उपत्यकामा आज गाईजात्रा मनाइँदै
भक्तपुर: काठमाडौं उपत्यकालगायत नेपालभाषीको सघन बसोबास रहेका ठाउँमा मंगलबार सापारु (गाईजात्रा) भव्यतासाथ मनाइँदै छ। नेपालभाषी समुदायले सापारुलाई मृत्यु संस्कारसँग सम्बन्धित पर्वका रूपमा मनाउँछन्। वर्षभरि दिवंगत भएकाको सम्मान तथा सम्झनामा भदौ शुक्ल प्रतिपदाको दिन गाईको प्रतीक बनाई आ-आफ्नो नगर परिक्रमा गराइन्छ।
धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एक दिन मात्र यमलोकको ढोका खुला हुने जनविश्वास छ। यही विश्वासका साथ गाईजात्रा मनाइन्छ । यस दिन गाईको प्रतीक तहा साँ वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराइन्छ । धार्मिक ग्रन्थ तथा किवंदन्तीअनुसार गाईजात्राको दिन गाईले टेकेको एक पाइला बराबर एक अश्वमेघ यज्ञको फल प्राप्त हुने जनविश्वास छ ।
नेपालभाषीले यस दिन गाईको प्रतीक तहा साँ बनाउनुअघि मृतकको नाममा पुरोहितले विधिपूर्वक पूजाआजा सम्पन्न गर्छन्। पुरोहितले पूजाकै क्रममा गाईको प्रतीक बनाउन लगाउँछन् र तयार भएको गाई आ-आफ्नो क्षेत्रको सम्बन्धित एवं निश्चित क्षेत्रमा परिक्रमा गराइन्छ।
काठमाडौं उपत्यकामध्ये भक्तपुरमा यो गाईजात्रा नौ दिनसम्म मनाइन्छ। त्यसैले यसलाई स्थानीय नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) समेत भनिन्छ।
गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु भक्तपुरको गाईजात्राको विशेष आकर्षण हो।मृतक महिला, पुरुष र बच्चाको आधारमा भक्तपुरे गाईको प्रतीक बनाउँछन्। गाईको चित्र छापिएको छापा, परालले बनाइएको एकजोडा सिङ, चवरको पंखा, छाता, विभिन्न फूल र कागजबाट बनाइएका सिंगार्ने वस्तुले सजाइदिएर केटा भए सेतो वा अन्य रंगको नयाँ कपडा र केटी भए 'हाकुपतासी' (छेउमा रातो धर्सो भएको कालो रंगको सारी) वा सारीले बेरेर गाईको प्रतीक बनाइन्छ। जसमा उमेरअनुसार डोक साँ र ताहा साँ बनाइन्छ।
यसरी डोकसाँ र ताहासाँ तयार भएपछि घरको मूलढोका अगाडि पुरोहित वा ब्राह्मणले मृतकको क्रिया गर्ने क्रियापुत्रलाई संकल्प गराई विधिबमोजिम पूजा गरेपछि त्यसलाई नगर परिक्रमा गर्न पठाइन्छ।
पहिले तलेजुको गाईजात्रा
जनै पूर्णिमाको राति भक्तपुर तलेजुको घिन्ताङघिसी निकालेपछि मात्रै भक्तपुरमा विधिवत रूपमा गाईजात्रा सुरु भएको मानिन्छ । तलेजुको गाईजात्राबाट सुरु भएको पर्व भक्तपुर नपा वडा नं ४ लाकोलाछेंबाट परालबाट बनाइएको भैरवको गाई निकालेपछि भक्तपुरको पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ।
तेस्रो दिनदेखि हास्यव्यंग्य तथा मौलिक नाचगान
पहिलो दिन सांस्कृतिक र संस्कारगत गाईजात्रा सकिएपछि दोस्रो दिन खाली हुन्छ। तेस्रो दिनदेखि भने हास्यव्यंग्य, घोचपेच हुने नाच तथा प्रहसन प्रदर्शन गरिन्छ । यो सातासम्म चल्छ।
यसबेला जात्रालुले विभिन्न हाँसउठ्दो पहिरन तथा मुकुन्डो लगाएर भक्तपुर नगर परिक्रमा गर्छन्। त्यस्तै, केटाहरू केटीको भेषमा समेत प्रस्तुत हुने चलन छ।
यी सात दिनमा बेलुकाको समयमा परम्परागत एवं मौलिक नाच प्रदर्शन गरिन्छ । यसबेला विशेष गरेर देवी नाच, भैरव नाच, फाकंदली (कर्कलो नाच), लुसी (ओखल) नाच, माक प्याखं (बाँदर नाच), नागांचा प्याखं, गाइँचा (गाइने), म्हेखा प्याखं (मयूर नाच), ख्या प्याखं (ख्याक नाच), खिचा प्याखं (कुकुर नाच) आदि प्रदर्शन गरिन्छ ।
त्यस्तै, भालु प्याखं (भालु नाच), सिंहसिंहनी नाच, कचामचा (सितलामाजुको नाच), धागो काट्ने नाच, सिलु वनेगु प्याखं (गोसाइँकुण्ड जाने नाच), कलाँली प्याखं (पूजाथाली नाच), महादेव पार्वती नाच, कृष्णलीला, जंगली नाच, घोडा नाच, ह्या प्याखं (हाँस नाच), सिख प्याखं (सिक्री नाच), थाज्या प्याखं (कपडा बुन्ने नाच), किजापूजा प्याखं (भाइटीका नाच), भूत तर्साउने नाच, नटुवाचा नाच, खः नाच (दबुलीमा देखाउने नाच) आदि छन् ।
भनपाद्वारा नगद पुरस्कारको व्यवस्था
गाईजात्रामा प्रदर्शन हुने विभिन्न परम्परागत एवं मौलिक नाचका लागि भक्तपुर नगरपालिकाले यस वर्ष पनि नगद पुरस्कारको व्यवस्था गरेको छ। यसका लागि भक्तपुर नगरपालिकाले नगरका विभिन्न ठाउँमा नाच प्रदर्शन गर्ने र त्यसको निर्णय गर्ने निर्णायकको व्यवस्था गरिएको जनाएको छ।
नपाले पहिलो, दोस्रो र सान्त्वना हुने नाचलाई नगद पुरस्कारले सम्मान गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ।
गाईजात्राको ऐतिहासिकता
काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा मल्लकालमा सुरु भएको मानिन्छ काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले गाईजात्रा चलाएको मानिन्छ ।तर, यहाँ मल्लहरूले शासन गर्नुअघि नै गाईजात्रा चलनचल्तीमा आइसकेको इतिहासविद् तथा संस्कृतिविद्हरू बताउँछन् । उनीहरूका अनुसार लिच्छविकालमै यहाँ नेवारहरूले एउटा पर्वका रूपमा गाईजात्रा मनाइसकेका थिए।
गोपालराज वंशावलीमा नेपालमा पन्ध्रौं शताब्दीतिरै गाईजात्रा चलनचल्तीमा आइसकेको उल्लेख गरिएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले जानकारी दिए ।नेपालमा उपलब्ध ठ्यासफुका अनुसार लिच्छविकालमा चलनचल्तीमा आएको गाईजात्रालाई मल्ल राजाहरूले परिमार्जन गरी विस्तृत मात्रै पारेको उनको भनाइ छ।