घरमै सामाजिक सुरक्षा भत्ता
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ९ मा घर घरमा सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको छ।
सरकारी सेवा घरमै दिने उद्देश्य सहित घरदैलोमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको वडा नं ९ का अध्यक्ष लोकबहादुर भण्डारीले बताए। उनले भने ‘नागरिकलाई घरमै सरकार आएको महसुस हुनुपछ। कम्तीमा जनप्रतिनिधि आएपछि नागरिकले केही सहज महसुस गरुन भनेर घरमै सामाजिक सुरक्षाभत्ता वितरण अभियान थालेका हौं।'
आइतबारदेखि वडाका प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान सुरु गरिएको अध्यक्ष भण्डारीले बताए। निर्वाचनका बेला नागरिक सामु गरेको बाचा अनुसार घरघरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको उनले दाबी गरे।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा अध्यक्ष भण्डारी सहित वडासचिव सहितको टोली घरघरमा पुगेको हो। आफ्नै घरमा सामाजिक सुरक्षाभत्ता पाउँदा नागरिक निकै खुशी भएका छन्। ‘पहिला वडा कार्यालय सम्म पुग्न निकै असजिलो हुन्थ्यो।
एकजना साथमा लगेर जानुपथ्र्यो। अहिले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिए । निकै खुसी लाग्यो ।'स्थानीयबासी हिरा भट्टले भनिन्, ‘हामीले भोट दिएर जिताएका प्रतिनिधिले हाम्रो सजिलोका लागि गरेको कामबाट हामी खुसी भएका छौं।'
पाटन नगरपालिका वडा नं ९ का बीरबहादुर महराले सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा निकै खुसी व्यक्त गरे । उनले भने ‘हामीजस्ता जेष्ठ नागरिकको सुविधाका लागि घरमै सामाजिक सुरक्षाभत्ता दिन शुरु गरियो । यो धेरै राम्रो छ। जनप्रतिनिधिहरुले यस्तै काम गर्दै जाउन।'