एउटै सचिवलाई पाँच वडाको जिम्मा
मुसीकोट: रुकुमको सिस्ने गाउँपालिका ३ पोखराका जनक खत्री छोराको जन्म दर्ता गराउन वडा कार्यालय धाएको तिन दिनपछि मात्र काम भयो कारण थियो, वडा सचिव कार्यालयमा नभेटिनु। यस्तो समस्या अहिले खत्रीको मात्रै नभएर जिल्लाभरि नै छ।
देश संघीय संरचनामा जाँदा साबिकका गाविस एक वा एकभन्दा बढी वडामा विभाजित भएपछि पुरानै सचिवले काम गरिहेका कारण सचिवहरूलाई भ्याईनभ्याई छ। सेवाग्राहीलाई काम लिन सस्ती भएको छ। एउटै सचिवले दुईदेखि पाँचवटा वडासम्मको काम गर्नु परेकाले यो समस्या उत्पन्न भएको हो।
जन्म, मृत्यु, बसाइँसराइ र सम्बन्ध विच्छेद दर्ताजस्ता महत्वपूर्ण कामबाहेक अन्य कार्यालयको कामका लागि सोही क्षेत्रका कार्यालय सहायक र समाजिक परिचालकलाई जिम्मा दिइएको भए पनि पञ्जिकरणको काम दैनिक परिरहने भएकाले सचिवको अनुपस्थितिमा आफूलाई कामको चाप पर्ने गरेको बाँफिकोट गाउँपालिकाका कार्यकारी अधिकृत रवीन्द्र बुढा क्षेत्रीले बताए।
‘सेवाग्राही सचिव खोज्दै आउँछन्, आज तपाईंको काम हँदैन भोलि आउनुस् भन्यो, भोलि पनि त्यस्तै अवस्था भइदिन्छ।' अधिकृत क्षेत्री भन्छन्, ‘म आफ्नो काम गरौं कि वडाको काम गराैं। अलमलमा छु।' बाँफिकोट गाउँपालिकामा वडा नं ३, ४ र ५ को संयुक्त कार्यालय सञ्चालनमा छ।
काम परेका बेला वडा सचिव नभेटिँदा अप्ठ्यारो परिरहेको सेवाग्राहीले गुनासो गरेका छन्। त्रिवेणी गाउँपालिका ४ की रमिला ओलीले छोरीको जन्म दर्ता गर्न लगातार तीन दिन कार्यालय धाएपछि मात्रै सचिव फेला परेको बताइन् । त्रिवेणी गाउँपालिकाका १ देखि ५ सम्मका वडामा एउटै सचिव कार्यरत हुँदा स्थानीय पञ्जिकरणको काम भ्याउन गाह्रो भइरहेकाले थप कर्माचारी खटाएर सेवा प्रवाह सहज बनाउनुपर्ने सचिव मानबहादुर खत्रीको भनाइ छ।
तीन नगरपालिका र ६ गाउँपालिका गरी नौ स्थानीय तह रहेको रुकुममा एक सय चार वडा छन्। यी सबै वडा कार्यालयबाट सहज ढंगले कार्य सञ्चालन गर्न प्रत्येक वडामा एकजना वडा सचिव आवश्यक पर्छ। तर, अहिले जिल्लाभरका लागि जम्मा ३४ जना मात्रै वडा सचिव कार्यरत छन्। एउटै सचिवलाई धेरै वडाको जिम्मेवारी दिनु परेको जिल्ला समन्वय समिति रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताए।
‘हामीले साबिक गाविस सचिवलाई नै वडा सचिवका रूपमा खटाएका छौं, धेरै वडामा सचिवलाई दोहोरो जिम्मेवारी छ।' स्थानीय विकास अधिकारी राना भन्छन्, ‘सबै वडामा सचिवको संख्या पुर्याउन थप ७० जना चाहिन्छ तर सरकारले खटाएको छैन।'
आवश्यकता अनुसार वडा सचिव उपलब्ध नहुँदा पञ्जिकरणबाहेक अन्य काम गर्न कार्यालय सहायक र समाजिक परिचालक भए पनि उनीहरूको काम भरपर्दो देखिएको छैन।
आफूहरू निर्वाचित भएर आएको भए पनि प्रशासनिक काम गर्न सचिव भनेका बेला उपलब्ध नहुँदा जनतालाई खासै परिवर्तनको अनुभूति गराउन नसकेको सिस्ने गाउँपालिका ३ का वडा अध्यक्ष पशुपति खड्काले बताए। ‘हामी निर्वाचित भएर त आयाैं तर काम गर्न कर्मचारी नहँदा जनतामा परिवर्तनको अनुभूति गराउन सकिएन', अध्यक्ष खड्का भन्छन्, ‘सरकारले चाँडै कानुन बनाएर कर्मचारी खटाउनुपर्याे।'