यी हुन क्यालकुलेटरलाई जित्ने बालक
दमक: झापाको दमकका ११ बर्षीय कबिर कटुवाल कक्षा-६ मा ग्लोबल बोर्डिङ स्कुलमा अध्ययनरत छन्। त्यस्तै दमक-५ का १२ बर्षीय उज्जवल पाठक सुर्योदय बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्छन्।
उनीहरु क्यालकुलेटर भन्दा छिटो गणना गर्न सक्छन्। उनीहरु लाई कुनै एउटा हिसाब दिएर आफुले पनि क्यालकुलेटर थिच्न सुरु गर्यो भने उत्तर दुबै जनको अगाडि आउँछ।
क्यालकुलेटर भन्दा पनि अगाडि नै हिसाब निकाल्नुमा पाठक र कटुवालका लागि युर्निभर्सल कन्सेप्ट मेन्टल अर्थमेटिक सिस्टम (युसीमास) अर्थात मस्तिष्क अंगगणित बिश्वब्यापी अवधारणा सहयोगी र भरपर्दो बन्दै गएको छ। उज्जवल लाई यो भन्दा अगाडि हिसाब गर्दा धेरै बेर लाग्ने र झन्झटीलो काम जस्तो लाग्थ्यो।
जब उनले युसीमासको कक्षा लिन थाले त्यहा बाट उनका लागि हिसाब गर्नु चुड्किको खेल भयो। पाठक भन्छन्- 'म हिसाब गर्दा आफुले युसीमास कक्षामा चलाएको एबाकस संझिन्छु र भिजुवलाईजेसन गर्छु तब मलाई क्यालकुलेटर भन्दा पनि चाडो उत्तर थाहा हुन्छ।'
उनका लागि पहिला साना तिना हिसाबहरु गर्न पनि क्यालकुलेटर प्रयोग गर्नु पर्ने भए पनि अचेल भने उनी आफै क्यालकुलेटर भन्दा फास्ट भएका छन्।
अधिकांश टेलिभिजनमा कार्टुन हेरेर बिताउने साना बिद्यार्थीहरुका लागि पाठकको सुझाव यस्तो छ -'टेलिभिजन पनि हेर्नुपर्छ तर सिमित हेर्नुपर्छ। हामीहरुले आफुलाई अब्बल बनाउन सकिने रहेछ। जति हामी ध्यान केन्द्रित गर्छौ त्यति नै हाम्रो दिमाग बढ्दै जाने रहेछ' अहिले पाठक भृकुटी चौक दमकमा रहेको किण्डर वल्र्ड युसीमासको पाँचौ लेभलका विद्यार्थी हुन्।
पाँचौ लेभलमा रहेकाले उनले अहिले अत्याधिक ठुला र धेरै जटिल प्रकृतिका हिसाब भने गर्न सक्दैनन् तर सामान्यतया क्यालकुलेटरले गर्ने खालका सबै हिसाब भने गर्न सक्छन्। त्यस्तै कबिर कटुवाल त झन् तिक्ष्ण र तिब्र रुपमा हिसाबहरु गर्न सक्छन्। उनले मेन्टल क्यालकुलेट प्रतिष्पर्धामा च्याम्पियनको पनि च्याम्पियन बनेर उपाधी जितिसकेका छन्।
यस्ता साना तिना प्रतियोगिता उनका लागि जितको पाटो बन्दै गएको छ। आफुले हिसाब गर्नुपर्दा कक्षामा एबाकस चलाएको पुरै स्मरण गर्छन् अनि छिटो भन्दा छिटो उत्तर दिन्छन्। कबिर अहिले पाँचौ लेभल पुरा गरेर छैटौ लेभलमा पुगेका छन्।
कबिर आफु जस्तै अन्य बिद्यार्थीलाई भन्छन् ‘ हामीले हिसाब गरेको देखेर छक्क पर्नु पर्दैन। तपाईहरुले पनि गर्न सक्नु हुन्छ तर यसमा एकाग्रता हुन आवश्यक छ। आफुले हिसाब गर्दा एबाकस चलाएको संझिएकै भरमा लाखौ सम्मको हिसाब निकाल्न सकिन्छ।'
किण्डर वल्र्ड युसीमासका संचालक प्रबिन वस्ती युसीमासको कक्षामा बिशेष गरेर बच्चालाई एबाकसकै माध्यमबाट सबै हिसाबहरु सिकाउने गरेको बताउनुहुन्छ । ‘यो सबै सिक्नको लागि बच्चालाई भिजुवलाइजेसन र एकाग्रतापन आवश्यक रहन्छ'- उहाले भन्नुभयो ‘बिद्यार्थीले कक्षामा एबाकस चलाएको संझना गरेरै हिसाबहरु गर्न सक्छन्।'
अहिले बस्तीको युसीमासको कक्षामा १ सयको हाराहारीमा बिद्यार्थीहरु रहेका छन्। ५ बर्ष देखी १३ बर्ष उमेर समुहका बिद्यार्थीहरु उहाको कक्षामा आउने गरेका छन् ।
१० लेभल सम्म पढाईने उक्त युसीमास कक्षा प्रत्येक लेभल पार गर्न ३ महिना लाग्ने गरेको वस्तीले बताउनुभयो। उहाका अनुसार कक्षामा कबिर र उज्जवल जस्ता थुपै्र बिद्यार्थीहरु हिसाब छिटो गर्न सक्ने छन्।