जहाँ गाउँलेहरु दिउसो पनि सुत्न पाउँदैनन्
धादिङ: उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकास्थित हिन्दुङ गाउँलाइ चारैतिरबाट पहिरोले घेर्दा गाउँका ४४ घर उच्च जोखिममा परेका छन । पहिरोले एउटा घर बगाएको भएपनि मानवीय क्षति भने भएको छैन । गत आइतवारबाट लगातार पहिरो खस्ने क्रम नरोकिएपछि स्थानियहरुले गाउँ छोडेका छन । हिन्दुङ गाउँमा ९६ घरधुरी रहेका छन ।
गाउँबाट दुई दिन लगाएर हिडेरै विहिवार सदरमुकाम आइपुगेका हिन्दुङका छेसिङ लामाले भने, ‘भुकम्प लगत्तै पनि यसरी नै गाउँको तलमाथि नै पहिरो गएको थियो । एक वर्षपछि गाउँलेहरु गाउँ फर्किएका थिए,अहिले फेरी लगातारको वर्षापछि गाउँको तलमाथिबाटै पहिरो झर्न सुरु भएको छ ।’
साढे दुई वर्षअघि गएको विनाशकारी भुकम्पका कारण पनि हिन्दुङ गाउँमा त्रास फैलिएको थियो । भुकम्पका बेला गएको पहिरो गाउँसम्म नआइपुगेको भएपनि यसपाली लगातार बर्षा भएपनि पहिरो गाउँसम्मै पुगेको स्थानिय सेतेमान तामाङले बताए ।
गाउँको माथिबाट खसेको भन्दा गाउँको तलबाट भासिएको पहिरोले पुरै गाउँलाइ जोखिमपूर्ण बनाएपछि बाध्य भएर ३० घरधुरीका स्थानीयहरुले गाउँ छोडेर गाउँभन्दा माथि चौरी खर्कमा गएर बस्नुपरेको छेसिङले बताए । ‘गाउँमै बसेकाहरु पनि राती त के दिउसो समेत सुत्न पाएका छैनन’ छेसिङले भने, ‘कुन बेला पहिरोले गाउँ लान्छ भनेर कुरेर बस्नु परेको छ ।’ हिन्दुङ गाउँको दुवैपट्टी खहरे खोला छ । भुकम्पले चर्र्काएको जमिनमा वर्खायामको पानी मडारिएर बग्दा धेरै जमिन कटान हुने गरेकाले पहिरो खसेर गाउँसम्मै पुगेको हो ।
पहिरोले घर बगाउन थालेपछि स्थानीयहरुले गाउँ छाडेको खवर आएपछि जिल्ला प्रहरी कार्यलय धादिङले सेर्तुङस्थित प्रहरी चौकीबाट गाउँको अवस्था पत्ता लगाउन प्रहरीहरु खटाएको थियो । जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दिपेन्द्र पञ्यिारले भने, ‘सेर्तुङबाट गएको प्रहरीले दिएको जानकारी अनुसार पहिरोले एउटा घर बगाइसकेको छ भने वाँकी १० वटा घर पहिरोको वीचमा भासिने अवस्थामा छ । पहिरो नजिकै रहेका अरु ३४ घरहरुपनि उच्च जोखिममा छन,जुनसुकै बेला पहिरोले बगाउन सक्ने अवस्थामा छ ।’
२०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि हिन्दुङ गाउँका ७० घरपरिवार गाउँ छाडेर सदरमुकाम नजिकका शिविरहरुमा बसेका थिए । सरकारले विस्थापितहरुलाइ पुनःस्थापना गर्ने भनेपनि कुनै काम अघि नबढाएपछि बाध्य भएर हिन्दुङबासी गाउँ फर्किएर पुरानै घरहरुलाइ मर्मत गरेर तथा टहराहरुमा बस्दै आएका थिए ।
‘भुकम्पपछि जमिनमा धेरै चिराहरु देखिकाले गाउँमा बस्न हुने नहुने भुगर्भविद खटाएर जाँच गरिदिन पर्यो भनेर स्थानिय प्रशासनमा निवेदन दिएको भएपनि हालसम्म सुनुवाइ भएको छैन’ स्थानीय सेतेमान तामाङले भने,‘भुगर्भविद्ले जाच्नु त कता हो कता अहिले गाउँमाथिबाट पहिरो खस्ने तलबाट खोलामा भासिने भएपनि केही गाउँलेहरु गाउँ छाडेर हिँडिसके ।’ पहिरो गएर मानवीय क्षति भएपछि मात्रै स्थानिय प्रशासनको ध्यान जाने भएकाले जोखिममा परेको बस्तीको विषयमा कुनै सुनुवाइ नभएको तामाङले गुनासो गरे ।
हिन्दुङ गाउँमा ९६ घरपरिवार रहेका छन । त्यसमध्ये २४ घरले मात्रै पहिलो किस्ताको रकम लिएको र दुई जनाले मात्रै घर बनाएको तथ्याङक रहेको वडा सचिव इन्द्र प्रसाद काफ्लेले जानकारी दिए । दुई खहरे खोल्साको वीचमा रहेको गाउँका अधिकाँश ठाउँहरुमा जमिन फाटेकाले पनि पैसा लिएर पनि घर नवनाएको सचिव काफ्लेले बताए ।
भुकम्पपछि त्यस क्षेत्रका सभासदहरुले हिन्दुङ गाउँको स्थलगत अध्ययन गरेर गाउँका सवैलाइ अन्यत्र सानुपर्ने भनेर जिल्लाप्रशासन र गृह मन्त्रालयलाइ सिफारिस गरेको भएपनि हालसम्म त्यस विषयमा कुनैपनि सुनुवाइ भएको छैन ।