ । जसअनुसार नेपालका एचआईभी एड्स संक्रमित तथा तिनका परिवारको लागि पठाइँदै आएको रकममै ४८ प्रतिशत कटौती गरिएको एनएपीएनका अध्यक्ष अध्युत सिटौलाले बताउनुभयो ।
सन् २०१६ मा ग्लोबल फण्डमा चीनले एक करोड ८० लाख (१८ मिलियन) अमेरिकी डलरमात्रै योगदान गरेको छ । तर चीनभन्दा आर्थिक रुपले कमजोर जापानले वार्षिक ८० करोड (आठ सय मिलियन) अमेरिकी डलर योगदान दिँदै आएको छ ।
त्यस्तै पहिलो आर्थिक शक्ति संरा अमेरिकाले चार अर्ब ३० करोड (चार हजार तीन सय मिलियन) अमेरिकी डलर ग्लोबल फण्डमा कोष जम्मा गर्ने गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.