कमाउने चक्करले ठगिए युवा
पोखरा: पोखराका केही युवा मकाउमा सुरक्षागार्ड बन्ने प्रलोभनमा पर्दा ठगिएका छन्। पोखरा—१३ आर्बाका सन्दीप घर्ती र गोविन्द बराल तथा वडा नम्बर २१ क्रिस्तीका महेश खत्री र सुवास केसीले आफूहरू ठगीमा परेको भन्दै न्यायका लागि गुहार मागेका छन्।
स्थानीय प्रशासनले उजुरी प्रहरीकहाँ पठाए पनि वास्ता नगरेपछि उनीहरू सुरक्षित आप्रवासनका लागि सामी परियोजनामा पुगेका थिए। उनीहरूले परियोजनामार्फत वैदेशिक रोजगार विभागलाई गुहारेका हुन्। २०७१ सालमा मकाउको होटेल ग्यालेक्सीमा सुरक्षागार्डका लागि लैजाने भनेर पोखरा—२८ का विष्णु विकलाई ७ लाखका दरले २८ लाख रुपैयाँ बुझाएको घर्तीले बताए।
मकाउ लैजाने भनेर विकले कृष्ण भट्टराई, विष्णु कुँवरमार्फत दिल्ली लगेको सुनाउँदै अर्का पीडित बरालले त्यहाँबाट नभएपछि फेरि बैंकक पुर्याएको बताए। ‘मकाउ नै पुग्यौं तर उनीहरूले देखाएका सबै प्रमाण नक्कली रहेछन्', उनले भने, ‘फर्किएपछि पनि फेरि लैजान्छौं भनेर काठमाडौंमा झुलाए तर लैजान सकेनन्।'
घर्तीले विकले पैसा फिर्ता दिन्छु भनिरहने गरेको सुनाए। ‘घर पनि चिनाएका थिए, पैसा तिर्न नसके जग्गा पास गर्दिन्छु भनेर कागज गरेका थिए', उनले भने, ‘तर, अहिलेसम्म दिएनन्, प्रहरीले पनि वास्ता गरेन।'
महिनाको १ लाख ५० हजार तलब पाउने गरी उनीहरू मकाउ गएका थिए। मकाउ जाने चक्करमा दिल्लीमा २० दिन बिताएको जानकारी दिँदै उनले काठमाडौंमा चार महिना ‘भूमिगत' भएको बताए। ‘काठमाडौं फर्किएपछि बाहिर निस्कनै दिएनन्', उनले भने, ‘घरमा पनि मकाउ छौं भनेर ढाँटेका थियौं। आजभोलि भन्दा-भन्दै लैजान सकेनन्।'
उनीहरूले १३ साउनमा जिल्ला प्रशासन कार्यालयमा ठगीसम्बन्धी उजुरी दिएका थिए। प्रशासनले उक्त मुद्दा हेर्न वडा प्रहरी कार्यालय बगरलाई भनेको थियो ‘प्रहरीले उल्टै तिमीहरूले दियौ उहाँले लिनुभयो भनेर थर्काए', उनले भने।
उनीहरूको उजुरीलाई विभागमा पठाइने परियोजनाको कास्की संयोजक माया गुरुङले बताइन् । थुप्रै युवा एजेन्सीको सट्टा व्यक्तिको पछि लागेर ठगिएको उनले सुनाइन्। ‘व्यक्तिले कुनै देशबाट डिमान्ड ल्याउनै सक्दैन र मिल्दैन भन्ने सामान्य कुरा नबुझ्दा दुःख भइरहेको छ', उनले भनिन्, ‘व्यक्तिलाई खोजेर कारबाही गर्न पनि कठिन हुन्छ, एजेन्सीमार्फत नै जानुपर्छ।' धेरैजसो युवा कसैसँग सल्लाह नगरी दलालको पछि लाग्ने गरेको पाइएको उनले सुनाइन्।