उत्तरी ध्रुवीय क्षेत्रबाट तेल उत्खननमाथि प्रतिबन्ध लगाउन जरुरी

उत्तरी ध्रुवीय क्षेत्रबाट तेल उत्खननमाथि प्रतिबन्ध लगाउन जरुरी

लन्डन : पैंतीस वर्षअघि विश्व एक्सपीडीसनको सिलसिलामा चाल्र्स बर्टन र मैले उत्तरी ध्रुवीय मार्ग हुँदै समुद्रको परिक्रमा गरेका थियौँ र तीव्र गतिमा पग्लिरहेको हिउँमा तीन महिना बिताएका थियौँ । यस यात्राले हाम्रो जीवनमै नयाँ मोड ल्यायो र विश्व कीर्तिमान बनायो ।

तर अर्को कीर्तिमान भने तीव्र गतिमा पग्लिरहेको उत्तर ध्रुवीय हिउँसँग सम्बन्धित छ ः यस वर्षको मार्च महिनामा यहाँ हिउँको थुप्रो सर्वाधिक सानो आकृतिमा रुपान्तरित भएको छ ।

ध्रुवीय हिउँ गायब हुनुमा विश्व तापमान वृद्धिको प्रमुख कारक र प्रभाव मानिएको खनिज इन्धनको बढ्दो प्रयोग नै हो । साथै, यहाँ खनिज इन्धन तेलदेखि सामुद्रिक जहाजमा अति निर्भरताले सङ्कट निम्त्याएको छ । खनिज तेलको उत्खनन् सस्तो छ र व्यापक मात्रामा उपलब्ध छ, तर यो निकै विशाक्त र फोहोरयुक्त छ । ठूला जहाजहरु ध्रुवीय क्षेत्रमा ओहोरदोहोर गर्दा त्यसबाट उत्पन्न हुने सल्फर अक्साइड र कार्बनजस्ता हानिकारक तत्वहरु हिउँमा मिसिन्छन् । यी घातक प्रदुषकहरु जम्मा हुँदै जाँदा त्यसबाट हिउँ पग्लने क्रम बढ्छ, जसले समुद्रको पानीलाई तताउँछ र बदलामा त्यसले हिउँ पग्लाईलाई स्वाभाविकरुपमा तीव्रता दिन्छ ।

यी प्रवृत्तिलाई उल्ट्याउन विश्वसामु अहिले एउटा अवसर छ । अन्तरराष्ट्रिय सामुद्रिक सङ्गठन (आइएमओ)को सामुद्रिक वातावरण संरक्षण समितिको बैठक बेलायतको लन्डनमा आयोजना हुँदैछ । यस बैठकमा, उत्तर ध्रुवीय र गैर ध्रुवीय सदस्य राष्ट्रहरु सँगसँगै क्यानडाले ध्रुवीय क्षेत्रमा जहाजबाट इन्धनको ढुवानी गर्न र प्रयोगमा सीमित तुल्याउने गरी रणनीति प्रस्ताव गर्दैछ । सहभागी सबै मुलुकले यस नाजुक र तीव्र गतिमा बिनाश भइरहेको धु्रवीय पर्यावरणको संरक्षण गर्नेतर्फ महत्वपूर्ण उपायमा समर्थन गर्नु बुद्धिमानी हुनेछ ।

खनिज तेल सन् १९६० को दशकदेखि नै “सामुद्रिक इन्धनको राजा” का रुपमा स्थापित छ, तर हालका वर्षमा मात्र यसमाथि निगरानी सुरु भएको हो । अगष्ट २०११ मा, दक्षिण धु्रवीय क्षेत्रमा ठुल्ठूला जहाजमाथि प्रतिबन्ध लगाइएको थियो, तर उत्तर ध्रुवीय मुलुकहरु यसप्रति अनुदार पाइएको छ । सन् २०१५ मा ध्रुवीय क्षेत्रमा सञ्चालित जहाजहरुले झन्डै ६० प्रतिशत खनिज तेल खपत गरेका थिए ।

आर्थिक दृष्टिकोणबाट खनिज इन्धनले निकै लोकप्रियता हासिल गरेको छ, तर यसले पर्यावरणीय र मानवमाथि सिर्जना गर्ने दुस्परिणाम निकै भयावह रहेकोमा धेरैजसो सहमत भएको अवस्था छ, र लाभभन्दा हानि बढी भइरहेको उनीहरुको ठम्याइ छ । खनिज तेल जहाजबाट चुहिएर चिसो पानीमा मिसिए हिउँका ढिक्काहरु चाँडो फुट्छन् र त्यसबाट पर्यावरण एवम् त्यसमा आश्रित व्यक्तिको जीविकोपार्जनलाई तहसनहस गर्दछ । खनिज तेल आफँैमा वायू प्रदूषणको महत्वपूर्ण स्रोत पनि हो । उदाहरणका लागि, कार्बनबाट सिर्जित वातावरणीय तातोपनको असर तल्लो अक्षांशको तुलनामा उत्तरी ध्रुवीय क्षेत्रमा पाँच गुणा बढी खराब असर पुगेको हुन्छ ।

