सामसङलाई ग्यालेक्सी एस८ले दियो सफलता
काठमाडौं : विश्व स्मार्टफोनको बजारमा सामसङको पछिल्लो उत्पादन ग्यालेक्सी एस८ र एस८ प्लसले कम्पनीलाई पुन स्मार्टफोनको लिडर बनाएको छ । फ्ल्यागसिप स्मार्टफोनको रूपमा सामसङले ल्याएको ग्यालेक्सी एस८ र एस८ प्लसको बिक्री उल्लेखनीय रूपमा छ । कम्पनीका अनुसार स्मार्टफोन सार्वजनिक भएको पहिलो त्रैमासिकमा ग्यालेक्सी एस८ र एस८ प्लस ५० लाखभन्दा बढी संख्यामा बिक्री भएको कोरियामा सार्वजनिक गरिएको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ ।
सामसङ ग्यालेक्सी एस७ र एस७ प्लसलाई यो सफलता हात पार्न ७५ दिन लागेको थियो । तर, ग्यालेक्सी एस८ र एस८ प्लस सार्वजनिक भएको एक महिनाभन्दा कम समयमै पचास लाख सेट बिक्री भएको छ । योसँगै सामसङले विश्व मोबाइल बजारमा फेरि आफ्नो बर्चस्व कायम राख्न सफल भएको छ । गत वर्ष सामसङ नोट सेभेनको ब्याट्रीमा आएको समस्याका कारण सन् २०१६ को अन्तिम त्रैमासिकमा आफ्नो बजार गुमाउन पुगेको थियो । त्यसलाई कम्पनीको पछिल्लो उत्पादन ग्यालेक्सी एस८ र एस८ प्लसले फर्काएको छ ।
गत वैशाख ९ गते कोरिया, अमेरिका र क्यानडाबाट एकैपटक सार्वजनिक भएको ग्यालेक्सी एस८ र एस८ प्लसको बिक्री अहिले विश्वका एक सय २० देशमा भइरहेको छ । जसको प्रतिफल बजारमा पनि देखिएको छ । कम्पनीका अनुसार सामसङ ग्यालेक्सी एस८ र एस८ प्लसको व्यापार सामसङ ग्यालेक्सी एस७ र एस७ प्लसको तुलनामा १।५ गुणाले वृद्धि भएको छ । कोरियाको बजारमा सामसङ ग्यालेक्सी एस८ र एस८ प्लसको व्यपारमा सामसङ ग्यालेक्सी एस७ र एस७ प्लसको तुलनामा दुई गुणाले वृद्धि भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । नेपालमा पनि सामसङ ग्यालेक्सी एस८ र एस८ प्लसको बिक्री ग्यालेक्सी एस७ र एस७ प्लसको तुलनामा १।५ प्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी गराएको छ ।
विश्वको स्मार्टफोन बजारमा सामसङको हिस्सा २०.७ प्रतिशत छ ।
यतिसम्म की कम्पनीले सन् २०१७ को दोस्रो त्रैमासिकको अन्त्यसम्म दुई करोड सामसङ ग्यालेक्सी एस८ र एस८ प्लस स्मार्टफोन बिक्री हुने जनाएको छ भने वर्षको अन्त्यसम्म पाँचदेखि ६ करोडको हाराहारीमा ग्यालेक्सी एस८ र एस८ प्लस बिक्री हुने अनुमान छ । यसरी ग्यालेक्सी एस८ र एस८ प्लसको बिक्री हुनुमा चीनको बजार प्रमुख रूपमा छ । चीनमा यी स्मार्टफोन सार्वजनिक भएपछि यसको बजार उल्लखेनीय रूपमा वृद्धि भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै कम्पनीको कुल व्यापारमा समेत ३० प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ । विश्वभर स्मार्टफोन बिक्रीको तथ्यांक राख्दै आएको संस्था गार्टनरको पछिल्लो प्रतिवेदनअनुसार यो वर्षको पहिलो चौमासिकमा विश्व बजारमा स्मार्टफोनको बजार ९।१ प्रतिशतले बढेर ३७ करोड ९९ लाख ७७ हजार स्मार्टफोन सेट बिक्री भएका छन् जसमा सामसङको अग्रता छ ।
यसमा सामसङको बजार हिस्सा २०।७ प्रतिशत छ । सामसङले उक्त अवधिमा सात करोड ८६ लाखभन्दा बढी स्मार्टफोन बिक्री गरेको छ । त्यसैगरी विश्व बजारमा १३।७ प्रतिशत बजार हिस्सासँगै दोस्रो स्थानमा रहेको एप्पलले पाँच करोड १९ लाखभन्दा बढी सेट स्मार्टफोन बिक्री गरेको छ ।