दुई सय ५० रुपैयाँ जरिवानाका फरार १० वर्षपछि पक्राउ
विराटनगर: जिल्ला अदालत मोरङले दुई सय ५० रुपैयाँ जरिवानाको फैसला सुनाए पनि जरिवाना नतिरिकन फरार रहेका एक जनालाई प्रहरीले १० वर्षपछि विराटनगर १५ बाट बिहीबार पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानीको टोलीले कुटपिट मुद्धाका फरार अभियुक्त विराटनगर १६ का ५२ वर्षीय नारायणप्रसाद अधिकारीलाई पक्राउ गरेको हो। पक्राउ गरेपछि बिहीबार नै अदालतमा पेश गरिएका अधिकारी जरिवाना बुझाएर छुटेको प्रहरी निरीक्षक सन्तोश निरौलाले बताए।
जिल्ला अदालत मोरङका तत्कालिन न्यायाधीश नवराज उपाध्यायको इजलाशले २०६४ साल असार २४ गते अधिकारीलाई कुटपिट मुद्धामा थोरै रकम जरिवानाको फैसला सुनाएको थियो।
२०६१ साल चैत १९ गते आफूमाथि कुटपिट गरेको भन्दै धु्रवकुमार रोक्काका विरुद्धमा अधिकारीले अदालतमा कुटपिट मुद्धा दर्ता गरेका थिए। अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार कुटपिट नठहरेपछि र रोक्का विरुद्ध झुटो आरोप लगाएको भन्दै अदालतले उल्टै अधिकारीलाई नै दुई सय ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अदालतको फैसालपछि फरार भएका उनलाई पक्राउ गर्न प्रहरीलाई १० वर्ष भन्दा बढी समय लागेको हो।
त्यस्तै फरार अभियुक्त विराटनगर १९ का २४ वर्षीय विजय आलेमगरलाई पनि प्रहरीले पक्राउ गरेर बिहीबार अदालतमा बुझाएको छ । नेपाल टेलिकमको तार चोरी गरेको घटनामा संलग्न भएको भन्दै अदालतले २०६९ साल पुस २२ गते आलेमगरलाई एक महिना कैद र नौ हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
जरिवाना बापतको रकम बुझाउन नसकेका कारण आलेमगरले एक वर्ष १७ दिन कैद सजाय भुक्तान गर्नु भएको छ। प्रहरी निरीक्षक निरौलाका अनुसार अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । आलेमगर विरुद्ध नेपाल दूरसञ्चार रानी विराटनगरले चोरी मुद्धा दर्ता गरेको थियो।
प्रहरीले नेपाल-भारत सीमा क्षेत्रमा अपराधमा संलग्न भएर पनि फरार भएकाहरुलाई धमाधम पक्राउ गर्न थालेको छ। अपराधमा संलग्न भएर अदालतबाट दोषी ठहर भएकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको प्रनि निरौलाले बताए। उनका अनुसार अदालतबाट दोषी ठहर भएर पनि फरार रहेका मध्ये छ जनालाई एक साताको अवधिमा पक्राउ गरेर अदालतमा बुझाइसकिएको छ ।
प्रहरीले बुधबार मात्रै लागूऔषध गाँजा मुद्धामा फरार रहेकी विराटनगर १५ की ५५ वर्षीय धनेश्वरी साह सुडीलाई अदालतले दोषी ठहर गरेको १४ वर्षपछि पक्राउ गरेर अदालतमा बुझाएको छ।
अदालतले साहलाई सजाय भुक्तानका लागि बुधबार नै कारागार चलान गरेको छ। अदालतले लागूऔषध मुद्धामा २०६० साल कात्तिक १९ गते साहलाई ११ महिना १९ दिन कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसाल सुनाए पनि उनको नाम प्रहरीको फरार सूचीमा थियो ।
त्यस्तै अदालतले लागूऔषध गाँजा मुद्धामा दोषी ठहर गरे पनि फरार रहेका मोरङको जहदा १ का ३५ वर्षीय गुरुदेव सरवरियालाई पनि प्रहरीले पक्राउ गरेको छ । निरौलाका अनुसार अदालतले उनलाई २०७३ साल जेठ २३ गते नौ महिना चार दिनको कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
लागूऔषध मुद्धामा फरार रहेका विराटनगर १८ का ६० वर्षीय परमेश्वर यादवलाई प्रनि निरौला नेत्रृत्वकै टोलीले पक्राउ गरेको छ। अदालतले २०६२ साल माघ २० गते एक वर्ष तीन महिना १५ दिन कैद र पाँच हजार रुपैयाँ जरिवानको फैसाल गरेको थियो।
डाँका मुद्धामा फरार रहेका विराटनगर २२ का ४० वर्षीय मोहम्मद जुवेर मियाँलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। २०७३ साल फागुन १४ गते अदालतबाट पक्राउका लागि वारेन्ट जारी भए पनि उनी फरार थिए।
मियाँलाई पक्राउ गरेर बुझाइएपछि जिल्ला अदालत मोरङले एक लाख रुपैयाँ धरौटी माग गरेको छ। माग गरिएको धरौटी बुझाउन नसक्दा अदालतले उनलाई पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको छ।