जहाजमार्फत ढुवानीमा प्रयोग हुने इन्धनको विकल्प पनि उपलब्ध छ । उदाहरणका लागि सामुद्रिक डिजेल, तरलीकृत प्राकृतिक ग्यास खनिज तेलभन्दा लागत प्रभावी र स्वच्छ पनि छन् । कम प्रदूषक विकल्पहरु रोज्नका निम्ति अहिले राजनैतिक इच्छाशक्ति पनि आवश्यक छ । अहिलेका निम्ति दक्षिणी समुद्र र नर्वेको वरिपरिको क्षेत्रमा प्रयोगमा ल्याइए झैं खनिज इन्धनमाथि सीमित प्रतिबन्ध मात्र लगाउन सकिने देखिन्छ । ध्रुवीय हिउँ पग्लिएर कमी हुँदै गएमा ठुलाठूला जहाजका लागि बाटो खुल्दै जान्छ, विभिन्न देशका झन्डा बोकेका जहाजहरु जताततै देखिनेछन्, र यस्तो अवस्थामा खनिज इन्धनयुक्त जहाजको प्रयोगको नियमन अझ आवश्यक हुनेछ । आर्कटिक परिषद्ले जहाजहरुको बढीभन्दा बढी ओहोरदोहोरले तेल चुहिएर भयानक दुर्घटना हुनसक्ने खतराका बारेमा चेतावनी दिइआएको छ ।

कतिपय मुलुकले पहिल्यै केही सावधानी अपनाउन थालिसकेका छन् । सन् २०१६ मा संयुक्तराज्य अमेरिका र क्यानडाले ध्रुवीय क्षेत्रमा सञ्चालन हुने जहाजमा खनिज इन्धनको प्रयोगलाई बिस्तारै न्यूनीकरण गर्ने घोषणा गरिसकेका छन् । धेरै अन्य राष्ट्रले यो कार्यमा चुपचाप समर्थन जनाएका छन् । तर त्यस्तो निस्कृय समर्थन पर्याप्त भने छैन । अहिले, आइएमओको बैठक बस्दैछ र धेरैभन्दा धेरै मुलुकले अग्रसरता देखाउनु पर्दछ र आवाज उठाउनुपर्दछ । युरोपेली संसद्ले यसअघि नै यो प्रस्तावलाई समर्थन जनाइसकेको छ ।

उत्तरी ध्रुवीय क्षेत्रमा खनिज इन्धन प्रयोगलाई विस्तारै कम गर्दै लैजाने तत्परता बढ्दो छ । डेनिस सिपअनर्स एसोसिएसन र आर्कटिक एक्स्पीडीसन क्रुज अपरेटर हर्टीग्रटेनले कडा नियमन ल्याउन वा पूर्णप्रतिबन्ध लगाउन आग्रह गरिसकेका छन् । अरु सिपिङ कम्पनीहरुले पनि नियमनको आवश्यकता रहेको जनाएका छन् ।

जनवरी २०१७ मा आर्कटिक प्रतिबद्धता जारी गर्न सफा आर्कटिक एलायन्समा हर्टीग्रटेन सहभागी भएको थियो । यो अभियानले अरु सिपिङ अपरेटर, ध्रुवीय अनुसन्धाता, गैसस, समुदाय र व्यवसायीहरुलाई खनिज तेललाई बिस्तारै हटाउने गरी समर्थन जुटाउन सहयोग गरेको छ, र ध्रुवीय क्षेत्रमा थप सिपिङ अभियानलाई रोक्न यो कार्यले मद्दत गरेको छ, र कतिपय अवस्थामा बैकल्पिक इन्धनमा रुपान्तरित हुन उत्प्रेरित गरेको छ ।

सामुद्रिक वातावरण संरक्षण समितिको बैठकमा आइएमओका सदस्य राष्ट्रले क्यानडाले खनिज तेलको प्रयोगलाई विस्तारै कटौती गर्ने प्रस्तावलाई थप समर्थन गरी प्रगति हासिल गर्नु उपयुक्त हुन्छ । खासगरी, उनीहरुले आइएमओका उपायका कारण सिर्जित कुनै पनि पक्षको कार्यान्वयनमा प्रतिवद्धता जनाउनुपर्दछ, र खनिज तेलको प्रयोगलाई उत्तर ध्रुवीय क्षेत्रबाट प्रतिबन्ध लगाउने सुनिश्चित गर्नु पर्दछ ।

रासस/प्रोजेक्ट सिन्डिकेट (रानुल्फ फिनेस अङ्ग्रेज खोजकर्ता र लेखक हुनुहुन्छ । अगस्ट १९८२ मा रानुल्फ र अर्का खोजकर्ता चाल्र्स बर्टनले पहिलो पटक पृथ्वीको धु्रवीय क्षेत्रलाई फन्को लगाउनुभएको थियो ।) अनुवादः सोमनाथ लामिछाने 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.