खुलेआम ‘ड्रग्स' ओसारपसार
काठमाडौं : भैरहवाका प्रदीपकुमार मल्लाह औषधिजन्य लागुपदार्थ ‘फर्मास्युटिकल ड्रग्स' को ठूलो परिमाणसहित असोजमा नागढुंगामा पक्राउ परे । उनले ल्याएको लागुपदार्थ खरिद गर्ने काठमाडौंका निरन्जन महर्जन र नितेश पण्डितलाई पनि प्रहरीले पक्राउ गर्यो । त्यसको एक महिनापछि वीरगन्जबाट ठूलो परिमाणको ‘फर्मास्युटिकल ड्रग्स' लिएर आएका अवधप्रसाद यादव पनि नागढुंगामै पक्राउ परे ।
यो वर्ष थानकोट प्रहरीले ‘फर्मास्युटिकल ड्रग्स' ओसारपसारमा संलग्न आरोपमा ३७ जनालाई पक्राउ गरेको छ । २६ लागुऔषध कारोवारी थानकोट प्रहरी वृत्तको हिरासतमा छन् । आर्थिक वर्ष ०७३÷७४ मा थानकोट प्रहरीले फर्मास्युटिकल ड्रग्स ओसारपसार आरोपमा ५९ जनालाई पक्राउ गर्यो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांशले वीरगन्ज, भैरहवा, रौतहट, काँकडभिट्टा, सुनौलीलगायत भारतीय सीमावर्ती नाकाबाट लागुऔषध ल्याएको देखिन्छ ।
काठमाडौं भित्रिने अधिकांश यस्ता ड्रग्स भारतबाट अवैध पैठारी हुने गरेको छ । ‘थानकोटसम्म यी लागुऔषध कसरी आइपुगे । भारतबाट कसरी छिर्यो र बीचका प्रहरीले के हेरे ? ', काठमाडौं प्रहरी परिसरका एक अधिकारी भन्छन् । औषधिका रूपमा प्रयोग हुने ‘फर्मास्युटिकल' दुरुपयोग भएपछि लागुऔषध दुव्र्यसनीलाई सजिलो हुने गरेको छ । उपत्यका भित्रबाट पक्राउ पर्ने लागुऔषध दुव्र्यसनी र औषधि कारोबारीबाट प्रहरीले धेरै मात्रामा फर्मास्युटिकल ड्रग्स बरामद गर्ने गरेको छ ।
चिकित्सकको सिफारिसका आधारमा लगत राखेर मात्र औषधि पसलले यी औषधि बिरामीलाई बेच्नुपर्छ । तर, लागुऔषध दुव्र्यसनीलाई औषधि पसलले यी औषधि बेच्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कृष्ण पंगेनी लागुऔषध ल्याउने र काठमाडौंमा त्यो लिन आउने दुवैलाई पक्राउ गरिरहेको बताउँछन् । ‘केही घटनामा भने काठमाडौंमा लिन आउने समूह तथा सञ्जालको खुलासा हुन सकेको छैन । उनीहरूको खोजी भइरहेको छ', प्रहरी नायब उपरीक्षक (डीएसपी) पंगेनी भन्छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)का अनुसार हाल नेपालमा दुई लाख बढी लागुऔषध दुव्र्यसनी छन् ।
नेपालका लागुऔषध दुव्र्यसनीमध्ये ५० प्रतिशतभन्दा बढीले औषधिजन्य लागुऔषध प्रयोग गर्ने गरेको अनुमान छ । लागुऔषध उत्पादन, सञ्चय, प्रयोग, ओसारपसार तथा बिक्री-वितरण मुद्दामा देशभर तीन हजार दुई सय ७८ कैदीबन्दी छन् । लागुऔषध मुद्दामा सन् २०१७ मा मात्र १३२९ जना समातिएका छन् । यसमा नेपालीको संख्या ११९५ छ । नेपालमा हुने जघन्य अपराधका घटनामा सबैभन्दा बढी लागुऔषधकै स्थान छ । फर्मास्युटिकल ड्रग्सको कारोबार गर्नेलाई दुईदेखि १० वर्षसम्मको सजाय र एकदेखि २० लाखसम्मको जरिवाना हुने कानुनी व्यवस्था छ ।
यो वर्ष थानकोट प्रहरीले ‘फर्मास्युटिकल ड्रग्स' ओसारपसारमा संलग्न आरोपमा ३७ जनालाई पक्राउ गरेको छ । २६ कारोवारी थानकोट प्रहरीको हिरासतमा छन् ।
एनसीबी प्रमुख डीआईजी धीरु बस्नेत सीमामा कडाइ नहुनु र प्रहरी संयन्त्र सक्रिय नहुँदा फर्मास्युटिकल ड्रग्सको खुला ओसारपसार हुने गरेको बताउँछन् । ‘थानकोटमा प्रहरी सक्रियता बढेको र काठमाडौं छिर्ने प्रमुख नाका भएकाले धेरै मात्रामा लागुऔषध बरामद भएको देखिन्छ । तर, मुख्य कुरा थानकोटसम्म कसरी आइपुग्यो भन्ने हो । यसको कडाइ त सीमाबाटै गर्नुपर्छ । त्यसयताका हाम्रो साधन-स्रोत र प्रविधि तथा सूचना प्रवाहलाई व्यापक बनाउनुपर्छ', बस्नेत भन्छन्, ‘काठमाडौं उपत्यकामा माग बढी हुने गरेको र मूल्य पनि बढी पाइने भएकाले यस्ता लागुऔषध यस क्षेत्रमा बढी तस्करी हुने गरेको देखिन्छ ।'
लागुऔषध दुव्र्यसनका कारण प्राणघातक एड्स, हेपाटाइटिस बी, हेपाटाइटिस सीजस्तो रोगको संक्रमण बढ्दो छ । प्रहरीका अनुसार यी रोगको संक्रमणमा फर्मास्युटिकल ड्रग्स नै कारण हुन् । ‘दुव्र्यसनीले यस्ता ड्रग्स अधिकांश सिरिन्जमार्फत लिन्छन् । त्यसैले एउटै सिरिन्ज धेरै जनाले प्रयोग गर्दा रोग सर्ने सम्भावना अधिकतम हुन्छ', एनसीबीका एक अधिकारी भन्छन् ।
नेपालमा भएको एक अध्ययनअनुसार लागुऔषध दुव्र्यसनीमध्ये ५२ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका छन् भने २५ देखि ३४ वर्ष उमेर समूहले ४२ प्रतिशत हिस्सा ओगट्छ । २८ प्रतिशत दुव्र्यसनी एसएलसीभन्दा कम अध्ययन गरेको खुलेको छ ।
०६९ सालमा गरिएको एक सर्वेक्षणअनुसार नेपालमा पाँच वर्षको अन्तरमा दुव्र्यसनीको संख्या शतप्रतिशत वृद्धि भएको थियो । एनसीबीको तथ्यांकअनुसार सन् २०१७ को सुरुको चार महिनामा मात्र ११ हजार ६ सय ३२ बुप्रेनोर्फिन एम्पुल, ११ हजार ६ सय ४० डाइजेपाम एम्पुल तथा अन्य औषधिजन्य लागुऔषधमा ६५ हजार एक सय ६ एम्पुल तथा ट्याबलेट बरामद भएको छ ।