‘जग्गा विक्री हुँदैन कसरी छोराको उपचार गरुँ ?’
जाजरकोट : बलबहादुर भण्डारीको तीन रोपनी पाखो बारी छ । प्रति रोपनी ५० हजार रुपैयामा तीन रोपनी जग्गा बेच्न उनी ग्राहक खोजिरहेका छन् । सम्पतिको नाममा भएको तीन रोपनी जग्गा वेचेर कसरी जिविकोपार्जन गर्छ भण्डारी परिवारले ? अनुत्तरित प्रश्नमा आफनो छोरालाई स्वस्थ बनाउने सपना बुनेका छन् बलबहादुर भण्डारीले । छोरालाई बचाउन सके ज्याला मजदुरी गरेर दुई छाक टार्ने बाहेक अरु उपाय उनीसँग छैन ।
जाजरकोटको त्रिबेणी नलगाड नगरपालिका—१३ सिउनका २१ बर्षका आकाश भण्डारी अर्थात बलबहादुर भण्डारीका छोरा जिल्ला अस्पताल जाजरकोटमा जीबन मरणको दोसाँधमा छट्पटाईरहेका छन् । गरीवीका कारण थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल जान नसक्दा उनको अबस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ ।
तीन महिनादेखि उनी विरामी छन् तर आर्थिक अभावको कारण उपचारमा समस्या भएको परिवारले जनाएका छन् । विगत ३५ बर्ष देखि भारत (कालापार) गएर ज्याला मजदुरी गरी गुजारा गर्दै आएको उनको परिवार केही समय देखि गाँउमा बस्दै आएको छ । आकाश भण्डारीका बुवा, आमा र भाई छन् ।
विहान बेलुकाको छाक टार्न समेत मुस्किल पर्ने भण्डारी परिवार छोरा विरामी भएपनि निकै समस्यामा परेको छ । गाँउमा चन्दा उठाएर केही दिन अघि आकाशलाई भेरी अञ्चल अस्पताल नेपालगन्ज उपचारको लागि पुर्याइएको थियो । उनलाई पेट, छाती र टाउको दुख्ने समस्या छ ।
नेपालगन्ज अस्पतालमा दिशा,पिसाब,रगत प्रयोगशालामा परिक्षण गर्दा कुनै रोग पत्ता नलागेको र चिकित्सकले भरतपुर क्यान्सर अस्पताल चितवन लैजान सिफारिस गरेका छन् ।
नेपाली नागरिकता समेत नबनाएका आकासलाई पुनः जाजरकोट ल्याएर नेपाली नागरिकताको प्रमाण पत्र बनाईएको छ । ‘उपचारको लागि खर्च जुटाउन र नागरिकता भए उपचारमा केही सहुलियत हुन्छ कि भनेर नागरिकता बनायौ अव कसरी चितवन लैजाने हो’ बलबहादुर भण्डारीले भने ।
छोराको उपचार गर्न बलबहादुरसँग एउटै उपाय छ । ‘गाँउमा तीन रोपनी पाखो बारी छ त्यही बेचेर भएपनि छोरालाई एक पटक चितवन लैजाने इच्छा छ तर अहिले कसले जग्गा किनिदिन्छ र म छोराको उपचार गरुँ ?’ बलबहादुरले प्रश्न गरे ‘हामी गरीवले कसरी उपचार गर्ने ?’
उक्त गाँउमा एक रोपनी जग्गाको मूल्य ५० हजार मात्र पर्छ । उनले जग्गा बेच्न खोजेपनि विक्री हुन सकेको छैन । ‘छोराको उपचारमा पैसा कति लाग्छ ? कहाँबाट जुटाउने हो’बलहादुरले भने ‘ हे भगवान मेरो छोरालाई बचाईदेउ ।’