अन्नपूर्णकर्मी खाइजूलाई एचआईभी एड्स पत्रकारिता पुरस्कार

अन्नपूर्णकर्मी खाइजूलाई एचआईभी एड्स पत्रकारिता पुरस्कार

काठमाडौं : अन्नपूर्णकर्मी ईश्वरकाजी खाइजू एचआईभी एड्स राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ। राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले स्व.शरण क्षेत्रीको नाममा स्थापना गरेको उक्त पुरस्कार पाउनुहुने अन्नपूर्णकर्मी खाइजू पहिलो सञ्चारकर्मीसमेत हुन सफल हुनुभएको हो।

महासंघद्वारा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीले अन्नपूर्णकर्मी खाइजूलाई नगद पन्ध्र हजार रुपैयाँसहितको उक्त पुरस्कारले पुरस्कृत गर्नुभएको छ।

खाइजूले लामो समयदेखि सञ्चारमाध्यममार्फत् एचआईभी एड्ससम्बन्धी प्रचारप्रसार, जनतचेतना अभिवृद्धि तथा पैरवीमा गर्नुभएको योगदानको मूल्यांकनस्वरुप पुरस्कृत गरिएको महासंघका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिनुभयो।

कार्यक्रममा अन्नपूर्णकर्मी खाइजूसँगै स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. सेनेन्द्रराज उप्रेती, वरिष्ठ चिकित्सकद्वय डा. रामप्रसाद शर्मा र डा. बसन्तकुमार ताम्राकारसमेत पुरस्कृत हुनुभएको छ।

डा. उप्रेतीलाई एचआईभी एड्सको नीति निर्माण र कार्यान्वयन तहमा गर्नुभएको योगदानको मूल्यांकलनस्वरुप पुरस्कृत गरिएको हो। त्यस्तै डा. श्रेष्ठ र ताम्राकारलाई एचआईभी एड्स संक्रमितहरुको सहज उपचारमा पहुँच पुर्‍याउन पहिलोपटक एआरटी सेन्टर स्थापना र सञ्चालनमा गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको छ।

महासंघले एचआईभी एड्सको क्षेत्रमा स्वयंसेवा गर्दै आउनुभएका दुईजनामध्ये महिलातर्फ डोटीका कमला मल्ल र पुरुषतर्फ कास्कीका विकास गुरुङ पनि तेस्रो स्व. शरण क्षेत्री पुरस्कारबाट पुरस्कृत हुनु भएको छ।

एचआईभी एड्सको क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थातर्फको पुरस्कार भने डडेलधुरा प्लसले हात पारेको छ।

पुरस्कृत सम्पूर्ण महानुभाव एवं संस्थालाई सम्मानपत्र वितरण गर्दै स्वास्थ्य सचिव डा. रेग्मीले एचआईभी एड्सको क्षेत्रमा कार्य गर्न स्वास्थ्य मन्त्रालय सदैव तयार रहँदै आएको बताउनुभयो।

उहाँले सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहकार्यले नै एचआईभी एड्सको क्षेत्रमा पहिलेको दाँजोमा अहिले धेरै सुधार आएको जानकारी दिनुभयो।

सबैको सहकार्यबाटै एचआईभी एड्सबाट वर्सेनि सात हजारको हाराहारीमा हुँदै आएको मृत्युदर एक हजार पाँचसयको हाराहारीमा आएको उहाँको भनाइ थियो।

पूर्वस्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले एचआईभी एड्सको भयावह र डरलाग्दो अवस्थामा स्व. शरण क्षेत्रीले आफू एचआईभी संक्रमित भएके घोषणा गरेर उदाहरणीय कार्य गर्नुभएको बताउनुभयो।

स्व. क्षेत्रीको घोषणाले एचआईभी र त्यसका संक्रमितहरुलाई हेर्ने समाजको धारणामा धेरै सकारात्मक परिवर्तन आएको उहाँको भनाइ थियो।

कार्यक्रममा महासंघका अध्यक्ष सिटौला, सचिव राजेश दिदिया र पुरस्कार छनोट समितिका सदस्य महेश ढुंगेलले सरकार र दातृ निकायको तर्फबाट अपेक्षाकृत एचआईभी संक्रमितहरुले सहयोग र प्रोत्साहन नपाएको गुनासो गर्नुभयो।

एचआईभी संक्रमित र यस क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दा हुनुपर्ने कामसमेत हुन नसकिरहेको उहाँको भनाइ थियो।
स्व. क्षेत्रीले सन् १९९० मा नेपालमै पहिलोपटक आफू एचआईभी संक्रमित भएको भन्दै नेपाल टेलिभिजनमार्फत सार्वजनिक गरेका थिए। उक्त घोषणापछि उनले संक्रमितलाई नभई एचआईभी एड्सको भाइरसलाई घृणा गर्न र लड्न समाज र सर्वसाधारणमा आह्वान गरेका थिए।

२०६३ सालमा ज्यान गुमाएका स्व. क्षेत्रीको सम्मानमा २०७१ सालमा महासंघले पुरस्कार स्थापना गरेको थियो। कार्यक्रममा एचआईभी एड्स भएर मृत्युवरण गरेकाहरुलाई श्रद्धाञ्जलीस्वरुप एकमिनेट मौनधारणसमेत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.