आमालाई ब्लड क्यान्सर, बुबाको दुवै मृगौला फेल, तीन बच्चाको विचल्ली
धादिङ : साढे चार बर्षअघि घरखर्च चलाउन र बाल बच्चाको शिक्षा दीक्षाका लागि रोजगारीको खोजीमा दुवई पुग्नुभएका तेजबहादुर गिँदेल मगरलाई त्यतिबेला पहिलो झड्का लाग्यो, जतिबेला उहाँले आफ्नी श्रीमती तोपकुमारीलाई लाइ ब्लड क्यान्सर भएको थाहा पाउनुभयो।
तेजबहादुरले वैदेशिक रोजगारीका क्रममा हुने आम्दानीबाट बालबच्चाको शिक्षामा सहयोग पुग्ने र घर खर्च पनि सजिलै टर्ने सपना विपनामा परिणत हुन पाएन। तोपकुमारी श्रीमान् विदेश गएपछि शारीरिक रुपमा कमजोर बन्दै जानुभयो। ‘महिनावारी रोकियो, जीउ सुक्दै गयो,’ तोपकुमारीले भन्नुभयो, ‘जिल्ला अस्पताल धादिङमा जचाँए, धादिङ अस्पतालका डाक्टरले भरतपुर क्यान्सर अस्पताल जान सुझाव दिनुभयो। भरतपुरमा पहिलोपटक जँचाउदैमा रगतमा क्यान्सर छ भनिदियो।’ धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ आँपस्वाराका तेजबहादुर मगर र उहाँकी श्रीमती तोपकुमारी मगरको पीडा यतिमा सीमित छैन।
तेजबहादुर त्यतिबेलै नेपाल आइहाल्न र श्रीमतीलाई सान्त्वना दिन चाहनुहुन्थ्यो तर तत्काल घर आएर नुनतेलको समेत जोहो नहुने स्थिति थियो। श्रीमतीको उपचार खर्च र आफ्ना बालबच्चाको शिक्षादिक्षाको लागि विदेशमै पैसा कमाउने अठोट गर्नुभयो तेजबहादुरले। तोपबहादुरले भन्नुभयो, ‘हरेक महिना श्रीमतीको औषधि खर्च, घरखर्च र बालबच्चाको शिक्षा दीक्षाको लागि २० हजार जसरी पनि पठाउनुपर्ने बाध्यता भयो।
नेपाल आएर मैले क्यान्सर निको पार्न सक्ने थिइन, बरु विदेशमा अली बढी दुःख गरेर श्रीमतीको औषधि खर्च जुटाउन भनेर घर फर्किने मन हुँदाहुदै पनि विदेशमै काम गरिरहेँ।’ विदेशमा पसिना बगाएरै श्रीमतीको उपचार गराउने अठोट लिएर काम गर्न कस्सिनु भएका तेज बहादुरमाथि अर्को बज्रपात आइलाग्यो, आफ्नो दुई मृगौला फेल।
दुई वर्षे भिसामा दुवई पुग्नुभएका तेजबहादुर एक बर्षपछि विरामी परेर अस्पताल भर्ना हुनुभयो। अस्पतालबाट बाहिरिदाँ उहाँको हातमा थियो, आफ्नौ दुवै मृगौलाले काम गर्न नसक्ने रिपोर्ट। यता घरमा श्रीमती ब्लड क्यान्सरको विरामी, विदेशमा आफू मृगौला पिडित। तेजबहादुरले विदेशका पिडादायी दिन सम्झिदै भावुक भएर भन्नुभयो, ‘त्यसबेला के गर्ने कसो गर्ने सोच्नै सकिन, अनि आँफै सम्हालिएर निर्णय गरे, मरेपनि यहीँ मर्छु घर जान्न, जसोतसो यहीँ पैसा कमाउछु।’
तेज बहादुरले काम गर्ने कम्पनिका म्यानेजरले पनि सक्छौ भने काम गर भनिदिए। उहाँले ६ महिनाको भिषा थपेर डायलासिस गर्दै र काम गर्दै, आफु र श्रीमतिको औषधि खर्च जुटाउन थाल्नुभयो। तर मृगौलाले नै काम गर्न छोडेपछि उहाँ पनि गल्दै जानुभयो। काम गर्न नसक्ने अवस्था भएपछि तेजबहादुर नेपाल फर्किनुभयो।
आफूलाई क्यान्सर लागेपनि नआँतिन र पैसा कमाएर उपचार गराउछु भनेका श्रीमान नै यतिबेला गम्भीर रोगबाट पीडित बनेपछि भने तोपकुममारीले बाँच्ने आशा मार्दै आउनुभएको छ। तोपकुमारीले भन्नुभयो, ‘भरतपुर गएर हरेक दुई महिनामा जचाँउनु पर्छ, आँउन जान, खान बस्न र औषधी किन्न गरेर दुई महिनामा २५ हजार भन्दा बढी खर्च हुन्छ। कहाँबाट ल्याएर उपचार गर्नु सधै, अव घरमै मर्ने हो।’
तेज बहादुलाइ हरेक हप्तामा दुई पटक मृगौला डाईलोसिस गर्नुपर्छ। ‘डाईलोसिस निशुल्क भएपनि आउन जान, खान बस्न र औषधि खान महिनामा २० हजार भन्दा बढी खर्च हुन्छ’ तेज बहादुर भन्नुभयो,‘कमाइ सुको छैन,यस्तै पाराले कतिदिन बाँचिएला र।’
श्रीमतीलाई ब्लड क्यान्सरको उपचार गराइरहेको बेलामा श्रीमानको दुवै मृगौला फेल भएपछि मगर परिवारमा यतिबेला ठुलै संकट आइलागेको छ। गिदेल परिवारको तीन छोरा छन्। जेठो छारो कक्षा ७ मा, माइलो छोरा कक्षा दुईमा ज्यामरुङस्थित मामा घरमा बसेर पढिरहेका छन्।
पाँच वर्षीय कान्छा छोरा बाबुआमासँग छन्। दाजुभाइ, आमाबुबा सबै छुट्टाछुट्टै बस्छन्। आफ्नो खेतवारीको उत्पादनले वर्षभरी अघाउने गरी खानपनि पुग्दैन। खेतवारी बेचेरै उपचार गरु भने पनि छोरालेपछि के खालान भन्ने पिर छ मगर दम्पतीलाई। तेज बहादुरले निकै भावुक हुदै भन्नुभयो, ‘हामी दुई त कतिदिन बाँचिएला र, हामी मरेपछि बालबच्चाको भने विचल्ली नै हुने भो।’
तेज बहादुरलाई एउटा मृगौला दिन उहाँको आफ्नै आमा तयार हुनुहुन्छ तर मृगौला प्रत्यारोपण खर्च कसरी जुटाउने भन्ने चिन्ता छ। उपचारमा सघाइदिन नगरपालिका, जिविस लगायत धेरै ठाउँ चहारिसकेको छ यो दम्पतिले।
कुनै मनकारी दाता भेटिइहाल्छ कि भनेर धेरै ठाउँ हार गुहार पनि गरेका छन्। गाउँलेले मिलेर उपचारमा सहयोग पुर्याउन धादिङमा रहेको सानीमा बैंकमा ००४०००१०९८५१२ नम्बरको खाता समेत सञ्चालन गरिदिएका छन्।